मुख्य समाचार :


मरुभूमिको नदीमाथि सम्पूर्णा डिजायर

  • मनोज वोगटी
‘कहॉं छस्?’
‘बजारमा|’
‘छिट्टो क्यामेरा लि
एर आइज, सम्पूर्णाकोमा जानुपर्छ|’
.......

कॉंपेको आवाज केवल मेरो निम्ति बोल्यो| गुरूमा(वयोवृद्ध साहित्यकार सानुमति राई) थिइन् फोनमा| सानुमति गुरूमालाई म आमा भन्छु| मलाई छोरा भन्छिन्| केही महिना अघि मलाई नाभो थमाएकी थिइन्| ‘लु, सम्पूर्णाले तलाईँ भनेर दिएकी| पढ़| राम्रो कथा छ|’-सानुमति गुरूमाले भनिन्|
.......

घर पुगेर कथा पढें|
मिहिन संवेदनाको कथा| वरिपरिका मेरै छिमेकीहरू कथामा छन्| ससानो कुराले आहात भएकी सम्पूर्णा राई पढेर मलाई लगेको थियो-उनीसित कुरा गरिराखौं| धेरैवर्ष बोल्न नपाएकी साहित्यकारसित के के दबिएको होला| दबिएको त्यो खोल्न पाए तिनी खुलिने थिइन्| हलुको हुने थिइन्| कालेबुङको स्थानीय दैनन्दिनी च्यानलको आइतबारे साहित्यिक कार्यक्रम कॉंधमा छ| समेट्छु एकदिन सोंचेको एकदिन मैले|
.......
त्यस्तै एकदिन सानुमति गुरूमासित म उनको घरमा थिएँ| ओछ्यानमा थिइन्| पहिलो अचम्म लाग्यो, तिनी छ महिनादेखि ओछ्यानमा थिइन्| दोस्रो अचम्म लाग्यो, त्यति नै भएको थियो तिनले लेख्न नपाएको| तेस्रो अचम्म लाग्यो त्यति नै भएको थियो तिनले पढ्न नपाएको|

‘आउनुभो बाबु?’
‘हजुर’-मैले भनें|

‘तपाईंको कविता हेर्छु म टिभीमा| सुन्छु| कताबाट एउटा केटा आएछन्| मलाई छुनेगरी कविता भन्छन्|’ तिनले यसरी सानुमति राईसित बारम्बार कुरा गरेको खोलिन्|
हाम्रो पालोमा टिभीमा यसरी कविता सुनाउने मौका थिएन| मिडिया थिएन|ओछ्यान परेदेखि साहित्यसित सम्पर्क नै टुट्यो| मुख प्यारप्यार छ, घरकैसित कुरा गर्छु| कति साहित्यको कुरा गर्नु यिनीहरूसित| बाक्क लाग्छ होला सम्झिन्छु| मलाई गोष्ठीतिर जान मन लाग्छ| तपाईँले जस्तै टिभीमा कविता सुनाउन मन लाग्छ| कविता पनि अर्कै अर्कै भइसक्यो अहिले| मैले संसर्ग गर्न पाइरहेकी छैन| पुराना दिनले बिझाउँछ| मैले कहिल्यै अरुलाई सोधिन की? यसकारण अहिले मलाई पनि कसैले नसोधेको| तपाईँ सोध्न आउनु भो, भन्नुस् के सुन्न चहानु हुन्छ?-एकै सासमा तिनले धेरै कुरा गरिन्| धेरै चिप्लियो| सम्झिएको लेख्दैछु|
........
सफा ओछ्यान| तिनलाई ओछ्यानमा नै राखेर क्यामेरामा तान्नु थियो| भित्तामा चेप्टिएर क्यामेराम्यान मनी तामङ क्यामेरा सोझ्याउँदै थिए| म पहिलो र अन्तिमपल्ट उनीसित भेट्दै थिएँ| अन्तिमपल्ट म उनीसित साहित्कि कुराकानी गरिरहेको थिएँ| एकघण्टा कुराकानी भयो, तरै पनि तिनलाई खोल्न सकिनँ| तिनले आफ्नो मर्यादा राखिन्| लागेको भन्न सकिनन्| मलाई लाग्यो तिनी इन्द्रबहादुर राईबारे भन्न चहान्छिन्| साहित्यिक चोरहरूबारे भन्न चहान्छिन्| साहित्य अकादमीको रवैया खोल्न चहान्छिन्| केही केही खोलिन् र अरुको निम्ति ढोका बन्द गरिन्| यताउति कै कुरा भयो| तर त्यसबीच पनि तिनले एउटा कुरा खास गरिन्| त्यो थियो उनको डिजायर|

इकोनोमिक्सले अनलिमिटेड भनेको डिजार तिनीसम्म आइपुग्दा गलत परिभाषा बनिसकेको थियो| किन भने तिनको डिजायर लिमिटेड भइसकेको थियो|


२६ फरवरी २०१२ को दिन रामकृष्ण रङ्गमञ्चमा गुरूमा सानुमति राईले पारषमणि पुरस्कार ग्रहण गरिरहेकी थिइन्| त्यसै दिन सम्पूर्णा राईको एउटा डिजायर बाहिरियो|

तिनको कविता संग्रह ‘मरुभूमिको नदी’-को विमोचन भइरहेको थियो त्यो दिन| तर आफ्नो पुस्तकको विमोचन भइरहेको बेला कवि सम्पूर्णा राई भने अस्पतालमा नै ओछ्यानमा थिइन्| घरिघरि अचेत। आफ्नो हातले मुसारिराखेर नेपाली साहित्य अध्ययन समितिका कार्यकर्ता अनि तिनकी लोग्नेको हातमा विमोचन गर्न आफ्नो कृति रामकृष्ण रङ्गमञ्चमा पठाएकी थिइन्| तिनकी लोग्नेले तिनको अन्तिम इच्छा नै भनेर प्रकासित गरिदिएका थिए मरुभूमिको नदी। तिनी अस्पतालमा नै रहेको बेला यता रामकृष्ण रङ्गमञ्चमा मुख्य अतिथि ज्योतिप्रकाश तामङले तिनको पुस्तकको विमोचन गरिहेका थिए| त्यसैदिनदेखि भारतेली नेपाली साहित्यक्षेत्रका वरिष्ट कथाकार सम्पूर्णा राईलाई सबैले कविकोरुपमा चिने| किन भने १५ औं पारषमणि पुरस्कार समारोहमा उपस्थित साहित्यकारहरूलाई साक्षी राखेर तिनको कविता विमोचन गरिएको घोषणा अतिथि गोकूल सिन्हाले गरका थिए| कालेबुङमा पुस्तकको लेखकको अनुपस्थितिमा नै विमोचन भएको पुस्तक यो नै पहिलो थियो| आफ्नो पुस्तकको विमोचन गर्न समेत सम्पूर्णा राई कार्यक्रम भवनमा आउन सकिनन्| यता एउटा डिजार सबैले देखे उता सम्पूर्णा राईसित अनेकौं डिजायर दबिएको थियो|

मरुभूमिको नदी कविता संग्रहको विमोचन भएको ठीक सोह्र दिन मात्र पुगेको थियो, संग्रहका कवि सम्पूर्णा राईको स्वर्गारोहण भएको समाचार फैलियो। तिनी कालेबुङ महकुमा अस्पतालमा नै सिकिस्त थिइन्| १३ मार्च २०१२ को चारबजी उनको देहावसान अस्पतालमा नै भयो|

६ वर्ष रोगसित निरन्तर लड्दालड्दै पनि अन्तमा तिनलाई रोगसित हार्न कर लाग्यो| नेपाली साहित्यिक संसारले एक कथाकार गुमायो| तिनको निधनले नेपाली साहित्यिक संसार शोकमा पर्यो| ६ वर्षदेखि नै तिनी ओछ्यानमा थिइन्| त्यही ओछ्यानमा नै थरथर काम्दै जबरजस्ती नै छाप्छु नै छाप्छु भनेर केरमेट गर्दै र छोराछोरीलाई गर्न लगाएको कविताहरूको संग्रह थियो-मरुभूमिको नदी|
...........
तिनी आठौं श्रेणीमा हुँदा तिनको विद्यालय एसयुएमआईबाट पत्रिका निस्कन्थ्यो| तिनको पिता भरत राईले छद्मनाममा साहित्यिक रचना लेख्थे| तिनलाई त्यसको प्रभाव थियो| १९६३ मा त्यही पत्रिकामा तिनको ‘पूर्णेको जून’ कविता छापियो| त्यसपछि तिनी साहित्यिक भइन्| तिनले साहित्यिक परिवेश कथाकार सानुमति राईबाट नै पाइन्| सानुमति राईले एक भानू जयन्तीको छेक पारेर तिनलाई कविता लेख्न र वाचन गर्न सिकाइन्| त्यसपछि तिनी मञ्चमा पनि छाइन्|
कविता लेखेर साहित्यिक संसार टेकेकी सम्पूर्णा राई तर समाजमा चिनिँदा कथाकार थिइन्| तर तिनलाई कविताको मोहले सँधै तान्यो| यसकारण सिकिस्त अवस्थामा तिनले कविता संग्रह छप्ने इच्छा गरिन्| मरुभूमिको नदी उनका पाठकले पाए| पाठकमा अब तिनी पाठमा रुपान्तरण भइन्| ६४ वर्षिय वृद्ध सम्पूर्णाले भनेकी थिइन्- ‘लेखकीय समाजमा पनि परिवर्तन आयो| आजका युवाहरू छिट्टो नै समय सचेत बन्छन्, हामीलाई धेरै समय लाग्यो| अहिलेका युवाहरूले जुन साहित्यिक वातावरण बनाइरहेका छन्, मलाई त्यहॉं सरिक हुन मन लागेको छ| मलाई पनि उनीहरूसित उभिएर कविता भन्नु मन लागेको छ|’ तिनको यो इच्छा पुरा नभए पनि ‘मरुभूमिको नदी’लाई तिनले युवाहरूसितको संसर्ग माने होलिन्| तिनको नाभो कथा संग्रह सिक्किमको निर्माण प्रकाशनले प्रकाशित गरिदिएको थियो| नारी सर्जक मातृका गजमेरले यही विषयमा तिनलाई प्रश्न गर्दा भनेकी थिइन्- सिक्किमले मलाई मौका दियो, जो दार्जीलिङ र कालेबुङले दिएन|
...........
पारषमणि प्रधानलाई कहिल्यै गद्य कविता मन परेन| सम्पूर्णा राईले लेखेको गद्य कविता पनि तिनले मन पराएनन्| १९७२ मा दार्जीलिङमा नेपाली साहित्य अकादमी स्थापना गरिने भयो| पारषमणि प्रधानलाई चॉंजो मिलाउनु निक्कै हम्मे पर्यो, किन भने मुख्यमन्त्री सिद्धार्थ शंकर राय मुख्य अतिथि थिए|
पारषमणि प्रधानले सम्पूर्णा राईलाई कविता पढ्न निम्तो गरे| गद्य कविता मन नपराउने पारषमणि प्रधानले तिनलाई कविता पढ्न निम्तो गर्नु सम्पूर्णा राईको जीवनमा सबैभन्दा ठूलो जित कुरा थियो| सम्पूर्णा राईले गद्य कविता नै पढिन्| सिद्धार्थ शंकर रायले तिनको कविताको सराहना गरे| दार्जीलिङबाट फर्किर आएका पारषमणि प्रधानले सम्पूर्णा राईलाई कालेबुङमा भनेका थिए, ‘नाक राख्यौ बाबै|’

सम्पूर्णा राईले कविताको सन्दर्भमा यही कथा सुनाउँथिन्| नेपाली चलचित्र सम्झना-को संवाद सम्पूर्णा राईले नै लेखेकी हुन्| हिन्दीका चर्चित साहित्यकार अमृतलाल नागरको बाल कथा बजरंगी पहलवान तिनले अनुवाद गरिन्| १९९५ मा तिनले स्रष्टा अनि १९९९मा अरुगी पुरस्कार पनि थापिन्| कविता लेखेर नै सबैभन्दा पहिले १९६८ मा तिनले रणधोज राणा स्मारक कप हत्याएकी थिइन्|
साहित्य अकादमीका सल्लाहकार पनि भइन्| एमए बीएड विशारद गरेकी सम्पूर्णा राईले १९७५ मा एनपी राईसित विवाह गरिन्|

हज्जारौं डिजायरलाई एकएक गर्दै टेक्दै गइरहेकी सम्पूर्णाको डिजायरको घॉंटी समातेर राखेको थियो अर्थराइटिशले|
.........
१४ मार्च २०१२को दिन कालेबुङको छिना डॉंडामा साहित्यकार सम्पूर्णा राईको त्यही डिजायर पुरिँदै थियो| तिनलाई यही कुराको भय थियो| लेखकीय सत्ता तिनको निम्ति उभिने भुईँ थियो| तिनलाई लाग्थ्यो, त्यो भास्सिँदै गइरहेको छ| तिनलाई लाग्थ्यो चिप्लिँदै गइरहेछ सिर्जना| खुम्चिँदै गइरहेछ डिजायर| जे नहोस् लाग्यो, त्यही भयो| ‘इकोनोमिक्सले डिजायर अनलिमिटेड भन्छ, मेरो डिजायर लिमिटेड भइरहेछ’-तिनी भन्थिन्| कमसेकम कथा, व्यङ्ग्य र नाटकको पुस्तक प्रकाशित गरिहाल्नुपर्छ लागेको रहेछ तिनलाई| एउटा ठूलो छटपट्टिले हॉंगा फैलाइरहेको थियो| ‘पारिजातले लेख्न नसकेको नर्गिस कथा लेख्छु भनेको, लेख्ने मान्छेको हात चल्दैन’-तिनले भनिन्| कहीँ कुनै आफ्नो पुस्तकमा पारिजातले नर्गिसलाई उल्लेख गरेकी रहिछन्| पारिजातले उल्लेख गरेको नर्गिससित सम्पूर्णा राईको पुरानै परिचय थियो|

त्यसबेलाको बर्खामा कालेबुङको नालीमा चाल्नीले पानी चालिबस्ने पगलाले सबैलाई छक्क पारेको थियो| नेपाली पागलको स्वास्नी थिइन् केरलियन नर्गिस्| दुवै पागल| पारिजातले कालेबुङमा कहिले देखेकी रहिछन् लुती, राम्री नर्गिसलाई| पारिजातलाई धोको थियो नर्गिसको कथा लेख्ने| पारिजातको धोको पढेर सम्पूर्णालाई लाग्यो, पारिजातले लेख्न पाइनन् अब म लेख्छु| तर तिनले पनि नर्गिसबारे लेख्न पाइनन्| कसरी नेपालीसित ती केरलियन नर्गिसले बिहे गरिन् अनि कसरी उनीहरू पागल भए-यो रहस्य पारिजात र सम्पूर्णा दुवैले खोल्न सकिनन्|

कुइना, कुम र मेरुदण्डको भर थिएन| हड्डीको रोग थियो| मेरुदण्ड कटकट्टी दुख्ने कुरा आम भयो भने सम्पूर्णा राईको निम्ति मात्र भयो| तिनलाई लाग्थ्यो, ओहो फेरि एउटा कथा चिप्लियो| फेरि अर्को कविता चिप्लियो| एउटा नाटक खेलिबस्छ| त्यो पनि पुरानो भइसक्यो| राजनीतिले गोर्खालाई सँधै झुक्यायो, सटायर गर्न पनि नपाइने? इकोनोमिक्सले दिएको परिभाषा फिका भएर तिनी अघि आएर सधैँ बसिरह्यो| ‘डिजायर, यसरी खुम्चिँदै गइरहेको छ, कुन दिन माटोमुनी पर्छ’-तिनी भन्थिन्| तिनको शव माटोमुनी थियो| तिनको डिजायर माटोमुनी थियो|कमसेकम मरुभूमिको नदी प्रकाशित गर्न पाएको ,एउटा जीवन जितेको खुसीसितमात्र तिनी केही समय बस्न पाइन्| भारतीय नेपाली साहित्य जगतकी वरिष्ट कथाकार, कवि, व्यङ्ग्यकार सम्पूर्णा राई कॉंडासितै माटोभित्र गइन्| तिनले भनेकी थिइन्-‘यो जुन पीडा छ, त्यो लेख्न नपाएर बसेकी छु| ६ वर्षभयो पीडा लेख्न नपाएकी|’

२००१ देखि हड्डीको बिमार शुरु भयो| २००६ देखि ओछ्यान परिन्| त्यसैदिनदेखि बन्द भयो लेख्ने काम| केही केही पढ्न सम्ममात्र भ्याइरहेकी सम्पूर्णा राईले आफ्नो र समकालीन र पुराना-नयॉं साहित्यकहरूसित त्यसैबेला देखि छुटानाम गरन्| झुक्किएर कोही कोही आउँथे| दलसिंह अकेलाले नानीहरू दोहोर्याएको अनि वृद्ध मात्रिका गजमेर र सानुमति राईभित्र चल्मलाई रहेकी साहित्यिकताले तिनलाई उर्जा दिइबस्यो| त्यो उर्जा सम्पूर्णालाई तर कहिल्यै काम लागेन| फुर्सदै फुर्सद थियो तर असमर्थताको पहाडले थिचिएको| बॉंदिएको हात र सम्वेदित मन| उकुशमुकुश छ तर एक्सप्रेसनहीन|

‘दबाउने आदत भयो अब’-भन्थिन्|

पुराना दिनका के सम्झेर छक्क लाग्छ? भन्ने प्रश्नमा दीयो पत्रिका सम्झिन्थिन्| साहित्यमा चोरी गर्नेहरूलाई सटायर गरिछन् दीयोको कुनै अङ्कमा| छापिएपछिको कुनै एक दिउँसो तिनले डाकबाट आएको पत्र पाइन्| दीयोमा प्रकाशित त्यही व्यङ्ग्यको पन्ना थियो, च्यातिएको| र छेउमा लेखिएको थियो, ‘यसमा चाना खानु’|
‘जसले चोरी गरे, तिनैले पठाएका थिए’-सम्झेर छक्क पर्छु’-तिनले भनिन्|

न रेडियो, न पत्रिका| न बिजुली| खिड्कीबाट हेर्दा जून देखिन्| पूर्णेको जून-लेखिछन्| आफ्नो पालोमा राल्फाको बोलाबालो|
‘राल्फा त नाङ्गो रहेछ, परिवारसित बस्न नसक्ने| लाज लाग्थ्यो| अहिले विचलन भन्दैछन् कालेबुङका युवाहरूले| फड्को रहेछ यो त| सर्जक त्यसैमा छानिएर अघि जान्छन्| पर्खिनुपर्छ| छानिएर माथि पुगेको मैले हेर्न पाउने हो होइन’-तिनले भनेकी थिइन्| आजको सर्जकले हस्तलिखित पत्रिका मिस् गरेकोमा खल्लो लागेको रहेछ| एउटा हस्त लिखित पत्रिका हुन्थ्यो| राम्रो हस्ताक्षर हुनेले लेख्थे| चित्र कोर्ने कोर्थे| सप्फा राखेर, एउटैप्रति लेखकहरूबाट घुम्दै घुम्दै आइपुग्थ्यो| यो क्रिएटीभिटी आजकाले मिस् गर्यो-तिनी भन्थिन्| यस्ता धेरै कुराहरु सम्पूर्णा राईभित्र लुकेको थियो, जो तिनी लेख्न चहान्थिन्| तर तिनको विशाल डिजायर पनि पुरियो|

ओछ्यानमा परेको धेरैवर्षपछि धेरैवर्षअघि आफैहरूले रोपेको संस्थाको याद आयो एक दिन सम्पूर्णा राईलाई| साहित्य प्रकाशन समिति| जसमा एक हजार दिएर पुस्तक प्रकाशित गर्ने चक्र शुरु गर्नु थियो| तिनलाई लागेछ एउटा कविता संग्रह प्रकाशित गरिहाल्नुपर्छ| तिनले आफ्नो लेग्नेलाई पठाइन्| तिनी रित्तै फर्किए| निबन्धकार सीताराम काप्लेसित पनि कुरा राखिन्| केही भएन| तिनले साहित्य प्रकाशन समितिले एकदिन अचानक पठाएको आजीवन सदस्यता भनेर पठाएको सर्टिफिकेट देखाउदै भनिन्-मैले पैसा फर्काइ मागेको जस्तो लागेछ कि क्यार, यो पो पठाइदिएछन्| म भने पुस्तक छाप्न चहान्थें| संस्था, सर्जक, सहोदरहरूसित सम्पूर्णा राईको जुन ग्याप थियो, त्यसैको एउटा नमुना साहित् प्रकाशन समितिले पठाएको सर्टिफिकेट लागेको रहेछ तिनलाई| तिनको पुस्तक आखिर उपमा प्रकाशनले छापिदियो| तर कस्तो अचम्म उपमा प्रकाशनको मालिक उमेश उपमाको बाबा उता बिते, यता सम्पूर्णा राई| कविले देह त्यागिन्| प्रकाशक कोरामा छन्| उमेश उपामाले कोरामा बसेकै अवस्थामा भने- ‘मरुभूमिको नदी कहिल्यै नबिर्सिने तिर्खा भयो अब|’
..........

म अहिले त्यही मरुभूमिको नदी पल्टाइरहेको छु|
लेखेकी छन्-
जिन्दगीले ओबानो नपाएको
बिकराल शुन्यताबाट
जिन्दगी आफै बलजफ्ती
कसरी फुत्किएको छ आज|



कालेबुङ|

0 comments: on "मरुभूमिको नदीमाथि सम्पूर्णा डिजायर"