मुख्य समाचार :


12 वर्षपछि बल्झियो तीनकटहरे काण्ड -अभियुक्तहरू उभिए न्यायलयमा

कालेबुङ, 30 मार्चः
11 नोभेम्बर 2000 सालको तीनकटहरे काण्डको मुद्दा आजसम्म पनि टुङ्गो लाग्न सकेको छैन।
यसै मुद्दाको निम्ति चाजर्र्सिटमा नाम भएकाहरू 12 वर्षपछि आज कालेबुङ न्यायलयमा उभिए। 14 जना अभियुक्तहरूमध्ये प्रमुखमा थिए जीएलओ प्रमुख छत्र सुब्बा, मोर्चाका पूर्व नेता अमर लामा, मोर्चा नेता नोर्देन लामा, छत्र सुब्बासित नै जीएलओमा खटेका बिजय छेत्री अनि एनटी मोक्तान। मोठ 14 जनाको नाममा चार्जसिट थियो, जसमा एक जना अनुपस्थित रहेकोले उनीहरूको मुद्दा एडिसनल चिफ जुडिसियल मेजिस्ट्रेडदेखि अघि बढेन। 14 जना नै उपस्थित रहेको भए उनीहरूको मुद्दा एडिसनल चिफ जुडिसियल मेजिस्ट्रेडदेखि कोर्ट अब्‌ एडिसनल डिस्ट्रिक एण्ड सेसन जर्जकहॉं पुग्ने थियो।

13 जना अभियुक्त उपस्थित रहे पनि आकाश गुरूङ भने अनुपस्थित रहेकोले एडिसनल चिफ जुडिसियल मेजिस्ट्रेडका न्यायधीश राणाधामले सुवाइको अघिल्लो मिति 12 अप्रेल निर्धारण गरेका छन्‌। मार्च 2007 मा यस मुद्दाको चार्जसिट बुझाएको आधिकारिक रिपोर्ट भए पनि अभियुक्त अमर लामाले अघिल्लो महिना मात्र चार्जसिट पाएको बताए। तीन कटहरे आफूले अहिलेसम्म नदेखेको बताउने लामाले यो राजनैतिक षडयन्त्र हुनसक्ने बताएका छन्‌।

स्मरण गराइन्छ, तीन कटहरे 28 नम्बर समष्टीमा पर्ने घनघोर जङ्गलबीचको एक ग्रामीण क्षेत्र हो। यहॉं 2000 मा छत्र सुब्बाले जीएलओको क्याम्प राखेको आरोप छ। तर अहिलेसम्म छत्र सुब्बाले नै क्याम्प राखेको हो होइन स्पष्ट भइसकेको छैन। सुबास घिसिङले दागोपाप ग्रहण गरेपछि छत्र सुब्बाले त्यसको विरोध गरिरहेका थिए भने त्यसबेला राजनैतिक क्रियाकलाप पनि तीब्र थियो। तीन कटहरेमा त्यसबेला जीएलओको क्याम्प रहेको र जङ्गी नागा युवकहरूको आवत जावत रहेको शंकामा नै पुलिसले 11 नोभेम्बर 2000को दिन सोही प्रशिक्षण शिविरमा हमला बोलेको थियो। यसबेला जङ्गी अनि पुलिसबीच चलेको गोली काण्डमा जलढकाका एक होमगार्ड अनि एक जङ्गीले ज्यान गुमाएको पुलिसको रिपोर्ट सार्वजनिक भए पनि जङ्गीको शव भेट्टाएको पुष्टि छैन।

अहिलेसम्म नै त्यहॉं कसले जङ्गी ट्रेनिङ गरिरहेको थियो भन्ने स्पष्ट छैन। तर उत्तर पूर्वाञ्चलबाट नागा जङ्गीहरू छत्र सुब्बाले भाडामा ल्याएर गोर्खा जवानहरूलाई हतियारको ट्रेनिङ गराएको हुनसक्ने केवल शंका मात्र गरिएको छ, प्रमाणित छैन। अहिलेसम्म छापामा आएका रिपोर्टहरू अनुसार तीन कटहरेमा बॉंदर र कुकुरमा मासु शिविरमा रहेका युवकहरूले खाने गर्थे। रुख र बॉंसको टुप्पो टुप्पो चडेर बन्दुक चलाउँथे। कालेबुङका गोरामुमो नेता सीके प्रधान र दार्जीलिङका प्रकाश थिङको हत्यापछि सुबास घिसिङले प्रधानमन्त्री मनमोहन सिंहलाई पत्र पठाउँदै उत्तरबङ्गालमा अन्तराष्ट्रिय जाजुस(आइएसआई) सक्रिय रहेकोले दागोपापका पार्षद लगायत भीआईपीहरू सुरक्षित नरहेको बताइएको थियो। यता छत्र सुब्बाले घिसिङको विरोधमा मोर्चा गठन गरेपछि गोरामुमोको तारोमा छत्र सुब्बा रेहका थिए। तर उस्तो चर्चामा नरहेका छत्र सुब्बा तीन कटहरे काण्डपछि नै एकाएक चर्चामा आएका थिए।

त्यसै घटना काण्डका आरोपीकोरुपमा रहेका छत्र सुब्बा घिसिङ हमला काण्डको आरोपमा पक्रा परेका थिए। तीन कटहरे काण्डसित वरिष्ट अधिवक्ता अमर लामाको नाम पनि जोडिएको छ। तर तिनले अहिलेसम्म तीन कटहरे कहिल्यै नदेखेको बताएका छन्‌ अनि तिनलाई धेरैवर्षपछि राजनैतिक जालझेलको शिकार बनाइरहेको आशय प्रकट गरेका छन्‌। यता छत्र सुब्बा, नोर्देन लामा अनि एनटी मोक्तानले यस सम्बन्धमा कुरा गरेनन्‌। आज एडिसनल चिफ जुडिसियल मेजिस्ट्रेडमा उपस्थित रहेकाहरूमा नोर्देन लामा अनि अमर लामाको नाम घिसिङ हमला काण्डसित पनि जोडिएको थियो तर बेलमा उनीहरू मुक्त बनेका थिए। तर विजय छेत्री भने 11 वर्ष नै छत्र सुब्बासित जेल बसे। 12 वर्ष अघि सबैको चर्चाको विषय बनेको तीन कटहरे काण्डले एकाएक आजदेखि फेरि चर्चा पाइरहेको छ। स्मरणीय कुरो के छ भने केही दिन अघि मोर्चा अध्यक्ष विमल गुरूङले छत्र सुब्बाको विरोध बोल्दै छत्र सुब्बाको घिसिङ हमला काण्डको मुद्दा सकिए पनि तीन कटहरे काण्डको मुद्दा जिउँदो नै रहेको बताएका थिए।

0 comments: on "12 वर्षपछि बल्झियो तीनकटहरे काण्ड -अभियुक्तहरू उभिए न्यायलयमा"