मुख्य समाचार :


छत्रलाई समर्थकहरूबाट धोका --लिए आन्दोलनबाट सन्यास

मनोज वोगटी
कालेबुङ, 29 मार्चः
छत्र सुब्बाले गोर्खाल्याण्डको आन्दोलन गरेको चाहने र तिनका समर्थकहरूलाई छत्र सुब्बाले निराश पारिदिएका छन्‌।
यस्तो हुनुको कारण तिनका समर्थकहरू नै दायी रहेको अथवा छत्र सुब्बालाई तिनका समर्थकहरूले निराश पारेको कारण नै तिनले आज गोर्खाल्याण्डको आन्दोलनबाट सन्यास लिएको घोषणा गरेका छन्‌। आज जीएलओलाई पुनर्स्थापन गरेर छुट्टै राज्यको आन्दोलनको घोषणा गर्नको साटो छत्र सुब्बाले उल्टै आजदेखि गोर्खाल्याण्डको आन्दोलनबाट सन्यास लिएको घोषणा गरेका छन्‌। फ्याल्टर टोपी, टाई, सूटमा ठॉंटिएका छत्र सुब्बाले तिनका समर्थकहरूलाई 12 बजीसम्म पर्खिए। तर तिनका समर्थकहरू कोही पनि आएनन्‌। सेतो कपडामा हरियोले लेखिएको झण्डा पनि तयार थियो। किन भने आज तिनले समर्थकहरूलाई झण्डा वितरण गरेर आन्दोलनको घोषणा गर्ने तयारी गरेका थिए। जेलबाट छुटेपछि जिल्ला र तराई डुवर्सभरि घुम्दा समर्थकहरूले गोर्खाल्याण्डको आन्दोलन गर्नको निम्ति गरेको अनुरोधलाई कदर गर्दै आन्दोलन गर्न व्याङ्‌कबाट डेड लाख रुपियॉं पनि झिकेका थिए। रामकृष्ण रङ्गमञ्च र सामुदायिक भवन मोर्चाले ओगटी दिएपछि घरैमा आज तिनले समर्थकहरूलाई बोलाएका थिए। समर्थकहरूसित 10 बजी बैठक गर्ने समय निर्धारण गरिएपनि 12 बजीसम्म पनि समर्थकहरू नआएपछि छत्र सुब्बाले पत्रकार सम्मेलन डाक्दै भने, मलाई समर्थकहरूले धोका दियो। आजदेखि म गोर्खाल्याण्डको आन्दोलन गर्दिन। आन्दोलनबाट आजदेखि सन्यास लिएँ। छत्र सुब्बाले बारम्बार भने, मैले मेरो निम्ति आन्दोलन गरेको होइन। जनताले अनुरोध गरेकोले आन्दोलन गर्ने तयारी गरेको थिएँ। तर जनतालाई जीटीए भए पुगेछ। पैसा भए पुगेछ। मलाई आज आउँछु भन्ने कोही जनता पनि आएनन्‌। उनीहरूलाई नै लिएर आन्दोलन गर्ने मन बनाएको थिएँ। तर गोर्खा जस्तो घिनलाग्दो कोही नहुँदोरहेछ। यो जातिको निम्ति म केही गर्दिन। पानी बेचेर खान्छु आन्दोलन गर्दिन। मोर्चालाई बधाई दिन्छु। जसले गोर्खाल्याण्ड ल्याउँछ मेरो धन्यवाद हुनेछ। मेरोबाट भने गोर्खाल्याण्डको आन्दोलन द इण्ड भयो। तिनी समर्थकहरूप्रति जङ्गिए, गोर्खाल्याण्ड भनेर मात्र हुँदैन। भेट्‌दा आन्दोलन गर्नुपर्छ भन्छन्‌, बोलाउँदा आउँदैनन्‌। सबैलाई थाहा छ परिस्थिति अर्कै छ। डराएर आन्दोलन हुँदैन। यत्रोदिन सबैले मलाई समर्थन गरेको जस्तो मात्र गरेका रहेछन्‌। बोलाएको समयमा कोही पनि आएनन्‌। म गोर्खाल्याण्डको निम्ति मर्न पनि तयार छु। तर मैले मेरो लागि आन्दोलन गरेको होइन। जनताले भनेर नै आन्दोलन गर्छु भनेको थिएँ। तर समर्थकहरूले धोका दियो। गोर्खाल्याण्डको निम्ति मैले नेतृत्व दिनुपर्थ्यो, दिन सकिन। तरै पनि म खुशी छु। किन भने जनतालाई जीटीए नै चाहिएको रहेछ। जनता माटोप्रेमी होइन मनिप्रेमी रहेछन्‌। जटिल परिस्थितिको सामना गर्न नसक्नेहरूलाई लिएर आन्दोलन गर्न नसकिने भएपछि नै तिनले आन्दोलनबाट सन्यास लिएको घोषणा गरे। के राजनीतिबाट नै सन्यास लिएको हो? भन्ने प्रश्नको उत्तरमा तिनले राजनीति र आन्दोलन फरक कुरा रहेको बताए।

तिनले भने, राजनीति मैले आजसम्म गरिनँ। राजनीति भनेको चिटिङ हो। पैसा कमाएर खाने भॉंडो हो। राजनीति घिसिङ र विमलले गर्छन्‌। म त आन्दोलनकारी हुँ। अब त्यो आन्दोलन पनि कहिल्यै गर्दिन। जनताले मुखले मात्र गोर्खाल्याण्ड भन्दारहेछन्‌। मुखले भन्दैमा गोर्खाल्याण्ड हुँदैन। मेलै मेरो पक्षबाट आन्दोलन गर्ने कोशिष गरें। तर जनताले गरेन। जनताले पैसा चिन्छ, रक्सी चिन्छ, मासु चिन्छ तर मलाई चिन्दैन। धिक्कार छ यो जातिलाई, जसले असल नेतृत्व चिन्दैन। के उनीहरूलाई अहिलेको परिस्थिति थाहा छैन? जनता आन्दोलनको निम्ति आउनुपर्थ्यो। तर कोही पनि आएनन्‌। समर्थकहरू नाउनु भनेको उनीहरूलाई गोर्खाल्याण्डको आवश्यकता छैन भनेको हो। मलाई के को खसखस? मेरो लागि हो र गोर्खाल्याण्ड? यद्धपि तिनले सुबास घिसिङ र विमल गुरूङको आलोचना पनि गरे। तिनले आन्दोलनमा कहिल्यै सम्झौता नहुने बताए। घिसिङ र विमलले सम्झौता गरेका छन्‌- तिनले भने, मैले गलत जातिमा जन्म लिएँछु। यो जाति बीर होइन काफरे रहेछ। उसलाई गोर्खाल्याण्ड पनि चाहिने तर आन्दोलनमा पनि नउत्रिने। तिनले आन्दोलनको निम्ति सबै डोकुमेन्ट तयार पारिएको बताउँदै जसले पनि लगेर आन्दोलन गर्न सक्ने बताए। गोर्खाहरूलाई विदेशी भन्नु नै गोर्खाहरूलाई चिह्नारीको संकट छ भनेर प्रमाणित गर्नु रहेको बताउँदै, त्यही चिह्नारीको निम्ति छुट्टै राज्य चाहिने तिनले बताए। तिनले  दार्जीलिङ र तराई डुवर्स बङ्गालको भू-भाग नरहेको बताउँदै यसलाई बङ्गाल सरकारले नै जारी गरेको वाइट पेपरले स्पष्ट पार्ने बताए। जसले गोर्खाहरूलाई विदेशी भन्छन्‌ उनीहरू नै विदेशी रहेको जसको कागजपत्र आफूसित रहेको बताउँदै तिनले भने, म वृद्ध भइसकें। लागेको थियो जनताले मबाट धेरै आशा गरेका छन्‌। मैले आन्दोलन गर्नुपर्छ। गोर्खाल्याण्डको नेतृत्व गर्नुपर्छ। किन भने कोही पनि इमान्दार भइदिएनन्‌। गोर्खाल्याण्डको निम्ति 11 वर्ष जेल बसिसकेको थिएँ। पानी बेंचे जाति बेचिन। जनताले मेरो इमान्दारितालाई हेरेर सहयोग गर्छ भनेर सोंचेको थिएँ। तर जनतालाई गोर्खाल्याण्ड चाहिएको छैन रहेछ। तिनले उप्रान्त कुनै पनि राजनैतिक कार्यक्रमहरूतिर आफ्नो सहभागिता नहुने अनि कोही आन्दोलनको निम्ति उत्रिए समर्थन पनि नगर्ने बताए। तिनले भने, कोही पनि इमान्दार छैनन्‌। पैसाको बिटो फ्यॉंकेपछि उसको नीति नै परिवर्तन हुन्छ। तर कमसेकम म त्यस्तो थिइन।

मलाई ग्रेटर ओनोमश दिएको थियो। तरै पनि मानिनँ। मैले सांसद आनन्द पाठकलाई सोधें, तिनले ग्रेटर अटोनोमशले गोर्खाहरुको चिह्नारी नबन्ने बताएपछि ग्रेटर अटोनोमश दुत्कारेको थिएँ। मलाई किन्नेहरू प्रशस्त आए। कसैले किन्न सकेनन्‌। जनतालाई गोर्खाल्याण्ड भनेर दागोपाप ल्याउँदा पनि खुशी छन्‌ जीटीए ल्याउँदा पनि खुशी छन्‌। तिनले गोर्खाल्याण्डको आन्दोलनबाट सन्यास लिने कुरामा के कुनै राजनैतिक दलको चापसृष्टिलाई कारक मान्न सकिन्छ? भन्ने प्रश्न गर्दा तिनले भने, मुख्यमन्त्री, प्रसाशन र राजनैतिक पार्टी कसैले पनि  दवाब दिन सकेन भने के को राजनैतिक दलले दवाब दिनसक्छ। तिनको घरमा लगभग 30 जना समर्थकहरू  कालेबुङ बाहिरबाट भेला भएका थिए।

0 comments: on "छत्रलाई समर्थकहरूबाट धोका --लिए आन्दोलनबाट सन्यास"