मुख्य समाचार :


आन्दोलन के को निम्ति छुट्टै राज्यको की जीटीएको?

कालेबुङ,12 दिसम्बर।
गोर्खा जनमुक्ति मोर्चा जीटीएको निम्ति बार्गेनिङमा लागेपनि मोर्चा कै भातृ सङ्गठन युवा मोर्चा भने छुट्टै राज्यको आन्दोलनमा लागेको छ। आलोचकहरूले मोर्चाले युवा मोर्चालाई केवल जीटीएको निम्ति प्रयोग गरिरहेको आरोप लगाएको छ। आलोचक अनुसार जीटीए शीघ्र नै गठन गर्ने चाप दिनको निम्ति नै युवा मोर्चालाई गोर्खाल्याण्ड भन्न लगाइएको हो। गोर्खाल्याण्डको गलत प्रयोग भइरहेको मात्र होइन मोर्चाले गोर्खाल्याण्डको नारा भात खाने व्यवस्थाको निम्ति दुरुपयोग गरिरहेको बताइरहेको छ। यता युवा मोर्चाले बङ्गाल हाम्रो चिहान हो भन्ने नारा लगाउने वित्तिकै विधायक त्रिलोक देवानले मार्च र अप्रेल महिनाबीच जीटीए गठन हुने सम्भावना व्यक्त गरेका छन्‌। आजदेखि बङ्गाल विधानसभा शीतकालीन सत्र शुरू भइरहेको छ। सत्रभरि नै सरकारको पक्षबाट बहस गर्ने 15 जनाको विधानसभाको टोली बनाइएको छ, जसमा एकजना कालेबुङका विधायक डा.हर्कबहादुर छेत्री पनि हुन्‌। डा. छेत्रीले सत्रभरि नै जीटीएको कुरा उठने नउठ्‌ने नबताए पनि विकासका मुद्दाबारे निश्चय नै चर्चा गरिने लाभाको एक कार्यक्रममा बताएका छन्‌। सम्भवत, विधानसभामा गोर्खा जनमुक्ति मोर्चाको युवा सङ्गठनले गर्ने गोर्खाल्याण्डको आन्दोलन विधानसभा सत्रलाई नै केन्द्रित गरेर गरिएको हो। दार्जीलिङका विधायकहरूलाई पहाडको वर्तमान अवस्था देखाएर जीटीए गठनमा शीघ्रता अप्नाउनुपर्ने विषयमा युवा मोर्चाको आन्दोलनले सहयोग गर्ने छ।
 विधानसभामा विकासको कुरा उठ्‌ने भएकोले पहाडको विकास जीटीएबाट नै गरिनुपर्ने सम्झौता भइसकेको तर यसको गठनमा ढिलाई भइरहेको कुरा उठाइने छ। मोर्चाले दाबी गरेको छ. जीटीएबाट नै पहाडको सर्वाङ्गिन विकास हुनेछ। मोर्चा अध्यक्ष विमल गुरूङले मायावतीले उत्तरप्रदेशलाई चारभागमा विभाजन गर्ने कुरा गरेपछि चारैतिर छुट्टै राज्यपन्थीहरूले आवाज तीब्र भयो। त्यहीबेला मोर्चा भने छुट्टै राज्य होइन जीटीएमा नै बसेको विमल गुरूङले बताएका थिए। तिनले पहाडको विकास पहिले अनि छुट्टैराज्य पछि भनेर छुट्टै राज्यको मुद्दालाई सेकेण्डरी बताएका थिए। मोर्चाले गर्न नसकेको त्यही सेकेण्डरी छुट्टै राज्यको आन्दोलन भातृ सङ्गठनले गर्ने भएको छ। युवा मोर्चाको आन्दोलन नै विमल गुरूङ कै बयानले शंकास्पद बनाएको छ। मोर्चा शीघ्र नै जीटीए गठन चहान्छ। सम्झौतापछि 6 महिनापछि मात्र जीटीए गठन गरिने सम्झौता भएको थियो। 6 महिनासम्ममा हाइपावर कमिटीले तराई र डुवर्सका सीमाङ्‌कनको कुरा छिनाफाना गर्ने अनि त्यसै समय जीटीएको चुनाउ हुने कुरा थियो। तर विमल गुरूङले नै आलोचना बढेपछि जबसम्म तराई र डुवर्सको दाबी 199 अनि 196 मौजाहरू जीटीएमा पस्दैन तबसम्म जीटीएको चुनाउ नै नहुने बताएर जीटीएको गठन हुन विलम्ब हुने स्थिति उपार्जन गरेका थिए।
 विमल गुरूङको वचन पनि खेर नजाने अनि जीटीए पनि गठन हुने जुक्ति खोज्दै मोर्चाले जोन बारलालाई मनाएर जीटीए होइन जीएटीए  गठन हुने नयॉं बाटो खोलिएको थियो। तर जीटीए होइन जीएटीए भनिएकोले जीटीएको गठन अझ विलम्ब हुने निश्चित भएपछि अहिले जोन बारलालाई पहिले जीटीए नै गठन गर्ने अनि त्यसपछि मात्र जीटीए सभाले जीटीएको नाम फेरेर जीएटीए बनाउने कुरामा सहमति गराएपछि मोर्चालाई जीटीए गठनमा अब कुनै अडचन छैन। तरै पनि राज्य सरकारले जीटीएको गठनमा कुनै चासो नदेखाएपछि युवा मोर्चालाई छुट्टै राज्यको आन्दोलनमा उतारिएको छ। यता आविपसितको सम्झौता तराई र डुवर्सलाई छोड्‌नको निम्ति नै गरिएको आरोप मोर्चालाई लागेको छ।
 यसमा भागोपले धेरै चासो देखाउँदै त्यसको विरोध गरिरहेको छ। जीटीएमा तराई र डुवर्सको गोर्खा बाहुल क्षेत्रको अन्तरभुक्ति छुट्टै राज्यको दाबीको मार्गमा अवरोध खडा गर्ने सरकारी चाल रहेको भागोपले बताइरहेको छ। भागोपले प्रस्तावित भूभाग बङ्गालको होइन, यसकारण प्रस्तावित क्षेत्रको मानचित्रबाट तराई र डुवर्स बाहिरिनु हुँदैन भनिरहेकोले आविपसित सम्झौता गर्दै जीटीए गठन गर्ने परिस्थिति मोर्चालाई आएको आलोचकहरूले बताइरहेको छ। तर पहिले जीटीए गठन हुन्छ अनि पछि त्यसको नाम जीएटीए बनाउँछ भनेर गरिएको घोषणाले भने अन्योलता पक्रिएको छ। तरै पनि मोर्चाले जे जति पनि गरिरहेको छ जीटीए शीघ्र गठन गर्नको निम्ति नै गरिरहेको छ। तर युवा मोर्चाको छुट्टै राज्यको आन्दोलनले जनताको भावानात्मकतालाई बहकाई दिएमा त्यसपछि मोर्चाले हठात जीटीए थाप्नु कति गद्दारीपूर्ण देखिन्छ भन्ने कुराको अनुमान गर्न सकिन्न। कतै युवा शक्तिलाई आन्दोलनमा भिडाएर उनीहरूलाई पक्राउ गराउने र पछि युवा शक्तिबाट हुने विरोधलाई नियन्त्रित गर्ने चलखेल त भइरहेको छैन भन्ने पक्षमा पनि धेरै युवाहरूले हेर्न ङालेका छन्‌।
 


0 comments: on "आन्दोलन के को निम्ति छुट्टै राज्यको की जीटीएको?"