मुख्य समाचार :


यूटीको निम्ति हिल कंग्रेसले दार्जीलिङ ल्याउने केन्द्रिय नेताहरू ‘जीटीए दागोपापको एफिडेपिट’

प्रज्ज्वल छेत्री
कालेबुङ, 16 मार्च।
युनियन टेरिटोरीको लागि दार्जीलिङ पहाडका जनताले पत्तै नगरेको देख्दा हिल कंग्रेसलाई  आश्चर्यचकित बन्न बाहेक अन्य कुनै विकल्प छैन।
गोर्खाल्याण्डको निम्ति जनता दगुरिरहेको समय विधानसभा चुनाउमा हिल कंग्रेसले युटी भन्दा पाएको औंलामा गन्न सकिने जनमतले झनै हिल कंग्रेसको मुद्दालाई ओझलमा पारिदिएको छ। हिल कंग्रेसलाई पहाडका जनताले नपत्याएको अनुभव गर्दै अब कंग्रेसको केन्द्रिय नेतृत्वहरूलाई  दार्जीलिङ बोलाएर उनीहरूबाट नै युटी हुन सक्ने सम्बन्धमा मुख खोलाउने ताक अहिले हिल कंग्रेसको छ।
केन्द्रले दिन सक्ने  र सम्भाव्य मुद्दा नै युटी रहेकोले केन्द्रिय नेतृत्वहरूबाट ‘युटी हुन सक्छ’ भनिदिँदा कतै पहाडवासीको सोंच परिवर्तन हुन्छ कि भन्ने हिल कंग्रेसले ठानेको छ। यसैले 12 अप्रेलपछि राज्य अनि केन्द्रका वरिष्ट नेतृत्वहरूलाई बोलाएर दार्जीलिङ, खरसाङ अनि कालेबुङमा युटीमाथि सङ्गोष्ठीको आयोजना गरिने हिल कंग्रेस सचिव दिलिप प्रधानले बताएका छन्‌। 21 वर्षीय सुवास घिसिङको शासन अनि त्यसपछि चारवर्षसम्मको गोर्खा जनमुक्ति मोर्चाको आन्दोलनले पहाडको आर्थिक स्थिति डावाडोल पारिरहेको अवस्थामा जनता कै चहाना सम्झेर अघिबाट जीटीएलाई पनि हिल कंग्रेसले कुनै आपत्ति नजनाएको प्रधानले बताए। यद्धपि अहिले सम्झौता भएको आठ महिना बितिसक्दासमेत जीटीए अस्तित्वमा नआउनुलाई बङ्गालले घिसिङको समयदेखि अहिलेसम्म नै पहाडबासीप्रति केवल राजनीति गरिरहेको पनि प्रधानले बताए। ‘जीटीए अब दागोपापको एफिडेफिट जस्तो मात्र भएको छ। यसलाई त्याग्नुपर्छ।’-प्रधानले भने।  मुख्यमन्त्री ममता व्यानर्जीले पहिले दार्जीलिङ पहाडको रेलवेको निम्ति पनि धेरै घोषणाहरू गरिराखेकी थिइन्‌ तर यसपल्टको रेलवे वजट पेश गरिँदा दार्जीलिङको नामोनिशान नआएकोमा तिनले आपत्ति जनाए।‘पहाडबासीले भारीमतले जिताएका सांसद जसवन्त सिंह यतिबेला बोल्नुपर्थ्यो, तिनी किन बोल्दैनन्‌’-तिनले प्रश्न गरे।
 मुख्यमन्त्री ममता व्यानर्जीले पहाडमा आएर गरेका विभिन्न परियोजनाहरूको घोषणा पनि रेलवे जस्तै मुखले मात्र हुने तिनले शंका गरेका छन्‌। हिल कंग्रेसले बारम्बार नै युटीको कुरा उठान गर्दै आइरहेको भए पनि जनताले हिल कंग्रेसको कुरालाई गम्भीरतापूर्वक लिएको छैन। जब हिल कंग्रेसले युटीको कुरा उठायो तब गोजमुमोले गोर्खाल्याण्डको मुद्दा देखाएर विधानसभा चुनाउ लडेको थियो। अहिले आएर गोजमुमोले एउटा मुद्दा देखाएर अर्को व्यवस्थाको निम्ति जनमत प्रयोग गरेपछि जनताले कुरा बुझ्नुपर्ने बताइरहेको छ।
गोर्खाल्याण्डको निम्ति मोगेको मत मोर्चाले जीटीएको निम्ति प्रयोग गरेको थियो। जसलाई जनाकांक्षाप्रतिको विश्वासघात मान्छ हिल कंग्रेस। हिल कंग्रेसको भनाइ स्पष्ट छ, यदि गोर्खाल्याण्ड हुँदैन भन्छ भने त्यसको विकल्प युटी हुनुपर्छ। युटीपछि नै छुट्टैराज्यमा पुग्न धेरै समय लाग्दैन। तर यता मोर्चाले युटीलाई पत्तै नदिएर केवल दागोपाप क्षेत्रमा नै जीटीएको गठन गरिरहेको छ। मोर्चाले जनतालाई धोका दिएपछि नै फेरि अहिले हिल कंग्रेसले दार्जीलिङका जनतालाई युटीबारे बुझाउन राज्य अनि केन्द्रका नेताहरूलाई दार्जीलिङ झिकाउने ऱणनीति हातमा लिएको प्रधानको भनाइ छ।

0 comments: on "यूटीको निम्ति हिल कंग्रेसले दार्जीलिङ ल्याउने केन्द्रिय नेताहरू ‘जीटीए दागोपापको एफिडेपिट’"