मुख्य समाचार :


मोर्चा र सरकारको चलखेलमा गोर्खालिगको शंका

कालेबुङ, 27 फरवरी।
गोर्खालिग महासचिव प्रताप खातीले दार्जीलिङ जिल्लामा माओवादी पसेको कुरा गोर्खा जनमुक्ति मोर्चा र सरकारको षडयन्त्रको अर्को चलखेल हुन सक्ने शंका गरेका छन्‌।
तिनले भने, यता विमल गुरूङले दार्जीलिङ जिल्लामा माओवादी पसेको कुरा गरेका छन्‌ भने उता गुप्तचर विभागले असमदेखि दार्जीलिङसम्म नै माओवादी पसेको छनक पाएको कुरा गरिरहेको छ। यसको अर्थ सोझो छ, जीटीएको गठनपछि पहाडमा जीटीएको विरोधलाई रोक्न मोर्चा र सरकारले माओवादी पसेको बहानामा सेना हुल्नु अनि विपक्षको जीटीए विरोधको आवाज रोक्नु। यो भन्दा ठूलो चाल अर्को हुन सक्दैन। जिल्लाका पुलिस प्रशासनलाई माओवादीको कुरा विमल गुरूङको हल्लाबोल मात्र रहेको स्पष्ट छ। प्रशासनले माओवादी पसेको कुरालाई अस्वीकार गरिसकेको छ। खातीको भनाइ अनुसार जीटीए जबरजस्ती हुल्ने प्रयासमा षडयन्त्र बुन्ने कार्य भइरहेको छ। तिनले भने, जस्तै जे नै भने पनि जनताले मोर्चाको गद्दारी पत्तो पाइसकेको छ। अहिले  विमल गुरूङले हॉंक्का हॉंक्की आफूले गोर्खाल्याण्ड नमागेको अनि केवल तिनले दार्जीलिङको तीनवटा महकुमालाई लिएर राजनीति गरेको स्पष्ट पारेका छन्‌। केही दिन अघि विमल गुरूङले दार्जीलिङको लाखौं गोर्खाहरूको आकांक्षा जीटीए रहेको बताएका थिए। खातीले यसैलाई विमल गुरूङको राजनीतिको निष्कर्ष बताए। तिनले थपे, वास्तवमा मदन तामङको काउण्टर लिडरकोरुपमा विमललाई केन्द्रले स्थापित गरेको हो। विमलको काम मदन तामङलाई नष्ट गर्नु थियो। यसकारण सरकारले हत्याराहरूसित पहाडको व्यवस्थाको निम्ति कुराकानी गरिरहेको छ।

 अहिले गोर्खा जनमुक्ति मोर्चाले जीटीएको निम्ति घुँडा घसिरहेको छ। यसको विरुद्धमा पहाडका जम्मै राजनैतिक दलहरू लागिपरेको छ। गोर्खाल्याण्ड टास्क फोर्सले भने जीटीएलाई छुट्टै राज्यको मार्गमा बाधा रहेको बताइरहेको छ। गोर्खालिग महासचिव प्रताप खातीले पनि यही कुरालाई पुष्टि गर्दै बिमल गुरूङले दार्जीलिङको लाखौं गोर्खाहरूको माग जीटीए बताएर तिनले छुट्टै राज्यको मुद्दालाई व्यापक हानि गरिरहेको बताएका छन्‌। तिनी अनुसार जुन जीटीएको निश्चित प्रशासनिक मियाद छैन, यसलाई गोर्खाल्याण्ड पुग्ने बाटो भन्नु जनताको आँखामा धुलो हाल्नु हो। अधिकांश जनताले मोर्चाको नियत बुझिसकेको छ। अर्कोतिर मोर्चा सहसचिव विनय तामङले जीटीएपछि विपक्षको नामोनिशान मेटिन्छ भन्नु डरको पराकाष्ट रहेको पनि खातीले बताए।

 तिनले भने, पहाडको विपक्ष नष्ट हुने होइन राष्ट्रयस्तरमा सङ्गठित भइसकेको छ।
 अब गोजमुमोको पनि त्यो बेला आयो जुन बेला गोरामुमोका नेताहरूलाई पहाडबाट खेदाइयो।  तिनले अझ थपे, विनय तामङले जीटीएपछि विपक्ष नष्ट हुने जुन सपना देखेका छन्‌, त्यो दिवा सपना हो। जीटीए थापेपछि नै वास्तवमा मोर्चाले विपक्षको महत्व थाहा पाउने छ। यता दार्जीलिङमा माओवादी पस्नुलाई मोर्चा र सरकारले मुद्दा बनाउनु देशको सुरक्षाको हीतमा नरहेको भन्दै यदि पहाडमा माओवादी पस्यो भने मोर्चाले नै पसाउने निश्चित रहेको ठोकुवा पनि तिनले गरे। तिनले भने, वास्तवमा मोर्चाले माओवादी भनेर आतङ्‌कवादी भन्न खोजेको हुनुसक्छ।



जसरी विमल गुरूङले टास्क फोर्स नामको फोर्स शब्दमाथि आपत्ति गर्दै टास्क फोर्सले अण्डर ग्राउण्ड ट्रेनिङ गरेको आरोप लगाएका थिए। पछि विमल गुरूङलाई कसैले फोर्स-बारे बुझाइदिए अनि तिनले त्यो आरोप छत्र सुब्बामाथि खन्याए। यस्तै अशिक्षित नेताको कारण गोर्खाल्याण्ड हुन नसकेको हो।

0 comments: on "मोर्चा र सरकारको चलखेलमा गोर्खालिगको शंका"