मुख्य समाचार :


सिलगढीमा शब्द-साँघु


भूपिन व्याकुल


नेपाली सञ्चारमाध्यमहरूमा फेसबुकको सामथ्र्य र सीमाको बारेमा बहस चल्दै गर्दा कालेबुङका कवि मनोज बोगटीको एक आमन्त्रणपत्र प्राप्त गरेँ- फेसबुकमा । भारतको सिलगढीमा भानुभक्त समितिले आफ्नो रजतजयन्तीको अवसरमा आयोजना गर्नलागेको भारतीय-नेपाली काव्य सम्मलेनको निमन्त्रणा रहेछ- त्यो । 'शब्द-साँघु' नाम दिइएको उक्त कार्यक्रममा भारतीय भूमिमा जरा गाडेर नेपाली भाषाको श्रीवृद्धिमा लागिरहेका मानक कविहरूसमेत सहभागी हुने जानकारी प्राप्त गरेपछि यात्राअघि नै सिलगढी निस्किएको कुनै बटुवाजस्तो बनिसकेको थिएँ म ।

नेपाली साहित्यको स्तरलाई उचाल्न मेचीपारिको नेपालीभाषी क्षेत्र 'ज्याक' बनेको छ । त्यसले नेपाली साहित्यको सवारीलाई उठाएर धेरैपटक यसका पाटपुर्जा मर्मत गर्न सघाउ पुर्‍याएको छ । गतिशीलताका लागि समयको सडकमा चल्ने नयाँ पाङ्ग्राहरू थप्न सहयोग गरेको छ । 'अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न ताक्नुपर्छ' भन्ने त्रि-आयामिक आवाज त्यही भूमिबाट उठेको हो । जातीय जागरणका सुधारात्मक धुनहरू कविताको सारङ्गीमा रेट्ने धरणीधर कोइराला होउन् वा नेपाली झ्याउरे लय, राष्ट्रवादी विचार र क्रान्तिकारितालाई कविताको विषय बनाउने महानन्द सापकोटा होउन्, त्यही भूमिका सांस्कृतिक विम्बहरू हुन् । पारसमणि प्रधानले समाज उत्थानका निम्ति कविताहरू रचेको भूगोल पनि त्यहीँको हो ।

कवि अगमसिंह गिरीले मेचीपारिको भूमिमा नै कविताहरूको अभ्यास गरे । नेपाली गद्य कवितालाई गर्व गर्नलायक बनाउने हरिभक्त कट्वालबिना नेपाली कविता अपूर्ण हुन्छ । 'यो जिन्दगी खै के जिन्दगी', 'बदनाम मेरा यी आँखाहरू'जस्ता अमर कृतिहरू नेपाली साहित्यलाई दिएका उनले कवितामा सङ्गीतलाई ठूलो महत्त्व दिएका छन् । ईश्वरवल्लभले त्यही भूमिमा हुर्किएको आफ्नो सिर्जनशील बिरुवा नेपालमा ल्याएर रोपेका हुन् । साहित्यकार पारीजात र सङ्गीतकार अम्बर गुरुङ त्यही माटोका उत्पादनहरू हुन् । परम्परागत साहित्य लेखनलाई 'आधुनिक बौद्धिकताको भोक तृप्त गर्न असमर्थ' भनी तर्कको तीर हान्ने र तेस्रो आयामको गतिशीलता शिथिलजस्तो देखिएपछि 'खेलौं बाँच्ने खेल' भन्दै लीलालेखनमा लागेका इन्द्रबहादुर राई नेपाली साहित्यका एक बौद्धिक सम्पत्ति हुन् । उनले चलखेल गरेको भूगोल पनि मेचीपारि नै पर्छ । सिलगढी पुग्नुअघि यात्राभरि यस्तै विम्बहरूले मानसिक गति निर्माण गरिरहेका थिए ।

एघार डिसेम्बरमा समितिको आयोजनामा भएको भारत र नेपालका कविहरूको बृहत् कविगोष्ठीले त्यहाँ विकसित सभ्यताका नयाँ र पि्रतीकर अध्यायहरू सुनाइरहेको थियो । त्यहाँ पठित कविताहरूले चेतनाका मनमस्तिष्क हर्ने ढोकाहरूभित्र हामीलाई हार्दिकताका साथ प्रवेश गराइरहेका थिए । भारत-नेपाल काव्य समागममा भारतका विभिन्न भूभागहरूबाट कविहरू जम्मा भएका थिए । दार्जिलिङ, कालेबुङ, मङ्पु, मिरिक, सिलगढी, सिक्किम, असम र डुवर्सबाट आएका कविहरूको हुलमा नेपालबाट गएका कविहरू आरएम डङ्गोल, निमेष निखिल, सरिता तिवारी, सरस्वती प्रतीक्षा र यो पंक्तिकार मिसिएका थिए । मैले त्यहाँका कविहरूलाई दुई दृष्टिकोणबाट विश्लेषण गरेँ । डा. राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, डा. जस योञ्जन 'प्यासी', नरबहादुर दाहाल, समिरण क्षत्री 'पि्रयदर्सी', मोहन ठकुरी, उषाकिरण राईका कविताहरूले त्यहाँ विकसित कविताको समृद्ध युगलाई प्रतिनिधित्व गरिहेका थिए भने राजा पुनियानी, सुधीर क्षत्री, मनोज बोगटी, भूपेन्द्र सुब्बा, सुचन प्रधानका कविताहरूले शिल्पको नयाँ घुम्तीमा कुदिरहेका शक्तिशाली कविताको नयाँ इलाकालाई संकेत गरिरहेका थिए ।

विशेषतः दार्जिलिङ र त्यस वरपरको भूमिले साहित्यको सिद्धान्तीकरणमा ठूलो प्रेमभाव राख्छ । त्यो भूमि फगत तेस्रो आयाम र लीलालेखनमा मात्र सीमित छैन । नब्बेको दसकमा दार्जिलिङे युवा कविहरूको जमातले थालेको 'सङ्क्रमण कविता'ले अघि लेखिएका दुर्वोध्य कविताका ट्युमरहरू ताछ्ने काम गरे । उनीहरूले कवितालाई बढीभन्दा बढी पाठकमुखी बनाउने आग्रहले कविता रचना गरे । उता कालेबुङमा अभ्यस्त र परिचित शैलीहरूका साहित्य लेखनबाट मुक्त भएर बेग्लै स्वादमा कविता लेख्न चाहने कविहरू 'विचलन' अभियानका साथ देखापरे । मोहन ठकुरीले सम्पादन गर्नुभएको 'स्वतन्त्रतोत्तर नेपाली कविता'भित्र धेरै कवि र कविताको चर्चाको साथै यस्ता आन्दोलन र अभियानहरूको समेत चर्चा गरिएको छ ।

कवि मनप्रसाद सुब्बा पनि 'किनारीकरणको आन्दोलन'का एक अगुवा रहेछन् । यता नेपाली पत्रपत्रिकाहरूमा पनि 'सवाल्टर्न'को बारेमा बहस चलिरहेका छन् । किनारीकृतको पक्षमा लेख्नु वा पिँधमा छट्पटाइरहेका मानिसहरूको बारेमा लेख्नु लगभग एउटै कुरा त होला, सोचिरहेँ । हिन्दी भाषाका कवि कालीप्रसाद सिंहले हाम्रा कविहरूका कविताका हिन्दी अनुवाद सुनाउनु अघि भने, 'मलाई यहाँका नेपालीहरू मौन छन् जस्तो लागिरहेथ्यो । तर कविताको अनुवाद गर्दै जाँदा थाहा पाएँ कि नेपालीमा यति स्तरीय कविता सिर्जना भइरहेको रहेछ । दिल्लीले यसको सौन्दर्यलाई नबुझेको मात्र रहेछ ।' सोचेँ, त्यहाँ पनि राजधानीवादको पीडक अनुहार महसुस गर्दारहेछन् स्रष्टाहरू ।

नेपालबाट गएका कविहरूले देशमा व्याप्त अँध्यारोभित्र उज्यालोको खोजी गरे कवितामार्फत । ती कविताहरूमा समयको अनुहार बढी नै गाढा देखिन्थ्यो । उताका कविताहरूमा पनि समकालीनता कहाँ फिक्का थियो र ? कविताको सार्वकालिकता विवादास्पद शक्ति हो । कविले आफू बाँचेको समयलाई नै बढी सम्बोधन गर्दोरहेछ ।

भोलिपल्ट गान्तोकको एमजी रोडमा बरालिँदा प्राप्त भएका हिन्दी र नेपाली भाषाका दैनिक अखबारहरूमा सिलगढीको काव्य समागमलाई प्राथमिकताका साथ छापेको पायौं । हिन्दी 'दैनिक जागरण'ले 'गीतों में उभर आया नेपाल का दर्द' शीर्षकमा समाचार प्रकाशित गरेको रहेछ । हाम्रो देशको पीडालाई नै किन शीर्षक बनायो होला भनी महात्मा गान्धीको मूर्ति छेउमा बसेर सोचेँ । पाएँ, हिजो वाचित हाम्रा कविताहरूमा देशको दुःख नै त अभिव्यक्त भएको थियो । हामीसँग अखबारका लागि शीर्षक बन्नलायक यस्ता थुप्रै दुःखहरू छन् । शब्दको साँघु काटेर नेपाल फर्किंदै गर्दा सोचिरहेँ, भारतीय भूमिमा र यता विकसित नेपाली साहित्यलाई जोड्न कुनै लामो पुल चाहिँदैन । कुनै ठूलो फट्के चाहिँदैन । एउटा बलियो साँघुले नै यो जोडिइरहेको थियो, जोडिइरहेको छ र जोडिइरहनेछ ।

0 comments: on "सिलगढीमा शब्द-साँघु"