मुख्य समाचार :


जसवन्त सिंहले नै बताई दिए जीटीए छुट्टै राज्यको बाधक हो-आरबी


मनोज वोगटी
कालेबुङ,13 दिसम्बर।
आउट साइडर सांसदहरूले झुक्याउँछ भनिएकै हो। जसवन्त सिंहले दार्जीलिङमा घरै बनाएर पनि छुट्टै राज्यको कुरा उठाउँछु, यहीं बस्छु र लड्‌छु भनेका थिए। तिनलाई जिताइयो तर तिनी संसदमा कुरा उठाउन खोज्दा खोज्दै हराए। धोका भएको थाहा पाएर क्रामाकपाले जसवन्त सिंहले राजीनामा दिनुपर्छ भन्ने माग गरेको हो। क्रामाकपाले शंका गरेको ठीक भयो। सांसद जसवन्त सिंह अर्को इन्द्रजित खुल्लर भए। आइटसाइडरले फेरि पनि धोका दिए। गोर्खाल्याण्ड टास्क फोर्सले चाप दिँदा तिनले सत्य कुरा ओकले। तिनले पनि प्रमाणित गरे जीटीए छुट्टै राज्यको मार्गमा बाधा हो भन्ने-क्रामाकपा अध्यक्ष आरबी राईले कालेबुङमा यसो भने। क्रामाकपा आञ्चलिक समितिले दिल्लीमा गर्ने धर्नाबारे साङ्गठानिक रिव्युको निम्ति कालेबुङ आएका राईले जीटीए छुट्टै राज्यको मार्गमा बाधा रहेको सांसदले नै बताइदिएपछि अरुले भनिरहनु नपरेको पनि बताए। तिनले भने,  वास्तवमा जसवन्त धेरै ठूला नेता हुन्‌। तिनले झुटको खेती गर्ने विमल गुरूङ जस्तो क्षेत्रीय नेताको हुकूम मान्ने कुरा नै थिएन। मदन तामङको हत्यापछि पक्राउ पर्ने डरले नै विमल गुरूङहरूले केन्द्र र राज्य सरकारसित मिलेर छुट्टै राज्यको मुद्दा दबाउन जीटीए थापेका थिए। तिनले अझ थपे, सांसद जसवन्तको कुराले प्रमाणित गर्‍यो, छुट्टै राज्यको मुद्दा त्यागेर जीटीए थापिएको थियो। त्यसकारण जीटीए रद्द नगरी छुट्टै राज्य हुँदैन भन्ने सत्य कुरा तिनले ओकल्नु करै लाग्यो। वास्तविकता दिल्लीमा नै थाहा पाइन्छ। वास्तवमा केन्द्रलाई छुट्टै राज्यको विकल्प नै जीटीए भनेर बताइएको छ। जीटीएले दार्जीलिङको विकास होला तर आन्दोलन केवल दार्जीलिङको विकासको निम्ति गरिएको थिएन। सम्पूर्ण देशभरिका गोर्खाहरूको राजनैतिक सुरक्षा अनि चिह्नारीको सवालमा आन्दोलन गरिएको थियो। तर विमल गुरूङले जीटीएसित छुट्टै राज्यको मुद्दा साट्यो। त्यसको फलाफल अहिले एकएक गर्दैै आउँदैछ। अब जनताले पनि बुझ्नुपर्छ, झुटको खेती गरेर जनताको आकांक्षाको विरोधमा राजनैतिक स्वार्थ राख्नेहरूको विरुद्धमा जाग्नुपर्छ। 


0 comments: on "जसवन्त सिंहले नै बताई दिए जीटीए छुट्टै राज्यको बाधक हो-आरबी"