मुख्य समाचार :


‘अकादमी पुरस्कारको विवादमाथि श्तेवपत्र जारी गरिपर्छ’




कालेबुङ, २५ दिसम्बर|
बसिबियॉंलो परिवारले १०२ -औं प्रकरण पालन गर्दै नेपाली साहित्य अकादमी पुरस्कारबारे हालै चलेको विवादमाथि बहस गर्‍यो| पुरस्कार प्रदान गर्ने वा नगर्ने विषयमा जुन रँडाको सिर्जना भयो त्यसलाई दुर्भाग्यपूर्ण ठहर गर्दै बसिबियॉंलो परिवारले एउटा प्रस्ताव पारित गरेको छ| उक्त प्रस्तावमा यस घटनाबाट नेपाली साहित्यप्रेमीहरू मर्माहत बनेको बताउँदै भावी दिनमा यस प्रकारको दुर्घटना रोकथाम गर्नका लागि यसपालिको काण्डमा देखा परेका सम्पूर्ण घटनावलीहरूमाथि नेपाली परामर्श समिति तथा सम्बन्धित पक्षले एउटा श्‍वेतपत्र जारी गरेर सबै साहित्यानुरागीहरूसमक्ष पेश गर्नुपर्ने माग राखिने कुरा उल्लेख छ| यसरी नै युवा साहित्यानुरागीहरूलाई यस्ता काण्डदेखि निराश नहुने अनि पुरस्कारको लागि लेखन होइन लेखनको लागि पुरस्कार भन्ने ठानेर आफ्नो काम गर्दै जाने सुझाउ पनि बसिबियॉंलो परिवारले दिएको छ| शतकीय प्रकरणको लोकप्रियताको कारण कालेबुङको बसिबियॉंलो-ले साहित्यिक जगत्मा सर्वत्रबाट सकारात्मक प्रतिक्रियाहरू प्राप्त गर्नथालेको अनुभव पोख्दै आगामी दिनका बसिबियॉंलो-हरूमा पुस्तक मेला तथा विभिन्न स्थानहरूको साहित्यिक भ्रमण गरिने पनि यसै दिन चर्चा गरियो| यसरी नै बसिबियॉंलो स्मारिकाको अनुपूरक अङ्क आगामी जनवरी महिनामा प्रकाशित गरिने जसमा शतकीय प्रकरणका सम्पूर्ण विवरण, लेखाजोखा, साहित्यकारहरूका सम्पर्क नम्बर आदि गाभिइने जानकारी पनि आयोजना पक्षले कार्यक्रममा दिएको छ| यहॉंको महकुमा पुस्तकालयमा सम्पन्न  बसिबियॉंलोको यस प्रकरणलाई कालेबुङ महाविद्यालयकी छात्रा कविता छेत्रीले घरपटित्व गरेकी थिइन्| उक्त प्रकरणमा स्थानीय साहित्यप्रेमी, सामाजिक कार्यकर्ताहरूलगायत अतिथि साहित्यकारहरू सिलगड़ीबाट सी. के. श्रेष्ठ, मल्लीबाट हरीश मोक्तान अल्लारे अनि गान्तोकबाट सुदेश खाती प्रमुखले उपस्थित रहेका थिए| यस दिनको कार्यक्रममा मुख्य रुपले गत नोभेम्बरमा पालन गरिएको दुइ दिने शतकीय प्रकरणमाथि छलफल भयो भने सोही अवसरमा आयोजना गरिएको चिट्ठा खेलाको परिणाम पनि घोषित गरियो जसमा कविता छेत्री, सुमती प्रधान, एस. ए. अहमद अनि सुनिता छेत्रीले नगद राशी प्राप्त गरेको घोषणा गरियो| शतकीय प्रकरणमा युवा अनि महिला साहित्यप्रेमीहरूको आशातीत उपस्थिति र सहभागिता रहेको विषयलाई स्वागतयोग्य ठहर गर्दै निकट भविष्यमा पनि सोही क्रम जारी रहने आशा व्यक्त गरिएको कार्यक्रममा मूल संयोजक शमसेर अलीले कालेबुङमा सम्पन्न हुने प्रस्तावित पर्यटन उत्सवबारे जानकारी गराए| शतकीय प्रकरणका कमी-कमजोरीहरूमाथि व्यापक रूपमा छलफल गरिएपछि उपस्थित साहित्यप्रेमीहरूले शतकीय प्रकरणपछि नयॉं अनुहारमा समाजअघि उभ्याउनका लागि बसिबियॉंलो -लाई अबउसो समाजको सुनिर्माणको दिशामा मुखरित गरिनुपर्ने आशय व्यक्त गरे| यसबारे, गाउँ-समाजमा विद्यमान् कतिपय असहज विषयहरूमा सुधार ल्याउने दिशामा कार्य गरिनुपर्ने सबैले अनुभव पोखे| मूलतः सामाजिक रीतिथितिमा प्रचलित उत्सव बिहेबटुल रहेको अनि लोकलाजको कारण यस उत्सवलाई वर्तमान कालमा बुताले भ्याए पनि नभ्याए पनि भव्यतापूर्वक पालन गरिनैपर्ने चलन रहे तापनि बिहेघरको आर्थिक पक्ष र दाम्पत्य जोडीको भविष्यको उपयोगितालाई मध्यनजर गरेर अनुपयोगी उपहारहरू चढाउनको साटो नगद राशि प्रदान गरेर सहयोग पुर्‍याउनुपर्ने समयको माग रहेको विचार व्यक्त गरियो| यस विचारलाई कार्यन्वयन गराउनका निम्ति व्यापक प्रचार-प्रसार गर्नुपर्ने आवश्यकता अनुभव गरियो| यसै सिलसिलामा बसिबियॉंलो परिवारले स्थानीय समस्त समाजसचेत बुद्धिजीवी, शिक्षितवर्ग, लेखक-कवि, कलाकार, प्रतिभा, खेलाड़ी, सामाजिक कार्यकर्ता, विद्यार्थी, पेशागत व्यक्तिहरू, जात-गोष्ठीका संस्थाहरू, सरकारी-गैर सरकारी कर्मचारीवृन्द, सामाजिक संस्था, राजनीतिक सङ्गठन, दोकाने, पसले, मिडियाकर्मी सबैलाई यस विचारलाई व्यापकता दिने आग्रह गरेको छ| यसरी नै तकनिकी साधनहरूलाई पनि यस अभियानमा प्रयोग गरेर इ-मेल, फेसबुक, एस.एम.एस, ट्विटर, ब्लग, वेबसाइट, समाचार-पत्र, पत्रिका, पोष्टर, स्थानीय टिभी च्यानलमार्फत् पनि दाम्पत्य जीवनको नयॉं बाटो, नगद चढाऔं उपहारको साटो भन्ने उक्तिलाई प्रचार-प्रसार गरिदिने आग्रह समस्त सचेतवृन्दलाई बसिबियॉंलो परिवारले गरेको छ|

 


0 comments: on "‘अकादमी पुरस्कारको विवादमाथि श्तेवपत्र जारी गरिपर्छ’"