मुख्य समाचार :


नौ लाख तारा उदाए-मेरो पहिलो गीत

संगीतकार अम्बर गुरुङले पाँच दशक अघि कोलकातामा पहिलोपटक रेकर्ड गरेका थिए- नौ लाख तारा उदाए। एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारत विरोधी भन्दै अलइन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो।

अम्बर गुरुङको संस्मरणः

हामी स-साना हुँदा दार्जिलिङमा ड्राइभर, कर्मचारी, कामदार सबै गीत गाउँथे। तर, त्यहाँ क्लासिकल संगीत सिकाउने कुनै पाठशाला थिएन, गुरुहरू थिएनन्। अग्रजहरू मेरो स्वर सुनेर ‘तिमी सिस्टममा संगीत सिक। हामीजस्तो राम्रो र मीठो गाउने, तर कुन ताल वा सुर हो भन्ने थाहै नपाउने हुनु भएन।’ त्यो कुराले मलाई खुबै छोयो।


दार्जिलिङमा रेकर्डको सुविधा थिएन। हामी बच्चा हुँदा मित्रसेनका ‘मलाई खुत्रुक्कै पार्यो जेठान,’ ‘तानसेन रमाइलो’, ‘हो साइँला’ जस्ता नेपाली गीत सुन्थ्यौँ। पछि डाक्टर रत्नदास प्रकाशका गीत सुन्न थाल्यौँ। अलि पछि नातिकाजीहरूका गीत सुन्दा रमाइलो लाग्थ्यो। नेपाली गीतको अभावमा हामी हिन्दी फिल्मका गीत सुन्थ्यौँ। सन् पचासको दशकको उत्तरार्द्धदेखि सत्तरीको पूर्वार्द्धसम्मका हिन्दी फिल्मी गीत निकै राम्रा र कालजयी थिए। मोहम्मद रफी, लता मंगेशकर, तलत महम्मुदका गीत मन पर्थ्यो।

सन् १९६१ मा मैले अगमसिंह गिरीले रच्नुभएको ‘नौ लाख तारा उदाए’ गीत संगीतबद्ध गरेँ। हिन्दूस्थान कम्पनीमा रेकर्ड गरेको यही गीत जीवनको पहिलो रेकर्डेड गीत हो। गिरीदाइले लेखेर दिएको तीन वर्षपछि यो गीत रेकर्ड गरियो। उहाँले गीत दिँदा मलाई यो रेकर्ड होला भन्ने कल्पनासम्म थिएन। त्यतिवेला गीत रेकर्ड गराउनुपर्छ भन्ने चेतना पनि थिएन। हामी नाम र दामको खोजीमा पनि थिएनौँ। गाउन मन लाग्थ्यो, गाउँथ्यौँ। कहीँ माइक देख्यो कि गायो। माइकका अगाडि उभिएर गाउँदा श्रोताले बजाइदिने थपडीमै हामी रमाउँथ्यौँ।

दार्जिलिङ, कालिम्पोङ, खर्साङतिर हुने संगीत प्रतियोगितामा मैले तीनचोटिसम्म प्रथम पुरस्कार जितेको थिएँ। त्यसपछि मलाई प्रतियोगितामा गाउन दिएनन्, म अतिथि कलाकारका रूपमा मात्रै सहभागी हुन्थेँ। संगीतप्रतिको मेरो रुचि विल्कुल व्यक्तिगत थियो। मन परे गायो, नपरे गाएन। एकपटक मैले कालिम्पोङमा ‘नौ लाख तारा’ गाएँ। गाइसकेपछि स्टेजपछाडि एकजना दाइ आएर सोध्नुभयो-

‘यो गीत कसले रचेको ?’

‘मैले।’

‘गेडा (शब्द) कसले रचेको ?’

‘अगमसिंह गिरी दाइले।’


‘यो गीत एकदम राम्रो रहेछ, भाइ। यो दार्जिलिङ र कालिम्पोङवासीले मात्रै सुनेर हुँदैन, सारा नेपालीलाई सुनाउनुपर्छ। म यो गीत रेकर्ड गरिदिन्छु, हुन्छ ?’


उहाँको कुरा सुनेर म अकमक्क परेँ। हुन्छ पनि भन्न सकिनँ, हुन्न पनि भन्न सकिनँ। मेरा लागि त्यो नसोचेको कुरा थियो। उहाँ दार्जिलिङकै सचिन्द्रमणि गुरुङ हुनुहुन्थ्यो। उहाँले एजेन्टमार्फत रेकर्डिङ स्टुडियोमा पत्राचार गर्नुभयो। ठूलो ग्रामोफोन कम्पनीमा आफैँले पत्राचार गर्नुभयो। झन्डै डेढ वर्षसम्म त्यो कम्पनीले जवाफै दिएन। अनि हामीले कोलम्बिया रेकर्डिङ कम्पनीमा सम्पर्क गर्यौँ। त्यसले जवाफ त दियो। तर, ‘नेपाली म्युजिकको बजार नभएकाले नेपाली गीत रेकर्ड गर्न सक्दैनौँ’ भन्यो। हामी फेरि अर्को कम्पनीले खोज्दै हिन्दूस्थान कम्पनीमा गयौँ। उनीहरूले पनि ‘नेपाली संगीतको बजार छैन, हामी इन्ट्रेस्टेड छैनौँ’ भने। पछि सर्तमा गीत रेकर्ड गर्न तयार भए। गीतको पाँच सयवटा रेकर्ड बिक्री गर्ने जिम्मा हामीले नै लिनुपर्ने, पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने र वाद्यवादकको खर्च आफैँले तिर्नुपर्ने सर्तमा उनीहरूले हामीलाई स्टुडियो उपलब्ध गराउने भए। आउने-जाने भाडा र होटल खर्च पनि हामी आफैँले तिर्नुपर्ने भयो।

रेकर्डका लागि दुईजना मात्रै गएका थियौँ- रञ्जित गजमेर र म। दार्जिलिङबाट कोलकाता पुगेको भाडा ३२ रुपैयाँ लाग्थ्यो। कोलकातामा हामी सामान्य होटलमा बस्यौँ। हामीसँग खर्च गर्ने धेरै पैसा थिएन। रेकर्डिङ खर्च सचिन्द्रमणिदाइले सापटी खोजेर दिनुभएको थियो। कम्पनीले तोकेको समयमा गीत रेकर्ड नगराए अर्को समय पाउन दुई/तीन साता कुर्नुपथ्र्यो। धेरै दिन बस्न हामीसँग खर्च पनि थिएन। हामी स्टुडियोले तोकेभन्दा सात दिनअगाडि कोलकाता पुग्यौँ। पालो छुट्ला र रेकर्ड नगरिदेला भन्ने हामीलाई डर थियो।


जनवरी महिनाको अन्तिम साता थियो। दिन सम्झना भएन। दिउँसो १० बजे स्टुडियो खुल्यो। रञ्जित र म १० बजे नै स्टुडियोमा पुग्यौँ। स्टुडियोमा तयारी गर्दा ११ बजिसकेको थियो। साढे ११ बजे गीतको रेकर्डिङ सकिएको थियो। त्यतिवेला म रियाज गर्न तगडा थिएँ। स्टुडियोमा छिर्नुअघि अलिकति ‘कन्सस’ त भएँ नै। त्योभन्दा अगाडि मैले कहिल्यै स्टुडियोमा गाएको थिइनँ। रेडियोमा लाइभ पनि गाएको थिइनँ। दार्जिलिङमा कुनै रेडियो थिएन, अलइन्डिया रेडियोमा मेरो पहँुच थिएन। तैपनि, म ढुक्क थिएँ। मलाई संगीतको आधारभूत ज्ञान थियो। पश्चिमी संगीतको नोटेसन, यताको सात सरगम सिकिसकेको थिएँ। दुवै प्रकारको संगीतमा म गाउन सक्थेँ। स्टुडियोका मान्छेले मेरो स्वर परीक्षा लिन खोजे। रञ्जितले हारमोनियम झिकेर दियो। मैले ‘म एकचोटि प्राक्टिस गर्छु’ भनेँ। उनीहरू एकदमै चलाख रहेछन्। मैले प्राक्टिस गर्दा नै उनीहरूले परीक्षणका रूपमा रेकर्ड गरिसकेछन्। मेरो स्वर सुनेर उनीहरू प्रभावित भए। अनि स्टुडियोमा गीत रेकर्ड गरियो।
‘नौ लाख तारा’ रेकर्ड गर्दा म २३ वर्षको थिएँ। रेकर्डिङमा रञ्जित गजमेरले तबला बजाएको थियो, बाँकी सबै वाद्यवादक बंगाली थिए। रेकर्डपछि १५/२० जना बंगालीले हात मिलाएर ‘भेरी गुड मिस्टर गुरुङ, यू आर ग्रेट सिंगर’ भन्दै मेरो प्रशंसा गरे। हामीले रेकर्डेड गीत बजाएर सुन्यौँ। पहिलोपटक गीत रेकर्ड गर्न पाएकोमा म खुसी थिएँ। तर, हामीले कुनै उत्सव मनाएनौँ, भोज गरेनौँ। अहिलेजस्तो विशेष अवसरमा पिउने चलन थिएर त्यतिखेर। हामी बसिरहेको होटलमा फक्यौर्ं र सामान्य खाना खायौँ। मलाई एकदमै गह्रुंगो भारी बिसाएको जस्तो अनुभूति भयो।


हामीले कम्पनीमा राखेको पाँच सय रुपैयाँ धरौटी फिर्ता पायौँ। पाँच सय रेकर्ड बिक्री हुने ग्यारेन्टी दिएका थियौँ। कम्पनीले विश्वास गरेको थिएन। त्यतिवेला एउटा गीति-रेकर्डको मूल्य ३ रुपैयाँ ७५ पैसा पथ्र्यो। हामीले हाम्रो गीतको मूल्य ४ रुपैयाँ ५० पैसा राख्यौँ। तर, एक हप्तामै पाँच सयवटा रेकर्ड बिक्री भए। कम्पनी हाम्रो गीत अरू निकाल्न इन्ट्रेस्टेड भयो । हामीले अर्कोचोटि दुई हजार रेकर्डको अर्डर गर्यौँ। कम्पनीले तत्काल नसक्ने र एक महिनापछि दुई हजार रेकर्ड निकालिदिने वचन दियो। तर, दुर्भाग्यको कुरा एक महिना बितुन्जेल भारत सरकारले यो कुरा थाहा पाएछ। अनि अलइन्डिया रेडियोले गीतलाई ‘भारतविरोधी’ भनेर प्रतिबन्ध लगाइदियो।

मैले ‘यो भारतविरोधी होइन, नेपालीहरूको गीत हो’ भनेँ। भारतमा मात्रै होइन, अमेरिका, बि्रटिस, जापान, हङकङ जहाँ भएका नेपालीले पनि गाउन मिल्ने गीत थियो, यो। तर, नेपाली भाषाले भारतमा मान्यता नपाएको हुनाले त्यहाँको सरकारले बजाउन रोक लगाइदियो। मेरो निगरानीमा सिआइडी लगायो। भारतमा नेपाली भाषाले मान्यता पाएपछि मात्रै यो गीत फुकुवा भयो। ‘नौ लाख तारा’ गीत एउटा इतिहास हो। यही गीत रेकर्ड भएपछि दार्जिलिङमा नेपाली गीत रेकर्ड गर्ने ढोका खुलेको हो। त्यसपछि शरण प्रधान, अरुणा लामा, गोपाल योन्जनहरूले गीत रेकर्ड गर्न थाले। नेपाली गीतमा सबैभन्दा पहिले रोयल्टी पनि मैले यही गीतबाट बुझेको थिएँ।

मेरो जीवनकालमा मैले कैयौँ ठाउँमा स्टेजमा गाएँ। चाहे म हङकङ जाउ”m, चाहे अमेरिका, चाहे नेपालकै कुनै ठाउँ- श्रोताले फर्माइस गरिरहने एउटै गीत यही ‘नौ लाख तारा’ हो। यो गीतको सन्दर्भमा मैले दुईजना व्यक्तिलाई कहिल्यै बिर्सन सक्दिनँ। एकजना हुनुहुन्छ- रचनाकार अगमसिंह गिरी। चियामा सुन फल्छ भनेर पूर्वबाट नेपाली दार्जिलिङ पसेको डेढ सय वर्षपछि गिरी दाइले नेपाली भावनामाथि यति गम्भीर गीत लेख्नुभएको थियो। भारत स्वतन्त्रताका लागि लडेका नेपालीले भारत स्वतन्त्रतासँगै आफू पनि स्वतन्त्र हुन्छौँ भन्ने ठाने। तर, नेपालीका लागि अंग्रेज बोस भयो, भारत सेकेन्ड बोस। भारत स्वतन्त्र भएको झन्डै १० वर्षपछि गिरी दाइले यो गीत लेख्नुभयो। रेकर्डपछि उहाँले मलाई अँगालो मारेर ‘ऐतिहासिक काम गर्यौ भाइ, यो कहिल्यै बिर्सन सक्दिनँ’ भन्नुभएको थियो।

अर्को दाइ हुनुहुन्छ- सचिन्द्रमणि गुरुङ। रेकर्डका लागि कम्पनीले पाँच सय रुपैयाँ धरौटी राख्नु पर्ने सर्त राखेको थियो। ५० वर्षअघिको पाँच सय रुपैयाँ अहिलेको ५० हजारजस्तो थियो। त्यत्रो रकम हामीले कहाँबाट जम्मा गर्नु ? हामीलाई गीत रेकर्डिङको खर्च जुटाइदिने काम उहाँले नै गर्नुभएको हो।

‘नौ लाख तारा’ गीत रेकर्ड गर्नुअघि हामीलाई यो नेपालीले रुचाउँदैनन् भन्ने लाग्थ्यो। यो नेपालबाहिर (दार्जिलिङमा) बस्नेहरूको गीत हो भन्ने ठान्थ्यौँ, हामी। तर, पछि यही गीत नेपालीले धेरै मन पराए। राजा महेन्द्रले यही गीत मन पराएर मलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे। त्यतिवेलै राजासँग दर्शनभेट हुँदा उनले एकेडेमीमा यतै बस भने। पहिलोचोटि मैले त्यो आग्रह मानिनँ। किनभने हामी दार्जिलिङमा नेपालीको जातीय अस्तित्वका लागि, भाषिक अधिकारका लागि र आफ्नो संस्कृतिका लागि संघर्ष गरिरहेका थियौँ। मलाई उतै बस्नुपर्छ भन्ने लाग्थ्यो।
दोस्रोचोटि सन् १९६४ मा नेपाल आएका वेला फेरि एकेडेमीमा बस्न अनुरोध भएपछि म यतै बसेर काम गर्न थालेँ। म ३० वर्ष पनि नपुगेको ठिटो थिएँ। मलाई नेपाल आएर बस्ने र संगीत साधना गर्ने अवसर ‘नौ लाख तारा’ ले दिएको हो। यो गीत यति लोकपि्रय होला भन्ने मैले सोचेकै थिइनँ।

0 comments: on "नौ लाख तारा उदाए-मेरो पहिलो गीत"