मुख्य समाचार :


गोर्खाल्याण्डबारे के भन्छन्‌ हाम्रा साहित्यकारहरू?

प्राकृतिक सौन्दर्यका दृष्टिले चर्चित भारतको दार्जिलिङ यतिबेला 'गोर्खाल्यान्ड' आन्दोलनले चर्चामा छ । कुनैबेला बि्रटिस शासन रहेकाले 'हिल स्टेसन' का रूपमा विकसित दार्जिलिङमा अधिकांश नेपालीभाषी छन् । पश्चिम बंगाल राज्यबाट छुट्टएिर दार्जिलिङलाई केन्द्रविन्दु बनाई 'गोर्खाल्यान्ड' नामको अलग्गै राज्य स्थापना गरिनुपर्ने आन्दोलन- कारीहरूको माग छ ।

'गोर्खाल्यान्ड' सम्बन्धमा पछिल्लोपल्ट दिल्लीमा सम्पन्न राजनीतिकस्तरको पहिलो त्रिपक्षीय वार्ता निष्कर्षविहीन भए पनि विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा पार्टीले नेतृत्व गरेको आन्दोलन जारी छ । सन् १९८६ ताका सुवास घिसिङको नेतृत्वमा १२ सय नागरिकको ज्यान जानेगरी यस्तै आन्दोलन भए पनि 'गोर्खाल्यान्ड' हुन सकेको थिएन । सन् २००७ अक्टोवरदेखि पुनः जागरण भएको आन्दोलनलाई अहिले पश्चिम बंगाल राज्यमात्र होइन केन्द्रीय सरकारले पनि चासो दिन थालेको छ ।

यसै सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्कीको अवसरमा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका लागि काठमाडौं आएका दार्जिलिङसहित भारतका विभिन्न थलोका साहित्यकारसँग 'गोर्खाल्यान्ड' आन्दोलनबारे शनिबार लिइएको प्रतिक्रिया-

इन्द्रबहादुर राई

गोर्खाल्यान्डको नारा धेरै पुरानो हो । मेरो एउटै मान्यता के छ भने सन् १९३० को दशकमा भारतमा कांग्रेसले अंग्रेज सरकारबाट पाएको उपलब्धिको तौरतरिकामा 'केही पाउने' तकनीकि अपनाउनु जरुरी हुन्छ । वार्ता र सहमतिबाट जति पाउन सकिन्छ, लिइहाल्नुपर्छ । त्यसपछाडि अर्को कदम र उपाय अवलम्बन गर्नु महत्त्वपूर्ण हुन्छ । 'यति नभई हुँदैन,' भन्ने अडानमै अडिग हुने हो भने टुंगोमा पुग्न मुस्किल पर्छ ।

गोमा शर्मा, गुवाहटी

गोर्खाल्यान्ड राज्य माग्नु नेपालीभाषीकै गौरव हो । हामीले भारतमा ३५ वर्षसम्म आन्दोलन गरेर नेपाली भाषालाई संवैधानिक मान्यता दिलाएजस्तै दार्जिलिङवासीले संघर्ष जारी

राख्नुपर्छ । बंगालसँग हरेक कुरा नमिल्ने भएकाले नेपालीभाषीले छुट्टै राज्य माग्नु जायज कुरा हो । दार्जिलिङवासीले रात दिन जारी राखेको आन्दोलनलाई पूर्वोत्तर भारतका लाखौं नेपालीले सुरुबाटै प्रत्यक्ष अप्रत्यक्ष समर्थन गरेकै छन् । भावी दिनमा पनि समर्थन हुनेछ ।

मनप्रसाद सुब्बा

भारतमा बस्ने नेपालीभाषीको आफ्नै चिनारी हुनुपर्छ । यसका लागि गोर्खाल्यान्ड राज्य कायम गरिनुपर्छ । भाषा, संस्कृति नेपाली भए पनि हामी भूमिसँगै विलय भएर भारतीय भएका हौं । कतिपय सन्दर्भमा हामीलाई 'आप्रवासी' भन्ने आरोप लाग्दै आएको छ । गोर्खाल्यान्ड राज्य भएमा दार्जिलिङ क्षेत्रका नेपालीभाषीले झेल्दै आएका समस्या टुंगिन्छन् ।

टीकाराम उपाध्याय, गुवाहटी

म गुवाहटीमा बसे पनि दार्जिलिङबारे चासो राखिरहन्छु । त्यहाँ फेरि गोर्खाल्यान्ड आन्दोलन तातेको छ । चिया मजदुरदेखि स्कुले विद्यार्थीसमेत छुट्टै राज्य हुनुपर्छ भनेर जुलुस र धर्नामा निस्कनु अधिकारको कुरा हो । यसलाई गम्भीरतापूर्वक लिँदै सरकारले नेपालीभाषीको हक हितमा ध्यान दिनुपर्छ । असमका नेपालीभाषीले पहिलेभन्दा केही बढी अधिकार उपभोग गर्न पाएका छन् ।

सञ्जय बान्तवा

वनारसको काशी हिन्दु विश्व- विद्यालयमा प्राध्यापनरत भए पनि म जन्मेको दार्जिलिङमै हो । अहिले पनि बाक्लै आउजाउ भइरहन्छ । सन् १९८६ को आन्दोलनमा त म विद्यार्थी मोर्चामा आबद्ध भएर आन्दोलनमा होमिएकै थिएँ । अहिले टाढा बसेरै पनि गोर्खाल्यान्डको समर्थक हुँ । शिक्षित बेरोजगार बढदै जानु दार्जिलिङको चर्को समस्या हो । यदि गोर्खाल्यान्ड राज्य भएमा थुप्रैले नोकरी पाउँथे । भारतमा नेपालीको सान नै अर्को हुनेथियो ।

डा. जीवन नाम्दुङ

बच्चाबच्चीदेखि बूढापाकासम्मले साथ दिएको आन्दोलनले गर्दा गोर्खाल्यान्ड प्राप्त हुने आशा बढदै छ । पहिलेको आन्दोलन उत्कर्षमा पुगे पनि दार्जिलिङ गोर्खा पार्वत्यपरिषद् पाउँदैमा चित्त बुझाउनु पर्‍यो । अब त्यस्तो हुने छाँट छैन । आन्दोलन गरिरहेको पार्टीका नेताले छुट्टै राज्य नभएसम्म आन्दोलन नरोक्ने बताउँदैछन् । हामी लेखक साहित्यकारले पनि आ-आफ्ना सिर्जनामार्फत यो आन्दोलनलाई होस्टेमा हैंसे गरेकै छौं ।

दुर्गाप्रसाद श्रेष्ठ, वनारस

संघीय भारतमा अर्को छुट्टै राज्य माग्नु अनौठो कुरा होइन । भरखरै तेलंगना राज्य कायम गर्ने कुरा चर्चाको विषय बनेको छ । हक अधिकारबाट वञ्चित नेपालीभाषी जस्तै त्यहाँका आदिवासीले पनि छुट्टै राज्य पाउने सम्भावना बढेको छ । उत्तरप्रदेशबाट उत्तराञ्चल राज्य पनि बनाइएकै हो । पश्चिम बंगाललाई टुक्र्याएर 'गोर्खाल्यान्ड' बनाइए लाखौं नेपालीभाषीको भाग्य र भविष्य उज्ज्वल हुन्थ्यो । आन्दोलन जारी राखे यो सम्भव छ ।

गीता उपाध्याय, गुवाहटी

असमपछि धेरै नेपालीभाषी बस्ने ठाउँ हो दार्जिलिङ । त्यताका कालिम्पोङ, खरसाङ, मिरिक, रिम्बिक, सौरेनी, सिलिगुडी, डुवर्स आदि ठाउँका नेपालीहरू पहिलेदेखि नै गोर्खाल्यान्ड राज्य हुनुपर्छ भनेर कराइरहेका छन् । समाचारपत्रहरूमा त्यसको थुप्रै चर्चा परिचर्चा भइरहन्छ । बंगालमा बस्नुपर्दा भाषा संस्कृति नमिलेको भन्दै असन्तुष्टि पोखिरहेका उनीहरूको माग सम्बोधन हुनुपर्छ ।

गुप्त प्रधान

कुनैबेला गोर्खाल्यान्ड राज्यकै माग्दै आन्दोलन चलाएका सुवास घिसिङ असफल भए पनि विमल गुरुङले अहिले आन्दोलन हाँकिरहेका छन् । छिमेकी भएकाले घिसिङबारे धेरै कुरा जान्दछु । उनी बोलेको कुरा पूरा गर्न नसकेर असफल भएका हुन् । अब त्यस्तो धोका नहोलाजस्तो लाग्छ । आन्दोलनको आँधीबेहेरी यति धेरै चलेको छ कि, अब पार्टी नेतृत्वले गोर्खाल्यान्ड राज्य प्राप्तिबाहेकका कुरामा सम्झौता गर्‍यो भने जनताले थान्को लगाउने छन् ।

लीलबहादुर क्षेत्री, गुवाहटी

गुवाहटी बसे पनि दार्जिलिङबारे सधैं सुनिरहन्छु । साथीभाइसँग कुरा पनि भइरहन्छन् । गोर्खाल्यान्डको नारा गुञ्जिएको थाहा पाउँदा मन खुसी हुन्छ । असममा पनि आदिवासीहरूले फरक राज्य माग्दै वर्षौंदेखि आन्दोलन गर्दै आएका छन् । बौद्धिक तर्कसहित आन्दोलनमार्फत अझ दबाब दिइरहे भारतलाई 'गोर्खाल्यान्ड' दिन कर लाग्छ ।

शरद क्षेत्री

अधिकार माग्दा नपाए खोसेर लिनुपर्छ भन्ने मान्यताजस्तै अचेल दार्जिलिङे नेपाली 'गोर्खाल्यान्ड' हात पार्ने दाउमा छन् । दुई वर्षदेखि हरेक घरका नागरिक गोर्खाल्यान्ड आन्दोलनमा सक्रिय

छन् । महिलाहरू काम धन्दा भ्याएर जुलुसमा नारा लगाउन जान्छन् । ड्राइभरले गाडीमा गोर्खाल्यान्ड लेखेका छन् । विद्यार्थी भोक हडतालमा उत्रन्छन् । सबैतिरको साथ सहयोगले छुट्टै राज्यको सम्भावना बढदैछ ।

नरबहादुर दाहाल

दार्जिलिङतिरका नेपालीहरू अचेल कामधन्दा भुलेर अधिकार खोज्दैछन् । बंगालबाट हेपिएको अनुभव गरेका नेपालीले छुट्टै राज्य हुनुपर्ने अडान राख्दैछन् । हिंसात्मक होइन शान्तिपूर्ण आन्दोलनमार्फत गोर्खाल्यान्डको माग चर्काएका नेपालीभाषीसँग सरकारले तीन-चारवटा वार्तासमेत गरेको छ ।

0 comments: on "गोर्खाल्याण्डबारे के भन्छन्‌ हाम्रा साहित्यकारहरू?"