मुख्य समाचार :


Showing posts with label बातचित. Show all posts
Showing posts with label बातचित. Show all posts

प्रेम साहित्यसँग, बिहे इतिहाससँग

राजकुमार बानियाँ

ए कुमार, साहित्यमा यस्तो शोख हुनेले इतिहास किन पढेको त?'
'फर्स्ट लभ कहाँ सफल हुन्छ र दाइ! प्रेम साहित्यसँग, बिहे इतिहाससँग।'
मनिसासित कुमार प्रधान
नेपाली साहित्यकै स्टाइलिस लेखक शंकर लामिछाने र कुमार प्रधानबीचको दोहोरी हो, सन् १९६४ को। यतिमै खुलेको छ, कुमारको सम्पूर्ण परिचय। साहित्य र इतिहासमा उत्तिकै गहकिलो काम गरेका लेखक।प्रत्येक पटक काठमाडौं आउँदा कुमार उनै लामिछानेको महान मित्रता सम्झन्छन्। सिलगुढीमा पनि 'मिस' गरिरहने लेखक उनै हुन्छन्। खासमा लामिछानेसँग कुमारको चिनजान पत्नीहरूका माध्यमबाट भएको रहेछ।
'मेरी पत्नी पूर्णिमाकी सहपाठी हुन्, लामिछानेकी रत्ना,' उनी भन्छन्, 'दार्जिलिङ, शंकरधामको मेरो निवासमा रत्ना, दीपशिखासहित शंकर जानुहुन्थ्यो, म यहाँ आउँदा उहाँकहाँ जान्थेँ।'

लामिछानेसँग साहित्य, कला, संगीत, इतिहासका कुइनेटाबारे घन्टौं संवाद हुन्थ्यो उनको। ती क्षण उनलाई अहिले पनि बौद्धिक उपलब्धि लाग्छन्। 'शंकरदाइ बित्दा ठुल्दाजु गएजस्तो भयो,' उनी भन्छन्, 'उहाँको ठूलो कृति हेर्न पाइएन।'
कुमारको दुःखमनाउ ठिकै हो। सायद 'ठूलो कृति' भनेर उनले उपन्यासतिरै संकेत गरेका हुन्। पारिजातको 'शिरीषको फूल' लाई जापानी संस्करण भन्दै उनले उपन्यास नलेख्ने घोषणा मृत्युअगावै गरेका हुन्।
कुनै बेला दार्जिलिङको साहित्यिक-बौद्धिक केन्द्रका 'त्रिमूर्ति' मानिन्छन्, इन्द्रबहादुर राई, राजनारायण प्रधान र कुमार प्रधान। त्रिमूर्तिकरण खासमा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) कै नक्कल हो। त्यतिन्जेल विश्वसाहित्यमा टिएस इलियट, किर्केगार्ड र सार्त्रको त्रिमूर्तिकरण नै नयाँ थिएन।
नर्थ प्वाइन्टमा अंग्रेजीका प्राध्यापक राई, नर्थ प्वाइन्टकै कमर्सको हेड प्राध्यापक राजनारायण र खर्स्याङको गभर्मेन्ट कलेजका इतिहासका प्राध्यापक कुमारको दौंतरी अद्भूतै लाग्छ। राई, कुमार, राजनारायण, ईश्वरबल्लभ, अगमसिंह गिरी, जगत क्षेत्री आदि समेटिएको नेपाली साहित्य परिषद एउटा स्तम्भकै रूपमा रह्यो।
'राई डेमोक्रेट हुन् राजनारायण कम्युनिस्ट, कुमार दुवै जस्ता लाग्छन्,' प्रसिद्ध लेखक पुष्कर लोहनीको टिप्पणी छ, 'यीमध्ये म कुमार प्रधानको सरल तर बौद्धिक व्यक्तित्वबाट प्रभावित छु।' लोहनीका शब्दमा कुमारले जति मिहिनेत गरी लेखेका समालोचना नेपाली साहित्यमै छैन।

विश्वका बौद्धिक क्रान्तिसँग परिचित कुमार नवीन चेतनाका वाहक हुन्। तर, उनी कहिल्यै प्रचार र गुटतिर लागेनन्। दार्जिलिङ-सिलगुढीमै बसेर निरन्तर साधना मात्र गरे।
मैले कुमार प्रधानको भव्यता भर्खरै चाल पाएको हुँ। पुसतिर एउटा पुरस्कार थाप्न काठमाडौं आएका रहेछन्। 'गरिमा' पत्रिकाका प्रधानसम्पादक अविनाश श्रेष्ठको कोठामा चिनजान भयो। अन्तर्वार्ताभन्दा पनि सामान्य भलाकुसारी गरेँ।
काठमाडौंका अखबारमा कुमार र उनका पुरस्कारबारे खासै चर्चा भएन। हिजोआज नक्कलीहरूकै चर्चा थामिनसक्नु छ। नेपाली वाङ्मयकै दीर्घ साधकलाई 'घाटा सम्मान' गर्न कोही तयार भएन। त्यसो त प्रधान आफैं स्वनामधन्य पत्रकार हुन्। त्यसैले पनि उनमा प्रचारमोह सकुशल छैन।

'पहिलो पहर', 'गोर्खा कन्क्वेस्ट्स', 'अधीति केही', 'हिस्ट्री अफ नेपाली लिटरेचर' आदि इतिहास र समालोचनाका प्रख्यात पुस्तकका लेखक कुमार प्रधान खर्स्याङ कलेजका पूर्व प्रिन्सिपल हुन्। भारतमा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने अभियन्ता पनि।
'सन् १९९२ को भाषिक मान्यतापछि झल्यास्स भयौं- हामीसँग त नेपाली भाषाको दैनिक अखबारै रहेनछ,' सिलगुढीको अखबार हिमालय दर्पणका प्रधान सम्पादक भन्छन्, 'त्यसैले सुनचरी दैनिकको प्रकाशन थाल्यौं। केही वर्ष चलेर बन्द भयो।'
दार्जिलिङमा रहेर मालिंगो, वार्तादेखि अनेक नामका साहित्यिक प्रकाशन/सम्पादन गरेका कुमारलाई लाग्छ- लेखकहरूले अनावश्यक पाण्डित्य देखाउन थालेपछि पाठक कम भएका हुन्। जनजिब्रोको भाषामा लेखिएको भए पाठक घट्ने थिएनन्।
'दार्जिलिङको इतिहास खोतल्ने क्रममा थाहा पाएँ- बुद्धचरित्र र अटलबहादुर उहिल्यै मञ्चन भएको रहेछ,' उनी भन्छन्, 'अहिले पनि सोफिस्टिकेटेड साहित्यको वर्चस्व छ।'

७५ वर्षको उमेरमा पनि कुमार प्रधान जगल्टे जोशमै छन्। कुनै न कुनै पुस्तकका केस्राकेस्रा केलाएकै हुन्छन्। यस्तरी पढ्छन्, दाग नलागेको पानै हुँदैन। उनलाई कसैले 'आउटडेटेड' भन्न सक्दैन, 'अपडेटेड' भन्न कर लाग्छ।
पछिल्लो साहित्यिक चहलपहल उनलाई थाहा छ। कुमारको खोजी छ- विश्व साहित्यमा देखाउन मिल्ने कथा, कविता, उपन्यास कति छन्? बरु उनलाई 'उत्तर आधुनिक' भनिने साहित्यले बिझाइरहेको छ।

'यहाँका केही समालोचक लेखकहरूलाई उत्तर आधुनिक भनेर फुर्क्याउँदा रहेछन्,' उनी भन्छन्, 'उत्तर आधुनिक भनेको समकालीन होइन। पश्चिमाहरू उत्तर आधुनिक भइरहँदा हामी आधुनिक हुन सकेका थियौं कि थिएनौं?'
कसैको परिभाषा अरूसँग मिल्दैन। 'युरोपमा जस्तो विद्रोह, युद्ध, रोमान्स हामीले बेहोरेकै छैनौं,' उनी भन्छन्, 'त्यसको सामाजिक, सांस्कृतिक, राजनीतिक तत्व र पृष्ठभूमि नै फरक छ। अनि हामीले किन उत्तर आधुनिक जपिरहनु?'
उनलाई एउटै कुरामा खेद छ- नेपालीले आफ्नै माटोको साहित्य र काव्य सिद्धान्त जन्माउन सकेनन्। 'नेपाली कविता भनेपछि अरूभन्दा केही न केही फरक त अवश्य छ,' उनी भन्छन्, 'उत्तर आधुनिकवालाले भनेका कुरा त हाम्रो वेदान्तले पहिल्यै भनिसकेको छ।'
दार्जिलिङ, सिलगुढीतिर नेपाली पुस्तक हत्पति पाइन्न। साझा प्रकाशनको शाखा पनि बन्द भयो। दार्जिलिङले आज जे सोच्छ, भोलि नेपालले त्यही सोच्छ- यो भनाइ भने अहिले असान्दर्भिक भइसकेको रहेछ। 'दार्जिलिङमा बडो दुःखलाग्दो अवस्था छ,' उनी भन्छन्, 'पुस्तकहरू ५-६ पानाभन्दा बढी छिचोल्नै सकिन्न। साहित्य त खबरकागजका रिपोतार्ज या एनालाइसिसजस्तो भयो।'

नेपाली साहित्यका हल्लाहरूले उनलाई सताइरहन्छ। एकताका यहाँ धुस्वाँ साय्मिको हाइहाई भयो। उनले खोजीखोजी धुस्वाँलाई पढे। उनले अझै बुझेका छैनन्- मान्छेहरूले किन विशेष भनेका हुन्?
पछिल्लो समय चर्चामा रहेका 'पल्पसा क्याफे', 'फूलको आतंक', 'आधुनिक भारतीय कथा पनि पढे' उनले। 'मदन पुरस्कारको छाप हानेको किताब पल्पसा क्याफे पढ्दा मज्जा आउँछ,' उनी भन्छन्, 'पत्रकारी शैलीका पुस्तक पढ्न सजिलो हुन्छ तर त्यसको साहित्यिक प्रभाव भने मननीय विषय हो।'

कुमार प्रधानले महŒवपूर्ण प्रश्न उठाएका छन्। कृतिको लोकप्रिय या मनोरञ्जक पक्ष आफ्नो ठाउँमा छ। त्यसले साहित्यको कुन कुनालाई सजाउन सक्यो या कुन पक्षलाई उठाउन सक्यो भन्नेबारे सबै बेखबर छन्।
'म त शिक्षक हुँ, अलिकति निर्मम पनि हुनुपर्छ,' उनी भन्छन्, 'नेपालीमा एमए गर्दैमा विद्वान भइँदैन। हाम्रा समालोचना बायोडाटा जस्ता छन्। नाम, पुस्तक, प्रकाशन, पुरस्कार आदि विवरण मात्र समेटिएका हुन्छन्।'
इन्द्रबहादुर राईको साहित्यिक उचाइबारे केही नलेखिएकामा पनि उनलाई अचम्म लाग्छ। 'दार्जिलिङका सन्दर्भमा त्यतिका पढ्ने र लेख्ने कोही छैन,' उनी भन्छन्, 'हाम्रो त दाजुभाइको जस्तो सम्बन्ध भयो, दाजुका भुल मैले कसरी औंल्याउँने, आँखा चिम्लनुपर्छ कहिलेकाहीँ।'

लेखक मोहन ठकुुरीले प्रधानले प्रधानलाई एउटा आदर्श मानेका छन्। 'सन्त रोबर्ट्स स्कुलमा उहाँलाई देखेपछि मैले सोचेको थिएँ- पछि गएर उहाँजस्तै शिक्षक हुन्छु,' उनी भन्छन्, 'म न उहाँजस्तो शिक्षक भएँ, न त उहाँजस्तो लेखक, उहाँजस्तो हुन एक जुनीले नपुग्ने रहेछ।'
हँसिला प्रधान अलराउन्डर छन्। 'दार्जिलिङ, सिक्किम, कालिम्पोङ, असम, मेघालय, मणिपुरमा साझा व्यक्तित्व छ उनको,' अविनाश भन्छन्, 'भारतीय नेपालीमा कुमार प्रधानभन्दा माथिल्ला जीवित साहित्य सिद्धान्तकार, समालोचक, चिन्तक अरू छैन।'

कुमारकै अगुवाइमा भर्खरै 'नेपाली लेखन शैली' आएको छ। यस्तो शैली पुस्तक हाम्रा नेपाल प्रज्ञाप्रतिष्ठान र साझा प्रकाशनले निकालेका छैनन्। उनका विचारमा शब्दहरू नगद सम्पत्ति हुन्। यिनको सम्मान गर्नैपर्छ।
सिर्जना शर्माजस्ता चेलीहरू त उनलाई 'लिभिङ डिक्सनेरी' नै मान्छन्। शब्दको व्युत्पत्तिमाथि उनले आधिकारिक खोजी गरेका छन्। 'हामी बिजुली बाल्छौं तर आकाशमा चम्कने बिजुली वर्णन गर्दा हाम्रा कविहरू किन नेवारी पल्पसा नलेखून्?'
'पहिलो पहर' (१९८४) कुमार प्रधानको आद्योपान्त पठनीय पुस्तक हो। खासमा दार्जिलिङको नेपाली जातिको ऐतिहासिक पक्षबारे उनले निर्भीक र मौलिक दृष्टिकोण राखेका छन्। जातीयताको सशक्त आधार भाषा हो भन्ने उनको ठम्याइ छ। उनले भनेका छन्, 'जातीयताको घडेरी साझा भाषा नै हो।'

पादरी गंगाप्रसाद प्रधानको योगदानको नालीबेली उतारेका छन् उनले। गोरखापत्रकै हाराहारीमा 'गोर्खे खबरकागत' निकालेर नेपाली पत्रकारिता थाल्ने प्रधानले जातजाति र धर्मलाई उछिनेर नेपाली भाषाको जगेर्ना गराएको उनले खुलस्त लेखेका छन्। पुस्तकमा पारसमणि प्रधानका १५ प्रश्नमा कुमार प्रधानको जवाफ चोटिलो छ।
पारसमणिसँग उनको विमति यसमा छर्लंग हुन्छ। नेपाली साहित्य सम्मेलनको टाइपराइटर घरमा लगेको प्रसंग पनि रमाइलो छ।
'अधीति केही' मा कुमारले भानुभक्त आचार्य, बालकृष्ण सम, देवकोटा, अगमसिंह गिरी, इलियट, सार्त्रबारे खोतलेका छन्। 'मलाई लाग्छ- स्वस्थ विवाद जति भए पनि फरक पर्दैन,' उनी भन्छन्, 'नयाँ कुरा बुझ्नलाई ती सहयोगी हुन्छन्।'

समको नाटकमा ग्रिक र सेक्सपियर ट्रेजेडीको विमर्श गरेका छन् उनले। 'समका अन्धवेग र मुटुका व्यथामा सेक्सपियरका समकालीन थोमस हेउडका अ वुमन किल्ड विद काइन्डनेस र द इङ्लिस ट्राभलरको प्रभाव छ,' उनले लेखेका छन्, 'अन्धवेगमा गरुणध्वज र फ्य्राङकफोर्ड दुवैको गृहस्थीले आगन्तुकबाट धोका पाएका छन्।'
समबारे उनको समालोचकीय मत सन्तुलित छ। समले नेपाली नाटकको खुट्टा नयाँ बाटोमा लगाइदिएका छन्। उनमा इडिपस र सेक्सपियरको भव्यता छैन। इब्सेन र बनार्ड सको नेपाली संस्करण पनि होइन।
कुमारको 'द गोर्खा कन्क्वेस्ट्स' पनि जातीय इतिहास नै हो। खासमा यो उनको विद्यावारिधि शोध हो। कुमार कोलकाता विश्वविद्यालयबाट विद्यावारिधि लिने आफ्नो भेगकै पहिलो रहेछन्। यसलाई अक्सफोर्ड युनिभर्सिटी प्रेसले सन् १९९१ मा मुद्रण गरेको छ। योसहित पहिलो पहर हालै नेपालबाटै पुनर्मुद्रण भएको छ।

कुमार प्रधानसँगको चिनारीपछि मैले 'मालिंगो' पढेँ, पुष्कर लोहनीको संग्रहमा। जम्मा ६ अंक मुद्रित भएको विशिष्ट पत्रिका। पहिलो संकलन (१९६४ जुलाई) मा सुन्तले रंगको पृष्ठभूमिमा मालिंगोको चित्र बुनेका छन्, भोटु प्रधानले। सम्पादक- कुमार प्रधान, प्रकाशक- राजनारायण प्रधान, व्यवस्थापक-जगन्नाथ शर्मा।
खासमा 'मालिंगो' नेपाली साहित्य परिषदको मुखपत्र हो। विश्व साहित्यको लहर अनि नेपाली साहित्यको स्तर दुवैको तस्बिर यसले दिन्छ। सम्पादकीय पृष्ठमा कुमार प्रधानका हरफले अहिले पनि उत्तिकै स्पर्श गरिरहन्छन्। 'ज्ञानको परिपूर्तिका निम्ति केवल स्वदेशको साहित्य होइन, प्रचुर परिमाणमा विदेशी साहित्यको अध्ययन हामीले गर्नैपर्छ। पुरातनकै अनुकरणले साहित्यको अपमृत्यु हुन्छ।'

अर्को अंकमा उनले समालोचकमाथि टिप्पणी गरेका छन्। 'पाठकलाई योग्य बनाउने काम हो, समालोचकको।...योग्य समालोचकको अभाव छ नेपालमा।...आफैंले आफैंलाई विज्ञ घोषणा गरेर कवि र स्रष्टामाथि न्यायाधीशजस्तो विचार गर्न बस्ने अनि कथित अध्ययन र मननदेखि टाढा बस्नेले हाम्रो साहित्यका समृद्धि लुट्न सक्छन्।'
कविका बारेमा पनि कुमारका सम्पादकीय धारणा अझै सामयिक छन्। 'मान्छे र उसको वातावरणमा आएका परिवर्तन सिस्मोग्राफले जस्तै रेकर्ड गर्ने नयाँ कवि एकान्त र एक्लो बन्छ, आफ्नो कलामा संसारलाई र यसका मान्यतालाई पुनराविष्कार गर्ने प्रक्रियामा।' (मालिंगो अंक ६,
नोभेम्बर, १९६७)
read more...

अमूर्तबोधी साहित्यकार खगेन्द्र लिम्बुसंग

बि.सं.२०३४ साल बैसाख १ गते कोशी अञ्चल तेह्रथुम जिल्ला अन्तर्गत पौँठाक - ४ हाङखाङला लावृमा जन्मनु भएका साहित्यकार खगेन्द्र लिम्बु साहित्य,दर्शन,चित्रकारीता,लोकगीत संङकलन - गायनमा निक्कै पहिले देखि नै लागि पर्नु भएको छ । हाल वहाँ बैङककमा बसेर अमूर्तवोधी दर्शन लेखनमा त्यतिक्कै ब्यस्त बन्नु भएको छ । लेखन,गायन र चित्रकारीता दिनचर्यासंग गाँसीएका बिषयवस्तु भएकाछन् साहित्यकार खगेन्द्र लिम्बुको । गेडी लेखनका प्रवर्तक समेत रहनु भएका साहित्यकार खगेन्द्र जीवन र जगतलार्इ अमूर्तरुपमा देख्नु हुन्छ । उनै बहुप्रतिभाशाली ब्यक्तित्वसंग टंक सम्वाहाम्फेले लिम्बुवान ब्लगस्पोट डटकम तथा नेपाली समाचार डटकम(www.limbuwan.blogspot.com and www.nepalisamachar.com )को लागि गर्नु भएको कुरानीको अंश पाठकहरुको लागि यहाँ प्रस्तुत गरीएको छ ।

१.बिदेशी भूमिको बसाइमा पनि लेखन,गायन र कलालाई कसरी समयको तालमेल मिलाएर त्यसको निरन्तरता दिईरहनु भएको छ ?

मेरो विदेशको बसाई केवल सिर्जनाको निमित्त सापेक्ष र अनुकूलताको लागि नै मात्र योजनावद्ध गरिएको कारण सहज भैरहेकोछ l

२.अमूर्तबोधी कला र लेखनमा होमीनु भएको छ यत्तातिर लागेर कतिको यो लेखन र कलाको विकास भए जस्तो लाग्छ ?

मैले जे-जति सिर्जना गरेकोछु अर्थात् जीवन र जगतलाई भोगे-देखे-बुझेकोछु त्यो अमूर्तबोधताबाट मात्र सम्भव थियो । त्यसोर मेरो सिर्जनशीलता मात्र अमूर्तबोधी दर्शनाधारित छैन, मैले भोग्ने जीवन नै यसैभित्र चलखेल गर्छ । जीवन सधैं प्रगतिशील,उन्मुक्तमुखी र बिकासमार्गी हुन्छ यी सप्पैको फाइदा म उठाईरहेछु ।

३.अमूर्तबोधी कला र लेखन नै रोज्नुको कारण र उदेश्य के हो ?

यो प्रश्नको जवाफमा प्रथमत: अमूर्तबोधी दर्शनको बारेमा केहि बुझ्न जरुरी छ । यसका केहि बुँदाहरु मात्र टिपोट गर्न चाहन्छु यहाँ -

क.अमूर्तबोधी दर्शन -हरेक मूर्त-अमूर्त तत्व-वस्तुहरुको अमूर्तसत्यहरुलाई बोध गर्न-गराउन प्रेरित गराउने दर्शन(जीवन-जगतलाई हेर्ने-बुझ्ने शैली)

ख.कुरूप सौन्दर्य मीमांसा-हरेक तत्व-वस्तुहरुमा बाह्य-आन्तरिक सौन्दर्य हुन्छ कुरूप तत्व-वस्तुहरुको सौन्दर्यभित्र र दिर्घकालिन सौन्दर्य रहन्छ ( महत्व,चरित्र,प्रवृत्ति,प्रकृति आदिबाट सौन्दर्यको मापन हुन्छ )कुरूप् तत्व-वस्तुको गौण सौन्दर्यलाई प्राप्त गर्नु

ग.दुरुहमार्गी चिन्तन -हरेक असहज यात्राबाट सहज गन्तब्यमा पुग्नु, हरेक अप्ठेराबाट जीवन र जगतलाई सुगममय भेट्नु ।

ग. सदुपयोगिताको सिद्धान्त -हरेक कुरालाई उचित ठाउँमा सदुपयोग गरेर त्यसको महत्व र अस्तित्वलाई उच्चरुपमा भेट्नू ।

घ. पागलवाद-निर्बांध-निडर, असाधारण र सत्यवादी हुनू ।

ङ. स्वसत्त्वबोध-आफ्नो अस्तित्वको महत्वलाई आत्मविश्वासमा सुरक्षित भेट्नू-बुझ्नू ।

च. अभ्यासात्मक प्रगतिशीलता -निस्सीम परिकल्पनालाई सिर्जना, प्रतिपादन र प्रतिप्रयोगमा स्थापित भेट्नू ।

छ. स्वकीय मन्जुरी-दबाबहीन स्वमुक्तिले परघातबिहिन स्वकीयताको फैसल्ला गर्नू ।

ज. गन्तव्यको फैसल्ला -अन्तिमसत्य जीवन-जगतको दिर्घकालिन मंगलमय निजत्व आदि ।

४.नेपाली साहित्यको बिकासमा डायस्पोरा नेपाली साहित्यकारहरुले कतिको सकरात्मक भूमिका खेले जस्तो लाग्छ ?

ग्लोबल विलेजको जमानामा संसारका कुनै पनि एक कुनाको असर अर्को कुनै पनि कुनामा तत्काल प्रभाव पर्न सक्छ र नेपाल केवल नेपाल मात्र हो ठान्नु गलत हुन्छ । अझै नेपालमा मुट्ठीवाद संकार छँदैछ । अझ धेरै नेपाली लेखकहरु केन्द्रिकृत मानसिकताले रोगी छन राजधानीलाई संसार भनेर बसेकाछन् । विश्व/परिवर्तन, चेतना,विकास, प्रगतिहरु डायस्फोरिक लेखकहरुले भित्र्याईरहेकाछन् जो अत्य्वास्यक छ । जसले नेपाली चेतनालाई विश्वस्तरमा तादम्यता मिलाउन सकारात्मक भूमिका खेलेकोछ/खेल्नेछ ।

५.नेपाली साहित्यमा योगदान दिने नेपाली डायस्पोरा लेखकहरुले नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको स्थान पाउँन जरुरी देख्नु हुन्छ कि हुन्न ? र नेपाली डायस्पोरा लेखकहरुलाई नेपाल सरकारले कतिको सम्बोधन गरे जस्तो लाग्छ ?

नेपालमा बसेर लेख्ने केहि गुटहरुले त डायस्फोराका लेखकलाई साहित्यकारको सूची मै गन्दैनन । राष्ट्रले के सम्बोधन गरोस । जसले नेपाली साहित्यलाई सेवा-टेवा-मेवा दिन सक्छ, उसलाई प्रज्ञाप्रतिष्ठानले स्थान दिनुपर्दछ । प्रज्ञाप्रतिष्ठान हामी सबै नेपालीको हो । लेखक र सर्जकको बसाईको भौगोलिक विभिन्नताले उसलाई निर्णय गर्नु अन्याय हुन्छ । यसको अर्थ यो होइन कि अबैधानिक नेपालीले प्रज्ञाप्रतिष्ठानको जागिर खान पाउनु पर्दछ । र अर्को कुरा त्यहाँ आसिन भएर मात्र साहित्यको सेवा गर्न सकिन्छ भन्ने ग्रस्त मनस्थितिमा सर्जक बस्नु हुन्न भन्ने मेरो आग्रह । बैरागी काईंला पनि हिजो बेदेश नै बसेर लेख्ने कवि हुन् । भारतमा बसेर लेखेका उनका साहित्यले नै उनलाई प्रज्ञाप्रतिष्ठानको जिम्मेवार नाइके हुन पर्याप्त आधार दियो । अरुले किन नपाउने ?

६.तपाई आफै लिम्बु जातिको नेपाली भाषाको लेखक तर तपाईलाई आफ्नो लिम्बु मातृभाषा साहित्यमा अमूर्तबोधी साहित्य लेखनलाई प्रस्तुत गर्न मन लाग्दैन ?

आफ्नो मातृभाषा,संस्कृति,धर्म आदि सबैको नश्लको रुपमा स्थापित भैसकेको हुनाले यो प्रश्नै हुँदैन कि कुनै लिम्बूलाई आफ्नो लिम्बू भाषा-संस्कृतिलाई प्रेम छ ? यसरी अमूर्तबोधी दर्शनले नश्लीय अस्तित्व र अधिकारलाई सम्मान गर्न अभिप्रेरित गर्दछ । तसर्थ: कुनै पनि जनजाती आदिबासीहरुलाई झैं लिम्बूहरुको अस्तित्वमा पनि अमूर्तबोधी दर्शनले बराबर चासो लिन्छ । मैले लिम्बू संस्कृतिका लोकसंस्कृति/कला र साहित्यलाई यसै अर्थमा नेपाली राष्ट्रियधारमा उभ्याउने कोशिस गरेकोथिएँ/छु ।

७.नेपाली भाषाको लोकगीत संकलक र गायक पनि हुनुहुन्छ के यी भाषाका गीतहरु मात्र गाएर आफ्नो जातिको भाषालाई न्याय गरे जस्तो लाग्छ ?

लिम्बू लोकसंगीत/कला/साहित्य तथा अन्य समाज,जाति,धर्म,संस्कारका लोक साहित्य/कलालाई राष्ट्रियधारमा लगेर स्थापना गर्न मैले कोशिस गरेको हुँ Netive and Mother Language मै गाउने-लेख्नेहरु त अरु पनि छन् नि । सबैले आफ्नो ठाउँमा बसेर सदुपयोगीताको सिद्धान्तमा काम गर्ने हो ।

८.तपाईले संकलन र गायन गर्नु भएको लोकगीतको संग्रह कति प्रकाशीत भैसकेका छन् होला ? र नयाँ आउँने संग्रहहरु पनि छन् कि ?

संख्या एति नै हो भन्ने यकिन छैन । अनुमानमा ६० जति संकलित र आफुले गएका २० जति होलान, संकलन गरेर रेकर्ड गर्न बाँकी लोकगीतहरु मसंगैछन् ।

९.अमूर्तबोधी साहित्यकार र सर्वसाधारण मानिसमा के फरक हुन्छ ? र अमूर्तबोधी नभएका लेखक र अमूर्तबोधी भएका लेखकमा के अन्तर पाउँनु हुन्छ ?

मैले व्याख्या गरेको अमूर्तबोधी दर्शनमा जे फरक हुन्छ, त्यहि नै फरक हो । त्यो माथिको बुँदामा अरुले आफ्नो दर्शन उभ्याएर बिचार्नू ।

१०.तपाईको हालसम्म प्रकाशित कुन कुन बिधाका पुस्तक के कति छन् ? र प्रकाशोन्मुख के कति छन् ?

उहिल्यै टिनेजमा २ वटा संयुक्त कविता संग्रह निस्किएकाछन् तिनलाई म कृतिको रुपमा मान्दिन मसंग अहिले विभिन्न विधाका ६ वटा पाण्डुलिपी छन् (Abstract Bangkok)-प्रयोग,दर्शन र जीवनीमा आधारित उपन्यास प्रकाशनको तयारीमा जुटेकोछ ।

११.तपाई चेताशील लिम्बु भएको हैसियतले अहिले संघीय लिम्बुवानको कुरा उठि रहेको छ नेपालमा त्यस बारेमा के धारणा राख्नु हुन्छ ? संघीय लिम्बुवानको आवश्यकता छ कि छैन होला ?

नेपालको परिप्रेक्षमा 'विघटन' सुगठनको सापेक्षमा सन्तुलित देखिंदैन । एकातिर लिम्बू तथा अन्य जातजाति आदिवासीमा 'स्वसत्त्वबोध' हुन जरुरी छ । 'दुरुहमार्गी चिन्तन' अवलम्बन गरेर राष्ट्रको निमित्त 'सदुपयोगिताको सिद्धान्त'मा उभिनु पर्दछ । राष्ट्रले पनि कुरूप सौन्दर्य मीमांसा अन्तर्गत असल निर्णय लिएर सबै नेपालीहरुलाई समान सम्मान र सम्बोधन गर्न जरुरी छ । अन्यथा दुर्घटना दोहोरिरहन्छ ।

१२.तपाई एउटा लेखक भएकोले वर्तमान नेपालको राजनितिलाई कसरी मध्यनजर साथै बिश्लेषण गरी रहनुभएको छ ?

नेपालको 'राजनीति' जननीति हुन सकेकोछैन । एउटा कथित दरबार ढलेर अकथित नगन्य दरबार,सामन्त,शोषक-शासकहरुको मनोमानी हाबी बढेकोछ । 'जनशक्तिको कोल्याप्स'लाई मौकाको फाइदामा राखेर विस्तारवादका भरौटेहरु अत्तिवादी-मुट्ठीवादी-एकाधिकारवादी भएर उदाएकाछन् 'विगठन'लाई सुत्र बनाएर यिनीहरु बलिया हुँदैछन् ।'फुटमा लुट' चलिरहेको अवस्था नबुझेसम्म नेपालीहरुको उन्मुक्ति सम्भव छैन । त्यसो र सांस्कृतिक चेतनाको विकासले मात्र यिनीहरुको सूत्रलाई निराकरण गर्दछ । सामान्य भाषामा भन्ने हो भने 'छिमेकीको घर जल्दा आफ्नो घर सुरक्षित रहन्छ' भन्ने भ्रमबाट मुक्ति लिनु आधुनिक नेपालको उन्मुक्तिको पहिलो कदम हुनेछ ।'एकता' -जनता हो, जनता नै देशका निर्णायक हुनु पर्दछ । नेताहरु जनताको आदेश पालक र भरौटे हुनुपर्दछ । स्वावलम्बनको निर्णयलाई लागु गरेर जनशक्तिको कोल्याप्सलाई निमिट्यान्न गर्नुपर्दछ । अन्यथा,ईतिहाँसमै अनुकूलताको सिद्धान्तमा चुकेर नेपाल र नेपाली दुर्लभ हुनेछ ।

१३.जीवन के हो ? तपाईको अमूर्तबोधी लेखनले जीवनलाई कसरी समेट्दछ त ?

'जीवन' माथि टिपोट भएका अमूर्तबोधी दर्शनका बुँदाहरुको अनुसासित संस्कार हो यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु ।'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।

१४.अमूर्तबोधी दर्शन कस्तो प्रकारको दर्शन हो ? यो दर्शनको शुरुआत र प्रयोग कसरी भैरहेको छ होला ?

यो दर्शनको बारेमा माथि नै उल्लेख गरेको छु । 'जीवन-जगतको मङ्गलमयी कामना'को निमित्त जो राम्रो कार्य भए त्यसको निरन्तरता,समय सापेक्षिक संसोधन र बिकाश गर्ने, जो भएकै छैनन त्यो गर्ने, जो खराब गरिएका छन्, त्यसलाई निराकरण गर्ने यसका पहिला सर्त हुन् ।

१५.गेडी लेखनको शुरुआत कहाँ,कस्ले र कहिले देखि भएको हो ? यसको विस्तार कसरी भैरहेको छ ?

गेडी लेखन मैले सुरुवात गरेकोहुँ । नेपाली साहित्य-साहित्यकार विभिन्न आगन्तुक विधाका अंगसंगति नबुझेर मरिररहेको अवस्थामा स्वसत्त्वबोधको बुँदाले नेपाली अस्तित्वमा नेपाली नश्लमा यसको जन्म भयो । यसको प्रवर्तन भयो २०१० अप्रिल १० मा यसको सार्बजनिक भयो । विश्वभर रहेका नेपालीहरुले यो विधामा स/प्रेम/गर्ब सिर्जना गरिरहेकाछन् । यो खुशीको कुरा हो । यसको बारेमा लामो लेख म उपलब्ध गराउनेछु । गेडी साधक टेकेन्द्र अधिकारीले यो विधाको सङ्ग्रह निकाल्दै छन् । अर्का गेडी साधक बिष्णुनन्द चामलिंगको गेडी संगीतकार दिनेश सुब्बाले संगीत गरेकाछन् । अब यो लिखत,गायन र श्रब्य भएर आउन थालेकोछ । यसलाई नेपालको मौलिक विधाको रुपमा दर्ता र सम्मान गर्न सम्बन्धित क्षेत्रका आधिकारिक,बौद्धिक र प्राज्ञ सबैलाई हामी हार्दिक अनुरोध गर्दछौं ।

१६.तपाईले जीवनमा भोग्नु भएको त्यस्तो अविस्मरणीय घट्नाहरु छन् कि ?

जीवनका हरेक घटना-परिघटना अविस्मरणीय लाग्छन ।

१७.जीवनमा सबै भन्दा बढी गरु लाग्ने र नगरी छाड्दिन भन्ने केहि कामहरु छन् कि ?

.सदुपयोगिताको सिद्धान्तमा आफुलाई सिर्जनशील र गतिशील राख्ने आफ्नो जीवनसँग सम्झौता भएकोछ । नेपाली चेतना परिवर्तन गर्दै नेपाली राजनीतिलाई सफा र सुकर्ममा लान तथा अनाथ असहायहरूको निमित्त काम गर्न पाउँदा भने व्यक्तिगत रुपमा खुशी हुनेछु भन्ने लाग्छ ।

१८.अवको नेपाली साहित्य लेखनले कस्तो र कतातिर मोडिन जरुर देख्नु हुन्छ ?

अमूर्तबोधी दर्शनमा भेट भएर हिजोका रुन्चे-पिन्चे लेखन,विलाप-विवशता र लाचारी प्रस्तुति,रोष-दोषको आक्षेप प्रवृत्ति, गुनासो-बिलौनाको आत्म लघुताभाष,रुखो नारावादी अकलात्मक प्रस्तुति,केवल बयान, हरिया डाँडाका गीत लिला-रसरंगको बुर्जुवा लेखन, हजुरिया र ढोग-पत्र लेखन,आत्मचर्चामुखी 'वाद' फेशन सप्पैलाई संसोधन र निराकरण गरेर जीवन र जगतको उन्मुक्तिमा कला सौन्दर्य र दर्शन सौन्दर्यको विशिष्ट भेटमा साहित्य पुग्नु पर्दछ ।

१९.नेपाली समाजमा तपाई आफूलाई कुन रुपले स्थापित गराउँन चाहनुहुन्छ ? र किन ?

एउटा सामाजिक स्वयम्सेवक ! समाज विकासक !

२०.लिम्बुवान ब्लगस्पोट डटकम मार्फत विश्वभरी छरिएर रहनु भएका पाठकहरुलाई केहि शन्देश दिन चाहनु हुन्छ कि ?

'स्वसत्त्वबोध'ले अमूर्तबोधी दर्शनलाई भेट्नू ! त्यसरी नै जगतको निमित्त जीवनलाई र जीवनको निमित्त जगतलाई माया गर्नू !

(कुरानीको अंश पाठकहरुले लिम्बुवान ब्लगस्पोट डटकम तथा नेपाली समाचार डटकम वेवपेजमा पनि पढ्न सक्नुहुनेछ । धन्यवाद)
read more...

‘प्रवासीको परिभाषा फेरिएको छ'

जीवनलाई चेप्टो होइन आयामिक रूपमा बुझ्नुपर्छ भन्दै आयामेली अभियानबाट नेपाली साहित्यको दिशा परिवर्तन गरिदिने एक लेखक इन्द्रबहादुर राई राजनीतिको चेप्टोपनले ग्रसित काठमाडौंमा भेटिए। सांग्रिला बुक्सले निकालेको आफ्नो कथासंग्रहको प्रवर्द्धन गर्न र एक साहित्यिक सम्मान थाप्न दार्जिलिङदेखि आएका इन्द्रबहादुर ८० वर्षको उमेरमा पनि स्पष्ट वक्ता देखिए। आयामेली साहित्यकै अर्का अभियन्ता वैरागी काइँलाको निवासमा नागरिकका दीपेन्द्र लामाका जिज्ञासाहरू मेटाउँदै उनी सिधै छाप्न मिल्ने वाक्यमा बोल्दैगए, ठाउँठाउँमा अल्पविराम र पूर्णविराम समेत सम्झाउँदै।
दार्जिलिङभित्रै तपाई बसाइँ सर्न बाध्य हुनुभएको थियो नि, किन?
मेरो बुबाले १९५० मा तुङसुङ बस्तीमा एउटा घर बनाउनुभयो, जहाँ मैले बस्न पाएँ। तर, सन् १९७० को दशकमा सुभाष घिसिङको आन्दोलनले हामी कतिपयलाई शत्रु देख्यो। हामी भाषाको नाम नेपाली हो, घिसिङले भनेको जस्तो ‘गोर्खा' होइन भन्थ्यौं। त्यही निहुँमा घिसिङको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले मेरो घरमा एकपटक बम हान्यो भने अर्कोपटक आगो लगाउने प्रयास गर्‍यो। त्यसपछि मैले सन् १९७५ तिर तुङसुङ छाडी बजारबीचको लोचनगर क्षेत्रमा घर बनाएर बस्नुपर्‍यो। तर, तुङसुङको घर अझै छ, भाइहरू बस्छन्। त्यहाँ ठूलो जमिन छ, पाँच एकड जति। त्यसमै छ मेरो भाग।

शिक्षण पेशा रोजेर यसमै रिटायर्ड हुनुभयो। शिक्षणमा किन यति समर्पण?
सन् १९५० मा बीएको परीक्षा दिएँ, त्यसको परिणाम घोषित नभइकनै मेरो पुरानो स्कुल सेन्ट रबर्ट हाइस्कुलका प्रिन्सिपल रेभरेन्ट फादर अरिमोले शिक्षण गरिदिनुस् भनिहाल्नुभयो। अनि म शिक्षक नै बनेँ।

अरू पेशामा पनि अवसर थिए होला नि?
त्यसबेला ग्य्राजुयट गर्नेको संख्या थोरै थियो। अरू विभागीय नोकरी पाउन सक्थेँ तर शिक्षक नै बनेर रहेँ।

तहल्कै मच्चिने गरी साहित्यमा आयामेली अभियान कसरी सुरु भएको थियो?
सन् १९६० को दशकमा वैरागी काइँला, ईश्वरवल्लभ र म एउटा पुस्तकको विषयमा चर्चा गर्थ्यौं। त्यो पुस्तक थियो, हर्बट मार्कुसले लेखेको ‘द थर्ड डाइमेन्सनल म्यान'। त्यस पुस्तकले भनेको थियो, आजका सामाजिक, राजनीतिक, आर्थिक र धार्मिक व्यवस्थाले नै सबै मानिसलाई तेस्रो आयाम वा चेप्टोपनमात्र भएको जस्तो तुल्याउँछ। हामी भन्थ्यौं, मानिस चेप्टो आयामको मात्र हुनु हुँदैन, तीनै आयाम भएको अर्थात् मोटाइ, लम्बाइ र चौडाइ भएको हुनुपर्छ। र, अझ काल समयको चेतनाको थप आयाम भएको चार आयामिक हुनुपर्छ। यस ज्ञानलाई हामीले आयामिक सिद्धान्त, आयामिक कथा र आयामिक कवितामा अपनायौं।

आयामेली लेखनले साहित्य र जनजीवनमा कस्तो प्रभाव पारेको पाउनुभयो?
हामीले लेखेका कविता, कथा तथा साहित्य सिद्धान्तले पाठकहरूको जीवनमा कति प्रभाव पार्‍यो त्यो त भन्न सकिँदैन। केहीले हाम्रा कुरालाई मनमा लिएको पायौं। समय बित्दै गएर आज देख्छौं, अभियानले नेपाली साहित्यको भाषा लेखनमा केही प्रत्यक्ष प्रभाव पार्दै आएको छ।

दार्जिलिङमा नेपालीहरूको जीवन निर्वाहको पद्धति पहिले कस्तो थियो, अहिले कस्तो हुँदै आएको छ?
सुगौली सन्धिपछि दार्जिलिङ क्षेत्र ब्रिटिस राज्यमा गाभियो। त्यसबेलामा भएका नेपालीहरूले साधारण खेतीपाती गरेर, कुखुरा बाख्रा पालेर जीवन निर्वाह गर्थे। अंग्रेजले त्यहाँ चियाको खेती गर्न थालेपछि नेपालका पहाड खण्डबाट धेरै मानिस मुग्लान पसे। अनि चियाबारीमा काम गर्ने कुल्ली कबाडी बने। केही पछि नै तर ब्रिटिस सरकारबाट जमिन लिई खेती गर्ने नेपालीहरू पनि भए, त्यसपछि ब्रिटिस फौजमा भर्ना हुने गोर्खा सिपाहीहरू भए। अनि केही पछि प्राथमिक पाठशालामा पढाउने र सरकारी अफिसमा किरानी काम गर्ने मौका पनि नेपालीले पाए। उच्च शिक्षा पाएका उच्च सरकारी ओहोदामा पुगेका र व्यापार धन्दातिर लागेका नेपाली पनि भेटिन थाले तैपनि आजसम्म ठूला उद्योगपति बन्ने औकातमा हामी पुगेका छैनौं।

दार्जिलिङदेखि उताका नेपालीहरूलाई के भन्ने? प्रवासी नेपाली कि भारतीय नेपाली?
उत्तर आधुनिकतावादले परिभाषालाई वा परिभाषित गर्ने कार्यलाई साह्रै शंकाको दृष्टिले हेर्दछ। प्रवासनको परिभाषा नयाँ दृष्टिले गर्नुपर्ने आवश्यकता अनुभव हुन्छ। दार्जिलिङका नेपालीहरूले सन् १९५० सम्म आफूलाई प्रवासी नेपाली भन्थे। त्यसपछि भने प्रवासी भनिएको नरुचाई आफूलाई भारतीय नेपाली भन्न थालेका छन्। अर्थात् भारतमै रैथाने भएर बसेका नेपाली समुदायहरू। कसको ऐतिहासिक दृष्टि कस्तो छ, त्यसै अनुसार आफ्नो परिचय बताउँछन् उनीहरू।

साहित्यका मार्गदर्शक सर्जकहरू जन्माउने दार्जिलिङतिर हिजोआज नेपाली साहित्यको अवस्था कस्तो छ?
दार्जिलिङ नभनौं, भारतपट्टिको भनौं। दार्जिलिङ, सिक्किम र आसामसम्म समेटिन्छ। यहाँ पुस्तक प्रकाशन हेर्दा सन्तोषजनक नै देखिन्छ। प्रत्येक महिना ५-७ पुस्तक प्रकाशित हुन्छन्। नयाँ कविलेखकहरू आइरहेकै छन्। तर, गुणात्मक दृष्टिले हेर्दा भने थोरै कृतिमात्र हामी दिन सकेको जस्तो लाग्छ।

उताका आशालाग्दा साहित्यकारका केही नाम याद छ?
कविताको क्षेत्रमा मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, केवलचन्द्र लामा, मोहन ठकुरी, भविलाल लामिछाने आदि प्रमुख छन्। कथा लेखनमा चाहिँ सानु लामा, सूर्यकुमार सुब्बा, प्रवीण राई जुमेली, गुप्त प्रधान र विन्ध्या सुब्बा तथा समालोचनामा कुमार प्रधान, डा लक्कीदेवी सुन्दास, कविता लामा, पेम्बा तामाङ र घनश्याम नेपाल प्रमुख छन्।

दार्जिलिङमा बसेर नेपाली कृति पढ्न कति सहज छ? नेपाली पुस्तक र कृतिहरू उपलब्ध हुन्छन्?
दुःख मान्नुपर्ने खण्ड छ। नेपालमा प्रकाशित कृतिहरू भारतमा पुग्दैनन्। भारतका पुस्तक र पत्रपत्रिका खुलासँग नेपालमा आउँछन् तर नेपाली प्रकाशन भारततर्फ छिर्न किन दिइँदैन, यो उच्च सरकारी स्तरमा नेपालले उठाउनु पर्ने विषय छ।

त्यसो भए उताका पाठकहरू नेपालका समकालीन साहित्यसँग कसरी परिचित हुन्छन्?
भारतका नेपाली लेखकहरू काठमाडौं आइरहन्छन्। आएका बेला पाइएका चर्चित पुस्तकहरू लिएरै फर्किन्छन्। यसरी नेपालका समकालीन साहित्यसँग धेरथोर अवगत नै रहन्छौं हामी।

अहिले नेपालका कस्ता कृति रुचाइएको छ त्यहाँ?
दार्जिलिङका साहित्यप्रेमीहरूको कपाल दुखाइरहन सफल कृतिमा सञ्जीव उप्रेतीको ‘घनचक्कर', कुमार नगरकोटीको ‘मोक्षान्तः काठमाडौं फिभर', जगदीश शम्शेर राणाको ‘सेतो ख्याकको आख्यान' मुख्य छन्। राणाको किताब त्यता भर्खरै पुगेको हो। यी कृति पढ्नलाई पाठकले मिहेनत गर्नुपर्छ। त्यसैले मन पराइएको हो।

यी त आख्यान भए, कवितामा मन जित्न सफल कोही छ जस्तो लाग्छ?
मोहन कोइरालाका कविता सबैलाई चाम्रो च्युरा चपाइपछिको मिठो स्वाद पाइने कृति हुन्थ्यो। त्यसपछि भने चपाउनु पर्ने कविता कृति प्रायः छैनन्। कसैकसैले नयाँ शैलीको भाषामा प्रयोग गर्दै गरेको हो कि जस्तो चाहिँ भएको छ।

तपाईको भाषालाई पनि क्लिष्ट मानिन्थ्यो। भाषा सजिलै बुझिनु ठिक कि क्लिष्ट हुनु?
भाषाको क्लिष्टता कृतिकारको लेखन लक्ष्यमा भर पर्छ। लेखकको लक्ष्य कथा भन्नेमात्र हो भने सहजै बुझिने भाषा हुन्छ। तर कसैकसैको लेखन लक्ष्य एकभन्दा धेरै हुनसक्छ। सूचना दिँदादिँदै लेखकको मानसिक अनुभूति पनि दिने भाषा केही क्लिष्ट त भइहाल्छ। तर, जुनै लेखकले पनि आफूले लेखेको पढ्दा आनन्द लाग्ने होस् भन्ने इच्छा छाड्न सक्दैन। आनन्दप्रदता सबै लेखनको अभीष्ट हुनुपर्छ।

तपाईले १९७२ तिर थाल्नुभएको लीलालेखन किन आलोचित भयो?
लीला लेखनको सिद्धान्तका व्याख्या गरेर अरूले प्रशस्त कृति लेखेका छन्। समर्थनमा पनि। विरोधमा पनि। पाठक वर्गले ती हेर्नु भए आफ्नो विचार बनाउन सक्नुहुन्छ।

दार्जिलिङका पात्रहरूका आकांक्षाप्रति तपाईले आफ्ना कृतिहरूमा निकै संवेदनशीलता अपनाउनु भएको छ। अहिले त्यहाँ गोर्खाल्यान्डको प्राप्ति नै ठूलो आकांक्षा बनेको छ, पूरा होला यो?
दार्जिलिङ, सिलगुडी र डुअर्स् क्षेत्र कहिले पनि बंगाल थिएन। यो क्षेत्र कहिले नेपाल, कहिले सिक्किम त कहिले भुटानको अधिनमा थियो। अंग्रेजको भूलले गर्दा हाम्रो क्षेत्र बंगालको उपनिवेश बन्यो। यसको मुक्तिको निम्ति हामी सधैं लड्नेछौं। सधैं एक भएर। बंगाल एकदिन यो क्षेत्र छाडेर जानेछ।

read more...

गोर्खाल्याण्डबारे के भन्छन्‌ हाम्रा साहित्यकारहरू?

प्राकृतिक सौन्दर्यका दृष्टिले चर्चित भारतको दार्जिलिङ यतिबेला 'गोर्खाल्यान्ड' आन्दोलनले चर्चामा छ । कुनैबेला बि्रटिस शासन रहेकाले 'हिल स्टेसन' का रूपमा विकसित दार्जिलिङमा अधिकांश नेपालीभाषी छन् । पश्चिम बंगाल राज्यबाट छुट्टएिर दार्जिलिङलाई केन्द्रविन्दु बनाई 'गोर्खाल्यान्ड' नामको अलग्गै राज्य स्थापना गरिनुपर्ने आन्दोलन- कारीहरूको माग छ ।

'गोर्खाल्यान्ड' सम्बन्धमा पछिल्लोपल्ट दिल्लीमा सम्पन्न राजनीतिकस्तरको पहिलो त्रिपक्षीय वार्ता निष्कर्षविहीन भए पनि विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा पार्टीले नेतृत्व गरेको आन्दोलन जारी छ । सन् १९८६ ताका सुवास घिसिङको नेतृत्वमा १२ सय नागरिकको ज्यान जानेगरी यस्तै आन्दोलन भए पनि 'गोर्खाल्यान्ड' हुन सकेको थिएन । सन् २००७ अक्टोवरदेखि पुनः जागरण भएको आन्दोलनलाई अहिले पश्चिम बंगाल राज्यमात्र होइन केन्द्रीय सरकारले पनि चासो दिन थालेको छ ।

यसै सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्कीको अवसरमा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका लागि काठमाडौं आएका दार्जिलिङसहित भारतका विभिन्न थलोका साहित्यकारसँग 'गोर्खाल्यान्ड' आन्दोलनबारे शनिबार लिइएको प्रतिक्रिया-

इन्द्रबहादुर राई

गोर्खाल्यान्डको नारा धेरै पुरानो हो । मेरो एउटै मान्यता के छ भने सन् १९३० को दशकमा भारतमा कांग्रेसले अंग्रेज सरकारबाट पाएको उपलब्धिको तौरतरिकामा 'केही पाउने' तकनीकि अपनाउनु जरुरी हुन्छ । वार्ता र सहमतिबाट जति पाउन सकिन्छ, लिइहाल्नुपर्छ । त्यसपछाडि अर्को कदम र उपाय अवलम्बन गर्नु महत्त्वपूर्ण हुन्छ । 'यति नभई हुँदैन,' भन्ने अडानमै अडिग हुने हो भने टुंगोमा पुग्न मुस्किल पर्छ ।

गोमा शर्मा, गुवाहटी

गोर्खाल्यान्ड राज्य माग्नु नेपालीभाषीकै गौरव हो । हामीले भारतमा ३५ वर्षसम्म आन्दोलन गरेर नेपाली भाषालाई संवैधानिक मान्यता दिलाएजस्तै दार्जिलिङवासीले संघर्ष जारी

राख्नुपर्छ । बंगालसँग हरेक कुरा नमिल्ने भएकाले नेपालीभाषीले छुट्टै राज्य माग्नु जायज कुरा हो । दार्जिलिङवासीले रात दिन जारी राखेको आन्दोलनलाई पूर्वोत्तर भारतका लाखौं नेपालीले सुरुबाटै प्रत्यक्ष अप्रत्यक्ष समर्थन गरेकै छन् । भावी दिनमा पनि समर्थन हुनेछ ।

मनप्रसाद सुब्बा

भारतमा बस्ने नेपालीभाषीको आफ्नै चिनारी हुनुपर्छ । यसका लागि गोर्खाल्यान्ड राज्य कायम गरिनुपर्छ । भाषा, संस्कृति नेपाली भए पनि हामी भूमिसँगै विलय भएर भारतीय भएका हौं । कतिपय सन्दर्भमा हामीलाई 'आप्रवासी' भन्ने आरोप लाग्दै आएको छ । गोर्खाल्यान्ड राज्य भएमा दार्जिलिङ क्षेत्रका नेपालीभाषीले झेल्दै आएका समस्या टुंगिन्छन् ।

टीकाराम उपाध्याय, गुवाहटी

म गुवाहटीमा बसे पनि दार्जिलिङबारे चासो राखिरहन्छु । त्यहाँ फेरि गोर्खाल्यान्ड आन्दोलन तातेको छ । चिया मजदुरदेखि स्कुले विद्यार्थीसमेत छुट्टै राज्य हुनुपर्छ भनेर जुलुस र धर्नामा निस्कनु अधिकारको कुरा हो । यसलाई गम्भीरतापूर्वक लिँदै सरकारले नेपालीभाषीको हक हितमा ध्यान दिनुपर्छ । असमका नेपालीभाषीले पहिलेभन्दा केही बढी अधिकार उपभोग गर्न पाएका छन् ।

सञ्जय बान्तवा

वनारसको काशी हिन्दु विश्व- विद्यालयमा प्राध्यापनरत भए पनि म जन्मेको दार्जिलिङमै हो । अहिले पनि बाक्लै आउजाउ भइरहन्छ । सन् १९८६ को आन्दोलनमा त म विद्यार्थी मोर्चामा आबद्ध भएर आन्दोलनमा होमिएकै थिएँ । अहिले टाढा बसेरै पनि गोर्खाल्यान्डको समर्थक हुँ । शिक्षित बेरोजगार बढदै जानु दार्जिलिङको चर्को समस्या हो । यदि गोर्खाल्यान्ड राज्य भएमा थुप्रैले नोकरी पाउँथे । भारतमा नेपालीको सान नै अर्को हुनेथियो ।

डा. जीवन नाम्दुङ

बच्चाबच्चीदेखि बूढापाकासम्मले साथ दिएको आन्दोलनले गर्दा गोर्खाल्यान्ड प्राप्त हुने आशा बढदै छ । पहिलेको आन्दोलन उत्कर्षमा पुगे पनि दार्जिलिङ गोर्खा पार्वत्यपरिषद् पाउँदैमा चित्त बुझाउनु पर्‍यो । अब त्यस्तो हुने छाँट छैन । आन्दोलन गरिरहेको पार्टीका नेताले छुट्टै राज्य नभएसम्म आन्दोलन नरोक्ने बताउँदैछन् । हामी लेखक साहित्यकारले पनि आ-आफ्ना सिर्जनामार्फत यो आन्दोलनलाई होस्टेमा हैंसे गरेकै छौं ।

दुर्गाप्रसाद श्रेष्ठ, वनारस

संघीय भारतमा अर्को छुट्टै राज्य माग्नु अनौठो कुरा होइन । भरखरै तेलंगना राज्य कायम गर्ने कुरा चर्चाको विषय बनेको छ । हक अधिकारबाट वञ्चित नेपालीभाषी जस्तै त्यहाँका आदिवासीले पनि छुट्टै राज्य पाउने सम्भावना बढेको छ । उत्तरप्रदेशबाट उत्तराञ्चल राज्य पनि बनाइएकै हो । पश्चिम बंगाललाई टुक्र्याएर 'गोर्खाल्यान्ड' बनाइए लाखौं नेपालीभाषीको भाग्य र भविष्य उज्ज्वल हुन्थ्यो । आन्दोलन जारी राखे यो सम्भव छ ।

गीता उपाध्याय, गुवाहटी

असमपछि धेरै नेपालीभाषी बस्ने ठाउँ हो दार्जिलिङ । त्यताका कालिम्पोङ, खरसाङ, मिरिक, रिम्बिक, सौरेनी, सिलिगुडी, डुवर्स आदि ठाउँका नेपालीहरू पहिलेदेखि नै गोर्खाल्यान्ड राज्य हुनुपर्छ भनेर कराइरहेका छन् । समाचारपत्रहरूमा त्यसको थुप्रै चर्चा परिचर्चा भइरहन्छ । बंगालमा बस्नुपर्दा भाषा संस्कृति नमिलेको भन्दै असन्तुष्टि पोखिरहेका उनीहरूको माग सम्बोधन हुनुपर्छ ।

गुप्त प्रधान

कुनैबेला गोर्खाल्यान्ड राज्यकै माग्दै आन्दोलन चलाएका सुवास घिसिङ असफल भए पनि विमल गुरुङले अहिले आन्दोलन हाँकिरहेका छन् । छिमेकी भएकाले घिसिङबारे धेरै कुरा जान्दछु । उनी बोलेको कुरा पूरा गर्न नसकेर असफल भएका हुन् । अब त्यस्तो धोका नहोलाजस्तो लाग्छ । आन्दोलनको आँधीबेहेरी यति धेरै चलेको छ कि, अब पार्टी नेतृत्वले गोर्खाल्यान्ड राज्य प्राप्तिबाहेकका कुरामा सम्झौता गर्‍यो भने जनताले थान्को लगाउने छन् ।

लीलबहादुर क्षेत्री, गुवाहटी

गुवाहटी बसे पनि दार्जिलिङबारे सधैं सुनिरहन्छु । साथीभाइसँग कुरा पनि भइरहन्छन् । गोर्खाल्यान्डको नारा गुञ्जिएको थाहा पाउँदा मन खुसी हुन्छ । असममा पनि आदिवासीहरूले फरक राज्य माग्दै वर्षौंदेखि आन्दोलन गर्दै आएका छन् । बौद्धिक तर्कसहित आन्दोलनमार्फत अझ दबाब दिइरहे भारतलाई 'गोर्खाल्यान्ड' दिन कर लाग्छ ।

शरद क्षेत्री

अधिकार माग्दा नपाए खोसेर लिनुपर्छ भन्ने मान्यताजस्तै अचेल दार्जिलिङे नेपाली 'गोर्खाल्यान्ड' हात पार्ने दाउमा छन् । दुई वर्षदेखि हरेक घरका नागरिक गोर्खाल्यान्ड आन्दोलनमा सक्रिय

छन् । महिलाहरू काम धन्दा भ्याएर जुलुसमा नारा लगाउन जान्छन् । ड्राइभरले गाडीमा गोर्खाल्यान्ड लेखेका छन् । विद्यार्थी भोक हडतालमा उत्रन्छन् । सबैतिरको साथ सहयोगले छुट्टै राज्यको सम्भावना बढदैछ ।

नरबहादुर दाहाल

दार्जिलिङतिरका नेपालीहरू अचेल कामधन्दा भुलेर अधिकार खोज्दैछन् । बंगालबाट हेपिएको अनुभव गरेका नेपालीले छुट्टै राज्य हुनुपर्ने अडान राख्दैछन् । हिंसात्मक होइन शान्तिपूर्ण आन्दोलनमार्फत गोर्खाल्यान्डको माग चर्काएका नेपालीभाषीसँग सरकारले तीन-चारवटा वार्तासमेत गरेको छ ।
read more...

इरेजरले जीवनका दुःख-सुख मेट्न सकिन्न : इन्द्रबहादुर राई

- देवेन्द्र भट्टराई

इन्द्रबहादुर राई नेपाली साहित्यमा वैचारिक उचाइ राख्ने एक सिद्धहस्त स्रष्टा हुन्। ‘आज रमिता छ’, ‘विपना कतिपय’, ‘कठपुतलीको मन’, ‘कथास्था’ लगायतका उपन्यास/कथा कृतिसँगै आयामेली र लीला लेखनको खोज राईसँग जोडिएका परिचय हुन्। भारतको दार्जिलिङमा बस्दै आएका ८० वर्षीय राई शशांक प्रतिष्ठानको एक समारोहमा सहभागी हुन असार पहिलो साता झापाको धुलाबारी आएका थिए।



सिंगो जीवन भाषा/साहित्यमा समर्पित गरेपछि यसलाई तपाईं कत्तिको उत्पादक वा अनुत्पादक क्षेत्र मान्नुहुन्छ?
मेरा बुझाइमा हामी सधैं भ्रममा बाँचेका हुन्छौं। आखिरमा यो साहित्य के हो र? एकदिन हामी मरिजान्छौं। मरेपछि मैले यस्तो लेखेको थिएँ भन्ने ज्ञान पनि रहँदैन। व्यर्थैमा अम्बर हुने कुराहरू किन गर्ने? सधैं यस्तै सोचिरहने हो भने केहीको अर्थ पनि केही लाग्दैन। तैपनि यसलाई ‘सार्थक चिज’ मान्नुपर्छ। बरु ‘भ्रमको पनि सार्थकता हुन्छ है’ भनेर चिन्नुपर्छ, बुझ्नुपर्छ। यो कुरा सबैलाई पढाउनु जरुरी छ। एकजना रेने वेलेक नामका विद्वानको पुस्तक ‘द एट्याक अन लिट्रेचर’मा भनिएको छ— साहित्य समाजका लागि उत्पादक कुरा हो, तर स्वयम् लेखकका लागि भने अनुत्पादक। मलाई पनि यस्तै लाग्छ, समाजको/जीवनको चित्र र चरित्र साहित्यले बाहिर ल्याउने हुँदा यो एकातिर उत्पादक विषय पनि हो। तर हामी लेखकका लागि कुनै बालीनालीझैं उत्पादक कहिल्यै हुन सक्दैन साहित्य।

‘म आफ्नो सिर्जनाको दीयोमा तेल रित्तिएको महसुस हुनेबित्तिकै तेल भर्न नेपाल आउँछु’ भन्नुहुन्थ्यो। अहिले के ठान्नुहुन्छ ?
हो, दसगजा काटेर नेपालतर्फ आउँदा उता (दार्जिलिङ) का कुराहरू अलिक टाढा भएजस्तो लाग्छ। फेरि यताका समस्यासँग चिनजान हुन थालेजस्तो हुन्छ। उताका समस्याले हामीलाई यसरी छोपिरहेको हुन्छ, जसबाट हामी भाग्न सकिरहेका हुन्नौं। यता आउँदा भने केही सिक्ने, जान्ने छोटो मौका मिलेजस्तो हुन्छ। यताबाट दार्जिलिङ जाँदा उताका समस्याहरूले फेरि घेरेर ल्याउँछन्, मनमस्तिष्कमा अभ्यस्त कठिनाइहरू घेरिन थाल्छन्। आजभन्दा ५० वर्षअघि पहिलोपटक नेपाल आउँदा भने यता भिन्नै ठाउँ र भिन्नै समयमा आएजस्तो लाग्थ्यो। त्यसबेला बल गरेर पनि एकअर्काका भिन्नता खोज्नतिर लागिन्थ्यो। अब त के लाग्छ भने हाम्रा भाषा, हाम्रा आवाज, हाम्रा काका-मामा, हाम्रा भँगेरा-काग सबै एकै छन् जस्तो लाग्न थालेको छ। बरु हामी बीचका दुःख र सुखका खालहरू भने भिन्न छन्। र, यो पनि पक्कै हो कि आफ्नो सिर्जनाको दीयोमा तेल रित्तिएको बेला अहिले पनि नेपाल आउने अथवा यताका सत्संग/विचारको स्मरण गर्ने काम म गरिरहेको हुन्छु।

प्रयोग र सिर्जनाका कुरामा कुनै समयमा कवि बालकृष्ण समले भनेका थिए, ‘आज दार्जिलिङले जे सोच्छ, त्यो भोलिमात्रै नेपालले सोच्छ’। तपाईंका विचारमा आजको यथास्थिति के छ ?
हो, त्यसबेला त्यत्तिकै हामीलाई फुक्र्याउन भनिएको थियो कि जस्तो लाग्छ। आज सम्झँदा नेपाल त हामीभन्दा धेरै अघि पुगिसकेको म अनुभव गर्छु। अघि दार्जिलिङले एक-दुई काम गर्‍यो होला, अहिले नेपालले अनेकवटा नयाँ काम गरेको छ, नयाँ बाटो रोजेको छ। सधैं एउटा ठाउँ अघि भइरहने र अर्को ठाउँ पछि भइरहने कुरै छैन। उदाहरणका लागि हामी दार्जिलिङमा अनेक जातजाति र समूह मिसिएको अवस्थामा छौं। हो, हामीलाई स्थितिले त्यस्तो गरायो र हामी मिल्यौं। त्यसरी मिसिएर बसेकाले त्यहाँ नेपाली जातित्वको विकास भयो। यो कुरा नेपालमा भर्खरै सुरु भएको छ, तर विकास हुन बाँकी छ। यसमा दार्जिलिङ पहिलो भएको हो, तर स्थितिलाई पनि भुल्न मिल्दैन। बुद्ध धर्मले भन्छ— सर्त वा अवस्था उब्जिएपछि मात्रै कुनै कार्य सम्भव हुन्छ।

जीवनमा आजभन्दा ५० वर्षअघि गरिएका वा लेखिएका कामहरू आज पुरानाझैं, काम नलाग्नेझैं भएका जस्तो लाग्दैन?
होइन, त्यसरी गरिएका कामहरू ‘अर्थहीन’ बनेका छन् भन्ने पक्षमा त म छैन। बरु यत्ति हो कि हामीले प्रयोग गरेका अर्थहरू भने मरेका हुनसक्छन्। समयकालमा लेखकको मृत्युमात्रै होइन, अर्थको पनि मृत्यु हुन्छ। र नयाँ अर्थ जन्मन्छ। लेखनाथले भनेका छन्— ‘चैत्रमा किन हुँदैन धान, तँलाई मालुम छ कि यो कुरा मन’। अब यसलाई अर्थ लगाएर पढाउनुपर्दा हामी ‘ईश्वरको इच्छाले मात्रै सबै कुरा हुन्छ, ईश्वरको इच्छा हुँदैन भने केही पनि हुन्न’ भनी पढाउँथ्यौं। उनको इच्छा नभई चैतमा धान रोपिन्न भन्थ्यौं, उनको इच्छाविना एउटा पात पनि हल्लिन सक्दैन भन्थ्यौं। तर आजकल अनेक खालका धानका वीउ आएर, सिंचाइ भएर चैतमा पनि धान रोपिन्छ, मंसिरमा पनि रोपिन्छ। अब भने त्यो पुरानो अर्थमा विनिर्माण आएको छ, यसरी अर्थको मृत्यु भएको छ।

लेख्नुभन्दा अगाडि नै कुनै शैली प्रयोगको खाका बन्छ या यो पछि बन्ने कुरा हो?
यसमा विचार गर्नेहरूले भन्छन्, सिद्धान्त र प्रयोगमा कुन अघि हिँड्छ भन्ने कहिल्यै थाहा हुन्न। अनि कसले कसलाई पछ्याउँछ, यो पनि भन्न नसकिने कुरा हो। जहाँ सिद्धान्तले कुनै कुरा लेख्न सकिन्न, त्यो कुरा प्रयोगले लेख्न सकिन्छ भनेर आजका साहित्यिक चिन्तकले भन्छन्। सिद्धान्तले पनि विश्लेषण गर्न नसकिने कुराहरू कत्ति हुन्छन्। तर ती कुरा प्रयोग र लेखनले भने भनिसकेको हुन्छ। उदाहरणमा, फ्राययडवाद त धेरै पछि आएको कुरा हो। शेक्सपियरका पालामा फ्रायडवादको कुनै कुरा थिएन। तर सिद्धान्तविनै उनले ‘ह्याम्लेट’मा कसरी फ्रायडवाद प्रयोग गरिसकेका रहेछन् भन्ने पछि थाहा भयो। बरु हामीजस्ता साधारण मान्छेका लागि भने अलिक निरापद बाटो भने सिद्धान्तलाई पहिले बुझेर अनिमात्रै प्रयोगमा लाग्नुमा हुन्छ। यसो गर्दा हामी ‘भूलबाटो’मा नपरिएला कि भन्ने हुन्छ। मेरो आफ्नो कुरा गर्दा भने अहिले आएर अनुभव हुनथालेको छ— मैले आफ्ना बारेमा त केही पनि लेखेको रहेनछु। खालि अरूकै भूमिका, अरूकै बारे लेखेर र प्रश्नोत्तर गरेरै मैले समय कटाएको रहेछु। अब केही लेख्छु भन्ने मनमा छ, के लेख्नुपर्ने हो— त्यो पनि मनमा छ, तर अरू काममा अनुरोध गर्नेहरूको चित्त नदुखाई नयाँ काम गर्न भने धेरै गाह्रो छ। यो ठूलो समस्या छ।

तपाईंको अनुभवमा जीवनमा ‘उमेर’ भन्ने के चिज रहेछ ? तीस वर्षे ऊर्जा र आजको अवस्थामा के अन्तर छ?
हो, अघि दगुर्दै आएको रफ्तारले गर्दा होला, अहिले पनि झट्टै बिसाउनसकेको भने छैन। अझै पनि अलिअलि हिँड्दैछु, कहिलेसम्म/कहाँसम्म जाने हो, थाहा छैन। पक्कै पनि थकाइको महसुस अलिक हुनथालेको छ। जीवनमा उमेर निकै ठूलो कुरा रहेछ, यो केही पनि होइन भन्न नसकिने रहेछ। अघि-अघि उमेर पातलो कमेज लगाएजस्तो हुन्थ्यो, लाएको थाहा पनि नपाइने। अब उमेर अलिक बाक्लो ओभरकोटजस्तो हुनथालेको छ, बोकेर हिँडेको तत्कालै थाहा भइहाल्ने।

उमेरसँगै पुराना कुरा सम्झनुमा कत्तिको फरक हुन्छ? पुस्तकतिर हामी पढ्छौं, पुराना कुराहरूलाई पछि फर्केर हेर्दा नयाँ अनुभवका माध्यमबाट हेरिन्छ। पुराना कुराहरूको मूल्य पनि भिन्न-भिन्न हुन जान्छ। प्रौढ अवस्थामा निकै सुखी हुन पाइयो भने आफ्नो दुःखपूर्ण बाल्यकाल पनि अलिक सुखपूर्ण देखिन थाल्छ। अझ बुढेसकालमा बढ्तै दुःख पायौं भने त आफ्नो दुःखपूर्ण बाल्यकालसमेत सुखपूर्ण देखिन थाल्छ रे। तर मचाहिँ अलिकति ढिलो परिवर्तन हुने खालको मानिस रहेछु। ममा अपर्झट दृष्टिको परिवर्तन आएन। सानो उमेरका कुराहरूलाई हेर्दा पहिले जुन मूल्यांकनले हेर्थें, अहिले पनि त्यही मूल्यांकनले हेर्छु जस्तो लाग्छ। जस्तोः अघि-अघि बाल्यकालमा आफूलाई मनपर्दा पुस्तकहरू किन्ने सौख र पैसाका लागि कुनै बन्देज थिएन, जुन अहिलेसम्म पनि छ।

जीवन यसो भइदिएको भए यसो हुन्थ्यो, अथवा अझ राम्रो हुने थियो भन्ने केही छ कि?
फ्रान्सका रव घ्रिलेइले एउटा लघु उपन्यास ‘द इरेजर’ लेखेका छन्। त्यसमा विषय छ, कुनै व्यक्तिले एउटा इरेजर (मेटाउने चिज) भेटेको छ र जसले आफ्नो इच्छाअनुसार भूतकाललाई मेटाउन सकिने हुन्छ। र त्यसमा इच्छाअनुसार नयाँ इमेज उतार्न सकिने हुन्छ। ‘तिमीले आफ्नो विगतका कुन-कुन कुरा मेटाउन सक्ने थियौ र त्यसको सट्टामा कस्तो चित्र अंकित गर्न सक्ने थियौ’ भनेर सोधिएको हुन्छ। अहँ, जति गर्दा पनि त्यस्तो मेटाउने कुरा पाइँदैन र सकिँदैन। सम्झनुहोस्— मलाई मन नपरेकी केटीसँग बिहा गर्नुपर्‍यो, म त्यो मेटाउन चाहन्छु। तर मन नपरेकी उनीबाट मनपर्दा छोराछोरी जन्मेका होलान्। अब के गर्ने ? ती श्रीमतीलाई मेटाउने हो भने ती केटाकेटी पनि मेटिन्छन्, जुन म चाहन्न। र त्यस्तो ‘इरेजर’ कतै भेटिएमा पनि सबैको हालत यही हुन्छ, कतैकहीं केही मेटाउन वा थप्न नसकिने ‘कहालिलाग्दो’ अवस्था। यहाँ जन्मेको भए, त्यहाँ जन्मेको भए भन्ने कुरा पनि ‘इरेजर’ भेटिएजस्तै कुरा हो। हाम्रा जीवनका दुःखसुखहरू पनि त्यस्तै हुन्, जसलाई कुनै ‘इरेजर’ले पनि मेट्न सकिन्न।

तैपनि स्वैरकाल्पनिक बनेर जीवनमा अझ बढी सुख वा आनन्दका विकल्प रोज्नेबारे कहिल्यै सोचाइ भएन?
हेर्नुहोस्, आफ्नो सुख पनि आफूले चिनेको सुख हुन्छ। आफ्नो दुःख पनि आफूले चिनेको दुःख हुन्छ। र अरूका सुखदुःखहरू त आफूले नचिनेका हुन्छन्। नचिनेका सुखदुःखभन्दा आफूले चिनेका सुखदुःखहरू नै सहन सकिने र प्यारा हुन्छन्। फेरि अर्को कुरा हामी आजकल कुनै कुरा पनि निश्चत भएर भन्न सक्दैनौं। हरेक कुरामा ‘खोइ होला’ भन्ने जवाफ आउँछ। हाम्रो टाउकोमा ज्यादा ज्ञान पस्यो भने यो अवस्था आउँछ। ‘यो पनि जानेका छौं, त्यो पनि जानेका छौं’ भन्ने भ्रमले जानेका कुरासमेत नजानेको झैं अवस्था आएको छ। यो अति चेतनाले हामीलाई अझ दिग्भ्रमित बनाएको छ। निश्चितता पाउन छाडेपछिको अवस्था अझ कठिन बनेको छ।

लेखनमा आइबी राई त अरूहरूका लागि अब एउटा विश्वासिलो ‘लेबल’ बनिसकेको छ भन्ने कत्तिको मान्नुहुन्छ ?
यही ‘लेबल’ले त सबै कुरा बिगार्छ नि ! हामी बजारमा केही चिज किन्न जान्छौं। मानौं, एउटा विदेशबाट आएको एउटा जुत्ता मनपर्‍यो। हाम्रो विवेकले भित्रबाट भन्छ, यो जुत्ताको मूल्य खासमा त ५ सय रुपैयाँ हुनुपर्छ। तर त्यसमा एउटा नामी कम्पनीको लेबल लागेको छ, त्यो देखेर हामी त्यही जुत्तालाई २ हजार रुपैयाँसमेत हाल्छौं। उत्तर-आधुनिकताको यो दिनहुँको अनुभव/भोगाइ हो। एउटा ‘लेबल’ले हामी कसरी बहकिन्छौं, हामी कुनचाहिँ षड्यन्त्रमा छिरिरहेका छौं भन्ने यो खोजाइ पनि उत्तर-आधुनिकता हो। जबकि त्यो बहकाइ एउटा भ्रममात्रै हो। त्यो झुक्काइमा पश्चिमकाले भने खोज गरेका छन्, अब हामी भने झुक्कीमात्र रहेका छौं। उनीहरूले त्यही खोजबाट बनाएका छन्, ‘हाइपोरियल’ सिद्धान्त। तर हामी भने ‘लेबल’मै दङ्गदास छौं।
read more...

राजेन्द्र भण्डारीसित फूलमान वल

"साहित्यले भारतीय नेपालीलाई जोडेको छ"



भारतीय नेपाली स्रष्टामध्ये नाम चलेका व्यक्तित्व् हुन् डा. राजेन्द्र भण्डारी । सिक्किममा दसैं मनाएर टीकाकै भोलिपल्ट उनी भद्रपुरबाट हवाईजहाज चढेर सोमबार काठमाडौं आइपुगे, कविताको पोको बोकेर । स्रष्टा प्रकाश सायमीको घरमा पाहुना बनिरहेका उनले शनिबार कोजाग्रत पूणिर्माको दिन गुरुकुलमा एकल कविता वाचन गर्दैछन् । ५४ वर्षअघि कालिम्पोङमा जन्मेका उनी ३५ वर्षदेखि सिक्किमको राजधानी गान्तोकमै छन् । २५ वर्ष प्राध्यापन अनुभव बोकेका भण्डारी सिक्किम गभर्नमेन्ट कलेजमा नेपाली विषयका एसोसिएट प्रोफेसर छन् । कविता र समालोचनामा कलम चलाउने उनका ँहिउँदे यी चिसा रातका पर्दाहरूमा’, ँयी शब्दहरू यी हरफहरू’, ँक्षर अक्षर’ लगायत आधा दर्जन कविताकृति प्रकाशित छन्, नेपाल यात्राका क्रममा उनले आफ्नो पछिल्लो कृति ँशब्दहरूको पुनर्वास’ को प्रमोसनल काम पनि गर्नेछन् । भण्डारीका लेखनीमा वर्तमान जीवन बँचाइका परिवेश, आध्यात्मिक चेतना र सामाजिक व्यंग्यसँगै नेपाली जातीय चेतना मिसिएर आउँछ ।

साहित्य लेखनमा कसरी प्रेरित हुनुभो ?

बुवा -भगीरथ भण्डारी) साहित्य साधना गर्नुहुन्थ्यो । उहाँका कविता र लोककाव्यसम्बन्धी कृति प्रकाशित छन् । माइला दाजु देव भण्डारी पनि नाम चलेकै स्रष्टामध्ये पर्नुहुन्छ । कथा, उपन्यास र कविता गरी उहाँका झन्डै एक दर्जन कृति प्रकाशित छन् । कान्छा छोरा भएकाले ममा अग्रजको प्रभाव पर्नु स्वाभाविकै थियो । सानैदेखि लेख्न थालें । हाम्रो पालामा स्कुलबाट पनि पि्रन्टेड साहित्यिक पत्रिका निस्कन्थ्यो । त्यहींबाट लेख्न सिकें । पछि कालिम्पोङ कलेज पढ्दा पनि साहित्य लेखनलाई निरन्तरता दिएँ ।

त्यति बेला साहित्यको त्यस्तो फराकिलो बजार थियो र ?

त्यस बखतको कुरै नगरौं । मनोरन्जन र चेतनाको एक मात्र माध्यम साहित्य नै थियो । बरु अहिलेको मल्टिमिडियाको जमानाले साहित्यको परम्परागत धरातललाई भत्काउने काम गरिरहेको छ । त्यो बेला साहित्य सबैको जीवनशैली थियो भने अहिले खास चासो लिने बौद्धिक समुदायमात्र मात्रै सीमित हुने

खतरा बढ्दै छ । यो बहुत निराशाजनक अवस्था हो ।

नेपाली जातीय चेतनाले पनि त्यति बेलाको साहित्यलाई बलियो बनाएको हो कि ?

हो, निश्चित रूपमा भारतमा नेपालीहरू अल्पसंख्यक समुदाय भएकाले सुरुदेखि नै भारतीय नेपाली साहित्यमा जातीय/सांस्कृतिक चेतना बलियो भएर

आयो । त्यो चेतना त अहिले पनि यो वा त्यो ढंगबाट साहित्यमा व्यक्त भइरहेकै छ, तर त्यतिबेला साहित्य सबैको साझा सौख नै हुन्थ्यो । साहित्यिक पत्रिका नै अनेक थिए । 'दियो', 'दियालो', 'सुनाखरी', 'मालिंगो', 'अर्चना', 'गोर्खा संसार', 'हाम्रो ध्वनि' जस्ता लोकपि्रय पत्रिकाहरूमध्ये अहिले एकाध मात्रै प्रकाशित ह्न्छन् । यति हुँदाहुँदै पनि भारतीय नेपालीहरूमा आफ्नो जाति र संस्कृतिप्रतिको प्रभाव विस्तार गर्न अहिले पनि साहित्य नै सशक्त माध्यम बनिरहेको छ ।

गोर्खाल्यान्ड आन्दोलनको प्रभाव पनि ?

गोर्खाल्यान्ड आन्दोलन वास्तवमा नेपाली जातीय चेतनाको उपज नै हो । सुरुसुरुमा यो प्रत्यक्ष साहित्यिक प्रभावमा थिएन । अहिले त न्दोलनमै आधारित गजल, कविता संग्रहहरू निस्कन थालेका छन् । यसबाहेक भारतीय नेपाली साहित्यको अहिलेको ताजा एजेन्डा र चुनौती भनेको नयाँ पुस्तामा अपनत्व र जातीय-सांस्कृतिक चेतना घुसाउनु हो ।

साहित्यबाट सांस्कृतिक-जातीय अपनत्वको स्थापना तत्काल सम्भव छ र ?

साहित्य नै त्यो माध्यम हो, जसले मानिसलाई सम्पूर्ण रूपमा बदल्न सघाउँछ । नाटककै कुरा गर्ने हो भने सिके श्रेष्ठको 'ऐनामा हेर रसाइली...' भारतभर चार सयपल्ट मञ्चन भयो । अझै पनि विभिन्न थलोबाट मञ्चनको निम्तोहरू आइरहेका छन् । यो नाटकले याँ पुस्तामा नेपाली संस्कृति र जातीय चेतना जगाउन साँच्चिकै प्रभावशाली काम गरिरहेको छ । ललित गोलेको 'भानु र पाला' नाटक अहिले सिक्किमको 'हटकेक' हो । यो नाटकको चौथो शृंखला पनि आइसक्यो । यो नाटकको सीडी बजारमा निस्कनै हुन्न, रातारात बिक्री हुन्छ । यसबाट के भन्न सकिन्छ साहित्यिक अभियान र कर्मले मानिसको चेतनामा बदलाव ल्याइदिन्छ ।

साहित्यिक कृतिको बजारचाहिँ कत्तिको छ ?

निराशाजनक छैन । मेरै उदाहरण लिने हो भने पछिल्लो कृति 'शब्दहरूको पुनर्वास' छापिएको केही महिना मात्रै भयो, ५ सय प्रति सकेर अहिले रिपि्रन्ट गर्दैछु । मेरा प्रायः कृतिहरू सबै बिकिसकेका छन् । समालोचना र उपन्यास धेरैजसो बिक्छन् । यो त भारतीय बजारको कुरा मात्रै भो, यता नेपालसम्म बजार प्रवर्द्धन गर्नसक्ने हो भने यो दायरा झन् फराकिलो बन्न सक्छ ।

बजार प्रवर्द्धन हुन नसक्नुको कारण ?

यो एकदमै दुःखलाग्दो कुरा हो । नेपालमा छापिएका कृति सजिलै भारतमा जान सकिरहेका छैनन्, उता छापिएको कृति यता ल्याउन पनि उत्तिकै कठिन छ । केही वर्षअघिसम्म सिलिगुडीमा साझा प्रकाशनको बिक्री केन्द्र थियो, सजिलो भएको थियो, अहिले त्यो पनि छैन । साझाको बिक्री केन्द्र घाटा गएको भनेर पनि भनिन्छ । यसको पुनःस्थापना हुनुपर्छ भनिरहेका छौं हामी । घाटाभन्दा पनि व्यवस्थापनको समस्या हो जस्तो लाग्छ । मैले नै सालमा दस हजार रुपैयाँको किताब किन्थें । कसरी घाटा हुन्छ ? किताब किन्नकै लागि म झापातिर आइरहन्छु । तेराख, कृष्णभूषण बल, मनु मन्जिलहरूसँग भेट भइरहन्छ । साथीहरूले सुझाएका किताब किन्छु । अहिले उता एकता बुक हाउसको शाखामा नेपालबाट किताब र पत्रपत्रिका पुग्छन् । किन्न चाहेरै पनि सजिलो हुँदैन । एउटै किताब दर्जनौंले पालैपालो पढ्नुपर्ने हुन्छ । 'मधुपर्क' र 'गरिमा' त महिना दिनपछि मात्रै उता पुग्छन् ।

नयाँ योजना ?

भारतीय नेपाली समाजबारेको लामो कवितामाथि काम गर्दैछु । शोध पुस्तक 'सिक्किमेली नेपाली कथाको विश्लेषण र मूल्यांकन' छिट्टै प्रकाशित हुँदै छ । समालोचना संग्रह पनि निकाल्दै छु । यसबाहेक सिक्किम साहित्य अकादमीले नेपाली कविता, कथालाई अंग्रेजी र हिन्दीमा निकाल्दै छ । त्यसको अनुवाद समितिमा रहेर पनि काम गर्दैछु । एक वर्षभित्र यो काम पनि पुस्तकाकारमै आउँछ होला ।

एकल कविता वाचनको तयारी कस्तो छ ?

थुप्रै नयाँ-पुराना कविता बोकी ल्याएको छु । छानिएका पढ्छु । उता त एकल कविता वाचन कल्पना पनि गर्न सकिन्न । मेरो यो दोस्रो एकल कविता वाचन हो । दुई वर्षअघि रसियन कल्चर सेन्टरमा द म्युजिकल जर्नीले पहिलो एकल कविता वाचन गरेको थियो ।

साहित्यमा नलागेको भए ?

संगीतकार हुन्थें कि ? नारायणगोपालका गीतहरू एकान्तमा गुनगुनाउँछु । निकै मन पर्छ । आधुनिक नेपाली गीतहरू पनि खुब सुन्छु ।

यो उमेरसम्म पनि किन अविवाहित ?

खै, र्‍याङक्े ठ्याङ नमिलेको भन्नुपर्छ कि ? -एकैछिनको गम्भीरतापछि) समय त्यसै चिप्लिँदैचिप्लिँदै गयो । यसप्रति मेरो कुनै गुनासो छैन ।

एक्लोपन महसुस हुँदैन ?

भइहाल्छ नि । किताबै मेरो परिवार हो ।

कवि मान्छे, कोहीसँग प्रेम त पक्कै गर्नुभो ।

तथाकथित अर्थमा मैले प्रेम गरिनँ । समयक्रममा कोहीसँग नजिकि रहुँला, तर किताबमै लेखिने गरी आदर्श प्रेम भने हुन सकेन ।

कविहरू स्वभावैले गम्भीर हुन्छन् ।

हो, हो । सायद यही गम्भीरता मन नपरेर हो कि प्रेम नपरेको ? मन मिल्ने मैले कोही भेट्टाउन सकिनँ ।

अब के गर्नुहुन्छ ?

कलेजबाट ६ वर्षमा रिटायर्ड हुँदै छु । सिलिगुडी, सिक्किम या कालिम्पोङतिर सानो घर बनाएर बस्छु । आध्यात्मिक साधना गर्छु अनि साहित्य लेख्छु ।
read more...

जहाँ भए पनि नेपालीका दुःख एउटै - कवि मनप्रसाद सुब्बा

दीपक सापकोटा

तीन बीस उमेर पुग्नै आँटेका छन् कवि मनप्रसाद सुब्बा । बुढ्यौलीको उकालोमा पक्कै पनि मनमा अनेक कुरा खेल्दा हुन् । आखिर मनै त हो, कहाँ स्थिर रहन्छ र ? किशोरकालका जोसिला दिनहरू मनमा एक-एक गर्दै तरेली खेल्छन् होला । बालखा छँदाका ती दिन, खोलाछेउ साथीसँग गट्टा खेलेका क्षण, आमाले माया गरेर पिटेका दिनहरू ! यी सबैसबै मनमा ताजा भएर आउने र अनायासै भावनामा डुबाउने गर्दैनन् होला र ? दार्जिलिङका कवि सुब्बालाई आफ्नो जन्म तिथिमितिको उत्ति हेक्का राख्दैनन् । साँच्चि, जीवनमा कहाँ आइपुगियो होला ? यसबारे केही सोचेका होलान् त ? 'जीवन पाएको छु, आफ्नै पाराले बाँचिदिन्छु,' ५७ वर्षेले कविले सुनाए, 'अहिलेसम्मै पनि त्यसै भयो, कहिलेकाँही अरूका लागि बाँचे हुँला । तर, अब लाग्छ, जीवन र समय उमेरसापेक्ष हुन थालेछ । अब अरूका लागि बाँच्ने हो कि भन्ने सोच्दै छु ।'बिजनबारी दार्जिलिङमा उदाउने सूर्य र एउटै सुसाहटमा बगिरहेको खोला हेरेर बितेछन् उनका यतिका वर्षहरू । सुब्बा दुई हप्ताअघि साता काठमाडौं सहरमा आएको हल्ला सुनियो ।

दार्जिलिङे चिसो कटाउने निहुँले पारिवारिक भेटघाटको मेसोमा नेपाल पसेका उनले गुरुकुलको एकल कविता वाचन कार्यक्रममा कविता भन्न पनि भ्याए । यता जनमत वाटिकाले मासिक रूपमा गर्ने 'साहित्यिक सत्संग'को निम्तोमा उनी बनेपा आएका रहेछन् । अघिल्लो आइतबार साँझ उनी यताका कविका कविता सुनिरहेका र आफ्ना कविता पढिरहेका भेटिए । उनलाई देखेपछि झट्ट आयामेली स्रष्टा इन्द्रबहादुर राईको सम्झना भयो । नेपाल आउँदा राईसँग भेटेर कुरा गर्न मन लाग्दा-लाग्दै पनि कता के मिल्दैन के । तर, आज राईकै ठाउँबाट आएका कवि भेटिएका छन् । मनभरि उतैको माया र संस्कृति बोकेर आएका कवि सुब्बा । मनभित्र दार्जिलिङका स्रष्टाको शक्ति बलियो हुन्छ भन्ने भाव जमेर बसेको छ । ती बलियो सिर्जना-शक्ति भएकासँग भेटेर गफ गर्न मन लाग्ने नै भयो ।


सुब्बासँग भेटेर एउटा सिंगो युगको कुरा गर्न मन लाग्यो- समय, समाज, जीवन र साहित्यको कुरा । उसवेला नाटककार बालकृष्ण समले भनेका थिए- 'आजको दार्जिलिङले जे सोच्छ, भोलिको नेपालले मात्रै त्यो सोच्नेछ ।' त्यो युग र समय भोगेर यता आएका सुब्बाले के सोचे हुन् ? अनि साँच्चै, समले त्यसो किन भने ?पञ्चायतदेखि गणतन्त्रसम्मको नेपालसम्मको चरित्र-चित्र प्रत्यक्ष/परोक्ष बोध गरिरहेका मनप्रसाद सुब्बाले नेपालको राजनीतिबारे यस्तो दृष्टिकोण बनाएका रहेछन्, 'यताको राजनीति अलि चाँडो हिँड्दोरहेछ ।' उनले भने, 'राजनीतिक गतिअनुसार देशको गति भने उँभो लागेन ।'दार्जिलिङमै एमए पास गरेपछि सुब्बा लगातार मास्टर बने । अहिले पनि त्यतै छन् । क्याम्पसमा अंग्रेजीका प्रोफेसर । 'सुरुमा क्याम्पस पढ्दादेखि नै बाहिरी पुस्तक र लेखक भनेपछि खुबै रुचि थियो,' उनले सुनाए । धेरैअघिदेखि मनप्रसाद जहिल्यै पनि एकान्तमा बसेर धेरै बेर केके-केके सोचिरहन्थे ।

ती बहकिएर कहिले कविता लेख्थे भने कहिले उपन्यास । जीवनभर लगाएर लेखिएका तिनै टिपोटमध्ये एक दर्जन सम्झनाहरू अहिले पुस्तकाकारमा आएका छन् । उनका कविताहरूले जहिले पनि नित्य, जीवन्त र अघि बढिरहेको समयलाई समातेको हुन्छ । कवितामा पीडा हुन्छन् मान्छेका । हामीले भोगेको समाज प्रत्यक्ष भएर आउँछ कवितामा । लालटिनको मधुरो उज्यालोमा लेखिएका शब्दहरूमा गाउँघर, जंगल, पहाड र केराघारीका कथा छन् । साहित्यमा सौन्र्दय पक्ष भए मात्र सिर्जना बलियो हुने सुब्बाको ठहर छ । 'प्रमुख भनेकै सौन्र्दय पक्ष हो,' उनी भन्छन्, 'जीवनका गीत र लय नभए त्यो के कविता, के साहित्य ।' दार्जिलिङको एउटा गाउँबाट फुत्त उब्जेको लेखाइमा सुब्बा 'ग्लोबल' बन्न खोजेका छन् । र, भन्छन्, 'संसारका सबै मान्छेको दुःख एउटै त हो नि ।' यसो भनेर उनले दुःख 'ग्लोबल' हुन्छ भन्ने तर्कलाई पुष्टि गरे । र, अझ बढी संवेदनशील बन्न खोजेका देखिए । उनी उपन्यास, कथा, कविता र दर्शनका उदाहरण एकसाथ पस्किरहेका छन् । 'बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू', बुख्याँचाहरूको देशमा', 'उष्मा', आदिम बस्ती' 'ऋतु क्यानभासमा रेखाहरू', नामका कविता-संग्रह प्रकाशित गरिसकेका सुब्बाले अनुवाद कृतिहरू पनि लेखेका छन् । र 'त्यो मोडसम्म पुगेको मान्छे' उपन्यास पनि । उनी लेखाइमा स्थानीय सन्दर्भ र ठेट कुरालाई मीठो भाकामा समेट्छन् ।

पछिल्लो समयमा उनले सीमान्तीकृत र किनारीकृतका आवाज कविताबाट उठाएका छन् । आफ्नो पहिचानका खातिर उता भारतमा लडिरहेको उनी सम्झन्छन् । 'हामीलाई भारतको 'मेनस्टि्रम'बाट किनारा लगाइएको छ, हामी सीमान्तीकृत वा किनारीकृतका कुरा लेखिरहेछौँ', उनी भन्छन्, 'त्यसलाई सैद्धान्तिक रूप दिने काममा छौँ ।' यही मेसोमा उनी र एकजना नयाँपुस्ताका कविले संयुक्त रूपमा एउटा कविता-संग्रह प्रकाशित गरेका छन्- 'किनाराका स्वरहरू ।'

कविता लेखेर के भयो ? 'उही त हो, गजबको आत्मसन्तुष्टि हुन्छ । अरू त केही छैन्,' उनी भन्छन् । यताको नेपाली साहित्य दार्जिलिङतिर सिर्जना गरिएको साहित्यको दाँजोमा किन कमजोर छ ? यस्तो प्रश्न सुनेर उनी केहीबेर गम्भीर देखिए । र भने, 'भारतीय नेपाली कवितामा कला र रूपको सन्तुलन अलि राम्रो छजस्तो लाग्छ । यताकामा त्यो अलि नभएको मैले पाएँ ।'अनि, नेपालको र दार्जिलिङको कविता 'टे्रन्ड' पनि फरक छ नि ! 'सामाजिक, राजीतिक विषय-वस्तुप्रतिको हेराइ र बुझाइ फरक छ,' सुब्बा भन्छन्, 'नेपालको रचनामा अनुभूतिपक्ष पनि अलि कम पाएँ ।' साहित्यमा घटनाको कुरा गर्न वा लेख्न अलि कठिन छ रे । विचारबारे त झनै कठिन भन्छन् उनी, 'खै त्यस्तै लाग्छ, विचार लेख्न कठिन छ ।' नेपाल आएदेखि नै आफू कवितामय बनेको मीठो सन्दर्भ सुनाए सुब्बाले । दार्जिलिङका प्रोफेसर कवि मनप्रसाद सुब्बा यता नेपाल पसेका वेला उता उनको गाउँतिरका चुल्ठा जोडेर बसेका बाँसझ्याङहरू, उत्तिसको बूढो रुख, गुराँसका पोथ्रा र पाखा-भित्ताले संगालेको माया मनभरि लिएर बसेका छन् । कसरी बिर्सन्छन् होला र ती ? 'सम्झना मात्र कालजयी नहुने रहेछ,' ती कविले सम्झिए, 'भावना र भावावेग सधैं बाँचिरहने रहेछन् ।' कवि सुब्बासँग छोटो बसाइमा यिनै कुरा भए । नेपाली कविता, तिनले उठान गरेका विषय, दार्जिलिङका तेर्सै ठडिएका पहाडहरू, आफूहरूले दार्जिलिङमा कविता लेख्न थाल्दाका दिन र अहिलेका बीच धेरथोर तुलना पनि भए ।

उनको बुझाइ र साहित्यप्रतिको भोगाइ एकनास र उस्तै छ । 'भाइ, हामीसँग हाम्रो राजनीतिक, आर्थिक तत्त्वहरू पनि सँगै हुँदारहेछन्,' उनी बोल्दै थिए, 'त्यसैले हाम्रा साहित्य पनि तिनैबाट प्रभावित हुन्छन्, तिनै अनुभूतिमा जाग्छन् ।''भाषिक र सांस्कृतिक धरातल यौटे भए पनि भौगोलिक साँध सिमानाले छुट्याएको दार्जिलिङको आफ्नै सामाजिक-राजनीतिक संरचना छ,' समाजको विश्लेषण गर्लान् किझैं उनले भने, 'तिनै संरचनाका प्रभावले दुई देशको साहित्यलाई आफ्नो पहिचान पनि दिएको छ ।'साँच्चै, यी अनुभव, भोगाइ र सिर्जनाबीच यति धेरै भिजेका सुब्बालाई आउँदा दिनमा नेपालीले कत्तिको सम्झने होलान् ? सोध्न मन लागेको यो प्रश्न मनमै रह्यो । यो सानो देश नेपाल र दार्जिलिङको सीमारेखाबीच के कुराले यति ठूलो काम गरेको छ होला ? उनीसित छुटेको घन्टौंपछिसम्म पनि यस्ता प्रश्न घुमिरहे यो मनमा ? तर, सम्झनाको कुनामा अझ बढी ताजा भएर आयो उनैको एउटा कविता-

वर्षौं वर्षमा एकपल्ट
सलहको बथान आउँछ,
हाम्रो फसल खाइदिन्छ र फर्किन्छ
तर, यसपालि भने
खेतै खाइदिने मेसिनहरू आए
अनि, खेत खानुअघि तिनीहरूले

खेतालाहरू खाए ।
read more...