मुख्य समाचार :


छत्रबाट आन्दोलनको द इण्ड

कालेबुङ, 30 मार्चः
छत्र सुब्बाले आन्दोलन चलचित्रको द इण्ड गरिदिएका छन्‌। उप्रान्त तिनले आन्दोलनमा नायकको भूमिका निर्वाह नगर्ने भएका छन्‌।
तर तिनले यस्तो घोषणाले भने राजनीतिज्ञहरूको टाउको दुखाइ शुरु भएको छ। हिजो तिनले आन्दोलनको घोषणा गर्ने डर गोर्खा जनमुक्ति मोर्चालाई सबैभन्दा धेर थियो। हिजो मोर्चाका केही नेताहरूले छत्र सुब्बाको गाउँको चक्कर धेरैपल्ट लगाए। तर छत्र सुब्बाले आन्दोलनबाट सन्यास लिएको घोषणाले मोर्चा सबैभन्दा धेर खुशी छ। छत्र सुब्बाले गोर्खाल्याण्डको आन्दोलन गरेको भएमा मोर्चालाई असुविधा हुनेथियो। केन्द्र र राज्य सरकारसित दागोपाप क्षेत्रमा नै गठन हुने जीटीएको निम्ति हात मिलाएपछि सबैपक्षबाट मोर्चाको आलोचना गर्ने कार्य जारी छ। मोर्चा गोर्खाल्याण्डको साटो अहिलेलाई जीटीए ग्रहण गरेर नै खुसी छ। मोर्चाले अहिले नै गोर्खाल्याण्ड नहुने भन्दै डिफेक्टो स्टेटको दर्जा बराबरको जीटीए ग्रहण गरेको छ। तर तराई र डुवर्सको समस्या भने मोर्चाको टाउको दुःखाइ भएको छ। गोरुबथानमा मोर्चा अध्यक्ष विमल गुरूङले स्पष्ट पारे, जीटीएमा अन्तरभुक्त हुनुको निम्ति तराई र डुवर्सका जनताबाट नै पहल हुनुपर्छ। हाइपावर कमिटीमा चाप सृष्टि गर्ने काम अब तराई डुवर्स कै हो।

कमिटीलाई प्रभाव पारेमा मोर्चाले तराई र डुवर्स जीटीएमा आउनसक्ने मोर्चाको सोंच छ। तर तक्निकीयरुपमा मोर्चाले तराई-डुवर्स छोडिसकेको छ। मोर्चाको यस्तै रबैयाको कारण जनताले मोर्चाले आफ्नो बचन पुरा नगरेको अनि धोका दिएको अनुभव गरिरहेको छ। यस्तोमा छत्र सुब्बालाई विमल गुरूङको विकल्पकोरुपमा हेर्न थालिएको थियो। छत्र सुब्बाले आन्दोलनको निम्ति तयारी पनि गरेका थिए तर समर्थकहरूको अनुपस्थितिको कारण तिनले आन्दोलनबाट सन्यास लिएको घोषणा गरेर राजनीति नबुझ्नेहरूको निम्ति निराशाजनक घोषणा गरेका छन्‌। तर परिस्थितिलाई बुझेर राजनीति गर्ने र बुझ्नेहरूको निम्ति भने छत्र सुब्बाको आन्दोलनबाट सन्यास लिने घोषणा समय सापेक्ष रहेको छ।
राजनैतिक सचेतहरू अनुसार गोर्खाल्याण्ड आन्दोलन गर्नेहरूको निम्ति जुन जटिल परिस्थिति बनाइने चलखेल राज्य सरकार र गोर्खा जनमुक्ति मोर्चाबाट भइरहेको छ, यस्तो स्थितिमा आन्दोलनकारीहरूले संयम लिएको नै उत्तम हुनेछ। कालेबुङमा र्‍याफको जवान उतारी सकिएको थियो।

मोर्चाबाट संदिग्ध व्यक्ति पसेको पत्र मोर्चाले पुलिस प्रशासनलाई दिइसकेको थियो भने मोर्चाले नै माओवादी कालेबुङमा पसेको पनि बताइसकेको थियो। छत्र सुब्बाको पुरानो इतिहासलाई हेर्दा तिनलाई हिंसात्मक कार्य गरेको अनि जङ्गी र यस्ता सङ्गठनहरूसित जोडेर हेर्ने कार्य भएको थियो। तीनकटहरे काण्डमा छत्र सुब्बाको नाम जोडिएकोले माओवादी, संदिग्ध व्यक्तिहरूको शंकाको सुइ पनि छत्रतिर नै फर्किएको छत्र सुब्बा लगायत राजनैतिक सचेतहरूले अनुमान गरिरहेका थिए। गोर्खाल्याण्ड टास्क फोर्समा ‘फोर्स’ शब्द रहेकैले मोर्चा अध्यक्ष विमल गुरूङले टास्क फोर्सले माओवादीहरूसित अन्टरग्राउण्ड ट्रेनिङ गरिरहेको आरोप लगाएका थिए। तर भोलिपल्ट नै विमल गुरूङले त्यो आरोप फिर्ता लिएर छत्र सुब्बाप्रति खन्याएका थिए। किन भने गुरूङलाई खतरा टास्क फोर्सभन्दा पनि धेर छत्र सुब्बासित छ। छत्र सुब्बा मात्र एकजना त्यस्ता नेता हुन्‌, जसले विमल गुरूङको ठाउँ सहजै ओगट्‌न सक्छन्‌।

छत्र सुब्बालाई केन्द्र गरेर विभिन्न चलखेल बुनिएकोले छत्र सुब्बाले अहिलेको स्थितिलाई साम्य राख्न नै दुइ कदम पछि हट्‌ने रणनीति अप्नाउँदै आन्दोलनबाट सन्यास लिएको घोषणा गरेको हुनसक्ने राजनीतिविद्हरूको लख कटाई छ। छत्रले आन्दोलनबाट सन्यास लिएको जुन कारण देखाएका छन्‌, यसले आन्तरिकरुपले समर्थक बटुल्ने मूल मन्त्रको काम गर्ने पनि सचेतहरूको विश्लेषण छ। प्रोभोकेशन पोलिटिक्सको पहिलोे खुडि्‌कलो छत्र सुब्बाले टेकिसकेको सचेतहरूको निचोड रहेको छ। गोर्खाल्याण्डपन्थी जनतालाई आफूतिर आकर्षित गर्न छत्र सुब्बाले यस्तो राजनैतिक अडान मात्र लिएको हुनसक्ने पनि ठनाइ छ। छत्र सुब्बाले आन्दोलनबाट सन्यास लिएको कुरा गरेर जनसमर्थन बढाउने अर्को खेल खेलेकोले छत्र विरोधी वा गोर्खाल्याण्ड विरोधीहरूको निम्ति नयॉं गरी टाउको दुखाइ शुरु भएको विश्लेषकहरूको भनाइ छ।

0 comments: on "छत्रबाट आन्दोलनको द इण्ड"