मुख्य समाचार :


जीटीएको गठन ढिलो हुने पहाडको ग्राम पञ्चायतको चुनाउले तराई-डुवर्सलाई असर गर्दैन-मोर्चा



कालेबुङ, 9 जनवरी।
जीटीएको गठन अघि नै पहाडको तीनवटा महकुमामा रहेको 112 वटा ग्राम पञ्चायतलाई बढाएर लगभग 200 वटा बनाइनुपर्ने अनि यसको प्रक्रिया शीघ्र हुनुपर्ने अनि पहाडमा दुइस्तरीय ग्राम पञ्चायत चुनाउ हुनुपर्ने माग गरेपछि तराई र डुवर्समा के हुने हो भन्ने प्रश्न उठेको छ। छुट्टै राज्यको निम्ति पहाड, तराई र डुवर्सले बराबर आन्दोलनमा सहभागिता दिएपनि विकासको पहल भने केवल पहाडमुखी बनिरहेको छ। जीटीएको सम्झौतापछि जीटीए क्षेत्रमा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ हुने भनिएपनि मोर्चाले जीटीएको गठन अघि नै दुइस्तरीय पञ्चायत चुनाउ गर्ने भनेको छ। किन जीटीए अघि नै अथवा तराई र डुवर्सको सीमाङ्‌कन नभइ पहाडमा दुइस्तरीय चुनाउ गरिने हो यसबारे भने मोर्चा चुपचाप छ। यसैपनि जीटीएमा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ हुने बताइएको छ। पॉंचवर्षमा पञ्चायत चुनाउ हुने भएकोले जीटीए अघि नै दुइस्तरीय चुनाउ भएपछि त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ अब पॉंचवर्षपछि मात्र हुने स्पष्ट छ। लख काट्‌नेहरूले जीटीए गठनको सम्भावना नरहेकोले नै मोर्चाले दुइस्तरीय ग्राम पञ्चायत चुनाउको कुरा गरिरहेको त होइन भन्ने शंका गरेको छ। अर्कोतिर सीमाङ्‌कनको काम पुरा नभइसकेको अवस्थामा पहाडको तीनवटा महकुमामा दुइस्तरीय ग्राम पञ्चायत चुनाउ हुने कुराले तराई र डुवर्सलाई मोर्चाले बेवास्ता गरेको देखिएको छ। डा. हर्कबहादुर छेत्रीले बताए अनुसार तराई डुवर्सको अन्तरभुक्ति अघि नै पहाडमा ग्राम पञ्चायत चुनाउ हुँदा तराई र डुवर्सलाई कुनै असुविधा हुने छैन। तिनले भने, अहिले जनसंख्याको आधारमा पञ्चायत क्षेत्रहरूको विस्तारण अनि चुनाउ हुनेछ। जीटीए गठनपछि जुनजुन पञ्चायत क्षेत्रसित तराई र डुवर्सका क्षेत्रहरू जोडिन्छ, ती क्षेत्रलाईलाई नजिकको ग्राम पञ्चायतमा नै मिलाइने छ। तिनले दागोपापक्षेत्रमा जोडिने तराई र डुवर्सका भूभागलाई मिलाउने कार्य जीटीएले गर्ने पनि बताएका छन्‌। तिनले तराई र डुवर्सका क्षेत्रहरू जीटीएमा पसेपछि स्वत नै ग्रामपञ्चायत क्षेत्रमा पस्ने पनि बताएका छन्‌। अहिले पहाडमा हुने ग्राम पञ्चायत चुनाउसित तराई र डुवर्सको सवाल जोड्‌नु गम्भीर कुरा नरहेको पनि तिनले बताएका छन्‌। तिनले 18 जनवरीकोदिन हाइपावर कमिटीको बैठक रहेको अनि हाइपावर कमिटीले नै जीटीएमा कति क्षेत्र तराई र डुवर्स पस्छ भन्ने कुरा तय गर्ने पनि बताए। अर्कोतिर आज दिल्लीमा भएको जीटीए रिब्यु कमिटीको बैठकमा जीटीएबारे केन्द्रले 16 वटा मन्त्रालयलाई सुझाव मागेकोले जीटीएको गठन हुने सम्भावना अझ टाडो बनेको छ। जीटीए भएपछि त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ हुने भए पनि जीटीए अहिले नै गठन हुने सम्भावना नरहेपछि मोर्चाले पहाडमा दुइस्तरीय चुनाउ नै अहिले गर्ने पक्षमा रहेको कुरा पनि स्पष्ट भएको छ।
 


0 comments: on "जीटीएको गठन ढिलो हुने पहाडको ग्राम पञ्चायतको चुनाउले तराई-डुवर्सलाई असर गर्दैन-मोर्चा"