मुख्य समाचार :


Showing posts with label सम्झना/संस्मरण. Show all posts
Showing posts with label सम्झना/संस्मरण. Show all posts

थ्री बी, ह्याङओभर र भर्जिनिटी

  • मनोज वोगटी

कवि-गायक अनिल फागोले बिहे नगरेको भए टिनटिनमा थ्री बीले बबाल गर्ने थिएन। यो बबाललाई ऐतिहासिक मान्ने कवि सरण खालिङ जुरुकजुरुक उफ्रिने थिएनन्‌-कवि भूपेन्द्र सुब्बाको टेलिफोनिक ह्याङओभर थियो यो। भर्खर आँखा डाक्टरलाई देखाएर आएको, देब्रे आँखाको नानीमा घाउ बोकेर म सुनिरहेको थिएँ। कविताले मात्छ भनेर कहीँ सुनेको, म त्यसैको ह्याङओभरमा थिएँ भूपेन्द्र जस्तै।
अनिल तेलैजा कतिदिन त्यही घटनाले मातिए। निमा शेर्पा र आशिष राईको हालत पनि उस्तै थियो। फेसबुकमा म पढिरहेको थिएँ-आशिष ह्याङओभरको टल्किने विम्ब-
थाह छ तिमीलाई?
म बजिया आँखाहरुलाई चिन्छु त
अनि चिन्छु बिजनबारी, छोटा रङ्गीत, टिनटिन कम्प्लेक्स।
म सप्पै सप्पै चिन्छु।
सूरजले नै छर्छ सुनौलो दिनको ‘धड्कन’
त्यसपछि त पलाउँछ है
जताततै अक्षर।
कर्णको विरह मैले इतिहासमा होइन अर्थशास्त्रमा पढेको।
अनि राजालाई भेटौँ लाग्दा
राजा यो दिनको इतिहासमा कुन्नी किन थिएन।
तिमी छक्कै पर्छौ होला
मैले हुर्कंदै गरेको लेखनाथलाई देखें।
बाउको पसिनामा चोबेर
लेख्दैथ्यो उसले ‘उन्मुक्त सुगा’।
विनोदले रोपेको रुखको हॉंगामा बसेर
मच्चिमच्चि थप्पडी मार्ने मै त हो।
ठुलो कुरा गरेको होइन कि
म अनिलले त्यसबेला हामीलाई ‘हेर्नू’ भनेर खोलेको
कविताको खिड्कीबाट हीरो भएर आउने मनोजलाई त चिन्छु।
हो म मनोज बोगटीलाई चिन्छु।
मनोजको
पसिनाको छाला पिल्सिन्दा
उठेको गीतको रिस देखें।
विसन्चो भएरै सन्चो भएका
घाउका रङहरु
अनि त्यही घाउका रङहरुले
सजेको बिम्बगोष्ठी देख्छु,
हुनसक्छ
उसको बिम्बले मलाई सधैँ देख्दैन
तर म चाहिँ
बिजनबारी, बोगटी र बिम्ब
जिन्दगीभर देखिरहन्छु।

-यही थियो थ्री बीको बबाल ह्याङओभर। मलाई थाहा छैन किन नेपालका कवि मित्र स्वप्निल स्मृतिलेे मलाई काठमाण्डौमा भनेका थिए-तपाईँको कवितालाई भर्जिन कविता भन्छौं। कवि नाकिमा नाकिमले पनि त्यसैलाई सही थपे। उनीहरूलाई भर्जिन लागेको मेरो कविता तर आफ्नै मुलुकमा उस्तो भर्जिन थियो त? मलाई मेरो कविताको भर्जिनिटी केलाउन मन लागेको थियो। ‘एस्‌को कविता पप हो, कविता भए कै छैन’-भन्ने आलोचकहरूले मेरो कवितामाथि गर्ने आह्रिस, रिस र अन्यायले कहिले पनि भावुक नहुने मेरो कविलाई सधैँ लाग्यो, नाथु आलोचकहरूको मेरुदण्ड लगाएर कहॉं हिँड्‌छ मेरो कविता? यस्ता लुतेखुइरे आलोचकहरूलाई थाहा छैन, उसको उभिने जमीन भनेको नै कविताको छाला हो। ‘यो यो खास कविता’-को ‘ट्याग’ लगाइदिने अथोरिटी हुन्‌ र आलोचक? तर मैले उनीहरूको यो कर्म-माथि कहिल्यै नकरात्मक आँखा लगाइन। किन भने धेर मेरो कविताले तानेका पाठकहरूको भीडमा हुन्छु म। उनीहरू त्यो भीडमा पुग्न त के सोंच्न पनि सक्दैनन्‌। देख्नेले धेरै के के देख्छन सक्छन्‌, तर आँखा हुनुपर्‍यो, आँखा भएर पुग्दैन, हेर्ने चेतना हुनुपर्‍यो। अहिलेसम्म आलोचकहरूको आफ्नो कुरा कहिले पढिएन. पढियो सबै विदेशी हेराई स्वदेशी शब्दमा।
.........
मेरो कवितालाई भर्जिन देख्ने स्वप्निल र नाकिमालाई मैले कहिल्यै सोधिन भर्जिनिटीको जरा कता छ। उनीहरूले भर्जिन देखिसकेको मेरो कविता आफ्नै परिवारमा बलात्कृत भइसकेको हो कि भन्ने भ्र्रम मलाई सधैँ रहनेछ। कवि मोहन ठकुरी, राजा पुनियानी, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, सूधीर छेत्री, रेमिका थापाहरू मलाई उचाल्छन्‌। मेरो कविताको मातको स्वाद बेग्लै चाखेको कुरा गरिबस्छन्‌। एउटा अनिल तेलैजा छन्‌, जसले मेरो कवितामा के के नपुगेको कुरा गरिबस्छन्‌। यतिले नै म कविताप्रति गम्भीर हुन पाइरहेको छु। तर मलाई अनुशासन मन परेन। अनुशासनले मेरो कविताको स्पेस हडपेको छ। कविताको अधिकार खोसेको छ। कवि सूधीर छेत्रीले त्यसैलाई ‘मिठो अनुशासनहीनता’ देखे। अनुशासनमा नबस्नेलाई धेरैले हेप्छन्‌। हेप्ने कोसिस गर्छन्‌। मेरो यो ‘सुपरइगो’ कविताबाट निकालिदिए म खुट्टा चुँडेको फट्याङ्‌ग्रा नै हुन्छु। अनुशासनहीनलाई अर्को अनिशासनहीनले छुन सक्छ। यसलाई कवि भूपेन्द्र सुब्बाले भाइब्रेसन भन्छन्‌।  राजा पुनियानी, भूपेन्द्र सुब्बा अनि मनोज वोगटीबीच कस्तो भाइब्रेसन छ हँ?-तिनले मलाई टिनटिन कम्प्लेक्समा अङ्गालो मारेरै सोधेका हुन्‌। त्यही भाइब्रेसनको कमाल थियो थ्री बी। ‘नेपालका कवि मित्र प्रकाश आङ्‌देम्बेसित एकदिन’ भन्दै सिलगढीमा कवि राजा पुनियानीले हामीलाई निम्ताएका थिए। त्यहीँ कवि भाइ कर्ण बिरहले झोलाबाट बिहेको कार्ड थमाउँदै भनेका थिए, ‘यो बिहेमा कवि गोष्ठी प्लस म्युजिकल प्रोग्राम हुन्छ। त्यसको निम्तो।’
अनिल फागोको बिहे थियो त्यो। उहिलेदेखि सँगै लेख्ने गरेका तर भेेट्‌दै नभेेटेका मेरा प्रिय मान्छे थिए फागो।
बिहेमा कवि गोष्ठी?
यस्तै थियो बिहे। फरक। यो अनुशासनहिनताको भ्र्राइबेसन थियो। कतिबेला भूपेन्द्र सुब्बाले सोंचे मलाई थाहा छैन। तिनले फोनमा रहस्य खुलाए ‘तपाईँ बिजनबारी चढ्‌दा केही गर्ने भएँ’। फेसबुकमा कर्ण विरहले मेरा एउटा लामो कविता किताब घाउका रङहरूको खोल मागे।
मैले सोधेँ-‘किन चाहियो?’
‘चाहिएको छ।’
‘किन?’
‘एकछिन है।’
उ अल्पियो। र एक मिनट बित्दा भन्यो-‘अब हेर्नुस्‌।’
फेसबुकको भित्तामा कविता लेखिरहेको मेरो फोटो र त्यसको शीर्षक थियो ‘बिजनबारी, बोगटी र बिम्ब।’अर्थात थ्री बी।
यो मेरो पहिलो एकल कविता बाचन कार्यक्रमको शीर्षक थियो।
कवि भूपेन्द्रले मेरो कविताको भर्जिनिटीको परीक्षा गर्ने भए। कविताको भर्जिन्‌नेसले कसरी छोइएला? सुन्नेहरूले कसरी लेला? स्रोता कुन कुन लेयरबाट उप्केर आउलान्‌। जम्मैलाई मेरो कविताको भर्जिनिटीले कतिको समात्ला, म नै अन्योलमा थिएँ। मेरा कविताशक्तिलाई कवि भूपेन्द्रले दार्जीलिङको सेन्ट्रल होटलमा फेला पारेछन्‌।  मेरो कविताले नेपालका फेसन डिजाइनर निल डेविड समेतलाई उफारेको थियो। कताको फेसन डिजाइन र कताको कविता श्रवन। तरै पनि निल डेविडलाई कविताले एकैपल्टमा समातेर राख्न सकेकोमा मलाई उति आश्चर्य लागेन तर भूपेन्द्र सुब्बालाई यो घटनाले निक्कै हल्लाएछ। धेरै दिनसम्म  निमा शेर्पाले सेन्ट्रल होटलमा मलाई पारेको अभरमा भेट्टाएको  कविताशक्तिको कुरा दाजु भूपेन्द्रले मसित गरिरहे। ‘कवितामा शक्ति छ, त्यो देखाउनुपर्छ’ भन्ने वाक्यको बीज भूपेन्द्र सुब्बामा सेन्ट्रल होटलमा नै फुट्यो। कवि राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा अनि विचन्द्रको नेपाल-भारतमा भएको एकल कविता बाचनको हल्ला राम्ररी फैलाइएन। किन? म जान्दिन तर नेपालमा टिकटमा कविता पढिसक्दा यता एकल पनि भइरहेको छैन। वास्तवमा कविताले त्यो रौनक गुमाएको श्राप हो यो शुन्यता। झुर कविता र गॉंठो कविताले श्रोतालाई मञ्चमा कि त सुताउँदै आइरहेको छ कि त मञ्चबाट खेदाइ सकेको छ। यस्तोमा घाटाको काम कसले गर्ने? तर भूपेन्द्र सुब्बा एउटा यस्ता प्राणी थिए जसले अघिल्ला फ्रिज युगलाई नै चुनौती दिइरहेका थिए, त्यो पनि म जस्तो लुते मान्छेको कविताको भरमा। त्यो अख्राट छाती चिरिएन भने?
मेरो त दुर्गति हुने नै भयो भूपेन्द्रले पनि गाउँमा सधैँभरको निम्ति विश्वास गुमाउनेछन्‌।
म यहीँनेर कॉंपेको थिएँ।
........
अनिल फागोको बिहे बारीको कन्लामा थियो। त्यहीँ खाना खॉंदै गर्दा अनिल माइक्रोफोन लिएर बसिसकेका थिए। अघि दिउँसो त्यहीँ तिनले निधारको अक्षेतासित नै नयॉं जीवनको आर्शिवाद थापेका थिए, त्यसैलाई तिनले मञ्च बनाएका थिए।
बेहुला फागोले आफ्नो सुन्दर बेहुलीको नरम हात समातेर गाइरहेका थिए-
‘थामे पनि छुटे पनि जिन्दगी कॉंचको चुरा रहेछ
माया त धारिलो छुरा रहेछ।’

यति मिठो बिहे मैले कहीँ खाएको थिइनँ।
.........
यो दिन नआएको भए बिजनबारीमा भूपेन्द्र सुब्बाहरूले टिनटिन कम्प्लेक्स आधा दिन मेरो कविताको निम्ति सुरक्षित गर्ने थिएनन्‌। यो टिनटिनमा मानिसहरू रक्सी, सितन र भुजा लिन्छन्‌। भोकाएकाहरू यहीँ पस्छन्‌। तर त्यो दिन कविता पिउन छिरेको थियो बिजनबारी। कहिल्यै कविता नसुन्नेहरू, सँधै कविता नै सुन्दै आइरहेकाहरु एकै ठाउँ थिए। टम्म भरिएको टिनटिन कम्प्लेक्समा भूपेन्द्रको छटपट्टी अनुहारमा छ्‌याङ्गै थियो। सुरज धडकनसित उनी खासखुस गरिरहेका थिए। अल्छि मान्दै भूपेन्द्रको निम्तो टार्न नसक्नेहरू मिलेर बसेका थिए। व्यानरमा थियो ‘बिजनबारी, बोगटी र बिम्ब।’ व्यानरै दार्जीलिङमा पहिलो अचम्म थियो। मनप्रसाद सुब्बा जस्ता कविको रातदिनको सास डुल्नेे ठाउँमा यो व्यानरले एउटा रहस्य टॉंगेको थियो। मेरो कविताको भर्जिनिटीको टेस्ट गरिरहेका थिए एकलो भूपेन्द्र। मेरो कवितामाथिको एक्लो विश्वास च्यापेर भूपेन्द्र छटपट गरिरहेका थिए। कथाकार सुरज धडकनले कुरा थाल्दा मेरो धडकन तेज थियो। तिनले मलाई फुर्काएर चिलाउनेको टुप्पामा पुर्‍याएका थिए। कविताको चिरफार हुनेवाला थियो। कविता सुन्दा हाइ काड्‌नेहरू कविता शुरु नभइ हाई काडिरहेका थिए। उनीहरूसित नै थियो मेरो युद्ध। कविता सुनेर हुर्किएकाहरूलाई अग्लो स्वाद दिनु जस्तो ठूलो परीक्षा कसैले बसेका छैनन्‌। म बस्दै थिएँ। चिलाउनेका रुखहरूभन्दा पनि बलियो कविताको रुख चढिसकेकाहरूलाई मेरो कविताको बोटले थामेर राख्नु, मेरो कविताको भर्जिनिटीको सबैभन्दा ठूलो शैैल्यक्रिया थियो। कवि विनोद प्रधानको रुखले सबैलाई हल्लायो। म हल्लिएँ। वाहवाहीको फुलपातले विनोद पुरिए। कवि लेखनाथ छेत्रीको बाउको पसिनाले सबैलाई खलखली बनाइदियो। मेरो निधारमा पसिना उम्रिसकेको थियो। थप्पडीका थोपोहरु अनुहारबाट उज्यालो भएर खसिसकेको थियो। म थिएँ, गीतको रिस्‌ र पसिनाको छाला बोकेर पहेंलो।
..........
म कविता सुनाइरहेको छु। सबै उफ्रिरहेका छन्‌। कहिल्यै कविता नसुकेका प्रभात सेवाको मुख फारिएको फारिएकै थियो। श्रोताको उफ्राइ, मेरो गर्हौस्वर अनि कविताको परफरमेन्सले खोतलेको काव्यानन्द टिनटिनभित्र कैद थियो। त्यो रौनक टिनटिन बाहिर फुत्किनु नी, मलाई लागिरहेको थियो। जिन्दगीमा कहिल्यै कविता नसुनेका एमबहादुर सुब्बालाई यस्तो अचम्म कहीँ लागेको थिएनछ। तिनी जुरुकजुरुक उठेका थिए।  कविताले तिनको रौं ठाडो पारिदिएको थियो सायद। लगभग चार घण्टा टिनटिन कम्प्लेक्स कविताले उचालियो।  प्रभात दाजुले पहिलोपल्ट कविको फोटो खिचिरहेका थिए। कवि सरण खालिङ उफ्रिरहेका थिए। कहिल्यै कविता नसुन्ने, कर गर्दा कार्यक्रममा उपस्थित हुने दिपक सुब्बा र प्रभात सेवाहरू थप्पडी बजाउँदै मलाई यसरी हेरिरहेका थिए, जस्तो म कुनै जादू गरिरहेको छु। एकएक कविताले खोलेको रहस्यले उनीहरूको आँखा फारिएको फारिएकै थियो। कवि भूपेन्द्र सुब्बा युद्ध जितेको खुशीमा जति उफ्रिएका थिए, त्यति कोही उफ्रिएनन्‌। तीस प्रति गीतको रिस र पसिनाको छाला कहिल्यै किताब नकिन्नेहरूले हारालुछ गरे। किताब नपाउनेहरू बिच्किए।
सुन्यौ मनोज भाइ, मैले रहर गरेर यताको किताब किनेको यही पहिलो हो-प्रभातले भने।
.................
 म बिजनबारीमा नै थिएँ, तर लाग्थ्यो म कहीँ छैन। म श्रोतासित अनुवाद भइसकेको छु। हराइसकेको छु म। यो मिराकल बिजनबारीमा भइरहेको थियो। लगभग चार घण्टामा लगभग 40 कविता पढिसकेको थिएँ। कुनामा बसेका निमा शेर्पा उकुसमुकुस थिए। आशिष राई छक्क परिरहेका थिए। कमल भट्टराई, रमेश, सुजनहाङ, धिरेन गुरुङ, कर्ण विरह, महेश दाहालहरू मातेर लट्ठ थिए। कार्यक्रम भवनमा बसेका नेपालका तीन बहिनी तुलसा आङ्‌देम्बे, रुपा र सम्झनाहरू मलाई आँखा झिम्म नगरी किरकिर हेरिरहेकी थिइन्‌। उनीहरूले जस्तो जन्तु फेला पारेकी थिइन्‌, जो कविताको आगो बालेर न्याने दिइहेको छ। त्यो बद्मास म थिएँ। टिनटिनमा खाना खान आएकाहरू घिच्रो तन्काइतन्काई मेरो कविताको सर्कस हेरिरहेका थिए।
मैंले कविता सकें।
सुन्नेहरू उठेनन्‌।
कविताको रौनक उनीहरूको अनुहारमा थियो।
भूपेन्द्रको जित भयो।
.......
कविताको शक्तिको के हो? अब बिजनबारीले सहजै उत्तर दिन सक्नेछन्‌। अब उनीहरू कविताको निम्ति तडि्‌पनेछन्‌। कविताको दिन फर्किसकेको थियो अनि मेरो कविताको भर्जिनिटी बिजनबारीले खोतलीसकेको थियो। बॉंझो जोतिसकेको थियो अनि त्यहॉं कविताको नयॉं बीज परिसकेको थियो।
........
यो कविताको नयॉं अवतार भूपेन्द्रको खोज थियो। म थिएँ निमित्त।
कविताले रन्थनिएकाहरू घर गइसकेका थिए। घर-घर कविता गइसकेको थियो। बिजनबारीले मलाई त्यो दिन अशोक स्तम्भ दियो।
म अशोक स्तम्भ जस्तै अग्लो थिएँ। त्यो भन्दा अग्लो थियो कविता।
टिनटिनमा कविता सकेर पनि बेरातसम्म हामी थियौं। अघिको ह्याङओभर बल्झाइरहेका। कवि मनप्रसाद सुब्बा, राजा पुनियानी अनि रेमिका थापाले अनुपस्थितिको चुकचुक सेल्फोनिक थियो। म घर आइसक्दा पनि बिजनबारीमा नै थिएँ। कविताको यो पहिलो ह्याङओभर थियो। रन्थनिएका कवि निमाले भटाभट कविता लेखेछन्‌। आशिष राई थ्री बी सधैँभरि देख्ने भइसकेका थिए। बिजनबारीमा कविता नसुन्नेहरूले टेलिफोनिक बेस्वादहरू पठाइरहे। कवि विचन्द्र मिरिकमा भूपेन्द्रले जस्तै मलाई बोलाउने भइरहेका छन्‌। निमा दार्जीलिङमा मेरो एकल गर्ने तयारीमा छन्‌। बिजनबारी सप्तश्री एकाडेमीका प्रिन्सिपल सञ्जय राईले फोनमा नै भनिरहेका छन्‌-‘तपाईँको ठूलो एकल फेरि गर्छौं।’
चित्रकार नवराज राई अनि योगेन्द्र राईले थ्रीबीको ह्याङओभर अझ पनि खन्याइरहेका छन्‌।
यो थ्री बीको ह्याङओभर सधैँ बस्छ? म मेरो कविताको भर्जिनिटीलाई सोधिरहेको छु।

तर सॉंच्ची,
पहिलो कविता ‘घर फर्कनलाई’ भनेर मैले 1996 मा लेखेको थिएँ। छ्‌यामा सावित्री कटेलले त्यो पढेर भनेकी थिइन्‌-‘हाम्रो मनोज त कवि पो हुन्छ कि क्या हौ।’
मलाई छ्‌यामा बिजनबारीमा हुनु नी लागिरहेको थियो त्यो टिनटिन कम्प्लेक्समा ग्लास सेयर हुँदा पनि।
read more...

मरुभूमिको नदीमाथि सम्पूर्णा डिजायर

  • मनोज वोगटी
‘कहॉं छस्?’
‘बजारमा|’
‘छिट्टो क्यामेरा लि
एर आइज, सम्पूर्णाकोमा जानुपर्छ|’
.......

कॉंपेको आवाज केवल मेरो निम्ति बोल्यो| गुरूमा(वयोवृद्ध साहित्यकार सानुमति राई) थिइन् फोनमा| सानुमति गुरूमालाई म आमा भन्छु| मलाई छोरा भन्छिन्| केही महिना अघि मलाई नाभो थमाएकी थिइन्| ‘लु, सम्पूर्णाले तलाईँ भनेर दिएकी| पढ़| राम्रो कथा छ|’-सानुमति गुरूमाले भनिन्|
.......

घर पुगेर कथा पढें|
मिहिन संवेदनाको कथा| वरिपरिका मेरै छिमेकीहरू कथामा छन्| ससानो कुराले आहात भएकी सम्पूर्णा राई पढेर मलाई लगेको थियो-उनीसित कुरा गरिराखौं| धेरैवर्ष बोल्न नपाएकी साहित्यकारसित के के दबिएको होला| दबिएको त्यो खोल्न पाए तिनी खुलिने थिइन्| हलुको हुने थिइन्| कालेबुङको स्थानीय दैनन्दिनी च्यानलको आइतबारे साहित्यिक कार्यक्रम कॉंधमा छ| समेट्छु एकदिन सोंचेको एकदिन मैले|
.......
त्यस्तै एकदिन सानुमति गुरूमासित म उनको घरमा थिएँ| ओछ्यानमा थिइन्| पहिलो अचम्म लाग्यो, तिनी छ महिनादेखि ओछ्यानमा थिइन्| दोस्रो अचम्म लाग्यो, त्यति नै भएको थियो तिनले लेख्न नपाएको| तेस्रो अचम्म लाग्यो त्यति नै भएको थियो तिनले पढ्न नपाएको|

‘आउनुभो बाबु?’
‘हजुर’-मैले भनें|

‘तपाईंको कविता हेर्छु म टिभीमा| सुन्छु| कताबाट एउटा केटा आएछन्| मलाई छुनेगरी कविता भन्छन्|’ तिनले यसरी सानुमति राईसित बारम्बार कुरा गरेको खोलिन्|
हाम्रो पालोमा टिभीमा यसरी कविता सुनाउने मौका थिएन| मिडिया थिएन|ओछ्यान परेदेखि साहित्यसित सम्पर्क नै टुट्यो| मुख प्यारप्यार छ, घरकैसित कुरा गर्छु| कति साहित्यको कुरा गर्नु यिनीहरूसित| बाक्क लाग्छ होला सम्झिन्छु| मलाई गोष्ठीतिर जान मन लाग्छ| तपाईँले जस्तै टिभीमा कविता सुनाउन मन लाग्छ| कविता पनि अर्कै अर्कै भइसक्यो अहिले| मैले संसर्ग गर्न पाइरहेकी छैन| पुराना दिनले बिझाउँछ| मैले कहिल्यै अरुलाई सोधिन की? यसकारण अहिले मलाई पनि कसैले नसोधेको| तपाईँ सोध्न आउनु भो, भन्नुस् के सुन्न चहानु हुन्छ?-एकै सासमा तिनले धेरै कुरा गरिन्| धेरै चिप्लियो| सम्झिएको लेख्दैछु|
........
सफा ओछ्यान| तिनलाई ओछ्यानमा नै राखेर क्यामेरामा तान्नु थियो| भित्तामा चेप्टिएर क्यामेराम्यान मनी तामङ क्यामेरा सोझ्याउँदै थिए| म पहिलो र अन्तिमपल्ट उनीसित भेट्दै थिएँ| अन्तिमपल्ट म उनीसित साहित्कि कुराकानी गरिरहेको थिएँ| एकघण्टा कुराकानी भयो, तरै पनि तिनलाई खोल्न सकिनँ| तिनले आफ्नो मर्यादा राखिन्| लागेको भन्न सकिनन्| मलाई लाग्यो तिनी इन्द्रबहादुर राईबारे भन्न चहान्छिन्| साहित्यिक चोरहरूबारे भन्न चहान्छिन्| साहित्य अकादमीको रवैया खोल्न चहान्छिन्| केही केही खोलिन् र अरुको निम्ति ढोका बन्द गरिन्| यताउति कै कुरा भयो| तर त्यसबीच पनि तिनले एउटा कुरा खास गरिन्| त्यो थियो उनको डिजायर|

इकोनोमिक्सले अनलिमिटेड भनेको डिजार तिनीसम्म आइपुग्दा गलत परिभाषा बनिसकेको थियो| किन भने तिनको डिजायर लिमिटेड भइसकेको थियो|


२६ फरवरी २०१२ को दिन रामकृष्ण रङ्गमञ्चमा गुरूमा सानुमति राईले पारषमणि पुरस्कार ग्रहण गरिरहेकी थिइन्| त्यसै दिन सम्पूर्णा राईको एउटा डिजायर बाहिरियो|

तिनको कविता संग्रह ‘मरुभूमिको नदी’-को विमोचन भइरहेको थियो त्यो दिन| तर आफ्नो पुस्तकको विमोचन भइरहेको बेला कवि सम्पूर्णा राई भने अस्पतालमा नै ओछ्यानमा थिइन्| घरिघरि अचेत। आफ्नो हातले मुसारिराखेर नेपाली साहित्य अध्ययन समितिका कार्यकर्ता अनि तिनकी लोग्नेको हातमा विमोचन गर्न आफ्नो कृति रामकृष्ण रङ्गमञ्चमा पठाएकी थिइन्| तिनकी लोग्नेले तिनको अन्तिम इच्छा नै भनेर प्रकासित गरिदिएका थिए मरुभूमिको नदी। तिनी अस्पतालमा नै रहेको बेला यता रामकृष्ण रङ्गमञ्चमा मुख्य अतिथि ज्योतिप्रकाश तामङले तिनको पुस्तकको विमोचन गरिहेका थिए| त्यसैदिनदेखि भारतेली नेपाली साहित्यक्षेत्रका वरिष्ट कथाकार सम्पूर्णा राईलाई सबैले कविकोरुपमा चिने| किन भने १५ औं पारषमणि पुरस्कार समारोहमा उपस्थित साहित्यकारहरूलाई साक्षी राखेर तिनको कविता विमोचन गरिएको घोषणा अतिथि गोकूल सिन्हाले गरका थिए| कालेबुङमा पुस्तकको लेखकको अनुपस्थितिमा नै विमोचन भएको पुस्तक यो नै पहिलो थियो| आफ्नो पुस्तकको विमोचन गर्न समेत सम्पूर्णा राई कार्यक्रम भवनमा आउन सकिनन्| यता एउटा डिजार सबैले देखे उता सम्पूर्णा राईसित अनेकौं डिजायर दबिएको थियो|

मरुभूमिको नदी कविता संग्रहको विमोचन भएको ठीक सोह्र दिन मात्र पुगेको थियो, संग्रहका कवि सम्पूर्णा राईको स्वर्गारोहण भएको समाचार फैलियो। तिनी कालेबुङ महकुमा अस्पतालमा नै सिकिस्त थिइन्| १३ मार्च २०१२ को चारबजी उनको देहावसान अस्पतालमा नै भयो|

६ वर्ष रोगसित निरन्तर लड्दालड्दै पनि अन्तमा तिनलाई रोगसित हार्न कर लाग्यो| नेपाली साहित्यिक संसारले एक कथाकार गुमायो| तिनको निधनले नेपाली साहित्यिक संसार शोकमा पर्यो| ६ वर्षदेखि नै तिनी ओछ्यानमा थिइन्| त्यही ओछ्यानमा नै थरथर काम्दै जबरजस्ती नै छाप्छु नै छाप्छु भनेर केरमेट गर्दै र छोराछोरीलाई गर्न लगाएको कविताहरूको संग्रह थियो-मरुभूमिको नदी|
...........
तिनी आठौं श्रेणीमा हुँदा तिनको विद्यालय एसयुएमआईबाट पत्रिका निस्कन्थ्यो| तिनको पिता भरत राईले छद्मनाममा साहित्यिक रचना लेख्थे| तिनलाई त्यसको प्रभाव थियो| १९६३ मा त्यही पत्रिकामा तिनको ‘पूर्णेको जून’ कविता छापियो| त्यसपछि तिनी साहित्यिक भइन्| तिनले साहित्यिक परिवेश कथाकार सानुमति राईबाट नै पाइन्| सानुमति राईले एक भानू जयन्तीको छेक पारेर तिनलाई कविता लेख्न र वाचन गर्न सिकाइन्| त्यसपछि तिनी मञ्चमा पनि छाइन्|
कविता लेखेर साहित्यिक संसार टेकेकी सम्पूर्णा राई तर समाजमा चिनिँदा कथाकार थिइन्| तर तिनलाई कविताको मोहले सँधै तान्यो| यसकारण सिकिस्त अवस्थामा तिनले कविता संग्रह छप्ने इच्छा गरिन्| मरुभूमिको नदी उनका पाठकले पाए| पाठकमा अब तिनी पाठमा रुपान्तरण भइन्| ६४ वर्षिय वृद्ध सम्पूर्णाले भनेकी थिइन्- ‘लेखकीय समाजमा पनि परिवर्तन आयो| आजका युवाहरू छिट्टो नै समय सचेत बन्छन्, हामीलाई धेरै समय लाग्यो| अहिलेका युवाहरूले जुन साहित्यिक वातावरण बनाइरहेका छन्, मलाई त्यहॉं सरिक हुन मन लागेको छ| मलाई पनि उनीहरूसित उभिएर कविता भन्नु मन लागेको छ|’ तिनको यो इच्छा पुरा नभए पनि ‘मरुभूमिको नदी’लाई तिनले युवाहरूसितको संसर्ग माने होलिन्| तिनको नाभो कथा संग्रह सिक्किमको निर्माण प्रकाशनले प्रकाशित गरिदिएको थियो| नारी सर्जक मातृका गजमेरले यही विषयमा तिनलाई प्रश्न गर्दा भनेकी थिइन्- सिक्किमले मलाई मौका दियो, जो दार्जीलिङ र कालेबुङले दिएन|
...........
पारषमणि प्रधानलाई कहिल्यै गद्य कविता मन परेन| सम्पूर्णा राईले लेखेको गद्य कविता पनि तिनले मन पराएनन्| १९७२ मा दार्जीलिङमा नेपाली साहित्य अकादमी स्थापना गरिने भयो| पारषमणि प्रधानलाई चॉंजो मिलाउनु निक्कै हम्मे पर्यो, किन भने मुख्यमन्त्री सिद्धार्थ शंकर राय मुख्य अतिथि थिए|
पारषमणि प्रधानले सम्पूर्णा राईलाई कविता पढ्न निम्तो गरे| गद्य कविता मन नपराउने पारषमणि प्रधानले तिनलाई कविता पढ्न निम्तो गर्नु सम्पूर्णा राईको जीवनमा सबैभन्दा ठूलो जित कुरा थियो| सम्पूर्णा राईले गद्य कविता नै पढिन्| सिद्धार्थ शंकर रायले तिनको कविताको सराहना गरे| दार्जीलिङबाट फर्किर आएका पारषमणि प्रधानले सम्पूर्णा राईलाई कालेबुङमा भनेका थिए, ‘नाक राख्यौ बाबै|’

सम्पूर्णा राईले कविताको सन्दर्भमा यही कथा सुनाउँथिन्| नेपाली चलचित्र सम्झना-को संवाद सम्पूर्णा राईले नै लेखेकी हुन्| हिन्दीका चर्चित साहित्यकार अमृतलाल नागरको बाल कथा बजरंगी पहलवान तिनले अनुवाद गरिन्| १९९५ मा तिनले स्रष्टा अनि १९९९मा अरुगी पुरस्कार पनि थापिन्| कविता लेखेर नै सबैभन्दा पहिले १९६८ मा तिनले रणधोज राणा स्मारक कप हत्याएकी थिइन्|
साहित्य अकादमीका सल्लाहकार पनि भइन्| एमए बीएड विशारद गरेकी सम्पूर्णा राईले १९७५ मा एनपी राईसित विवाह गरिन्|

हज्जारौं डिजायरलाई एकएक गर्दै टेक्दै गइरहेकी सम्पूर्णाको डिजायरको घॉंटी समातेर राखेको थियो अर्थराइटिशले|
.........
१४ मार्च २०१२को दिन कालेबुङको छिना डॉंडामा साहित्यकार सम्पूर्णा राईको त्यही डिजायर पुरिँदै थियो| तिनलाई यही कुराको भय थियो| लेखकीय सत्ता तिनको निम्ति उभिने भुईँ थियो| तिनलाई लाग्थ्यो, त्यो भास्सिँदै गइरहेको छ| तिनलाई लाग्थ्यो चिप्लिँदै गइरहेछ सिर्जना| खुम्चिँदै गइरहेछ डिजायर| जे नहोस् लाग्यो, त्यही भयो| ‘इकोनोमिक्सले डिजायर अनलिमिटेड भन्छ, मेरो डिजायर लिमिटेड भइरहेछ’-तिनी भन्थिन्| कमसेकम कथा, व्यङ्ग्य र नाटकको पुस्तक प्रकाशित गरिहाल्नुपर्छ लागेको रहेछ तिनलाई| एउटा ठूलो छटपट्टिले हॉंगा फैलाइरहेको थियो| ‘पारिजातले लेख्न नसकेको नर्गिस कथा लेख्छु भनेको, लेख्ने मान्छेको हात चल्दैन’-तिनले भनिन्| कहीँ कुनै आफ्नो पुस्तकमा पारिजातले नर्गिसलाई उल्लेख गरेकी रहिछन्| पारिजातले उल्लेख गरेको नर्गिससित सम्पूर्णा राईको पुरानै परिचय थियो|

त्यसबेलाको बर्खामा कालेबुङको नालीमा चाल्नीले पानी चालिबस्ने पगलाले सबैलाई छक्क पारेको थियो| नेपाली पागलको स्वास्नी थिइन् केरलियन नर्गिस्| दुवै पागल| पारिजातले कालेबुङमा कहिले देखेकी रहिछन् लुती, राम्री नर्गिसलाई| पारिजातलाई धोको थियो नर्गिसको कथा लेख्ने| पारिजातको धोको पढेर सम्पूर्णालाई लाग्यो, पारिजातले लेख्न पाइनन् अब म लेख्छु| तर तिनले पनि नर्गिसबारे लेख्न पाइनन्| कसरी नेपालीसित ती केरलियन नर्गिसले बिहे गरिन् अनि कसरी उनीहरू पागल भए-यो रहस्य पारिजात र सम्पूर्णा दुवैले खोल्न सकिनन्|

कुइना, कुम र मेरुदण्डको भर थिएन| हड्डीको रोग थियो| मेरुदण्ड कटकट्टी दुख्ने कुरा आम भयो भने सम्पूर्णा राईको निम्ति मात्र भयो| तिनलाई लाग्थ्यो, ओहो फेरि एउटा कथा चिप्लियो| फेरि अर्को कविता चिप्लियो| एउटा नाटक खेलिबस्छ| त्यो पनि पुरानो भइसक्यो| राजनीतिले गोर्खालाई सँधै झुक्यायो, सटायर गर्न पनि नपाइने? इकोनोमिक्सले दिएको परिभाषा फिका भएर तिनी अघि आएर सधैँ बसिरह्यो| ‘डिजायर, यसरी खुम्चिँदै गइरहेको छ, कुन दिन माटोमुनी पर्छ’-तिनी भन्थिन्| तिनको शव माटोमुनी थियो| तिनको डिजायर माटोमुनी थियो|कमसेकम मरुभूमिको नदी प्रकाशित गर्न पाएको ,एउटा जीवन जितेको खुसीसितमात्र तिनी केही समय बस्न पाइन्| भारतीय नेपाली साहित्य जगतकी वरिष्ट कथाकार, कवि, व्यङ्ग्यकार सम्पूर्णा राई कॉंडासितै माटोभित्र गइन्| तिनले भनेकी थिइन्-‘यो जुन पीडा छ, त्यो लेख्न नपाएर बसेकी छु| ६ वर्षभयो पीडा लेख्न नपाएकी|’

२००१ देखि हड्डीको बिमार शुरु भयो| २००६ देखि ओछ्यान परिन्| त्यसैदिनदेखि बन्द भयो लेख्ने काम| केही केही पढ्न सम्ममात्र भ्याइरहेकी सम्पूर्णा राईले आफ्नो र समकालीन र पुराना-नयॉं साहित्यकहरूसित त्यसैबेला देखि छुटानाम गरन्| झुक्किएर कोही कोही आउँथे| दलसिंह अकेलाले नानीहरू दोहोर्याएको अनि वृद्ध मात्रिका गजमेर र सानुमति राईभित्र चल्मलाई रहेकी साहित्यिकताले तिनलाई उर्जा दिइबस्यो| त्यो उर्जा सम्पूर्णालाई तर कहिल्यै काम लागेन| फुर्सदै फुर्सद थियो तर असमर्थताको पहाडले थिचिएको| बॉंदिएको हात र सम्वेदित मन| उकुशमुकुश छ तर एक्सप्रेसनहीन|

‘दबाउने आदत भयो अब’-भन्थिन्|

पुराना दिनका के सम्झेर छक्क लाग्छ? भन्ने प्रश्नमा दीयो पत्रिका सम्झिन्थिन्| साहित्यमा चोरी गर्नेहरूलाई सटायर गरिछन् दीयोको कुनै अङ्कमा| छापिएपछिको कुनै एक दिउँसो तिनले डाकबाट आएको पत्र पाइन्| दीयोमा प्रकाशित त्यही व्यङ्ग्यको पन्ना थियो, च्यातिएको| र छेउमा लेखिएको थियो, ‘यसमा चाना खानु’|
‘जसले चोरी गरे, तिनैले पठाएका थिए’-सम्झेर छक्क पर्छु’-तिनले भनिन्|

न रेडियो, न पत्रिका| न बिजुली| खिड्कीबाट हेर्दा जून देखिन्| पूर्णेको जून-लेखिछन्| आफ्नो पालोमा राल्फाको बोलाबालो|
‘राल्फा त नाङ्गो रहेछ, परिवारसित बस्न नसक्ने| लाज लाग्थ्यो| अहिले विचलन भन्दैछन् कालेबुङका युवाहरूले| फड्को रहेछ यो त| सर्जक त्यसैमा छानिएर अघि जान्छन्| पर्खिनुपर्छ| छानिएर माथि पुगेको मैले हेर्न पाउने हो होइन’-तिनले भनेकी थिइन्| आजको सर्जकले हस्तलिखित पत्रिका मिस् गरेकोमा खल्लो लागेको रहेछ| एउटा हस्त लिखित पत्रिका हुन्थ्यो| राम्रो हस्ताक्षर हुनेले लेख्थे| चित्र कोर्ने कोर्थे| सप्फा राखेर, एउटैप्रति लेखकहरूबाट घुम्दै घुम्दै आइपुग्थ्यो| यो क्रिएटीभिटी आजकाले मिस् गर्यो-तिनी भन्थिन्| यस्ता धेरै कुराहरु सम्पूर्णा राईभित्र लुकेको थियो, जो तिनी लेख्न चहान्थिन्| तर तिनको विशाल डिजायर पनि पुरियो|

ओछ्यानमा परेको धेरैवर्षपछि धेरैवर्षअघि आफैहरूले रोपेको संस्थाको याद आयो एक दिन सम्पूर्णा राईलाई| साहित्य प्रकाशन समिति| जसमा एक हजार दिएर पुस्तक प्रकाशित गर्ने चक्र शुरु गर्नु थियो| तिनलाई लागेछ एउटा कविता संग्रह प्रकाशित गरिहाल्नुपर्छ| तिनले आफ्नो लेग्नेलाई पठाइन्| तिनी रित्तै फर्किए| निबन्धकार सीताराम काप्लेसित पनि कुरा राखिन्| केही भएन| तिनले साहित्य प्रकाशन समितिले एकदिन अचानक पठाएको आजीवन सदस्यता भनेर पठाएको सर्टिफिकेट देखाउदै भनिन्-मैले पैसा फर्काइ मागेको जस्तो लागेछ कि क्यार, यो पो पठाइदिएछन्| म भने पुस्तक छाप्न चहान्थें| संस्था, सर्जक, सहोदरहरूसित सम्पूर्णा राईको जुन ग्याप थियो, त्यसैको एउटा नमुना साहित् प्रकाशन समितिले पठाएको सर्टिफिकेट लागेको रहेछ तिनलाई| तिनको पुस्तक आखिर उपमा प्रकाशनले छापिदियो| तर कस्तो अचम्म उपमा प्रकाशनको मालिक उमेश उपमाको बाबा उता बिते, यता सम्पूर्णा राई| कविले देह त्यागिन्| प्रकाशक कोरामा छन्| उमेश उपामाले कोरामा बसेकै अवस्थामा भने- ‘मरुभूमिको नदी कहिल्यै नबिर्सिने तिर्खा भयो अब|’
..........

म अहिले त्यही मरुभूमिको नदी पल्टाइरहेको छु|
लेखेकी छन्-
जिन्दगीले ओबानो नपाएको
बिकराल शुन्यताबाट
जिन्दगी आफै बलजफ्ती
कसरी फुत्किएको छ आज|



कालेबुङ|
read more...

नौ लाख तारा उदाए-मेरो पहिलो गीत

संगीतकार अम्बर गुरुङले पाँच दशक अघि कोलकातामा पहिलोपटक रेकर्ड गरेका थिए- नौ लाख तारा उदाए। एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारत विरोधी भन्दै अलइन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो।

अम्बर गुरुङको संस्मरणः

हामी स-साना हुँदा दार्जिलिङमा ड्राइभर, कर्मचारी, कामदार सबै गीत गाउँथे। तर, त्यहाँ क्लासिकल संगीत सिकाउने कुनै पाठशाला थिएन, गुरुहरू थिएनन्। अग्रजहरू मेरो स्वर सुनेर ‘तिमी सिस्टममा संगीत सिक। हामीजस्तो राम्रो र मीठो गाउने, तर कुन ताल वा सुर हो भन्ने थाहै नपाउने हुनु भएन।’ त्यो कुराले मलाई खुबै छोयो।


दार्जिलिङमा रेकर्डको सुविधा थिएन। हामी बच्चा हुँदा मित्रसेनका ‘मलाई खुत्रुक्कै पार्यो जेठान,’ ‘तानसेन रमाइलो’, ‘हो साइँला’ जस्ता नेपाली गीत सुन्थ्यौँ। पछि डाक्टर रत्नदास प्रकाशका गीत सुन्न थाल्यौँ। अलि पछि नातिकाजीहरूका गीत सुन्दा रमाइलो लाग्थ्यो। नेपाली गीतको अभावमा हामी हिन्दी फिल्मका गीत सुन्थ्यौँ। सन् पचासको दशकको उत्तरार्द्धदेखि सत्तरीको पूर्वार्द्धसम्मका हिन्दी फिल्मी गीत निकै राम्रा र कालजयी थिए। मोहम्मद रफी, लता मंगेशकर, तलत महम्मुदका गीत मन पर्थ्यो।

सन् १९६१ मा मैले अगमसिंह गिरीले रच्नुभएको ‘नौ लाख तारा उदाए’ गीत संगीतबद्ध गरेँ। हिन्दूस्थान कम्पनीमा रेकर्ड गरेको यही गीत जीवनको पहिलो रेकर्डेड गीत हो। गिरीदाइले लेखेर दिएको तीन वर्षपछि यो गीत रेकर्ड गरियो। उहाँले गीत दिँदा मलाई यो रेकर्ड होला भन्ने कल्पनासम्म थिएन। त्यतिवेला गीत रेकर्ड गराउनुपर्छ भन्ने चेतना पनि थिएन। हामी नाम र दामको खोजीमा पनि थिएनौँ। गाउन मन लाग्थ्यो, गाउँथ्यौँ। कहीँ माइक देख्यो कि गायो। माइकका अगाडि उभिएर गाउँदा श्रोताले बजाइदिने थपडीमै हामी रमाउँथ्यौँ।

दार्जिलिङ, कालिम्पोङ, खर्साङतिर हुने संगीत प्रतियोगितामा मैले तीनचोटिसम्म प्रथम पुरस्कार जितेको थिएँ। त्यसपछि मलाई प्रतियोगितामा गाउन दिएनन्, म अतिथि कलाकारका रूपमा मात्रै सहभागी हुन्थेँ। संगीतप्रतिको मेरो रुचि विल्कुल व्यक्तिगत थियो। मन परे गायो, नपरे गाएन। एकपटक मैले कालिम्पोङमा ‘नौ लाख तारा’ गाएँ। गाइसकेपछि स्टेजपछाडि एकजना दाइ आएर सोध्नुभयो-

‘यो गीत कसले रचेको ?’

‘मैले।’

‘गेडा (शब्द) कसले रचेको ?’

‘अगमसिंह गिरी दाइले।’


‘यो गीत एकदम राम्रो रहेछ, भाइ। यो दार्जिलिङ र कालिम्पोङवासीले मात्रै सुनेर हुँदैन, सारा नेपालीलाई सुनाउनुपर्छ। म यो गीत रेकर्ड गरिदिन्छु, हुन्छ ?’


उहाँको कुरा सुनेर म अकमक्क परेँ। हुन्छ पनि भन्न सकिनँ, हुन्न पनि भन्न सकिनँ। मेरा लागि त्यो नसोचेको कुरा थियो। उहाँ दार्जिलिङकै सचिन्द्रमणि गुरुङ हुनुहुन्थ्यो। उहाँले एजेन्टमार्फत रेकर्डिङ स्टुडियोमा पत्राचार गर्नुभयो। ठूलो ग्रामोफोन कम्पनीमा आफैँले पत्राचार गर्नुभयो। झन्डै डेढ वर्षसम्म त्यो कम्पनीले जवाफै दिएन। अनि हामीले कोलम्बिया रेकर्डिङ कम्पनीमा सम्पर्क गर्यौँ। त्यसले जवाफ त दियो। तर, ‘नेपाली म्युजिकको बजार नभएकाले नेपाली गीत रेकर्ड गर्न सक्दैनौँ’ भन्यो। हामी फेरि अर्को कम्पनीले खोज्दै हिन्दूस्थान कम्पनीमा गयौँ। उनीहरूले पनि ‘नेपाली संगीतको बजार छैन, हामी इन्ट्रेस्टेड छैनौँ’ भने। पछि सर्तमा गीत रेकर्ड गर्न तयार भए। गीतको पाँच सयवटा रेकर्ड बिक्री गर्ने जिम्मा हामीले नै लिनुपर्ने, पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने र वाद्यवादकको खर्च आफैँले तिर्नुपर्ने सर्तमा उनीहरूले हामीलाई स्टुडियो उपलब्ध गराउने भए। आउने-जाने भाडा र होटल खर्च पनि हामी आफैँले तिर्नुपर्ने भयो।

रेकर्डका लागि दुईजना मात्रै गएका थियौँ- रञ्जित गजमेर र म। दार्जिलिङबाट कोलकाता पुगेको भाडा ३२ रुपैयाँ लाग्थ्यो। कोलकातामा हामी सामान्य होटलमा बस्यौँ। हामीसँग खर्च गर्ने धेरै पैसा थिएन। रेकर्डिङ खर्च सचिन्द्रमणिदाइले सापटी खोजेर दिनुभएको थियो। कम्पनीले तोकेको समयमा गीत रेकर्ड नगराए अर्को समय पाउन दुई/तीन साता कुर्नुपथ्र्यो। धेरै दिन बस्न हामीसँग खर्च पनि थिएन। हामी स्टुडियोले तोकेभन्दा सात दिनअगाडि कोलकाता पुग्यौँ। पालो छुट्ला र रेकर्ड नगरिदेला भन्ने हामीलाई डर थियो।


जनवरी महिनाको अन्तिम साता थियो। दिन सम्झना भएन। दिउँसो १० बजे स्टुडियो खुल्यो। रञ्जित र म १० बजे नै स्टुडियोमा पुग्यौँ। स्टुडियोमा तयारी गर्दा ११ बजिसकेको थियो। साढे ११ बजे गीतको रेकर्डिङ सकिएको थियो। त्यतिवेला म रियाज गर्न तगडा थिएँ। स्टुडियोमा छिर्नुअघि अलिकति ‘कन्सस’ त भएँ नै। त्योभन्दा अगाडि मैले कहिल्यै स्टुडियोमा गाएको थिइनँ। रेडियोमा लाइभ पनि गाएको थिइनँ। दार्जिलिङमा कुनै रेडियो थिएन, अलइन्डिया रेडियोमा मेरो पहँुच थिएन। तैपनि, म ढुक्क थिएँ। मलाई संगीतको आधारभूत ज्ञान थियो। पश्चिमी संगीतको नोटेसन, यताको सात सरगम सिकिसकेको थिएँ। दुवै प्रकारको संगीतमा म गाउन सक्थेँ। स्टुडियोका मान्छेले मेरो स्वर परीक्षा लिन खोजे। रञ्जितले हारमोनियम झिकेर दियो। मैले ‘म एकचोटि प्राक्टिस गर्छु’ भनेँ। उनीहरू एकदमै चलाख रहेछन्। मैले प्राक्टिस गर्दा नै उनीहरूले परीक्षणका रूपमा रेकर्ड गरिसकेछन्। मेरो स्वर सुनेर उनीहरू प्रभावित भए। अनि स्टुडियोमा गीत रेकर्ड गरियो।
‘नौ लाख तारा’ रेकर्ड गर्दा म २३ वर्षको थिएँ। रेकर्डिङमा रञ्जित गजमेरले तबला बजाएको थियो, बाँकी सबै वाद्यवादक बंगाली थिए। रेकर्डपछि १५/२० जना बंगालीले हात मिलाएर ‘भेरी गुड मिस्टर गुरुङ, यू आर ग्रेट सिंगर’ भन्दै मेरो प्रशंसा गरे। हामीले रेकर्डेड गीत बजाएर सुन्यौँ। पहिलोपटक गीत रेकर्ड गर्न पाएकोमा म खुसी थिएँ। तर, हामीले कुनै उत्सव मनाएनौँ, भोज गरेनौँ। अहिलेजस्तो विशेष अवसरमा पिउने चलन थिएर त्यतिखेर। हामी बसिरहेको होटलमा फक्यौर्ं र सामान्य खाना खायौँ। मलाई एकदमै गह्रुंगो भारी बिसाएको जस्तो अनुभूति भयो।


हामीले कम्पनीमा राखेको पाँच सय रुपैयाँ धरौटी फिर्ता पायौँ। पाँच सय रेकर्ड बिक्री हुने ग्यारेन्टी दिएका थियौँ। कम्पनीले विश्वास गरेको थिएन। त्यतिवेला एउटा गीति-रेकर्डको मूल्य ३ रुपैयाँ ७५ पैसा पथ्र्यो। हामीले हाम्रो गीतको मूल्य ४ रुपैयाँ ५० पैसा राख्यौँ। तर, एक हप्तामै पाँच सयवटा रेकर्ड बिक्री भए। कम्पनी हाम्रो गीत अरू निकाल्न इन्ट्रेस्टेड भयो । हामीले अर्कोचोटि दुई हजार रेकर्डको अर्डर गर्यौँ। कम्पनीले तत्काल नसक्ने र एक महिनापछि दुई हजार रेकर्ड निकालिदिने वचन दियो। तर, दुर्भाग्यको कुरा एक महिना बितुन्जेल भारत सरकारले यो कुरा थाहा पाएछ। अनि अलइन्डिया रेडियोले गीतलाई ‘भारतविरोधी’ भनेर प्रतिबन्ध लगाइदियो।

मैले ‘यो भारतविरोधी होइन, नेपालीहरूको गीत हो’ भनेँ। भारतमा मात्रै होइन, अमेरिका, बि्रटिस, जापान, हङकङ जहाँ भएका नेपालीले पनि गाउन मिल्ने गीत थियो, यो। तर, नेपाली भाषाले भारतमा मान्यता नपाएको हुनाले त्यहाँको सरकारले बजाउन रोक लगाइदियो। मेरो निगरानीमा सिआइडी लगायो। भारतमा नेपाली भाषाले मान्यता पाएपछि मात्रै यो गीत फुकुवा भयो। ‘नौ लाख तारा’ गीत एउटा इतिहास हो। यही गीत रेकर्ड भएपछि दार्जिलिङमा नेपाली गीत रेकर्ड गर्ने ढोका खुलेको हो। त्यसपछि शरण प्रधान, अरुणा लामा, गोपाल योन्जनहरूले गीत रेकर्ड गर्न थाले। नेपाली गीतमा सबैभन्दा पहिले रोयल्टी पनि मैले यही गीतबाट बुझेको थिएँ।

मेरो जीवनकालमा मैले कैयौँ ठाउँमा स्टेजमा गाएँ। चाहे म हङकङ जाउ”m, चाहे अमेरिका, चाहे नेपालकै कुनै ठाउँ- श्रोताले फर्माइस गरिरहने एउटै गीत यही ‘नौ लाख तारा’ हो। यो गीतको सन्दर्भमा मैले दुईजना व्यक्तिलाई कहिल्यै बिर्सन सक्दिनँ। एकजना हुनुहुन्छ- रचनाकार अगमसिंह गिरी। चियामा सुन फल्छ भनेर पूर्वबाट नेपाली दार्जिलिङ पसेको डेढ सय वर्षपछि गिरी दाइले नेपाली भावनामाथि यति गम्भीर गीत लेख्नुभएको थियो। भारत स्वतन्त्रताका लागि लडेका नेपालीले भारत स्वतन्त्रतासँगै आफू पनि स्वतन्त्र हुन्छौँ भन्ने ठाने। तर, नेपालीका लागि अंग्रेज बोस भयो, भारत सेकेन्ड बोस। भारत स्वतन्त्र भएको झन्डै १० वर्षपछि गिरी दाइले यो गीत लेख्नुभयो। रेकर्डपछि उहाँले मलाई अँगालो मारेर ‘ऐतिहासिक काम गर्यौ भाइ, यो कहिल्यै बिर्सन सक्दिनँ’ भन्नुभएको थियो।

अर्को दाइ हुनुहुन्छ- सचिन्द्रमणि गुरुङ। रेकर्डका लागि कम्पनीले पाँच सय रुपैयाँ धरौटी राख्नु पर्ने सर्त राखेको थियो। ५० वर्षअघिको पाँच सय रुपैयाँ अहिलेको ५० हजारजस्तो थियो। त्यत्रो रकम हामीले कहाँबाट जम्मा गर्नु ? हामीलाई गीत रेकर्डिङको खर्च जुटाइदिने काम उहाँले नै गर्नुभएको हो।

‘नौ लाख तारा’ गीत रेकर्ड गर्नुअघि हामीलाई यो नेपालीले रुचाउँदैनन् भन्ने लाग्थ्यो। यो नेपालबाहिर (दार्जिलिङमा) बस्नेहरूको गीत हो भन्ने ठान्थ्यौँ, हामी। तर, पछि यही गीत नेपालीले धेरै मन पराए। राजा महेन्द्रले यही गीत मन पराएर मलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे। त्यतिवेलै राजासँग दर्शनभेट हुँदा उनले एकेडेमीमा यतै बस भने। पहिलोचोटि मैले त्यो आग्रह मानिनँ। किनभने हामी दार्जिलिङमा नेपालीको जातीय अस्तित्वका लागि, भाषिक अधिकारका लागि र आफ्नो संस्कृतिका लागि संघर्ष गरिरहेका थियौँ। मलाई उतै बस्नुपर्छ भन्ने लाग्थ्यो।
दोस्रोचोटि सन् १९६४ मा नेपाल आएका वेला फेरि एकेडेमीमा बस्न अनुरोध भएपछि म यतै बसेर काम गर्न थालेँ। म ३० वर्ष पनि नपुगेको ठिटो थिएँ। मलाई नेपाल आएर बस्ने र संगीत साधना गर्ने अवसर ‘नौ लाख तारा’ ले दिएको हो। यो गीत यति लोकपि्रय होला भन्ने मैले सोचेकै थिइनँ।
read more...

आखिर किन लेख्छु म ?

कालीप्रसाद रिजाल

"तपाईं किन लेख्नुहुन्छ?"पत्रकारले बारम्बार सोध्ने प्रश्न हो यो। केही घटना, विषय या उद्देश्यभित्र कतै स्पर्श गर्छ, विचार एवं भावनाहरू उद्वेलित हुन्छन्, तिनलाई व्यक्त गर्न नपाउञ्जेल एकप्रकारको छटपटी, पीडाजस्तो अनुभव हुन्छ। त्यही पीडा र उकुसमुकुसबाट मुक्त हुन म लेख्ने गर्छु। अभिव्यक्त गर्न पाउँदा सन्तोष, एक प्रकारको आनन्दको अनुभव हुन्छ, त्यसैले म लेख्ने गर्छु। मैले दिँदै आएका चलनचल्तीका उत्तरहरू यिनै हुन्। तर, यही प्रश्न आफ्नो अन्तरात्माले आफूसित सोध्यो भने उत्तर दिन गाह्रो पर्दोरहेछ। म किन लेख्छु? प्रतिकूल अवस्था र परििस्थतिबीच पनि किन र के कारणले मैले आफ्नो लेखनलाई अनवरत रूपमा जारी राख्दै आएँ? चित्तबुझ्दो उत्तर आजसम्म मैले आफूलाई दिनसकेको छैन।

सोच्दा सोच्दै म स्मृतिमा र्फकन्छु। राती सुत्नुभन्दा पहिले गुनगुनाएर आमाले सुनाएका श्लोक र कविताहरू सम्झन्छु। पाँच वर्षको उमेरमै मैले लेखनाथ, देवकोटा, सम, सिद्धिचरणका कविता सुनिसकेको थिएँ। आमाको मधुर स्वरमा। त्यो स्वरले कस्तो तरंग उत्पन्न गरििदयो भने छ/सात वर्ष नपुग्दै कनीकुथी गीत कथ्न थालेँ। नौ वर्षको उमेरमा त मेचमा उभिएर धरान, विराटनगरका समारोहहरूमा गाउन सक्ने भइसकेको थिएँ, आफ्नो गीत आफ्नै लय र स्वरमा। तर, म सोच्छु, सुनाउन त आमाले सबै छोराछोरीलाई सुनाउनुभएको थियो। आमाको ध्वनिले मेरो मनमस्ितष्कलाई मात्र किन तरंगित गरायो? त्यसपछि मेरो लेखनलाई मलजल गर्ने काम काका राधाप्रसादले गर्नुभयो। एउटा पारविारकि संस्था खोलेर प्रत्येक शनिबार प्रतियोगितात्मक गोष्ठीको आयोजन गरेर। त्यो गोष्ठीमा कविता सुनाउने त धेरै थिए। पुरस्कृत हुने पनि धेरै थिए। उनीहरूले किन लेखनलाई अघि बढाउन सकेनन्? मेरो जिन्दगीमा मात्र किन लेखन अन्तरंग रूपमा अभिन्न भएर रहिरह्यो? उत्तर मसित छैन।

तिनताका पूर्वी भेगका सबै मान्छे उच्च अध्ययनका लागि भारततिर जान्थे। हजुरबुबा, हजुरआमाहरू काशीबास गर्दै आउनुभएकाले मेरा सबै काका दाइहरूले बनारसबाटै उच्च अध्ययन पूरा गर्नुभयो। तर, २०१३ सालमा एसएलसी पास गरेपछि एकोहोरो जिद्दी गरेर, लाखौँ सम्झाउँदा फकाउँदा पनि नमानेर म पढ्नका लागि काठमाडौँ आएँ। आमाले सुनाउनुभएका कविताका सर्जकहरूको प्रत्यक्ष दर्शन गर्ने उत्कट अभिलाषाले नै मलाई काठमाडौँतिर तानेको थियो। त्यसबेलाको समयलाई नेपाली कविताको स्वणिर्म युग भन्न सकिन्छ। तीन पुस्ताका मूर्धन्य कविहरूको कविता एउटै थलोमा सुनाइन्थ्यो। लेखनाथदेखि विजय मल्ल हुँदै भूपी शेरचन, भीमदर्शन रोकासम्म। त्यस कालखण्डको कवितामय वातावरणबाट म कतिविघ्न वशीभूत भएँ भने गीत लेख्ने र गाउने रहरलाई बीचमै छोडेर सम्पूर्ण रूपमा कवितातर्फ केन्दि्रत भएँ।

त्रि-चन्द्र कलेजबाट ०१६ सालमा स्नातक परीक्षा पास गरेपछि म बनारसतिर लागेँ। बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेँ। त्यहीताका मेरो भेट वासु शशीसित भयो। उनको सानिध्यले मलाई थप ऊर्जा र उत्साह प्रदान गर्‍यो। मेरो पहिलो कथासंग्रह ज्वारभाटा ०१९ सालमा वनारसबाटै प्रकाशित भएको हो। एमए पास गर्नेबित्तिकै म २२ वर्षको उमेरमा धनकुटा डिग्री कलेजको पि्रन्सिपल हुनपुगेँ। नेपालको इतिहासमा यति कम उमेरमा यस्तो पद पाउने सम्भवत: म नै पहिलो हुँला। पछि मलाई भूमिसुधार अधिकारीका रूपमा काम गर्ने आग्रह आयो। सरकारी जागिरमा प्रवेश गर्ने मेरो कुनै इच्छा नभए पनि राजाबाटै हुकुम भएको भनेर प्रस्ताव अघि सारेपछि सोझै अस्वीकार गर्न अप्ठ्यारो पर्‍यो। मैले त्यो नियुक्ति स्वीकार गरेँ।

लोकसेवा आयोगको परीक्षा पास गरेपछि, ०३२ सालमा मेरो पदस्थापना सूचना विभागको निर्देशकमा भयो। तिनताका नारायणगोपाल सांस्कृतिक संस्थानमा काम गर्थे। उनी गायक र संगीतकार मात्र होइन, बहुमुखी प्रतिभा भएका एक अध्ययनशील व्यक्ति पनि हुन्। उनैको जिद्दीले २० वर्षपछि मैले गीत लेखेँ र नारायणगोपालको हातमा राखिदिएँ। एउटा न एउटा त कसो स्वीकृत नहोला भन्ने लागेको थियो। तर, उनले एउटै बसाइमा लगातार दुवै गीत रेकर्ड गरे रेडियो नेपालमा 'आँखा छोपी नरोऊ भनी' र 'झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी'।

'आँखा छोपी नरोऊ भनी' भन्ने गीतले मलाई एकाएक लोकपि्रयताको शिखरमा पुर्‍याइदियो। तर, लोकपि्रयताको चुलीमा पुगेको त्यो गीत एकाएक बज्न छोड्यो। पछि थाहा भयो, कर्मचारी भएर विद्रोह फैलाउने उद्देश्यबाट लेखिएको भन्दै एक जनाले फाँसीको सजाय दिनुपर्छ भनेर बिन्तीपत्र हालेछन्। 'मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ' भन्ने वाक्यबाट पञ्चायती व्यवस्थालाई नेपालीहरूले मुटुमाथि ढुंगा राखेर सहिरहेका छन् भन्ने अर्थ लगाएछन्। सञ्चारसचिव तीर्थराज तुलाधरसमेतको समितिले फाँसी नै दिनुपर्ने कुनै कारण नदेखिएको भनेर प्रतिवेदन चढाएपछि गीतमाथिको प्रतिबन्ध फुकुवा भयो। मैले पनि मृत्युदण्डको सजाय भोग्नु परेन। अहिले सम्झन्छु यस्तो गीत किन लेखेँ? त्यसबेला म युवा अवस्थामै थिएँ। उमेर अनुसार मैले शृंगार रसको प्रेमगीत लेख्नु पथ्र्यो। दुई-दुईवटा त्यस्ता शुष्क, उदास र गम्भीर गीत किन लेख्न पुगेँ? २० वर्षको अन्तरालपछि। केले उत्प्रेरति गर्‍यो मलाई यस्तो गीत लेख्न? त्यसबेलाको वातावरणले कि मभित्रको द्वन्द्व र असन्तुष्टिले? कि यो मात्र संयोग थियो? म भन्न सक्दिनँ।

०३७ सालको जनमतसंग्रहपछि फेर िअर्को दुस्साहस गर्न पुगेँ। मूर्खताको अर्को कीर्तिमान कायम गर्न पुगेँ। विभागीय प्रमुख भएर गाईजात्रा समारोहमा व्यंग्य कविता सुनाउने म नै पहिलो व्यक्ति हुँला नेपालको प्रशासनमा। पदमा बहाल रहेर त्यसबेलाको शासन व्यवस्थाविरोधी कविता सुनाउने कुरा कमसेकम प्रशासनिक दृष्टिले सही हुन सक्दैन। राजादेखि सम्पूर्ण उच्चपदस्थ अधिकारीहरूको उपस्िथतिमा त्यसबेलाका कुकृत्य, भ्रष्टाचार र काण्डहरूको भण्डाफोर गरेर कविता सुनाउँदाको परण्िााम भोग्नुपर्छ भन्ने बुझ्दाबुझ्दै त्यति ठूलो जोखिम उठाएर किन विद्रोहमा उत्रिएँ? मलाई थाहा छैन। किन बेलाबेलामा मलाई देउता चढेजस्तो हुन्छ र म सम्पूर्ण मर्यादा, अनुशासन र बन्धनहरूको वास्ता नगरेर पागलपनमा उत्रन्छु? हुँदाहुँदै चलचित्र जीवनरेखाको 'कहीँ आफ्नै भुँवरीमा आफैँ पर्‍यौ कि राजै आफैँ पर्‍यौ कि !' बोलको गीत ०६१/६२ सालको आन्दोलनताका विवादित हुनपुग्यो। राजै शब्द हटाउनुपर्छ भनेर गीत रेकर्ड हुनेताका नै दबाब नपरेको होइन तर मैले मानिनँ। संगीतकार अमर गुरुङले मलाई साथ दिनुभयो। आन्दोलनताका त्यो गीत रोक्नुपर्‍यो भनेर रातबिरात मलाई गुमनाम धम्की आउँथे।

बनारसमा पढ्दा ०१८ सालतिर युगवाणीमा मेरो एउटा कविता छापिएको थियो, 'दसैँ'। मैले सुने अनुसार, सम्पादकहरूले काठमाडौँमा अञ्चलाधीशसमक्ष त्यसबेला स्पष्टीकरण दिनुपरेको थियो। एउटा कविता लिएर ०२३ सालतिर मधुपर्क कार्यालयमा गएको थिएँ। भैरव अर्यालले कविता पढ्नुभयो र गम्भीर हुनुभयो। सोध्नुभयो, साँच्चै छाप्ने त? हामीलाई छाप्न त केही छैन तर तपाईंको जागिरमा असर पर्ला कि ! मैले पनि आँट गर्न सकिनँ। प्रतिप्रश्न गरेँ, च्यातिदिउ“ त यो कविता? भैरवजीले एउटा उपाय सुझाउनुभयो। उहाँको सुझाव अनुसार, कविताको अन्तमा एउटा टिप्पणी राखेर मेरो दोस्रो कवितासंग्रह रजिालका केही कवितामा समावेश गरेँ। पुस्तक बनारसमा छापिएको हुनाले 'सेतो पन्ना मेरो कविता' शीर्षकको यो कविताउपर कसैको दृष्टि परेन। फेर ित्यही प्रश्न आउँछ। म किन लेख्छु? कुन आँट र संकल्पले मलाई बारम्बार यस्तो खतरा मोल्न उद्यत गराइरहेछ? जागिर र परविारको बन्धन नभएको भए अझ के गर्थें होला? के के लेख्थेँ होला? म पागलले।

प्रथम श्रेणीस्तरको एउटा पद थियो खुला प्रतियोगिताबाट लिइने। लोकसेवा आयोगको खुला प्रतियोगितात्मक परीक्षामा सबै प्रतियोगीलाई उछिनेर म प्रथम भएँ। मेरो पदस्थापन श्रम तथा समाजकल्याण मन्त्रालयमा भयो। तत्कालीन बडामहारानीले अध्यक्षता गरेको सामाजिक सेवा राष्ट्रिय समन्वय परष्िाद्को बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले भाग लिन पाउँदा रहेछन्। समाज कल्याण मन्त्रालयको प्रतिनिधिका रूपमा मैले पनि भाग लिन पाएँ। आफ्नो स्वभाव अनुसार चित्त नबुझेका कुराहरू मैले बैठकमा राखेँ। त्यसकै प्रतिक्रियास्वरूप यसबारे सुझाव पेस गर्न मलाईसमेत संलग्न गरी एउटा अध्ययन टोली रानी ऐश्वर्यबाट गठन गरयिो। पछि त्यस प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्ने जिम्मेवारी पनि मैमाथि आइपर्‍यो। अनि, मन्त्रिपरष्िाद्ले मलाई परष्िाद्मा सदस्य-सचिव भई काम गर्नका लागि चार वर्ष काजमा खटायो। प्रतिवेदनमा उल्लिखित सुझाव अनुरूप परष्िाद्लाई पद्धतिगत रूपमा सञ्चालन गर्ने काम भयो। त्यसपछि म आफ्नो मन्त्रालयमा फर्किएँ।

मेरो परविार कांग्रेस समर्थक थियो। दाइ चिरञ्जीवी र काका महाप्रसाद रजिाल नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता थिए। मेरो कार्यक्षमताका कारण निकाली नहाले पनि पञ्चायतकालभर िमलाई चिरञ्जीवीको भाइ भनेर शंकाको दृष्टिले हेरयिो। तर, ०४६ सालको आन्दोलनपछि पुन:स्थापित भएको प्रजातान्त्रिक व्यवस्थाले पनि शंकाकै दृष्टिले हेर्‍यो। गिरजिाप्रसाद कोइरालाले गरेको पहिलो पजनीमा मेरो नाम अग्रपंक्तिमा थियो। तत्कालीन मन्त्रिपरष्िाद्ले खटाएको ठाउँमा काम गरेको अभियोगमा मलाई अनिवार्य अवकाश दिइयो। कुनै बेला चिरञ्जीवीको भाइ भएका कारण म संदिग्ध रहेँ, कुनै बेला रानी ऐश्वर्यसित काम गरेका कारण म अभिशप्त भएँ। त्यसो त रानीसित काम गर्नेहरू ०४६ सालपछि राजदूत पनि भए। पार्टीका महत्त्वपूर्ण स्थानमा राखिए। अहिले पनि पार्टीले दिएको गहन जिम्मेवारी बहन गररिहेका छन्। मसितै अवकाश पाएकाहरू सर्वोच्चमा मुद्दा गरेर फेर िसचिव भए। मैले मुद्दा पनि गरनिँ। सोचेँ, जागिरमा भास्िसएको कालीप्रसादलाई गिरजिाले उद्धार गरििदए।

हरेक व्यवस्थामा मैले मित्रभन्दा शत्रु नै बढी कमाएँ। कसैको पनि विश्वासपात्र हुनसकिनँ। मेरो कारणले मेरो परविारले पनि दु:ख पाएका छन्। मेरो लेखनले मलाई बारम्बार प्रताडित गरेको छ। गाईजात्राको कविता सुनाएलगत्तै एकपल्ट सिंहदरबारमा जम्काभेट हुँदा आफूलाई पढाएका आफ्नै गुरु तत्कालीन वाणिज्यमन्त्री रामप्रसाद राजवाहकले 'गाईजात्रे किन आएको होला?' भनेर कटाक्ष गरे। मन्त्री निरञ्जन थापाले 'कविता लेखेजस्तो होइन प्रशासनको काम' भनेर सबैका सामु मलाई मन्त्रालयमा हप्काएका थिए। पदस्थापन भएको मन्त्रालयमा मन्त्रीले मलाई सातादिनसम्म हाजिर गर्न दिएनन्। मेरो लेखनका कारण मैले धेरै दु:ख, हैरानी र अपमान सहेको छु। कतिपल्ट छोडछाड गरेर हिँडौँजस्तो नलागेको पनि होइन। तर, राजीनामा दिँदा पनि स्वीकृत भएन। मैले पनि सम्झौता गरेँ। आधाभन्दा बढी बाटो हिँडिसकेपछि र्फकन पनि गाह्रो हुँदोरहेछ।

फेर िपनि प्रश्न उठ्छ, म किन लेख्छु? विकृति, विग्रह र कुकृत्य देखेपछि हात सक्सकाइहाल्छ। बारम्बार यातना र हन्डर खाएर पनि किन चेत आउँदैन? यस्तो उपद्रो, वितण्डा, भाँडभैलो किन गररिहन्छु म? मेरा समकालीन कति दिवंगत भइसके। भएकाले पनि प्राय: लेख्न छाडिसके। म अहिले पनि केही न केही लेखिरहेकै छु। म थाकेको छैन, बिराम लिएको छैन। यस उमेरमा पनि युवाहरूका लागि प्रेमगीत लेखिरहेछु। गम्भीर भावनाका गीत पनि लेखिरहेकै छु। कुनै ठूलो पुरस्कार मैले पाएको छैन। मेरो लेखनको कसैले समीक्षा गरेका छैनन्। कतैबाट कुनै प्रोत्साहन पाएको छैन। कुनै गुट/समूहसित आबद्ध नभएकाले एकप्रकारले म बहिष्कृत छु। उपेक्षित छु।

कुन ऊर्जाले, कुन शक्तिले, कुन प्रेरणाले मलाई लेखाइरहेको छ? हो, निश्चय पनि मैले श्रोताहरूको माया पाएको छु। पाठकहरूको स्नेह पाएको छु। मेरो शिरमाथि आमाको आशीर्वाद छ। तर, यही कारणले मात्र लेख्न प्रेरति गरेको होला त ?
read more...

गजलको राजधानीमा एक मध्यरात

– डा. गोविन्दराज भट्टराई


पर्मुखज्यू पाल्नुभयो चिल्लो निधार सानू
एउटा छुरी जोडी मया आज कता हानू?


आज गजलको राजधानी ताकेर हिडयौँ। शुक्रवारको दिन, समय ढल्किसक्यो कतिबेला नर्फोक पुग्ने होला? शुरुमा ता रुक्मिणी र म मात्रै थियौँ। पिपल गाउँ पुग्दा जिल्ला गजल सङ्घका अध्यक्ष चढे, खोल्सेनी मोडमा राष्ट्रवादी गजल सेनाका कादर चढे, कालापानी पुल पारीपट्टि गाडी रोकेर गजलिका सिन्डिकेटका युवतीहरू चढे। बाटामा अरु पनि थपिए― आमा गजल मञ्जका साधकहरू, नवकिसान गजलखेतीका स्रष्टाहरू, छेत्र नं. २ गजल सोसाइटिका पदाधिकारीहरू। अव हाम्रो मिनिबसभित्र अटसमटेस भयो, कोही भित्र खाँदिए, अरू वाहिर झुन्डिए, नअटेका छतमा चढे। अव गाडी प्याकाम्प्याक भयो, तान्न नसकेर घ्यार्रघ्यार्र गर्न थाल्यो। कच्ची बाटो पाङ्ग्राहरू भासिएका छन्, धुलो उडेर कुइरीमण्डल छ तर यो अवसरमा कसलाई नचढ भन्नु? अव यस्तो राष्ट्रिय गजल सम्मेलन कहिले आउला र? धन्य नर्फोक, तिमी गजलको राजधानी।
त्यसो त यो देशमा गजलका राजधानी धेरै छन्। ती छेत्रीय हुन पनि मानिरहेका छैनन्। त्यसैले नर्फोक गजलको राजधानी कहलियो।
हामी नर्फोक पुग्दा झमक्क साँझ परिसकेको थियो। गाडीबाट ओर्लेर सिधै गजल मण्डपतिर लाग्यौं। बाटाबाटामा तुल फर्फराइरहेका थिए― नर्फोकमा तपाईंलाई स्वागत छ, राष्ट्रिय गजल नाइटमा तपाईंलाई स्वागत छ। सयौँ मानिस अट्ने सामियाना टाँगेर बनेको गजल मण्डप हेर्दैमा भव्य थियो। सामियानाले नपुगेको ठाउँमा हरिया सेउला गाडिएका थिए, प्रवेशद्वारमा दुइघरी केरा पसाइरहेका थिए। मलाई आश्चर्य लाग्यो, यति विशाल घरीहरू. अनि एकजना आयोजकलाई सोधेँ– ‘यी बनकेराका बोट हुन् कि?’ उनी झन्डै रिसाए र बोले– ‘काँ बनेकरा हुनु? मेरा आँगनका केरा, अनेक जुक्तिले खनाएर वीसवीस जनाले नोल लगाएर बुङ्गा समेत नभाँची यहाँ ल्याएर गाड्यौं. पानी हालेर बँचाएको आज महिनादिन पुग्यो।’
मण्डपबाहिर प्रवेशद्वारमा आयोजना कमीटिका प्रधानसंयोजक अफगानी वस्त्रमा उभिएका थिए। एकजना पार्श्ववर्तीलाई खुसुक्क सोधे, प्रधानसंयोजकजीको शुभनाम के हो बैनी? उनले बताइन् एस टी डब्लु “खोर्सानी”। खित्खित् झन्डै मेरो हाँसो फुस्कियो। कसरी “खोर्सानी” उपनाम रह्यो होला? तर झट्ट सतर्क भएँ― प्रमुख अतिथिले हाँस्नु भनेको आयोजककै अपमान हो। हाँसो रोकेर सोधेँ “किन बैनी यो “खोर्सानी” उपनाम रहेछ?” उनले भनिन्― उहाँ आगो हुनुहुन्छ, कडा पोल्ने अर्थात् खोर्सानी जस्तै। कतिले त उहाँलाई ‘गजलको छापामार’ पनि भन्दछन्। म अझै सतर्क भएर उनीतिर हात बढाएँ, मिलाएँ।

स्यौला र पात मिसिएका पुष्प गुग्छा मतिर तेर्स्याउँदै खोर्सानीजी गजलमै बोले―
पर्मुखज्यू पाल्नुभयो चिल्लो निधार सानू
एउटा छुरी जोडी मया आज कता हानू?
उनको आसुत्व देखेर म निकै प्रभावित भएँ। फेरि मलाई अलिकति डरडर पनि लाग्यो, एकपल्ट नजाँनिदो गरी निधार छामेँ तर स्वागतार्थीका अनुहारमा प्रशन्नता देखेपछि मेरो भय निवारण भयो। त्यसो भए ‘जोडी मयाँ’ को होला? पल्याकपुलुक गर्दै पछि फर्केर हेरेँ, रुक्मिणी त्यहीँ उभिएकी थिइन्। उनी गजल नाइट कार्यक्रमकी सहायक प्रमुख अतिथि रहिछन्। यो अप्ठ्यारो बुझेर मैले भनें― मलाई के पुष्पगुच्छा नभएनि हुन्छ, उहाँलाई दिनोस्। तर खोर्सानीजीले झर्‍याप्प पारे, गुच्छा च्यातेर दुई मुठा पारे अनि हाम्रा हातमा दुई अर्धगुच्छा राखिदिए।

स्वागतपछि हामीलाई पण्डालभित्र लगियो, माथि मञ्चमा बसालियो। मञ्चमा कुनै सोफा–कुर्सी थिएनन्, ड्याम्ड्याम्ती खाटमा खाट जोडेर राखिएका थिए. नाट्य घरको स्टेजजस्तै, अग्लो व्यासासन। प्रमुख र सहायक बाहेक अरु पनि अतिथि थिए― कोही विशेष अतिथि कोही कार्यकारी अतिथि, कोही निमित्त अतिथि, कोही भूतपूवर्, कोही तत्कालीन अथिति आदि। उद्घोषकले नामहरू बोलाउँदै गए― गजल प्रक्षेपण केन्द्रीय समितिका सभापति, नर्फोक काठमाडौँ गजल ट्रष्टका अध्यक्ष, गजल बचाउ अभियान जिल्ला समितिका सदस्य सचिव, अन्तर्राष्ट्रिय गजल फोरमका संस्थापक, प्रवासी गजल गुठीका सदस्य, गाउँगाउँ गजलमय बनाऊँ अभियानका संयोजक, बाल गजल स्रष्टा मञ्च,, बालिका गजल स्रष्टा मञ्च, युवक गजल परिवार, युवा गजल परिवार, वृद्धबृद्धा गजल–भजन मण्डली, साना किसान गजल ग्रुप, ठूला किसान गजल सोसाइटी गर्दागर्दै मञ्च ठ्याप्पै भरियो। गर्मी छ तर अतिथि सर्जक चढेका छन्, खाटमाथि पल्याँटी कस्तै बसेका छन्, म प्रमुख अतिथि भएपनि छेलिँदै गएँ, हरियो गुच्छा माथि उचालेर खाटमा घुँडा टेकेको छु, अघिल्लिर दुई हार पछिल्तिर तीन हार। अतिथिको सङ्ख्या पच्चीस पुग्यो होला। अझै थामिएन।

माथि पाइलो टेक्ने ठाउँ नरहेपछि खाट कर्‍याककुरुक गर्न थालेको थियो। खाटको भारक्षमताभन्दा अतिथि बढि होलान् जस्तो बुझेर उद्घोषकले भने― आसन ग्रहणको काम चलिरहनेछ, अब मूख्य कार्यक्रम नै सुरु गरौँ।
कार्यक्रम सुरु हुनुभन्दा पहिले गजल नाइट संयोजकले माइक पक्रेर स्वागत भाषण बोले― गजलप्रेमी सज्जनहरू, आज हामीलाई चारैतिरबाट आक्रमण छ. कविताको आक्रमण, कथाको आक्रमण छ, नाटक र निवन्धको आक्रमण। गजललाई एउटा स्वतन्त्र विधा बनाउन हामी लडिरहेको छौँ तर सामन्तहरूले अनेक जालझेल षडयन्त्र गरेर हाम्लाई स्वतन्त्रता दिन हिच्किचाइ छन्। सयौँ वर्षको दासताले हामीलाई थिचेको छ. अव हामी यो स्वतन्त्रता सङ्ग्राममा उत्रेका छौ, अव हामी प्रत्येकले प्राणको आहूती दिनु पर्छ र गजललाई मुक्ति दिलाउनु पर्छ। हामीले एक घर एक गजलकारको नारा लिएर गाउँ पस्नु परेको छ। आफ्ना दुश्मनहरूको पहिचान गरेर गजलवाहेक अरु थोक लेख्नेलाई बेलैमा वार्निङ दिनुपर्छ।
म भन्दै आएको नर्फोक मुक्त जिल्ला घोषित गरियोस्। तर आज म सुन्दैछु यहाँ कोही कवितालाई साहित्य भन्नेहरू पनि छन् अरे, कोही लुकेर कथा र उपन्यास पनि लेख्ने प्रयत्न गर्दै छन् अरे― ती कुरावाट मुक्ति नपाएसम्म कसरी गजल एक स्वतन्त्र विधा बन्न सक्छ? हामी टायर जलाउन तयार छौँ हामी खुकुरी चलाउन पनि तयार छौँ। तर गजललाई मुक्ति नदिलाई छोड्ने छैनौँ।

गजल भनेको साहित्यको जननी हो. माता हो। गजलभन्दा पहिले केही लेखिएको थिएन. अव यो संसारमा गजलभन्दा पछि कुनै साहित्य लेखिने छैन। गजल साहित्यको आदि र अन्त्य दुवै हो। यसो भित्तामा हेरें, एउटा व्यानर फिलफिल गर्दै थियो― “गजल साहित्यको आदि र अन्त्य दुवै हो।” यो स्वतन्त्रता सङ्ग्राम हो, मुक्ति सङ्घर्ष हो, छेडौँ अव यो स्वतन्त्रताको आन्दोलन छेडौँ।
स्वागत भाषणले स्रोतालाई जुरुकजुरुक उचाल्यो। मैले सम्झेँ― घर नपुगी गजल मुक्ति आन्दोलन छेडियो भने कति दिन नेपाल बन्द हुने हो, कति गाडी जल्ने हुन्, कति लाठीमुङ्ग्री चल्ने हुन्। यो जिन्दगी कत्रो अभर पर्छ होला नि. व्यर्थै प्रमुख अतिथि बनेर आएँ यो तीन दिनको बाटो।

त्यस्तो सोचिरहेकै बेला प्रमुख अतिथिको काम आइहाल्यो। उद्घोषकले भने― अव, प्रमुख अतिथिबाट एउटा गजलसङ्ग्रहको विमोचन हुँदैछ, सबैजना जर्‍याकजुरुक उठेर जोडले ताली पड्काउनु होला। म पनि उभिएँ। विमोच्य कृति हातमा लिएँ. त्यो थियो “छेडिएको मुटुमा बलेको आगो”, कस्तो शीर्षक! मलाई हाँस उठ्न खोज्यो तर सर्जक करुणाकेशरी “मिर्मिरे” नजिकमा आइपुगेकी थिइन्। सर्जकको अघिल्तिर हाँस्नु भनेको तिनीहरूको अपमान गर्नु हो। म च्याप्प ओठ बाँधेर बसेँ अनि “छेडिएको मुटुमा बलेको आगो” को विमोचन गरेँ। मनमा तै पनि एउटा कौतुहल जागिरअह्यो कसरी इनको मुटु छेडियो होला, कसरी त्यहाँ आगो बल्यो होला? विमोचन पछि मिर्मिरेले केही शेर सुनाइन्, मलाई लाग्यो उनको मुटु साँच्चै छेडिएको रहेछ र त्यो आगो यो शरीरमा दनदनाइरहेको थियो। मिर्मिरेको एक सेरले धेरैको मुटु छेडिदियो।
छेडिदियौ सानो मुटु तिखो झिरले
डढेको छ ह्दयमा तिम्रै पीरले
वीचवीचमा गजल बाचन हुन्थ्यो ताली पडकिन्थे, सुसेली सुनिन्थे, पण्डाल हल्लिन्थे। बतास चलेको बेला भित्ताका सुकेका सेउला पनि स्यार्रस्यार्र गर्थे। गजल नाइट चलेको चल्यै, एक पछि अर्को, गजलको बहारले स्रोताहरूको पनि मुटु छेडिएला जस्तै भएको थियो। हरेकपल्टको गजल गायन। वाचनपछि जोरदार तालि पड्किन्थे। सबैभन्दा ठूलो प्रशंसा खुश्री मलीना “विहानी” को गजलले प्राप्त गर्‍यो। उनको एउटा सुन्दर सेर यसप्रकार थियो―
नजर्ले उठायो अधर्ले खन्यायो
पर्‍यो रात भित्रै छिचोली लडायौ।
वाहा! वाह!! वाह!!! बाह्र मिनेट ताली रोकिएन र वान्स मोर आइरह्यो ।
एकतीसवटा गजल गायन र वाचन सकिएपछि प्रमुख अतिथिको अर्को कार्यक्रम आइलाग्यो त्यो थियो महान गजलविद् अमरेश्वर फणिक “धिपधिपे” लाई गजलसम्मान तथा उपाधि। त्यसबेला मोडर्न गजल फ्रन्टका इन्चार्ज जुरुक्क उठेर बोले― आज हामी “धिपधिपे” ज्यूलाई चाहिने “गजलसम्राट” को उपाधि दिन चाहन्छौँ। कसैलाई केही भन्नु छ? छ भने फ्रायाङ्क्लि अहिले भन्दिने भरे चाहिने व्याकबाइटिङ गर्न पाइने छैन। त्यो ह्ययाबिट मलाई मन पर्दैन।
एकैचोटी पण्डाल गुञ्जियो, थर्कियो र हल्लियो। हामी कसैलाई ‘सम्राट’ मान्ने छैनौँ, बरु ‘गजल राष्ट्रपति’ भन्नोस्, तर सम्राट हामीले भत्काइसकेको विचार हो। लोकतन्त्रमा सम्राट हुँदैन। त्यस्तो उग्र विरोध सुनेर इन्चार्ज अँघ्यारो मुख लगाउँदै थचक्क बसे। अनि अरु प्रस्ताव आउन थाले― बरु गजल शिरोमणी भनौं, अथवा गजल मुखिया, अथवा गजल पण्डित, अथवा गजल गार्ड अथवा गजल महर्षी अथवा गजल पुरुष।
यतिकैमा फ्रन्टलाइन गजल डट कमकी सचिव मेरिना ‘उत्पात’ बोलिन― त्यसरी पण्डित, मुखिया, महर्षी, जस्ता शव्दले पुरुषतन्त्रको एकाधिकार जनाउँछन बरु ‘गजल न्युक्लिअस’ भनौँ. यो विज्ञानबाट आएको र स्त्रिलिङ्गी पुलिङगी नछुट्टिने कन्सेप्ट हो, अथवा ‘गजल पेट्रोम्याक्स’ भनौं त्यसले लैङ्गिक विभेद पनि मेटाउँछ। यो पोष्टमोडर्न कन्सेप्ट हो।
सबैले ‘उत्पात’को प्रस्तावलाई स्वागत गरे त्यसै अनुसार अतिथि धिपधिपेलाई ‘गजल न्युक्लिअस’ सम्मान चढाइयो। तर केही सहभागीले विरोध प्रकट गरे― त्यसरी सम्मानपत्रले मात्र पुग्छ कि क्या हो। एउटा दोसल्ला ओढाउनु पर्दैन? अर्काले प्रस्ताव गर्‍यो― यो गर्मीमा दोसल्लाको के काम यार? बरु एउटा पङ्खा चढाइदिउँ न बूढालाई। अर्काले थप्यो― पाँचसयको दोसल्लाले हुनेमा पन्ध्रसयको फ्यान कल्ले खर्च विहोर्छ, तँ दिन्छस्?
छड्के परेर त्यो संवाद सुनिरहेका धिपधिपेज्यू बोले― हे आयोजक वृन्द, मलाई केही चहिएन बरू पैसै दिनुस्, म चाहिएको माल किन्छु। जैले पनि दोसल्ला देखेर मेरी श्रीमती हैरान भइसकिन्। एउटा मितिनीलाई दिइन्, एउटा जेठीसासूलाई एउटा सम्धीलाई, एउटा सालीको गडधुवा राख्यौँ, दुइटा बजारमा बेचिन् अझै बाकसमा हेर्दा सातवटा दोसल्ला पर्खिरहेका छन्। सम्मानित व्यक्तित्वको यस्तो वात सुनेर आयोजक अलिकति झस्किए। नभन्दै आयोजक प्रत्युत्पन्न मतिका थिए। उनी बोले― यो दोसल्ला फिर्ता गर्दा पसलेले ४० पर्सेन्ट कटाउँछ तपाईंलाई त्यो कुरा मञ्जुर भए हुन्छ तपाईंले नगदै पाउनु हुन्छ। धिपधिपेले ‘हुन्छ’ भने. तत्कालै क्यालकुलेटर झिकेर हिसाब गरियो। चालीस पर्सेन्ट कटाउँदा रु. २७१ बाँकी रह्यो, धिपधिपेले सो नदग पुरस्कार भित्री गोजीमा हाले।
त्यसपछि धिपधिपेको परिचय सुनाइयो― ‘गजल न्युक्लिअस धिपधिपेज्यूको पूरा नाम हो अमरेश्वर फणिक। उहाँ महानन्द सापकोटा जस्तै कसैलाई आफ्नो जन्ममिति बताउनु हुन्न। उहाँ नर्फोकका रत्न हुनुहुन्छ। नर्फोकका मात्र होइन, यो देशकै भनौं। उहाँले विजुलीबत्ती आइनुभन्दा पहिल्यैदेखि धिप्री मुनी बसेर रातभरि गजल सिर्जना गर्न थालेको र आजको बिजुली बत्ती समेत ‘धिपधिप’ गरिरहने हुनाले तत्कालीन सरकारलाई व्याङ्ग्य गर्न ‘धिपधिपे’ टाइटल राख्नु भयो। त्यो सुनेर तत्कालीन सरकार पनि निकै डराएको थियो। उहाँ यो देशको एक नम्बर गजल प्रशिक्षक हुनुहुन्छ। हालसम्ममा यो देशका ६३ वटा जिल्लामा गजल प्रशिक्षण शिविर चलाइसक्नुभएको छ। मर्नुभन्दा पहिले बाँकी जिल्लामा शिविर चलाएर गजल लेखन प्रशिक्षणको ज्ञान दिने वाहाँको अन्तिम इच्छा रहेको छ।
उहाँ गजलका जिउँदा सहिद हुनुहुन्छ। कति कविले खेदे, कति कथाकारले झम्टिए, कति उपन्यासकारले उहाँलाई दपेटे। एकपल्ट एउटा महाकाव्यकारले ता उहाँको नयाँ कमेजको कठालामा च्याप्प समातेर हातै हाले। पिटापिटै भयो― भनौं दोहोरो भिडन्त। धिपधिपे बलियो हुनाले ख्याउटे महाकाव्यकारलाई पछारेर उम्किनु भो। कसैलाई नटेरी, नसुनी, धम्कीले नडराई उहाँले गजलमै जीवन अर्पित गर्नु भो। खाँदा गजल, हिँडदा गजल, सुत्ता गजल, अहिले सम्ममा उहाँको चार दर्जन गजलसङ्ग्रह प्रकाशित छन्। पच्चीसथान गजलसङ्ग्रह प्रकाशकको खोजीमा छन्। कतिले बहर र काफिया मिलेन भनी उहाँको खेदो खने। तर यी जिउँदा सहिदै कहिल्यै टेरेनन, गलेनन्, हारेनन्। उनी चौबीसै घण्टा नविराई गजल भन्न सक्नुहुन्छ।
परिचायक बोल्दै थियो। धिपधिपे अचानक उत्तेजित भए, च्याप्प माइक पक्रे, बक्तालाई ठेलेर झन्डै लडाइदिए अनि बोल्न थाले―
गजल हुन् मेरी परान् उनीसँगै मर्छु
गजलका दुश्मनलाई आज सखाप गर्छु
धिपधिपे उत्तेजित भइसकेका थिए। हत्तपत्त आयोजकहरू उठेर उनलाई सम्हाल्न पुगे र भने― हे गजल न्युक्लिअस् तपाईंको पालो आएको छैन। अहिले बसौँ।
ब्लड प्रेसर थिएछ क्यारे, रातोपिरो हुँदै उनी थचक्क बसे। फेरि गजल बाचन सुरु भयो।
कार्यक्रम चल्दै थियो। गजल गायनले वातावरणमा अपूर्व रौनक थियो। यसरी नै यो नाइट विताउनु पर्ने थियो। स्रोतादीर्घा विस्तारै खालि हुँदै थियो। एकपल्ट कोल्टिएर घडी हेरें― बल्ल मिडनाइट बितेको थियो, गर्मी ओर्लेको थियो। तर विजुली मरिसकेकाले केही मइन्टोल बल्दै थिए, केही लाल्टिन, कुनाकुनामा मइनबत्ती र अतिथिको छेउमा एउटा कुप्पी बलिरहेको थियो। हावाले फुकेर कुप्पी र मइनबत्तीहरू निभाउने हो कि― चिन्ता बढिरहेको थियो।
बार बजे कटेपछि कोही पण्डालभित्र उँघ्न थालेका थिए, कतै गुनगुन बार्ता पनि थियो तर स्रोताको सङ्ख्या घटेर पन्ध्रबीसमा झरेको थियो। उता अतिथिहरू नचटपटाई उँघिरहेका थिए। तल भुइँमा कोही पल्टेका, कोही गुँडुल्किएर घुर्दै पनि थिए। स्वयमसेवकले पानी बाँडिरहेका थिए। बेलाबेला सेउला पर्तिर कसैले पिसाव फेर्दैछ कि जस्तो अवाज पनि आउँथ्यो। स्वयमसेवकले मात्र सबै नियन्त्रण गर्न कसरी सक्थे!
ठिक त्यसैबेला बीसतीसजनाको हुल पण्डालभित्र पस्यो। तिनीहरूका आँखा तेजिला थिए, शरीरमा स्फुर्ती थियो। ती मध्ये एकजना कडकिएर बोले― तपाईंहरू मात्रै गजलकार, हाम्ले कार्यक्रममा भाग लिन नपाउने? म गजल चोकको संयोजक, उहाँ गजल गुँडका संस्थापक, उहाँ गजल गोठको निर्माणमा लाग्नु भएको छ। यी बैनी गजल कटेजकी सम्पादिका। हामी स्थानीय शक्ति, हामी नर्फोकका मुटु। हामी गजलका युवा छापामार। भोली आन्दोलन गर्न हामी चाहिने, आज अतिथिमा हाम्रो नाम नआउने? यहाँ म कोही दलित देख्तिन्, समावेशी देख्तिन, महिला र जनजातिको प्रतिनिधित्व समानुपातिक देख्तिन। जनताको आवाज उठेन भन्दैमा यो मनपरी चल्छ?
वातावरण भयावह भयो। तिनीहरूले आफ्ना ढाडमा छोटा खाले लठ्ठि लुकाएका छन् कि जस्तो पनि लाग्यो। तिनीहरूमध्ये कतिको मुडकी उज्याइ र दारा किटाइ देख्ता आज यो अतिथि मञ्चमै एकदुईजनाको प्राण खुस्काउने हुन् कि जस्तो लाग्यो। मानिस डराए, स्तव्ध भए। कुनै अप्रिय घटना पो लेखिएको छ कि।
हाम्रो ईशारा बुझेर उद्घोषकले थपे― अतिथि महोदय, हामीले आसन ग्रहणको कार्यक्रम जारी रहने छ भनेका थियौँ। रातको दोस्रो प्रहरमा अन्य अतिथिको आसन ग्रहणको घोषणा गर्न चाहन्छु। शिरुबारी गजलघरका प्रतिनिधिज्यू, खोलाबगर गजल गृहकी संस्थापिका, मुटुमा झीर आँखामा नीर संयुक्त गजलसङ्ग्रहका रचयिता द्वय, साइबर गजल सेक्सनका संयोजक, अन्तर्राष्ट्रिय गजल एसोसिएसनका आयोजक नाम भन्दै गए, अतिथिहरू माथि खाटमा चढ्दै गए, एकपछि अर्को, मध्यरातपछि, कोही निधाएका ठाउँमा, कोही झकाएका ठाउँमा, कोचिएर, चेपिएर, धारे परेर खाँदिएको खाँदियै। तल दर्शक दीर्घामा ठाउँ रिक्त थियो पन्ध्रबीसजना मात्र बाँकी थिए तर अतिथि दीर्घामा कसाकस, सास फेर्न मुस्किल पर्न थालेको थियो।
सबै खाँदिएर माथि चढिसकेपछि अव कार्यक्रम अघि वढाउने घोषणा मात्रै के भएको थियो, हामी बसेको खाट चटट…..गर्‍यो। ए ए ए! डोरी चुँडियो कि कसो भन्ने सोच आउन नपाइकन चड्याप्प गर्‍यो, झवाट् गर्‍यो, खित्रिक्क, डयाम्म भ्वाक्क गर्‍यो। ऐया, मरें आर्तनाद सुन्निन थाल्यो।
रङ्गमञ्चको भार क्षमता कमजोर भएर, अतिथिले थिचेर काठ चुँडिए, भाँचिए, बाँसले छोडे, खाटले छोडयो।
केकति चोटपटकमा परे, कसरी यो विघ्न आइलाग्यो सोच्न सकिएन। सेउला र फूलसँगै म पण्डाल वाहिर लडेको थिएँ। राम्ररी होसमा आउँदा पण्डाल खाली थियो। स्वयंसेवकहरू स्टे्रचर लिएर उभिएका थिए। यसबेला उज्यालो हुने बेलाको चिसो हावा आउन थालेको थियो।
यसरी वित्यो गजलको राजधानीमा एकरात। शनिवारको दिन आज नर्फोक सुनसान थियो।
read more...

सिलगढीमा शब्द-साँघु


भूपिन व्याकुल


नेपाली सञ्चारमाध्यमहरूमा फेसबुकको सामथ्र्य र सीमाको बारेमा बहस चल्दै गर्दा कालेबुङका कवि मनोज बोगटीको एक आमन्त्रणपत्र प्राप्त गरेँ- फेसबुकमा । भारतको सिलगढीमा भानुभक्त समितिले आफ्नो रजतजयन्तीको अवसरमा आयोजना गर्नलागेको भारतीय-नेपाली काव्य सम्मलेनको निमन्त्रणा रहेछ- त्यो । 'शब्द-साँघु' नाम दिइएको उक्त कार्यक्रममा भारतीय भूमिमा जरा गाडेर नेपाली भाषाको श्रीवृद्धिमा लागिरहेका मानक कविहरूसमेत सहभागी हुने जानकारी प्राप्त गरेपछि यात्राअघि नै सिलगढी निस्किएको कुनै बटुवाजस्तो बनिसकेको थिएँ म ।

नेपाली साहित्यको स्तरलाई उचाल्न मेचीपारिको नेपालीभाषी क्षेत्र 'ज्याक' बनेको छ । त्यसले नेपाली साहित्यको सवारीलाई उठाएर धेरैपटक यसका पाटपुर्जा मर्मत गर्न सघाउ पुर्‍याएको छ । गतिशीलताका लागि समयको सडकमा चल्ने नयाँ पाङ्ग्राहरू थप्न सहयोग गरेको छ । 'अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न ताक्नुपर्छ' भन्ने त्रि-आयामिक आवाज त्यही भूमिबाट उठेको हो । जातीय जागरणका सुधारात्मक धुनहरू कविताको सारङ्गीमा रेट्ने धरणीधर कोइराला होउन् वा नेपाली झ्याउरे लय, राष्ट्रवादी विचार र क्रान्तिकारितालाई कविताको विषय बनाउने महानन्द सापकोटा होउन्, त्यही भूमिका सांस्कृतिक विम्बहरू हुन् । पारसमणि प्रधानले समाज उत्थानका निम्ति कविताहरू रचेको भूगोल पनि त्यहीँको हो ।

कवि अगमसिंह गिरीले मेचीपारिको भूमिमा नै कविताहरूको अभ्यास गरे । नेपाली गद्य कवितालाई गर्व गर्नलायक बनाउने हरिभक्त कट्वालबिना नेपाली कविता अपूर्ण हुन्छ । 'यो जिन्दगी खै के जिन्दगी', 'बदनाम मेरा यी आँखाहरू'जस्ता अमर कृतिहरू नेपाली साहित्यलाई दिएका उनले कवितामा सङ्गीतलाई ठूलो महत्त्व दिएका छन् । ईश्वरवल्लभले त्यही भूमिमा हुर्किएको आफ्नो सिर्जनशील बिरुवा नेपालमा ल्याएर रोपेका हुन् । साहित्यकार पारीजात र सङ्गीतकार अम्बर गुरुङ त्यही माटोका उत्पादनहरू हुन् । परम्परागत साहित्य लेखनलाई 'आधुनिक बौद्धिकताको भोक तृप्त गर्न असमर्थ' भनी तर्कको तीर हान्ने र तेस्रो आयामको गतिशीलता शिथिलजस्तो देखिएपछि 'खेलौं बाँच्ने खेल' भन्दै लीलालेखनमा लागेका इन्द्रबहादुर राई नेपाली साहित्यका एक बौद्धिक सम्पत्ति हुन् । उनले चलखेल गरेको भूगोल पनि मेचीपारि नै पर्छ । सिलगढी पुग्नुअघि यात्राभरि यस्तै विम्बहरूले मानसिक गति निर्माण गरिरहेका थिए ।

एघार डिसेम्बरमा समितिको आयोजनामा भएको भारत र नेपालका कविहरूको बृहत् कविगोष्ठीले त्यहाँ विकसित सभ्यताका नयाँ र पि्रतीकर अध्यायहरू सुनाइरहेको थियो । त्यहाँ पठित कविताहरूले चेतनाका मनमस्तिष्क हर्ने ढोकाहरूभित्र हामीलाई हार्दिकताका साथ प्रवेश गराइरहेका थिए । भारत-नेपाल काव्य समागममा भारतका विभिन्न भूभागहरूबाट कविहरू जम्मा भएका थिए । दार्जिलिङ, कालेबुङ, मङ्पु, मिरिक, सिलगढी, सिक्किम, असम र डुवर्सबाट आएका कविहरूको हुलमा नेपालबाट गएका कविहरू आरएम डङ्गोल, निमेष निखिल, सरिता तिवारी, सरस्वती प्रतीक्षा र यो पंक्तिकार मिसिएका थिए । मैले त्यहाँका कविहरूलाई दुई दृष्टिकोणबाट विश्लेषण गरेँ । डा. राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, डा. जस योञ्जन 'प्यासी', नरबहादुर दाहाल, समिरण क्षत्री 'पि्रयदर्सी', मोहन ठकुरी, उषाकिरण राईका कविताहरूले त्यहाँ विकसित कविताको समृद्ध युगलाई प्रतिनिधित्व गरिहेका थिए भने राजा पुनियानी, सुधीर क्षत्री, मनोज बोगटी, भूपेन्द्र सुब्बा, सुचन प्रधानका कविताहरूले शिल्पको नयाँ घुम्तीमा कुदिरहेका शक्तिशाली कविताको नयाँ इलाकालाई संकेत गरिरहेका थिए ।

विशेषतः दार्जिलिङ र त्यस वरपरको भूमिले साहित्यको सिद्धान्तीकरणमा ठूलो प्रेमभाव राख्छ । त्यो भूमि फगत तेस्रो आयाम र लीलालेखनमा मात्र सीमित छैन । नब्बेको दसकमा दार्जिलिङे युवा कविहरूको जमातले थालेको 'सङ्क्रमण कविता'ले अघि लेखिएका दुर्वोध्य कविताका ट्युमरहरू ताछ्ने काम गरे । उनीहरूले कवितालाई बढीभन्दा बढी पाठकमुखी बनाउने आग्रहले कविता रचना गरे । उता कालेबुङमा अभ्यस्त र परिचित शैलीहरूका साहित्य लेखनबाट मुक्त भएर बेग्लै स्वादमा कविता लेख्न चाहने कविहरू 'विचलन' अभियानका साथ देखापरे । मोहन ठकुरीले सम्पादन गर्नुभएको 'स्वतन्त्रतोत्तर नेपाली कविता'भित्र धेरै कवि र कविताको चर्चाको साथै यस्ता आन्दोलन र अभियानहरूको समेत चर्चा गरिएको छ ।

कवि मनप्रसाद सुब्बा पनि 'किनारीकरणको आन्दोलन'का एक अगुवा रहेछन् । यता नेपाली पत्रपत्रिकाहरूमा पनि 'सवाल्टर्न'को बारेमा बहस चलिरहेका छन् । किनारीकृतको पक्षमा लेख्नु वा पिँधमा छट्पटाइरहेका मानिसहरूको बारेमा लेख्नु लगभग एउटै कुरा त होला, सोचिरहेँ । हिन्दी भाषाका कवि कालीप्रसाद सिंहले हाम्रा कविहरूका कविताका हिन्दी अनुवाद सुनाउनु अघि भने, 'मलाई यहाँका नेपालीहरू मौन छन् जस्तो लागिरहेथ्यो । तर कविताको अनुवाद गर्दै जाँदा थाहा पाएँ कि नेपालीमा यति स्तरीय कविता सिर्जना भइरहेको रहेछ । दिल्लीले यसको सौन्दर्यलाई नबुझेको मात्र रहेछ ।' सोचेँ, त्यहाँ पनि राजधानीवादको पीडक अनुहार महसुस गर्दारहेछन् स्रष्टाहरू ।

नेपालबाट गएका कविहरूले देशमा व्याप्त अँध्यारोभित्र उज्यालोको खोजी गरे कवितामार्फत । ती कविताहरूमा समयको अनुहार बढी नै गाढा देखिन्थ्यो । उताका कविताहरूमा पनि समकालीनता कहाँ फिक्का थियो र ? कविताको सार्वकालिकता विवादास्पद शक्ति हो । कविले आफू बाँचेको समयलाई नै बढी सम्बोधन गर्दोरहेछ ।

भोलिपल्ट गान्तोकको एमजी रोडमा बरालिँदा प्राप्त भएका हिन्दी र नेपाली भाषाका दैनिक अखबारहरूमा सिलगढीको काव्य समागमलाई प्राथमिकताका साथ छापेको पायौं । हिन्दी 'दैनिक जागरण'ले 'गीतों में उभर आया नेपाल का दर्द' शीर्षकमा समाचार प्रकाशित गरेको रहेछ । हाम्रो देशको पीडालाई नै किन शीर्षक बनायो होला भनी महात्मा गान्धीको मूर्ति छेउमा बसेर सोचेँ । पाएँ, हिजो वाचित हाम्रा कविताहरूमा देशको दुःख नै त अभिव्यक्त भएको थियो । हामीसँग अखबारका लागि शीर्षक बन्नलायक यस्ता थुप्रै दुःखहरू छन् । शब्दको साँघु काटेर नेपाल फर्किंदै गर्दा सोचिरहेँ, भारतीय भूमिमा र यता विकसित नेपाली साहित्यलाई जोड्न कुनै लामो पुल चाहिँदैन । कुनै ठूलो फट्के चाहिँदैन । एउटा बलियो साँघुले नै यो जोडिइरहेको थियो, जोडिइरहेको छ र जोडिइरहनेछ ।
read more...