मुख्य समाचार :


मदन तामङको हत्याको बार्गेनिङ नै जीटीए हो-आरबी राई

मनोज वोगटी
कालेबुङ,13 दिसम्बर।
केही दिन अघि मात्र कालेबुङमा गोर्खा जनमुक्ति मोर्चाको युवा सङ्गठनका नेताहरूले र्‍याली निकाल्दै क्रामाकपाको विरोध गरेको थियो। एक नेताले भनेका थिए, गोजमुमोलाई मदन तामङको हत्या दल भन्छ विपक्षी। तर अब मदन तामङको हत्याको बेला भएको आरबी राईको फोन ट्यापिङको पनि खुलासा हुनुपर्छ। आज त्यसैको जवाबमा आरबी राईले कालेबुङ नै आएर भने, युवा मोर्चासित त्यस्तो ट्यापिङ छ भने सार्वजनिक गरोस्‌। पेपरमा दियोस्‌। सबैलाई देखाइदियोस्‌ अनि मोर्चाका ठूला नेताहरूको ट्यापिङसित दॉंजोस्‌। भ्रम हटिहाल्छ। हत्यारा को थिएछन्‌, पत्तो पाइहाल्छ। तिनले थपे, मोर्चाका नेताहरूले हत्या गर भनेको फोन ट्यापिङ पेपरमा सार्वजनिक भएको छ। पढे होलान्‌ नै युवाहरूले। तिनीहरूलाई भनिराख्छु, त्यही ट्यापिङको कारण तिनका नेताहरूले मुद्दा बेचेका छन्‌। ट्यापिङले स्पष्ट पारेको छ हत्यारा को हुन्‌। तर उनीहरू खुल्लम खुल्ला हिँडिरहेका छन्‌। केन्द्र र राज्य सरकारले त्यही हत्यालाई मुद्दा बेच्ने बार्गेनिङ बनाएको छ। ठूलो कुरा गर्‍यो कि अप्ठ्यारोमा पर्छन्‌ मोर्चाका ठूला नेताहरू। मदन तामङको हत्याको कारण नेताहरूले छुट्टै राज्यसित जीटीए साटेको हो। तिनले हत्या सम्बन्धमा सीबीआईले कार्य गरिरहेको बताउँदै यस अघि पनि गोरामुमोले छत्र सुब्बाकाण्डसिल आफूलाई मुछेको बताउँदै भने, त्यसबेला घिसिङ हमला काण्डको मास्टर माइण्ड आरबी राई हो भनेका थिए। तिनले छत्र सुब्बाको विरुद्धमा एफआईआरसम्म गरेका थिएनन्‌। वास्तविकता छत्र सुब्बाको मुक्तिपछि स्पष्ट भयो।
बाध्यतामा छ युवा मोर्चा
आरबी राईले मोर्चाले छुट्टै राज्यको मुद्दासित जीटीए साटेको भए पनि जनता खुशी नरहेको बताए। तिनले मोर्चाकै समर्थकहरू पनि जीटीएसित खुशी नरहेको स्पष्ट पार्दै उदाहरण युवा मोर्चालाई नै देखाए। तिनले भने, युवाहरू लगाममा बस्न रुचाउँदैनन्‌। धेरै हद इमान्दार हुन्छन्‌। यसकारण केन्द्रिय कमिटीले जीटीए भनेको उनीहरूलाई मन परेको थिएन। जीटीए जनताको मुद्दा नरहेको अनि मोर्चाले जीटीए थापेर गोजमुमोलाई पुरानै गोरामुमो बनाइरहेको कुरा युवा मोर्चाले बुझेको छ। यसकारण कारण जे सुकै होस्‌, तर जीटीए भन्न नसकेर नै युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्ड भनिरहेको छ।
उनीहरू मुद्दा दबाउने हामी बँचाउने
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले केही दिन अघि क्रामाकपाको नाम नै सुन्न नमाने पनि पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै क्रामाकपालाई हत्यारा दल बताएका थिए। तिनले क्रामाकपा माकपाबाट आएको अनि माकपा हत्यारा रहेको बताउँदै गोजमुमो भने गोरामुमोबाट नआएको अपत्यारिलो कुरा गरिराखेर गएका थिए। त्यसबारे पनि आरबी राईसित प्रतिक्रिया सोद्धा तिनले भने, माकपासित गोरामुमो मिलेर मुद्दा दबाउन नै दागोपाप थापेको हो। विमल गुरूङ गोरामुमो कै प्रोडक्ट हुन्‌। सुवास घिसिङले माकपा सरकारले बोरा टक्टकाएर छैटौं अनुसूची दिएको बताएका थिए। अहिले विमल ममता सरकारले बोरा टक्टकाएर जीटीए दिएको भन्दै उफ्रिए। गोरामुमो माकपालाई मुद्दा बेच्दै दागोपाप थाप्ने दल थियो, हामी त्यही माकपाको विरोधमा छुट्टै राज्यको निम्ति आएका हौं। अहिले मोर्चाका नेताहरू मुद्दा बेच्दै एमएलए र सांसद भए, हामी छुट्टै राज्यको निम्ति नै एमएलए र सांसदको पद छोडेर आएका हौं। तिनले भन्नु पर्दैन जनताले बुझेका छन्‌ यो कुरा। क्रामाकपालाई नष्ट गर्न गोरामुमो, माकपा, धनीहरू, भ्रष्टहरू लागेकै हो, गोजमुमो पनि लाग्छ। यसलाई हामीले स्वाभाविकरुपले लिएका छौं। हामीलाई थाहा छ गोजमुमोले हामीलाई जित्दैन। क्रामाकपाको सङ्गठन दिनोदिन नै बलियो भएर गइरहेको छ। उनीहरूको युवा मोर्चाले फेरि पहाडमा नै छुट्टै राज्य भन्दा हाम्रा सङ्गठनहरूले दिल्लीमा धर्ना दिइरहेको हुनेछ। पटना, कुछविहार, कोलकाता, दिल्लीतिर कार्यक्रम गरिरहेको छ।
विधायकको मुखमा बनरोटी
राईले मोर्चाले झुक्याएर जनताको साथ पाइरहेको तर त्यो पनि स्थायी नरहेको बताउँदै भने, क्रामाकपालाई दबाउने त कुनै पनि चलखेल सफल हुँदैन। किन भने क्रामाकपा फोस्रे दल होइन। उनीहरूसित फोस्रे नेता र राजनैतिक कार्यक्रम छ। उनीहरूको विधायक डा. हर्कबहादुर छेत्रीलाई नै हेर्दा हुन्छ। विधायक भएपछि एसेम्ब्लीमा रोइ कराई गरेर पनि छुट्टै राज्यको मुद्दा उठाउँछु भन्ने मान्छेको मुखमा बनरोटी खॉंदिएको छ। न तिनको हात चल्छ, न खुट्टा। खै तिनले छुट्टै राज्यको मुद्दा उठाएको? मोर्चाले जालझेलको सहारा लिन्छ हामी लिँदैनौं। हाम्रो मुखमा बुच्चो खॉंदिएको छैन। उनीहरूको बुच्चो खोलियो कि त मदन तामङ देखाइदिन्छ। हामी आफ्नो कार्यक्रम गर्दै जानेछौं। क्षेत्रीयस्तरमा जनतालाई छुट्टै राज्यको औचित्य बुझाउनु पर्दैन। तरै पनि कतिपय साङ्गठानिक कार्यक्रम क्षेत्रीयस्तरमा पनि चल्नेछ। मोर्चा क्रामाकपासित डराउनु हुँदैन। उनीहरू डराउनुपर्छ भने इतिहाससित डराउनुपर्छ। किन भने मोर्चालाई इतिहासले क्षमा गर्ने छैन।
सत्य र असत्यबीच लडाईं
राईले अहिले सत्य र असत्यबीच लडाईँ चलिरहेको बताए। तिनले मोर्चाले राज्य र केन्द्र सरकारसित मिलेर अनेकौं प्रलोभन देखाउँदै, मसल र मनि पावरको बलमा जनतालाई त्रसित राखेर राजनीति गरिरहेको बताउँदै भने, उनीहरू मुद्दा दाबीलाई कमजोर पार्न सरकारसित मिलेर राजनीति गर्ने पर्‍यो, क्रामाकपा मुद्दा दबाउने विरुद्धमा लडाईँ गर्ने पर्‍यो। तरै पनि मोर्चाले छुट्टै राज्य भन्यो भने हाम्रो समर्थन हुन्छ। अब इमान्दार र स्वार्थी, सत्य र असत्य, असली र नक्कली छानिने स्थिति हो। जनताले समीक्षा र पर्यवेक्षण गर्नुपर्छ। जनताको पनि मुद्दाको निम्ति योगदान गर्ने सही समय आउने छ। मोर्चाको त्रासबाट जनतालाई बाहिर निकाल्नुपर्छ। त्यसको परिस्थिति निर्माण गरिनेछ।

 


0 comments: on "मदन तामङको हत्याको बार्गेनिङ नै जीटीए हो-आरबी राई"