मुख्य समाचार :


Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

वर्तमान

सञ्जय विष्ट

बल्ल अनेक शङ्का -उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो।
सुतेको थियो एउटा शिशु ईश्वरजस्तै । ईश्वर नै।
त्यो आइतबारको घाम लागेको दिन थियो। पन्ध्रको नौ पढ़्ने छोराले दुई दिनअघि नै आफ्नो सेतो कमिज खोलेर गोलसखानमा फ्यॉंकेको थियो । टिपेर आमाचाहिँले धोएपछि आँगनको तारमा सुकाएकी थिई। कार्यालयको झन्झटदेखि मुक्त पदमबहादुर आँगनमै घाम तापिरहेथ्यो । धोएर सुकाइएको कमिजको गोजीमा खैरो दाग देख्यो उसले।
उठेर कमिजछेउ गयो ऊ। पल्टाएर हेर्‍यो गोजीलाई। गह्रौँ मन लिएर फर्क्यो ऊ कमिजदेखि अघि बसेकै बेतको चौकीमा। स्वास्नीलाई केही भनेन। क्रिकेट खेल्न जान्छु भनेर छोरा अघि नै घरबाट निस्किसकेको थियो, हातमा ब्याट पनि बोकेर।
पन्ध्रको आफू सम्झने कोसिस गर्‍यो उसले। त्यो समयको आफूलाई यो समयको उसले स्पष्ट सम्झन सकेन यद्यपि पन्ध्रको छोरासित मनमनै खुब रिसायो ऊ।
आइतबार पनि तनाउपूर्ण भइरह्यो पदमबहादुरको।
झमक्क सॉंझ परेपछि छोरो घर पस्यो।
‘‘तँ यहॉं आइज।’’ उसले बोलायो त्यसलाई।
आज पनि सधैँजस्तो छोरा घर पसेपछि गोसलखानमा मुख कुल्ला गर्दैथ्यो । अनुहार धुँदैथ्यो।
‘‘ठुलो भइस् त?’’ अघिल्तिर उभिएको छोरालाई उसले सोध्यो। स्वरमा क्रोध स्वाभाविक थियो।
नबुझेर छोरा अकमक्क पर्‍यो।
‘‘राम्रो कुरा सिकेछस्।’’ भन्यो बाबुले छोरालाई ।
छक्क परेको छोराले बाबुलाई हेरिरह्यो।
‘‘भात खाएर पुगेन तँलाई? के-के खानु सिक्दैछस्?’’ हकारेर सोध्यो, सोधेर हकार्‍यो छोरालाई उसले।
यसपल्ट परिवर्तित अनुहारको रङ्गसित छोराले बाबुदेखि दृष्टि फिरायो।
पदमबहादुरले अरू केही भनेन।
‘‘पैसा नदिनू धेर।’’ अर्को दिन उसले स्वास्नीलाई भन्यो।
‘‘हन तेरो लुगामा त सिग्रेट पो गनाउँछ त!’’ निक्कैपछि एक सॉंझ आमाले छोरालाई करॉंउदै थिइन्।


आउनू भन्ने चिठी आएको रहेछ छोराको स्कुलदेखि। त्यो पनि पोष्ट अफिसबाट। छक्क परेको पदमबहादुरले यस विषयमा कसैलाई केही भनेन। आफ्नो अफिस भ्याउने गरी ऊ छोराको स्कुल-अफिस दस बजी पुग्यो।
चिनेको हेडमास्टर र उसले एकाअर्कालाई झन्डै सँगसँगै नमस्कार गर्‍यो।
हेडमास्टरको ‘‘बस्नुहोस्,’’ सँगसँगै ऊ चौकीमा बसिसकेको थियो।
औपचारिकता पुरा भएपछि पदमबहादुरले भन्यो, ‘‘चिठ्ठी पठाउनुभएको पाएँ।’’ उसलाई समयमै अफिस पुग्नु पनि थियो।
‘‘पछिबाट कुनै प्रकारको जानकारी दिनुभएन भन्नुहोला भन्ने ठानेर,’’ हेडमास्टरले भन्यो।
‘‘भन्नुहोस्,’’ भन्यो पदमबहादुरले।
चौकीदारलाई बोलाएपछि हेडमास्टरले भन्यो, ‘‘आदित्यको बारेमा केही भन्नु थियो । सोध्नु पनि।’’
पदमबहादुर जान्दथ्यो, त्यो जेसुकै होस् राम्रो निश्चय होइन जो अब भन्नेछन् हेडमास्टरले आदित्यको बारेमा।
‘‘मैले बाबाको चिठी ल्याउनु भनेको थिएँ। ल्याएन। बिमारी भएँ भन्थ्यो हरेकपल्ट। थिएन होला पक्कै।’’
थिएन।‘‘थिएन,’’ नै भन्यो पदमबहादुरले।
चौकीदारले दुवैको अघिल्तिर टेबलमा भर्खर राखिदिएको रेजिष्टर पल्टायो हेडमास्टरले।
‘‘मईमा,’’ भन्यो। रोकियो। ‘‘एक्तिस दिनमा सरकारी छुट्टी पॉंच दिन।’’ पदमबहादुरलाई हेर्‍यो।
‘‘शनिबार र आइतबार आठवटा। आठ, पॉंच तेह्र। स्कुल लागेको अठार दिन।’’ रेजिष्टरबाट फेरि आँखा पदमबहादुरकै निराश अनुहारमा पुर्‍यायो।
‘‘यहॉं हेर्नुहोस्,’’ हेडमास्टरको दाहिने हातको चोर औँलाले आदित्यप्रकाश देवानलाई छोएको थियो रेजिष्टरमा।
आदित्यप्रकाश देवानदेखि स...र...र...र... तेर्सो सरेको हेडमास्टरको औँलासँगसँगै कुद्यो दृष्टि पदमबहादुरको।
अङ्ग्रेजीको सानो अक्षर ए,ए,ए लेखिएको रहेछ थुप्रै।
हेडमास्टरले चौकीदारलाई फेरि बोलायो। भन्यो ‘‘नाइन बी-को आदित्यप्रकाश देवानलाई बोलाऊ।’’
‘‘के गर्नुपर्ने अब हामीले!’’ बोलाइमा भनाइ र सोधाइ खुट्याउन गाह्रो थियो।
पदमबहादुर मौन रह्यो। के गर्नुपर्ने अब उनीहरूले—उसलाई थाहा थिएन पनि।
चौकीदारले अफिसमा पुन: प्रवेश गरेपछि भन्यो, ‘‘सर, आदित्यप्रकाश आज एब्सेन्ट छ।’’
पोहोर नौमा फेल भएको छोरा स्कुल जानलाई बिहान घरबाट निस्किएको थियो।
भारी मन बोकेर ऊ अफिसतिर लाग्यो।
मान्छे भएर जन्मिएका पढ़ेकाहरू कत्ति छन् तर काम नपाएर मान्छेजस्तो बॉंच्न नपाएकाहरू। पदमबहादुरले जमाना सम्झ्यो। राजनीतिक दाउपेच सम्झ्यो। अशिक्षित सोझाहरूको दुर्गति सम्झ्यो अनि सम्झेर आफ्नै छोराको सम्भावित अँध्यारो भविष्य आर्द्रता फैलियो शरीरभरि उसको।
भाषण हुँदैथ्यो। सबैले ढॉंटेको बुझिहाल्ने ढॉंट्छन् यिनीहरू— पदमबहादुरलाई अरूहरूलाई जस्तै थाहा थियो। तर सधैँजस्तो घर पुगिहाल्ने हतारको मन नभएको ऊ उभ्नेहरूको माझ उभियो।
घर आइपुगेको रहेछ आदित्य। आमाचाहिँलाई भन्दैथ्यो त्यसले, ‘‘अँ, मार्दैन मलाई लगेन भने?’’
पदमबहादुर घर आइपुगेको दुवैले थाहा पाइसकेका थिए। भनिन् छोरालाई ‘‘बाबालाई भन्। छैन मेरोमा।’’ आमाचाहिँले।
‘‘के चाहियो?’’ आएर आफूअघि उभिएको छोरालाई बाबुले सोध्यो।
‘‘पैसा,’’ उत्तरको शैली सुनेर ऊ विचलित बन्यो।
‘‘किन?’’ खस्रै सोध्यो पदमबहादुरले।
‘‘प्य्राक्टिकल खाता ल्याउनु भनेको अस्ति नै दुइटा। आजु पनि गाली गर्‍यो सरले। पचास रुपे लाग्छ।’’ सुनेर भॉंचिएको मन फेरि भॉंचियो बाबुको।


पछिबाट फेरि फेल भएकै रिजल्टसित अर्को स्कुल खोज्नु भन्ने सूचना पनि भएको कागज आयो। बॉंच्दैन, मर्छ। भोलि मर्छ।—भन्ने विश्वासको मान्छे मर्दाकै जस्तो आमा-बाबु दुवैलाई उस्तो दुखित बनाएन त्यसले।
पदमबहादुरले छोरालाई केही पनि भनेन।
बरू ‘‘मर्निङ स्कुल पढ़्छु,’’ आदित्यले भन्यो।
पढ़्दैन यसले—पदमबहादुरलाई थाहा थियो। पढ़ेन पनि आदित्यले।
त्यसपछि भने परिवारका सदस्यहरूदेखि क्रमश: प्रत्येक दिन आदित्य टाड़िँदै गयो। सम्झाएकोहरू नलाग्ने भइसकेको थियो त्यो तर लोकव्यवहार र समयले त्यसलाई पढ़ाउला—बाबु-आमा दुवैले आशा गरेका थिए।
तर यो तीन वर्षले आदित्यप्रकाशलाई खरानी बनाइसकेको थियो; आगो उमेरमा बल्नै नदिई। ज्वाला दन्कनै नपाई, रापिलो भुङ्रो हुनै नपाई तर अन्तिम अवस्था त्यसैको, खरानी भइसकेको थियो त्यो। चिसो खरानी। हिँड़्ने होइन बाजको वेग लिएर आकाशमा उड़्ने उमेरमा धस्रने भइसकेको थियो त्यो जमिनमा। महान् अपराधको जस्तो दण्ड भोग्दैथ्यो त्यो बॉंड़ेर पनि अझ धेर परिवारका प्रत्येक सदस्यलाई । जीवनको युवास्था भार भएको थियो त्यसलाई।
छोराको यस्तो अवस्थाले बाबु-आमा दुवैको ओठको मुस्कान खोसिसकेको थियो। यद्यपि तिनीहरू छोरालाई माया नगर्न त के नगरेको अभिनय गर्न पनि सक्तैनथे। सपनालाई आशाको त्यान्द्रो कतै थियो। पक्कै थियो।
सत्रको जन्मदिनमा छोराको रहर किनी दिएकी थिइन् आमाले।
महिना दिनपछि सोध्दा ‘‘साथीकोमा छ,’’ भन्थ्यो।
त्यही विषयमा दुई-तीनचोटि आदित्यले आमाबाट गाली खानु पर्‍यो।
तर साथीकोबाट त्यो फर्केन।
तरै पनि हप्ता दिनपछि अठार पुग्ने छोरालाई आमाले सोधिन्, ‘‘योपालि के किनिदिनु?’’
‘‘गिटार।’’
‘‘पर्दैन गिटार-सिटार । निकाल्न पोहोरको।’’ छोराको इच्छा सुनेर आमा कराइन्।
तर ‘‘फेरि कहॉं हिँड़्नु आँटिस्?’’ त्यसको जन्मदिनको अघिल्लो दिन त्यसलाई आमाले सोधिन्।
‘‘साथीकोमा,’’ जवाब सधैँलाई यही हुन्थ्यो।
‘‘पर्दैन। हिँड़् मसित बजार।’’ भनिन् आमाले।
त्यसैले रोजेको किनी दिइन् आमाले गिटार त्यसलाई। नयॉं खोलभित्र नयॉं गिटार बोकेर आदित्य बजारबाटै आमासित छुट्टियो।
बजाउँथ्यो तर कस्तो?—आमा-बाबु दुवैलाई थाहा थिएन। सॉंझमा दुई-तीन साथीहरू जम्मा भइहालेका थिए। गाइरहेका थिए तिनीहरू, गीत होइनजस्तो अङ्ग्रेजी गीत।

लोग्ने-स्वास्नी दुवैले छोरामा धेरै दिनअघिदेखि एउटा कुरो थाहा गरेका थिए—केही दिन सामान्य रहेपछि अचानक छोराको बोलीचाली र व्यवहारमा ठुलै परिवर्तन आइहाल्थ्यो। थोर बोल्थ्यो, बोल्थ्यो के झर्कन्थ्यो खालि। रुखो व्यवहारसँगसँगै विचलित देखिन्थ्यो त्यसलाई मानसिक अनि शारीरिक रूपमा पनि। फेरि केही दिनपछि केही दिनलाई पुरानै सामान्यता फर्किआउँथ्यो आदित्यमा।
त्यस बेला आदित्यको अवस्था सामान्य थिएन। कुनै महान् मानसिक समस्याले जस्तो छटपटी त्यसमा लक्षित हुन्थ्यो। धेरै दिनसम्म नसुतेको जस्ता आँखा, अस्त-व्यस्त केश, पहेंलो अनुहारमा मसिना फोकाहरू, नाकबाट एकोहोरो पानी चुहुने प्रक्रिया।
पानीले भरिएका राता आँखा उठाएर, त्यसले बाबुलाई भन्यो, ‘‘जुत्ता किन्छु।’’
‘‘मसित हिँड़्,’’ भन्यो बाबुले।
आमा-बाबु एउटा बिहामा जान तयारी भइसकेका थिए।
‘‘आफै किन्छु,’’ त्यो रुखो बोल्यो।
‘‘छैन पैसा,’’ अनुहारको रङ्ग बाबुकै पनि बद्लिसकेको थियो।
‘‘ठिक छ, खालिखुट्टै हिँड़्छु म। कति सौको प्रेजेन्ट बोकेर जाऊ बिहामा,’’ करायो आदित्यप्रकाश।
धेरै भए खुशीका यस्ता समारोहहरूमा हुनुपर्ने खुशी भएर जान नपाएको पदमबहादुर र उसकी स्वास्नीले सँगै र अलग-अलग पनि। उनीहरूसम्म आइपुग्ने खुशीका लहरहरूलाई बिचमा बॉंध बनेर उभिएको छ आदित्य। खुशीका छालहरूले पहिलेजस्तो तिनीहरूले भिज्नै पाउँदैनन्।
घरको वातावरण अचानक अँध्यारो भइहालेको थियो।
नजॉंदा अप्ठ्यारो हुन्छ सोचेर; ढिलो गरी; मन नगरी-नगरी तिनीहरू बिहेमा गए।
महिना दिनअघि किनिदिएको महँगो जुत्ता त्योसित थिएन। चप्पलमै आदित्य घरबाट निस्किसकेको थियो।
ठुलो सॉंझमा त्यो सिग्रेटको गन्धसित घर पस्यो। पहिला- पहिलाजस्तो घर पसेपछि गोसलखान पसेर मुख धुने, कुल्ला गर्ने बानी त्यसले त्यागिसकेको थियो।
भोलिपल्ट बिहानै गिटारसित घरबाट निस्कन लागेको छोरालाई बाबुले टोक्यो,‘‘कहॉं जॉंदैछस्?’’
‘‘प्य्राक्टिस गर्नु। साथीकोमा।’’ भन्यो त्यसले।
‘‘तेरो साथीहरू यहॉं आउनु सक्तैन?’’
‘‘किन? म जानु हुँदैन?’’ व्यवहार त्यसको छोराको बाबुसितको थिएन।
बाबुले केही भन्नै सकेन। त्यो गयो गिटारसँग।
=यही छोरा। हो, यही छोरा।
बल्ल अनेक शङ्का-उपशङ्काहरूदेखि मुक्त भएर पहिलोचोटि उसले आफ्नो छोरालाई अस्पतालको ओछ्यानमा देखेको हो। हेरेको हो। सुतेको थियो एउटा शिशु ईश्वरजस्तै। ईश्वर नै।ळ
तर सधैँभन्दा छिटो, सॉंझ नपरी आदित्य घर पस्यो।
आमालाई हेरेर मुसुक्क हॉंस्यो त्यो।
बिहानको मानसिक छटपटी त्योसित थिएन। शारीरिक आलस्य पनि थिएन त्योसित। भिजेका आँखा, झर्को , उग्रता केही थिएन तर बिहान हातमा झुन्डिएको गिटार पनि थिएन त्योसित।
‘‘बाबा खै?’’ आमाचाहिँको छेउमा बसेर त्यसले सोध्यो। चेपेको छुर्पीले त्यसको दाहिने गाला बाहिर निस्किएको थियो।
‘‘किन?’’ सोधिन् आमाले।
‘‘त्यसै,’’ भन्यो त्यसले।
दुईवटा छुर्पी गोजीबाट निकालेर त्यसले आमालाई दियो।
फेरि दुईवटा निकालेर ‘‘बैनी खै?’’ सोध्यो।
‘‘साथीकोमा जान्छु भन्थ्यो,’’ भनिन् आमाले।
‘‘दिउँसो जानु पर्दैन? यति बेला हो जाने?’’ दाजु भयो त्यो।
आमा त्यतिमै खुशी भइन्।
‘‘बैनी कति वर्ष पुग्यो?’’ छोराको प्रश्न सुनेर आमा छक्क परिन्।
‘‘तँभन्दा डेढ़ वर्ष सानु।’’ बताइन् उसले छोरालाई।
सामान्य घटना थिएन घरमा त्यो। त्यसैले सधैँजस्तो तर अर्कै कारणले आमा राति छिटो निदाउन सकेकी थिइन। उसले सॉंझको घटना लोग्नेलाई सुनाई।
‘‘कहॉंबाट पाएछ पैसा त्यसले?’’ पदमबहादुर अझ चिन्तित बन्यो।


त्यसपछिका दुई-तीन दिन आदित्य आफ्नै समयमा घर पस्यो। चौथो दिन हुनुपर्छ त्यस घटनापछिको —त्यो रात परुन्जेल पनि घर पसेको थिएन। आमा-बाबु दुवै र बहिनी पनि मौन त्यसलाई पर्खिरहेका थिए।
पदमबहादुरले आठ बजेतिर ओछ्यानबाटै ढ्याप...ढ्याप... ढ्याप... जुत्ताको आवाज सुन्यो। आवाजले ओछ्यानमा पल्टिएर समाचार-पत्र पढ़्नै नसकिरहेको बाबुको क्रोधले अचानक चरमता प्राप्त गर्‍यो। धेरै वर्षपछि छोराप्रतिको तीन-चार झापटले मात्रै अब त्यो चरमताले सामान्य स्थिति प्राप्त गर्न सक्ने थियो।
बन्द दैलो ढक्ढकियो बाहिरबाट।
ढक्ढकियो।
फेरि ढक्ढकियो।
अनुहार र आँखामा उत्ताप बढ़ेको पदमबहादुर करायो, ‘‘खोल्दे।’’
आमा-छोरी चुह्लामा खाना पकाउँदै थिए। प्लेयरबाट आएको आवाजलाई जितेर आएको बाबुको खस्रो आवाज सुनेपछि छोरी उठी। प्लेयर बन्द गरिहाली र दैलौतिर गई।
‘‘ए! आउनुहोस् न काका।’’ सुनेपछि पदमबहादुर ओछ्यानबाट उठ्यो।
जान ऊ मानेन। मान्दै मानेन।
स्वास्नीको आग्रहमा ‘‘मारोस् बरू कुटेरै। मरोस्। त्यो मर्‍यो भने हामी बॉंचेहरू बॉंचुन्जेल सन्चोले बॉंच पाउँछौँ।’’ पदमबहादुर करायो।
‘‘नकराउ, होस् नकराउ, मान्छे हॉंस्छ।’’ स्वास्नीले व्यथित स्वरमा भनी।
‘‘हॉंसोस्, हॉंसोस्। छोरा भनाउँदोले यसरी...।’’
तर उसको स्वर यसपल्ट स्वास्नीसम्म मात्र पुगोस्; बाहिर नजाओस् घरभित्रदेखि जस्तो अभिप्रायको भइहालेको थियो।
आउने छिमेकी भाइले निक्कै बेर सम्झाएपछि छोराको बाबुले टॉंड़मुनिबाट जुत्ता तान्यो।
‘‘टर्च बोकूँ?’’ सोध्यो पदमबहादुरले।
‘‘बोक्नोस् न।’’ भन्यो छिमेकी भाइले।
‘‘नसुर्ताउनू भाउजू।’’ उसैले भन्यो।
दुवैजना आदित्यलाई छुटाएर ल्याउन थानातिर लागे। लाग्दा दुवैले चिनेका पुलिसहरू सम्झे।
आदित्य छुटेपछि तीनैजना सँगै घर आएनन्। बाबु घर आइपुग्दा छोराको अघिल्तिर बसेकी आमा छोरालाई गाली नगरेर रोइरहेकी थिइन्।
‘‘किन स्वाङ पार्छौ? पर्दैन रुनु, मचाहिँ यो मर्दा पनि रुदिनँ।’’ कराएर पदमबहादुर आफ्नो कोठामा पस्यो।
सम्भवत: पदमबहादुर आफूभन्दा छोरा नै पहिला मर्छ भन्ने कुरो सोच बाध्य भइसकेको थियो।
‘‘अब घरबाट निस्किस् भने फर्केर नआइज।’’बाबुले घोषणा गरेको थियो र यही नै आदित्यको निम्ति सजायहरूमध्ये सबैभन्दा ठुलो थियो।
आगोले पोलेको छटपटीमा त्यो दुई दिन घर बस्यो। असाधारण व्यवहार गर्थ्यो त्यो। एक क्षण झोक्रिएर बस्थ्यो। उठ्थ्यो। छटपटिन्थ्यो। कराउँथ्यो र सुँकसुँकाउँथ्यो पनि। मानसिक रूपमा असन्तुलित र शारीरिक रूपमा रोगग्रस्त थियो त्यो।
गएको आइतबार बिहानै हातमा एउटा पानी कागजको झोला झुन्ड्याएर कतै हिँड़्न लागेको छोरालाई बाबुले सोध्यो, ‘‘कहॉं जॉंदैछस्?’’
‘‘एक छिन।’’ जवान यस्तो थियो। यस्तै हुन्थ्यो त्यस्ता बेलाहरूमा प्रायै।
‘‘के हो त्यो?’’ बाबुको दाहिने हातको चोर औँला पानीकागजको झोलातिर तेर्सिएको थियो।
‘‘क्यासेट। सुन्छ अरे साथीले।’’ त्यो झर्कियो।
‘‘पर्दैन। पर्दैन लानु।’’ खोस्यो झोला पदमबहादुरले।
दसवटा क्यासेट रहेछ त्यहॉं, जम्मै बहिनीचाहिँले थुपारेकी।
अब त्यो कतै गइहालेन। झोक्राएर बस्यो। दुई-तीनचोटि बाहिर-भित्र पनि गर्‍यो। छोराको अवस्था हेर्नुनसक्ने बाबुलाई छोरा सुटुक्कै कतै गइहालोस् , गइरहेको देख्न नपरेर रोक्न नपरोस्।— पनि लागेको थियो। एक घण्टापछि याद गर्दा त्यो भित्र-बाहिर कतै थिएन। पदमबहादुर आमा-छोरीअघि हृदयबाटै चाहिँ रिसाएन।
दिउँसो तयारी भएर बजार जान लागेकी छोरीले ‘‘आमा, मेरो घड़ी देख्नु भो?’’ सोधी ।
सुन्नसाथ मनमा एउटा शङ्का जन्मेर , हुर्केर बलियै भइहालेको भए पनि ‘‘हेर् न राम्रो। टेबलतिर...।’’ उसले भनी।
पाइन घड़ी छोरीले।
अँह, पाइन।
राखेको ठाउँ भुलेको होस्, भुलेकै होस्—मनमा बोकेर छोरीसँग आमाले सिह्रानीमुनि, टेबलमाथि, ओछ्यानतिर हेरिन्। पाइँदैन भन्ने दुवैलाई थाहा थियो।
छोरीको घड़ी नपाएको थाहा पाएपछि पदमबहादुर अझ दु:खी बन्यो। यो दु:ख घड़ी हराएकैमा चाहिँ थिएन।।
‘‘नभन्नू कसैलाई।’’ स्वास्नी, छोरी दुवैलाई उसले भन्यो।
सॉंझ परेपछि उज्यालो अनुहारको आदित्य घर पस्यो। विषाक्त थियो घरको वातावरण।
‘‘ना,’’ भन्यो त्यसले बहिनीलाई । हातमा दुईवटा छुर्पी थियो त्यसको। नथापेर बहिनीले आँसु झार्न थाली। आमापट्टि फर्क्यो त्यो।
‘‘खॉं तँ आफै।’’ कर्कश स्वरमा आमाले भनिन्।
‘‘कतिमा, कसलाई बेचिस् घड़ी?’’ रिसाएको बाबुले तर आवाज बाहिरसम्म नपुगोस् सोचेर बिस्तारै सोध्यो।
सुनेर छक्कै परेको जस्तो भयो आदित्य।
तर त्यही अभिनय गरिरहन सकेन त्यसले त्यहॉं। त्यसको अल्पकालीन मानसिक अनि शारीरिक सामान्यताले त्यसलाई दोषी सिद्ध गराइसकेको थियो।
‘‘सोध यसलाई। कतिमा कहॉं बेच्यो घड़ी यसले। म तिरेर ल्याउँछु।’’ आफ्नो कोठाभित्र पस्दै भन्यो पदमबहादुरले।


अस्तिसम्म सॉंझ परेपछि तर सामान्य रूपमै घर पस्ने आदित्यमा हिजोदेखि फेरि छटपटी बड़्दै गएको पदमबहादुरले याद गर्‍यो।
आज बिहान पदमबहादुर अफिस जान लाग्दा आदित्य बिहानको मधुरो घाममा झोक्राएर आँगनको डिलमा टुक्रुक्क बसेको रहेछ, शिर पनि निहुराएर।
उभिएर उसले छोरालाई केही क्षण हेरिरह्यो। छोराछेउ गयो ऊ।
‘‘भित्र हिँड़्।’’ उसले छोराको हात समायो।
निहुरिएको शीर उठेर; पहेंलो अनुहारको; भित्र भासिएका आँसुले भरिएका दुई राता आँखाले उसलाई हेर्‍यो र बिस्तारै उसको हातको सहारा लिएर एउटा मानव आकृति उभियो।
बाबुले समाएको छोराको सानो शक्तिहीन पहेंलो नाड़ी र रक्तहीन हातका रक्तहीन औँलाहरू हेर्‍यो।
शरीरभरि फैलिएको आर्द्रता र छोरा लिएर ऊ घरभित्र पस्यो।
‘‘बस्।’’ बस्न लगाएर छोरालाई पलङमा छोरासितै टॉंसिएर बस्यो ऊ पलङमै । हात समातिरहेकै थियो छोराको। समाएर बसिरहूँ यसलाई यत्तिकै —उसलाई लागिरह्यो।
‘‘के गर्छस् अब?’’ ठिठलाग्दो स्वर बज्यो बाबुको।
जवाब थिएन त्यसको। आएन पनि।
‘‘मरेको जस्तो कति दिन बॉंच्छस्?’’ बाबुको स्वर कॉंपेको थियो।
अँह, जवाब त्यसको पनि थिएन। हराएको युवा-अवस्था खोजेजस्तो आफ्नै पहेंला खुट्टाको वरिपरि नामको विपरीत आदित्यप्रकाश शिर झुकाएर केही खोजिरहेजस्तो थियो।
‘‘नखाई सक्तैनस्?’’ सोध्न विवश थियो बाबु।
छोरा मौन रह्यो।
‘‘घरमै अलि-अलि बरू रम खा, बेलुका-बेलुका। म ल्याइदिन्छु तर...’’ भनेर एउटा लाचार बाबुको अवस्थामा पदमबहादुर आफै छक्क पर्‍यो।
दुईवटा पहेंला हातहरू उठेर आँखासम्म पुगे। अनिच्छापूर्वक उठ्यो पदमबहादुर हात छाड़ेर छोराको र अफिस जानलाई घरबाट निस्क्यो।


धेरैअघि एकपल्ट पशुपति पुगेर जानेको पदमबहादुरले आज पनि मरेर पनि बॉंचेका घर फर्कन नपाएकाहरूलाई सम्झ्यो। सम्झ्यो—सुनेका मुर्दाहरू श्मसानबाट बौरेर फर्केकाहरू।
कसैले नदेखोस् भन्ने उद्देश्यले अनावश्यक उसले ठुलो ज्याकेट लगाएको छ। ज्याकेटको देब्रेपट्टि ठुलो भित्री गोजीभित्र भर्खर किनेको एक क्वाटर रमको शिशी हालेको छ पदमबहादुरले। समाएको पनि छ उसले छात्तीमा टॉंसिएको त्यसलाई बाहिरबाट दाहिने हातले। एउटा पराजित बाबु तर अझ विजयको आशा र अस्वस्थ छोराको निम्ति औषधि बोकेर यो सॉंझमा अफिसबाट घर फर्किरहेछ।
read more...

एउटा दिनको सामान्यता

इन्द्रबहादुर राई



“मूलाको बीउ तिमीले पातलो छरेछौ, माया,” मैले भनेँ। कुटेमा टासिँएको माटो सुकेको बाँस सिन्काले कोट्याउँदै थिएँ मैले।

“अस्तिको झर्को पानीले हुन त सबै भररर उम्रेछ।”

कान्लामा उम्रेका खरुकीलाई दोबारेर म त्यहीमाथि बसेको थिएँ। सिमीको बीउ ऐले मैले रोपिसकेर खाली भएको झोला ओछ्याई ऊ बसेकी थिइन्। थकाइ मार्दै थियौँ।लगत्तै तल्तिरको लामो-लामो दुई गह्रामा मूला ठाउँ-ठावैँ उम्रेको थियो, नयाँ खनेको माटोमा दुई-पात तीन-पात भैसकेको थियो।

“झरीले बगायो अलिक बीउ, तर हाम्रो कुखुरैले राख्दिँदैन।” भनिन् मायाले– “त्यो नौवटाको माउ यतै मात्रै झर्छ।”

“अँ, त्यो झर्छ……..”

“एकछिन हेरेन भने पाखै खोस्रिसक्छ।”

“आज दिन कति गरम हकि ? मकै सुक्ने घाम।”

“बीउको दाम उठ्छ।” मायाले मूलाकै कुरा गर्दै थिइन्।

“के भनेँ मैले ऐले तिमीलाई ?” क्रोधको अनुकरण गरेँ मैले।

“के भन्यौ र, घाम लाग्यो भन्यौ, मकै सुक्छ भन्यौ।” माया कमजोरीसँग हासिन्।

“अब एक हप्ता घाम लागिदेओस् यसरी”, भनेँ मैले- “हाम्रो मकैहरू सबै सब सुक्छ, काँक्राको चिचिलाहरू ठूलो हुन्छ, हाँगाभरि झुन्डेको रूख-रामबेडाहरूमा रङ चढ्छ।”

“मेरो ओथ्रा बसेको दुवै पोथीले चल्ला निकाल्छ, म आलु खनाइसक्छु, तिमीले आज रोपेको सिमीहरू उम्रिसक्छ।” उसले पनि थपिन्।

“दशैँ आउनु डेढ महिनामात्रै रहन्छ, नानीहरूलाई लुगा किन्दिइसक्नुपर्छ, म मेरो तलब पाइसक्छु, हजुरलाई कान्जिबेरम ल्याइदिइसकेको हुन्छु।”

माया हाँसिन्। “उः पर बिरुवाहरू रोपिसकेछ।”

पल्लो बारीको डाँडामा सनवीरको बाबु बिसाएर कटुवा बेर्दै थियो। बिरुवा रोपिसकेछ होला।

“आफ्नै सानो जङ्गल हुनुपर्छ प्रत्येक मानिसको। आफ्नो गाईलाई त्यहाँ घाँस काटौँला, आफ्नो घरलाई त्यहाँबाट दाउरा ओसारौँला भनेर होइऩ। गाउँघरकोहरूले मागिहाल्छ, दिनुपर्छ, चोरिहाल्छ, कराइटोपल्नुपर्छ भनेर। सांसारिकता। त्यहाँ साँपको मकैहरू उम्रिन्छ, हाम्रो केट्‍केटीहरू हेरेर डरावस्, असिलो फल्छ काँडैभरि, चारैतिरकोहरू जम्मा होस्।”

“दुई दिन भयो यसरी घाम लागेको।” मायाले भनिन्।

साँच्चै राम्रो घाम लागेको थियो, चारैतिर न्यानो बनाएर, एकै गब्रा तल झरे हपहप्ती अझै बढिहाल्ने। हावा आज खोल्सैखोल्सा उकालो बग्थ्यो न कसो, अम्लिसो, अँलैछी र मानेका पातहरू हल्लिरहेका थिए। यता हावा छेलेर उभिएको मकैको बोट प्रत्येकले दुई-दुई घोगा बोकेको छ।

“मकै यो साल राम्रो भयो हाम्रो।” मैले भनेँ – “मुसाले र कागले पनि आएर खाँदै रैछ।”

मेरो आँखा बारीमा तलतलसम्म पुग्यो।

“गृहस्थी धर्म सबभन्दा राम्रो अरे, हामीलाई बोजूले भन्थ्यो। साधुसंन्यासी भएर गएर पनि त्यसले मागेर खानुपर्छ अरे, गृहस्थीले मत्तै मान्छेदेखि लिएर देवता, चरामुसासम्मलाई खुवाउँछ।”

धर्मको यो टुक्राले मलाई ध्यानमग्न पारेछ।

“होला।” मैले भनेँ- “तर त्यस्तो गृहस्थी धर्म पालन गर्नुलाई चोरदेखि बचाउनुपर्छ। ढुङ्गाले हान्नुपर्छ चोर्नेलाई।”

“पारि साहिँला दाज्यू बिचरा दिनभरि मकै रुङ्दै छ। आइतवार पनि रुङिबस्छ।” मायाले बताइन्- “एकैछिन बाँदर छिर्नु पायो भने सखाप पार्छ मकै।” मायाले पारि साहिँला नेवारको बारी देख्‍नलाई हेरी। हाम्रै बारीको भित्ताले छेल्थ्यो।

“उसको मुखैमा पर्छ। उसको सकेर मत्तै बाँदर हाम्रोमा आउँछ।” मलाई ढुक्क थियो।

“सनवीरको बाबुले बिरुवा साँच्चै रोपिसकेछ। हाम्रो केटाकेटी पनि पुगेछ।” मायाले देखिछन्।

हरियो र सेतोहरू फलाकफिलिक मैले पनि देखेँ।

“त्यसले चाहिँ कमिजै नलगाई पुगेछ।”

“बिरुवा त रोप्यो तर चाँपको बिरुवा ल्याइदिएछौ ज्यादा।” मायाले भनिन्।

“नफुल्ने चाँप पनि छ, त्यसको हुन्छ घाँस।” मैले भनेँ।” तुसारेहरू थुप्रै यै बेला कलम काट्दै सार्नुपर्ने। सर्छ होइन ?”

“तुसारे के गर्नु सारेर? हिँउदोलाई घाँसै हुँदैन त्यो, सब पात अग्घि नै झरिहाल्छ। बर्खामा हरियो हुन्छ तर भुइँघाँसै थुप्रै पाउँछ। घाँसको लागि गगुनै राम्रो।”

“गगून राम्रो।”

“गगुन शोभा पनि हुन्छ बारीको।”

हाम्रै मास्तिर एक रूख गगुन उभेर कुरा सुनिरहेको रहेछ। आकाशको उज्यालो निलो देख्‍नै नदिने बाक्लो थियो त्यो।

“सुन्दरता यो गगुनको खास केमा छ, भन त मलाई” मैले पनि हेर्दै सोधेँ।

“पात अचम्मै बाक्लो छ, त्यै होइन यसको राम्रो?” मैले नै सोधेँ।

“डन्ठीदेखिको रातो रेखा पातको मुनिमुनि उकालो गएको छ, हेर न, सप्पै पातको। त्यै मन पर्छ मलाई यसको।”

कति क्षण बितेर गयो।

“उः यता हेर”, मैले सिक्किमपाखातिर देखाएँ – त्यै चुचुराको उता देन्जोङ पर्छ। बादलहरू, हेर न, घुमेको त्यहाँ, कति राम्रो।”

आफ्नो रुग्णता ममा अढेसाएर त्यतै मायाले पनि हेरिन्।

“त्यसलाई कथामा लेखे कसरी लेख्छु होला, भन त।”

“कुन्नि त।”

“पर्वतले काखमा बादलका बच्चाहरू थुपारेका……..। भएन हकि?”

“अहँ, भएन त्यस्तो।” हाँसिन् माया।

“बादल(घाउटे इच्छा) ढुङ्गाभित्र पसेर ढुङ्गाभित्रै लुकिबस्न चाहन्छ……।”

“डेलीको पेन्टिङ ?” सोधिन् उनले। “अस्ति हेरेको ?”

मैले उद्योग छाडिदिएँ।

टाढा-टाढा अरूका बारीहरू पनि हेर्‍यौँ। पानीका लहरझैँ काटिएका गह्राहरू, माटो र घाँसका गह्राहरू।

“बाँसको झ्याङ हाम्रो कतिवटा छ?” सोधेँ मैले कताबाट।

“बीसवटा छ।”

“अट्ठाइस झ्याङ परेङ छ। त्यो मसिनो फिरफिरे पात भएको पोहोर ल्याएकोसँग उन्तीस।”

“त्यो सर्‍यो र?”

“किन सरेन?”

“मलाई फूलबारीको त्यो बाँस मन परेको थियो, चार पाटा परेको, एक घर पहेँलो, एक घर हरियो भएको, मलाई त्यो मन परेको थियो।”

“तलाउको छेउको ?”

माया हाँसिन्।

“त्यस्तो म ल्याइदिन्छु तिमीलीई।”

“पह्रारै देखाएकी मैले।” मनमा आशा राखेर उसले निराशा देखाई।

“नेभारा चैँ नरोप्नु रैछ। अलिकति ठूलो हावा हरर आयो कि ठङ्ग-ठङ्ग हाँगा र धडै भाँचिन्छ। गैह्राको दुई रूखमात्रै राम्रो छ।”

“हिजोदेखि रेणुकाको आमा पनि छैन।” मैले नै फेरि भनेँछुः “लास उठाउने बेलामा घरको छोराछोरीहरू के कहालिएर नमीठो रुन्छ, म त्यै बेलाको रुवाइसँग साह्रै भय लाग्छ।”

म घोरिएर रोकिएँ।

“रुन्छ त छोराछोरीहरू।” मायाले भनिन्।

“त्यस दिन छोराछोरीहरू साह्रै गरी रून्छ, लोग्ने चुपचाप जस्तै सबै सहन्छ। तर नानीहरूले भोलिदेखि भुल्दै गरएर दिनदिनै अलिअलि धेर गर्दै हाँस्न थाल्छ, पछि रुनै बिर्सिन्छ।, कारण जीवन समग्र प्रतीक्षा र रहरको कुम्लो बोकेर अघिल्तिर आई उनीहरूलाई पर्खिरहेको हुन्छ। तर त्यो हिजो नरुने लोग्नेलाई राती आज अर्काले भात पस्किदिँदा स्वास्नीको याद आउँछ, सुत्‍न तरखर गर्दा याद आउँछ, बिहान उठेर एकछिनमा त्यो छैन भनेर याद आउँछ, काम गर्दागर्दै बाहिर याद आउँछ, घरभित्र बसेपछि याद हुन्छ। आफू नमरुन्जेल ऊ यसरी झस्किरहन्छ।”

“जीवनको बाध्यताले मात्र अब ऊ बाँच्दछ।” मैले नै भनेँ।

पारि कमानतिर घाम फिँजिएको थियो, हरियोहरू सब उज्यालो भएको घाम।

ससानो बाटो र गोरेटोको रेखाहरू घरहरूको झुरुप्पदेखि तलतिर झरेका थिए, किरिङमिरिङ कोरिएर एउटा रेखा ठूलो गोलाइ मारेर आठ-दस रूखहरूको पोथ्रामा पस्थ्यो- गाउँको धारा होला त्यहाँ। अर्को एउटा बाटो गाउँदेखि आफैँ उकालो लागेर माथिको जङ्गलमा जान्थ्यो, दाउरा लिन। तीन ठाउँ कमानलाई ठाउँ-ठावैँ ठाडो चिर्दै बर्खाको सेतो खोलाहरू झरेको छ। खोलाका सेता टुक्राहरू ओह्रालै खस्दै-खस्दै आएका छन्, मुनि ठूलो खोलाको आवाज डाँडाहरूको फेद थर्काएर बज्छ। यो एक ठाउँ वनभित्र छाँगोभित्र छाँगो भएर खस्छ यहाँ, वर्षैपछि बर्खामा म यहाँ यसलाई खोज्छु।

“उः त्यहाँ पानी खसेको पनि देख्छ, हेरिबस्दा।” उनले पनि त्यहीँ देखाइन्।

निद्रित क्षणजस्तो पर्खिरहँदा पानी चल्मलाएर खस्दथ्यो बिस्तारै। हर्ष उकालो आउँथ्यो।

नजिकमा आएर अब मैले भनेँ-”यो वर्ष बारीमा भटमास राम्रो छ हाम्रो, मकै सबैको भन्दा सर्वश्रेष्ठ, सयपत्री छैन, आलु हाम्रो सब हौसियो।”

“तिमी ठूलो मान्छे, म बिमारी।” भनिन् मायाले। पसिना आएर अलिअलि आज रातो चढेको उसको अनुहारमा हेरेँ उनी जीवनलाई गम्भीर मानेर थाकी अब जिस्किरहेकी थिइन्- “म यो एक डाँख्ला ठोट्ने, एक मुठी चरिअमिलोले जोरो बोलाएर…..दैलोमा निस्केर आधा मिनट भिजेर मर्नसक्छु।”

“चामेकी स्वास्नी गौँथली साह्रै मुखाले थिई। सीधा मुखले कुरा गर्‍यो भने पनि बाङ्गा-बाङ्गा कुरा झिकेर निहुँ खोज्थी……।” मैले दोहोर्‍याइदिएँ।

माया हाँसिन्। मेरो अभियोग बढ्ता थियो र त्यै बढ्ता जतिको सामना गर्न नसकेर हाँसिन्। दुर्बलता। माया लाग्यो।

कुइरोको ठूलो जालो ठाउँ-ठाउँ फाटेको हेर्दाहेर्दै ठाडो उडेर आएर चलिरहेकै टाँगियो।

“चिसोमा नबस धेरै, जाऔँ।” मैले भनेँ।

“गरम भयो मलाई त।” भनिन् उनले।

म पहिला उठेँ अनि मेरो पाखुरा तानेर ऊ पछि उठिन्।

“तिम्रो एसिडेन्थिरा भन्ने उः त्यहाँ पनि फुलेछ।” मन्तिरको डिलमा लामो हरियोको वक्रमा सेतो फुलेको चारपत्रा लच्कँदै हल्लँदै थियो, हावाभित्र तीखो वासनाको सुर्को उडेर आउँथ्यो।

“राम्रो-राम्रो धुपीहरू सारेकोछु मैले।” मैले बारीभरि हेर्दै भनेँ- “त्यहाँ पर नस्पातीको बोट ठूलो भएको छ, उः त्यो मेल आघौँ सालदेखि फल्छ, ठूला खालको किम्बु उः त्यो कसैलाई काट्न नदिनू।”

हामी बिस्तारी ड्याङै-ड्याङ फर्किन लागिसकेका थियौँ। उँधो निहुरेका अम्लिसोका पातहरू पन्साउँदै, आफूभन्दा अग्ला मकैका बोटका घारीभित्र हराउँदै आउन थाल्यौँ।

“पर्ख है, म मकै लान्छु।” रोकिएर यहाँ मायाले मकै हेर्न थालिन्, सुकेको जुँगाहरू हेर्न थालिन्। मैले पनि लम्केर दुइटा पुड्का भाँचिदिएँ।

अलि माथि आइपुग्दा मैले भनेँ- “बरदान लेऊ। सधैँ मलाई खुसी पार्न चाहन्छ्यौ भने यसको अचार दिनू।” जीउभरि र पातभरि रातो काँडा खिलेर कलकलाउँदो टिम्मुर उभिबसेको थियो। “यसलाई बढ्न दिनू।”

“तिम्रो मनमत्रै……”

“आज तिहुन के छ ?” सोधेँ मैले।

“कोपी, ऐले देशपदलाई पठाउँछु, काटेर ल्याउँछ।”

“कुख्रा नखानु?”

“कुन चैँ?”

“पाङ्‌रे भाले, कौडे।”

“काट।”

अघिअघि सालमा मकै बोकेर हिँडिरहेकी उनलाई मैले अनि फर्काएर भनेँ- “हामी दुई शाहजादा-शाहजादी, प्रजा जनसाधारणको हालत र दुःख र सुख कस्तो छ त्यो बुझ्नु, महसुस गर्नु, हामी दुई आएका थियौँ। गुप्तभेषमा बसेर बाह्र वर्ष सबै बुझ्यौँ। अब ज्यादा यो बर्दास्त गर्न सकिन्न। फर्कौँ आफ्नै राजमहलतिर।”

हाँसिन् माया बिस्तारी।

“भन्ने थिएँ।” उनले भनिन्। – “तर भन्दिनँ, होस्।”

‌³

आँगनमा आइपुग्दा मास्तिरको मधु, अल्पना सब आएर आँगनमा कोठे रिङपाट खेल्दै रहेछन्। सानी छोरीको ताली खोसेर मैले कोठा मार्दै गएँ।

“आमा राइट …………….?”

आँखा चिम्म गरेको छु, चकमन्न छ, भन्दिनेलाई पर्खिरहेको छु।

read more...

तिम्री छोरी

मिङ लिवाङ

’’ बाबा , भगवानको घरबाट आमा कहिले फर्किन्छ ?’’ आफ्नी चार वर्षीया अबोध छोरीको प्रश्न सुनेर पहिले त मलाई कुनै जवाफ् सुझेन....हुन त गत पाँच महीनादेखि मैले आफ्नी छोरीलाई ढाँट्दै आएको छु। उसको आमाको मृत्यु भइसकेको कठोर सत्य म कमलो नानीलाई सुनाउन नसक्ने स्थितिमा छु र जतिपल्ट उसले मलाई ’ आमा कता गयो ?’ भनेर सोधी त्यतिपल्ट नै मैले उसलाई ’ आमा भगवानको घरमा गएकी छ ’ भनेर फुस्लाएँ। भगवानको घरको अर्थ अबोध छोरीलाई थाहा छैन। यो पल्ट भने उसकी आमा भगवानको घरमा गएकी छ भन्ने कुरा उसलाई स्मरण भइसकेकोरहेछ.....तर भगवानको घरबाट कहिले कोही फर्केर आउँदैन भन्ने तथ्यबाट भने अबोध नानी अझ अनभिज्ञ छे।
वन्दनाको इच्छा थियो आफ्नी छोरीलाई ठूलो बनाउने...ठूलो मान्छे...खुब पढ़ाउने....अनि आफ्नो जातिको र आमाबाबुको नाम उज्ज्वल गराउने....आफूले गर्न नसकेको सबै छोरीबाट गराउने....यही इच्छा थियो उसको। छोरीलाई स्कूलको ड्रेस लगाइदिइसकेपछि उसको टाईको नट कस्दै मैले भनें -’’ आमा घर फर्किञ्जेलसम्म छोरीले खुब मन लगाएर पढ़ने अनि नाम कमाउने..पढ़्छ्यौ होइन ?’’
’’ परछु ,’’- तोते बोलीमा जवाफ् दिई अनि एउटा हात कम्मरमा राखेर अर्को हात माथि उचालेर नचाउँदै भनी -’’ अनि नाच्छु पनि ! आमाले नाच्नु-गाउनु पनि भनेको छ !’’
छोरीको अबोधपनप्रति मलाई माया जागेर आयो.....त्यो रात वन्दना पनि यसरी नै नाचेकी थिई - कम्मर नहल्लाई हात मात्र नचाउँदै किनभने त्यसबेला ऊ नाच्न सक्ने स्थितिमा थिइन। निधनको तीन दिनअघि त्यो रात ऊ अत्यन्तै खुसी थिई। मध्यरातमा सड़कमा नाच्दै-गाउँदै हर्कबढ़ाइँ गरिरहेको झुण्डमा ऊ पनि सामेल भएर थपड़ी बजाई-बजाई गाइरहेकी थिई अनि माझमाझमा हात ठड़ाउँदै नाचेकी जस्तै गर्दै थिई। आफ्नो गर्भावस्थाको अन्तिम महीनामा भएको कारण मैले उसलाई त्यो हर्कबढ़ाइँमा भाग लिन नजानु भन्दा उसले भनेकी थिई ’ इण्डियन आइडल जितेर प्रशान्तले हाम्रो जातिको नाम उज्ज्वल पारिदिएको छ....यस्तो खुसी मनाउने मौका जीवनमा घरीघरी आउँदैन र जेहोस् म त जान्छु.....खुसी मनाउँछु अनि आफ्ना छोरा-छोरीलाई पनि त्यस्तै बनाउँछु !’
त्यसको तीन दिनपछि नर्सिङ्ग होमको बेडमा प्रसव पीड़ाले तड़पिंदै उसले मलाई भनेकी थिई -’’ कथङ्गाल मलाई केही भयो भने मेरो यो छोरीलाई तिमीले आफ्नै छोरी सम्झेर पाल्नेछौ......मलाई वाचा देऊ...!’’
हाम्री चार वर्षीया छोरीलाई अङ्गाल्दै मैले त्यसदिन उसलाई वाचा दिएको थिएँ -’’ यो तिम्रो मात्र छोरी होइन यो हामो छोरी हो। रगतको नाताले म यसको बाउ नभए पनि यो मेरै छोरी हो.....यो तिम्रो शरीरको एउटा अङ्ग हो..तिम्रो कोखबाट यसले जन्म लिएकी हो...यो नै मेरो निम्ति पर्याप्त छ त्यसैकारण यो मेरै छोरी हो....तिमीले सुर्ता गर्नु पर्दैन...यसको निम्ति मैले वाचा दिनु जरूरी छैन तर तिमीलाई मेरो वाचाले सन्तुष्टि दिन्छ भने म वाचा दिन्छु यो मेरै छोरी हो मेरै...बरू यसको साथी जन्माउने काम सकेर तिमी छिटो तङ्ग्रिऊ...बुझ्यौ..?‘‘
अनि नानीको जन्मअघि उसले अन्तिम सास फेरी......कहिले नफर्किने गरी भगवानको घर गई।
छोरीको टाईको नट कसिसकेपछि मैले उसलाई बिस्तारै अर्कोपट्टि फर्काएँ अनि उसको केश मिलाइदिन थालें तिनै हातले जुन हातले पाँच महीनाअघि उसकी आमालाई दफनाएका थिए, जुन हातले उसकी आमाको अन्तिम संस्कार गरेका थिए। त्यो एक रात उसले पनि यसरी नै मेरो केश खेलाइदिएकी थिई। बेडरूमको कुनामा भएको रिडिङ्ग टेबलमा म त्यसबेला पढ़िरहेको थिएँ। बालाखा छोरी दिनभरि उफ्रिएको कारणले थाकेर अघि नै सुतिसकेकी थिई। टेलिभिजनमा आइरहेको कुनै रोचक सिरियल हेर्दाहेर्दै उसलाई कुन्नि के भयो ऊ जुरूक्क उठेर मेरो पछाड़ि आई र मेरो केश खेलाइदिंदै भनी -’’ इन्द्र !’’
मैले ’’ हुँ ’’ मात्र भनें।
’’ मलाई एउटा छोरा चाहिन्छ !’’
फेरि मैले ’’ अँ ’’ मात्र भनें।
’’ के हुँ हुँ मात्र गरेको ,-’’ भन्दै उसले एउटा हातको पासो बनाएर मेरो घाँटीमा बेरेर अर्को हातले किताप थुतेर उता घुइँक्याई र थपी -’’ मलाई एउटा छोरा चाहिन्छ भनेको !’’
’’ ल...ठीकै छ....अहिले म यो किताप पढ़िहाल्छु नि...खुब इन्टरेस्टिङ्ग किताप छ।’’- भन्दै मैले फेरि किताप टिपें।
’’ मभन्दा पनि इन्टरेस्टिङ्ग छ...!’’- उसले लाड़े स्वरमा भनी।
’’ आज तिमीलाई के भयो हँ....!’’
’’ आज म मुडमा छु.....मलाई एउटा छोरा चाहिन्छ !’’
’’ तर मलाई चाहिन्न...,’’- मैले अलिक कड़ा अवाजमा भनें -’’ तिमीलाई थाहा छ त ,तिमीले नै मलाई भनेको छोरी जन्मिदा कस्तो कम्प्लिकेटेड भएको थियो अनि डाक्टरले त्यतिबेला साफ भनिदिएको छ - अर्को नानी कोशिश गर्‍यो कि तिम्रो ज्यानको रिस्क हुनेछ !’’
’’ जिन्दगी नै त रिस्क हो अनि राम्रो थोक पाइन्छ भने अलिकता रिस्क उठाउँदा के हुन्छ भनेर मलाई भगाउने दिन तिमीले सम्झाएको थियौ !’’
’’ त्यो स्थिति अर्कै थियो अनि यो स्थिति अर्कै छ !’’
’’ कस्तो अर्कै स्थिति ? के त्यसबेला तिम्रो ज्यानको रिस्क थिएन ?’’
’’ प्लीज वन्दना ! तिमी अर्को नानी पाउने ढिपी नगर !’’- झिजो मान्दै मैले भनेपछि उसलाई फुस्लाउन मैले अझ थपें -’’ बरू म तिमीलाई तिमीले अस्ति मन पराएको मंगलसुत्र किनिदिन्छु नि !’’
’’ होस् चाहिएन ! बिहे भएका हाम्रा आइमाईहरूले लगाउने मंगलसुत्र होइन तिलहरी हो तर टिभी सिरियल हेरेर हामीले मंगलसुत्र लगाउनु सिक्यौ भनेर तिमी अस्ति गन्गन गरेको होइनौ ! र मंगलसुत्र चाहिएन मलाई अनि तिलहरी पनि मसित थुप्रै छ त्यो पनि चाहिएन । बस् मलाई त नि एउटा छोरा चाहिन्छ -’’ भन्दै उसले आफ्नो अङ्गालो अझ कसी र आफ्नो आर्द्र ओंठले मेरो कान टोक्दै गालामा घुमाई।
’’ एउटी छोरी छ भइहाल्यो त !’’
ऊ केही बोलिन....उन्मादी भइरही।
मैले उसको हातको बन्धन फुकाएर झटकार्दै भनें -’’ तिमी आज मुर्ख जस्तै कुरा गर्दैछ्यौ....यो ठीक होइन !’’
मेरो अप्रत्यासित प्रतिक्रियाले ऊ अलमल्ल भई किनभने मैले कहिले यसरी झर्किएर उसित कुरा गरेको थिइन..ऊ ठुस्किई र खुट्टा भुइँमा पछार्दै पलङमा गई र डवाङ्ग लड़ी।
मलाई आभास भयो ऊ रिसाएको।
मैले किताप बन्द गरेर राखें अनि डिमलाइट छाड़ेर कोठाका अरू जम्मै लाइट अफ् गरें।
पलङमा उसको छेउमा ढल्किएर मैले उसलाई तान्दै बोलाएँ -’’ऐ !’’
ऊ केही बोलिन , ठुस्किएर अर्कोपट्टि फर्किरही।
मैले फेरि उसलाई बोलाउँदै तानें ’’ ऐ ’’। ऊ बिस्तार मतिर फर्की...मैले उसको चिउँड़ो पक्रेर उसको टाउको उचालें। ऊ अहिले पनि ठुस्किरहेकी थिई....पुक्क मुख फूलाएर। मैले भनें -’’ तिमीलाई छोरा किन चाहियो ? छोरी छँदैछ त !’’
’’ छोरी एक्ली भयो नि त....त्यसलाई पनि त एउटा साथी चाहियो !’’
’’ तर तिमीलाई थाहा छ यसमा तिम्रो ज्यानको रिस्क छ......थाहा छ नि ?’’
’’ थाहा छ। तर रिस्क बिना जिन्दगी के मजा.....सजिलै पाएको चीजको महत्त हुँदैन भनेर तिमीले नै भनेको हो ! फेरि भएन गत तीन वर्षभित्र तिमीसित मैले मेरो एउटा सम्पूर्ण जीवन बाँचिसकेकी छु.....तिमीले मलाई यो जीवनमा चाहिने जति माया, सम्मान, खुसी जम्मै दिइसकेको छौ। अब यो जीवनसित मेरो केही गुनासो छैन.....केही चाहना छैन। म जीवनदेखि सन्तुष्ट छु बस् तिमीले मलाई एउटा छोरा दियौ भने मेरो यो परिवार पनि पूरा हुनेछ !’’
’’ सपोज्...तिमीले छोरा पाएपछि मैले छोरीलाई हेला गरें भने....सपोज् नि ?’’
’’ मलाई तिमीमाथि पूरा विश्वास छ....यो तिम्रो झड़्केली छोरी हो तर तिमीले यसलाई कहिले हेला गर्ने छैनौ....मैलेभन्दा पनि धेर तिमीले यसको स्याहारसुसार गर्नेछौ किनभने यो तिम्रो वन्दनाको छोरी हो.....तिम्रो वन्दना जसलाई तिमी सबैभन्दा ज्यादै माया गर्छौ।....अँ छोरा भयो भने म चाहन्छु त्यसको जम्मै बानीबेहोरा, स्वभाव, संवेदनशीलता, भावुकता, सहनशीलता तिम्रो जस्तै होस् - ट्याकटुक तिम्रो जस्तै !’’
’’ तर एउटा बानी चाहिँ त्यसको बाउको जस्तो नहोस् - अर्काको स्वास्नीलाई माया गर्ने !’’
’’ त्यो पनि होस्,’’- भन्दै ऊ मेरो छातीमा गुटुमुटु भई।
’’ आज तिमी नमान्नेरहिछौ..!’’- भन्दै उसलाई मैले आफ्नो बाहुपासमा बाँधें अनि उसको आकांक्षा पुरा गरिदिनथालें।
’’ बाबा स्कूल आइपुग्यो !’’ - छोरीले भन्दा म झसङ्ग भएँ। निहुरिएर छोरीको टाईको नट फेरि एकपल्ट कस्दै मैले भनें -’’ भरै स्कूल छुट्टी भएपछि मलाई यहीं पर्खनु.....म नआइञ्जेलसम्म यहाँबाट कतै नजानू..!’’
मेरो गालामा च्वाँक्क म्वाइँ खाएपछि ऊ टाटा गर्दै स्कूलतिर दगुरी.....ठोक्किएर लड़्छ कि भन्ने त्रासले ऊ कक्षा-कोठाभित्र नपसुञ्जेलसम्म मैले त्यहीं उभिएर उसलाई हेरिरहें।
× × ×
आज छुट्टीको दिन। छोरीको स्कूल पनि विदा छ।
निकै दिनपछि आज म घरबाट बाहिर निस्केँ। छोरीसित डुल्दै अवनिको रेकर्डिङ्ग स्टुडियो पुगें। आज उसको स्टुडियोमा कुनै रेकर्डिङ्ग रहेनछ। ऊ एक्लै केही मिलाउँदै थियो। मलाई देख्ने बित्तिक्कै ऊ उठेर आयो र हात मिलायो ’’ अरे यार ! निकै दिनपछि पो यता आइस् ?’’
’’ घरभित्र बस्दा-बस्दा बोर भएँ नि त !’’- एउटा कुर्सी तानेर बस्दै मैले भनें। छोरी रेकर्डिङ्गको कुनै यन्त्र पाएर त्योसित खेल्न थाली।
’’ बोर किन हुँदैन र ?....त्यसैले बाहिर निस्किनु पर्‍यो...जिन्दगी थामिनु त भएन नि !’’
’’ हो ! कुरा त ठीकै हो....तर के गर्नु.....वन्दना गएपछि मलाई सबै थोक नीरस लाग्न थालेको छ.....सबै थामिएको छ....जिन्दगी रोकिएको छ। फेरि भएन केही काम गरूँ भने छोरी छ......यसलाई एक्लै छोड़न पनि मिल्दैन....!’’
’’ एउटा कुरा भनूँ....तँ रिसाउँदैनस् ?’’
’’ भन न किन रिसाउनु...तैंले मेरो नराम्रो त सोच्दैनस्..!’’
’’ अब वन्दना पनि रहेन........छोरीलाई उसको आफ्नो बाउकहाँ पठाइदे......उसको बाजेबोजूले हेरिहाल्छ....तँसित छोरी हेर्ने मान्छे पनि छैन..!’’
म केही बोलिनँ।
’’ रिसाइस् क्या हो ?’’- अवनिले सोध्यो।
’’ किन रिसाउनु। तर अब यसको बाउ भने पनि आमा , बाजेबोजू जे भने पनि मै हुँ....म अरू केही सोच्नु सक्दिनँ....मेरो वन्दनाको छोरी मेरो आफ्नै छोरी हो। तैंले त त्यसो नभन्,मेरो भावनालाई बुझ्....बरू मेरो वाचा पुरा गर्न मलाई मदत् गर!’’
’’ आई एम् सरी !’’
’’ मलाई थाहा छ मैले यसलाई यसको बाबुबाट छुट्टाएको छु.....यसमा मेरो स्वार्थ थियो होला, वन्दनाको स्वार्थ थियो होला तर यसको त यसमा केही गल्ती छैन....त्यसैकारण यसलाई म कहिले बाबुको अभाव फिल गर्न दिँदिन....पछि बुझ्ने भएपछि सबै बताइदिनेछु....त्यतिबेला यसको खुसी यसले कसलाई रोज्ने छ...!’’
’’ कुरा त ठीकै हो....यसमा नानीको के भूल !’’- निस्फिक्री खेलिरेहकी छोरीलाई हेर्दै उसले भन्यो।
’’ थाहा छ....मैले वन्दनालाई भगाउँदा तँहरूले मलाई मदत् गरेको थिइस्...उसको लोग्नेले मलाई मार्नु खोज्दा.....तैंले नै पूलिस-कचहरी-राजनीति सबै चहारेर कुरा मिलाइदिएको थिइस्.....तँ नभएको भए सायद वन्दना कहिले मेरो हुने थिएन...!’’
’’ हो नि !....तर कहिलेकाहीँ मलाई अचम्म लाग्छ....कस्ता-कस्ता केटीहरू तँसित बिहे गर्नु तेरो पछाड़ि लागेका थिए....तर तैंले माया गरिस् अनि बिहे पनि गरिस् त एउटी ब्याहितालाई....त्यो पनि एउटी नानीकी आमालाई..!’’
’’ माया भनेको यस्तै हुँदो रहेछ......गर्छु भनेर हुँदैन.....आफै हुँदो रहेछ। यो मनमा कसैको निम्ति एकपल्ट मायाको किरण स्फूरण भए यसले स्थिति - परिस्थिति केही हेर्दैन रहेछ।’’
’’ यस्तै हो जिन्दगी भनेको.....जेहोस् जे हुनु थियो त्यो त भयो....अब काम शुरू गर्नुपर्छ.....आफ्नो निम्ति न सही तर यही छोरीको निम्ति केही गर्नुपर्छ !’’
’’ काम त निश्चय पनि शुरू गर्नु पर्छ.......यसै बसेर हुँदैन.....यो कुरा मलाई पनि थाहा छ......तर कुन्नि किन मेरो सोच्ने शक्ति , काम गर्ने लगन, केही पाउने लोभ सबै क्षीण भएको छ।’’
’’ त्यसो भनेर हुँदैन.....कोशिश त गर्न पर्‍यो !’’
’’ कोशिश त गर्नै पर्‍यो..!...अनि म कोशिश पनि अवश्यै गर्नेछु।’’
त्यो रातभरि मैले सपनामा वन्दनालाई देखें। ऊ सड़कको पल्लोपट्टि हात हल्लाउँदै उभिएकी थिई....केही भन्ने प्रयासमा। म सड़कको यतापट्टि थिएँ.....उसम्म पुग्ने असफल कोशिश गर्दै....तर उसम्म पुग्न पनि सकिनँ अनि उसलाई केही भन्न पनि सकिनँ।
× × ×
साँझ छोरीलाई लिएर उसको डान्सक्लास जाँदै थिएँ बाटामा टुप्लुक्क अनितालाई भेटें। भेट्ने बित्तिक्कै उसले चिया खान जाऊँ भन्न थाली.....मैले उसको कुरा काट्न सकिनँ।
चिया-पसलको कुनाको टेबलमा चिया खाँदै उसले सोधी -’’ अन्त ! अब अरू के विचार छ ?’’
’’ कस्तो विचार ?’’
’’ अर्को बिहे गर्ने कि एक्लै बस्ने ..?’’
’’ त्यस्तो केही सोचेको छुइनँ...!’’
’’ यो छोरीको निम्ति पनि त तिमीले बिहे गर्नपर्‍यो..!’’
’’ भने नि मैले अहिले त्यस्तो केही सोचेको छुइनँ।’’
’’ मैले तिमीलाई कति भनें तर तिमी अलिकता पनि पग्लिएनौ...म अझै पनि तयार छु..!’’
’’ तिमी त्यसो नभन तिम्रो हस्ब्याण्ड छ.....यसो भन्नु सुहाउँदैन..!’’
’’ के गर्नु त्यो हस्ब्याण्ड.....जो रात परेपछि बेडमा मात्र हस्ब्याण्ड हुन्छ त्यसपछि दिउँसो मेरो इच्छा, आकांक्षा र भावना उसलाई केही ध्यान हुदैन ! म के गर्छु.....मलाई के मनपर्छ....उसलाई आजसम्म थाहा छैन। सायद भगवानको खेल होला, सही मान्छेको महत्त बुझ्नुको निम्ति हामीलाई पहिले गलत मान्छेसित भेट गराइदिन्छ....तर गलत नै किन नहोस् एउटी आइमाईको निम्ति हस्ब्याण्ड हुनुपर्ने सामाजिक बाध्यता हो - नभई नहुने - तर जीवनको यो घुम्तीमा पनि तिमी जस्तै कोही अर्को पाए म आजै यस्तो हस्ब्याण्ड छोड़न तयार छु। म पढ़ेकी छु , राम्री छु....स्मार्ट छु....नयाँ विचारकी छु....के कमी छ ममा ?’’
’’ अरूसामु आफ्नो लोग्नेको यसरी बदख्वाइँ गर्नु राम्रो होइन, मान्छेले फाइदा उठाउँछ। .....उसमा हजार दोष होला तर राम्ररी महसुस गरिहेर कतै एउटा राम्रो बानी त होला...त्यही बानीलाई माया गर्नु सिक..। त्यसै पनि कोही मान्छे त्यति गलत हुँदैन अनि सबै मान्छे सधैं सही पनि हुँदैन...गलत र सही मान्छे भन्ने भ्रम मात्र हो। तिमी नि कहिलेकाहीँ पगली जस्तै कुरा गर्छ्यौ - नसोची, नसम्झी !’’
’’ जसलाई आफ्नो सोच्छौ त्यसको दुःख मात्र दुःख अरूको दुःख चाहिँ दुःखै होइन......!’’
उसको इशारा बुझ्छु म....गलत कामलाई सही ठहर्‍याउने कुनै तर्क हुँदैन त्यसैले चुप्प लाग्नु बाहेक मसित अरू कुनै विकल्प छैन। यो मनको बेहोरा पनि यस्तै छ - कसैको निम्ति पग्लिदिन्छ अनि कसैको निम्ति कठोर भइदिन्छ...........मनलाई अन् र अफ् गराउने एउटा स्वीच पनि भइदिए त !
’’ थाहा छ तिमीलाई - हाम्रो जीवनमा के अभाव छ त्यो हामीले त्यसबेला मात्र चाल पाउँछौं जब हामीले जीवनमा कुनै राम्रो चीज भेट्टाउँछौं !’’- मलाई चुप्प देखेर उसैले अझ थपी।
’’ प्लीज यो सबै सोच्ने अहिले मेरो सामर्थ्य छैन....म आफ्नै पीरमा छु....अहिले म गएँ।’’- भनेर म चियापसलबाट निस्केँ। सायद म उबाट तर्किन चाहन्छु। निस्किने बेलामा उसले छोरीको हातमा एक प्याकेट कुरकुरे थमाइदिई।
डान्सक्लासमा छोरी आफ्ना मसिना पाइताला डान्सफ्लोरमा थर्काउँदै नाच्दा मलाई वन्दना नाचिरहेकी जस्तो लाग्यो र मैले उसको कुरकुरे चपाउँदै जम्मै संसार बिर्सेर ऊ नाचेको हेरिरहें - एकहोरो।
× × × × ×
read more...