मुख्य समाचार :


फेसबुकमा अकादमी पुरस्कार विवादमाथि व्यापक प्रतिक्रिया


दुइ जुरीको पक्षमा साहित्यकारहरू

मनोज वोगटी
कालेबुङ, २५ दिसम्बर|
अकादमीको नियम अनुसार पुरस्कारको निम्ति २००४को पुरस्कारको निम्ति २००० देखि २००२ सालमा प्रकाशित उत्कृष्ट कृति हुनुपर्छ| यस हिसाबले २०११ को निम्ति २००७ देखि २००९सम्मका उत्कृष्ट कृतिहरूलाई दिइनुपर्छ| अहिलेसम्म जुरीमा पुगेका कृतिहरू कुन सालमा प्रकाशित थिए त्यो खुलिएको छैन| तर एकाडेमीको नियम अनुसार परामर्श पर्षदका कुनै पनि कार्यकारी सदस्यहरूको कृति पुरस्कारको निम्ति चयन भएको हुनु हुँदैन| परामर्श समितिका कार्यकारी सदस्यहरू को को हुन् त्यो पनि खुलिएको छैन तर यसपल्ट चयन समितिले अधिकांश नै परामर्श पर्षद कै सदस्यहरूको कृति जुरीसम्म पुर्‍याएको छ| यहीँ नै लविङखेलको गन्ध आइरहेको धेरैले शंका गरिरहेका छन्| नाम उल्लेख नगर्ने शर्तमा एक साहित्यकारले बताए अनुसार शङ्करदेव ढकालले पुरस्कार पाउने हल्ला एक महिना अघिदेखि नै चलिरहेको थियो| अकादमी नेपाली भाषा परामर्श पर्षदको दलाली सबैलाई थाहा भएको तर साहित्यकारहरू बोल्न भने डराई रहेको कुरा व्यापकरुपमा अहिले चलिरहेको छ| लविङ-को सिस्टम चलिरहेकोले साहित्यकारहरू विरोधमा बोले उसलाई पुरस्कारबाट बञ्चित गर्ने, साहित्यिक भ्रमण, पुस्तक प्रकाशन, राष्ट्रिय सम्मेलन आदिवाट बञ्चित राखिने हो कि  भन्ने डर नै साहित्यकारहरूमा रहेको कुरा पनि खुल्दै गइरहेको छ| थाहा लागे अनुसार चर्चित लेखक प्रवीण राई जुमेलीको पुस्तक ऋतुखेलमा अरुको रचना पनि समावेश छ अनि इन्द्रमणि दर्नालको नाटकमा द्वन्द्वको प्रस्तुति र उपन्यासिक तत्व धेर रहेकोले नै उनीहरूको कृति जुरीले छनौट नगरेका हुन्| अन्य कतिपय पुस्तको स्तरीयता छनौट नभएका कतिपय पुस्तकजति नरहेको थाहा लागेको छ| उदय थुलुङको एकान्तबास, किरणकुमार राईको मायाजालमा बन्दी शब्दहरू, सञ्जय विष्टको अस्ताचलतिर, पुष्प शर्माको उपन्यास मध्यान्तर, कविता लामाको अनुशिलन, राजेन्द्र भण्डारीको शव्दहरूको पुनर्वास, प्रदीप गुरूङको पोष्टर र लात, रेमिका थापाको देश र अन्य कविताहरू, सुधिर छेत्रीको शिल्पका पखेटाहरू जस्ता कृतिहरू पनि छन्, जो पाठकसमाजमा खुबै चर्चित छन्| थाहा लागे अनुसार यी कृतिहरू छनौट प्रक्रियाबाटै बाहिर राखिएको थियो| पर्षदका संयोजकको निर्देशनमा नै छनौट प्रक्रिया चल्ने भएकोले संयोजकले नै सही पुस्तकहरू पुरस्कारको निम्ति छान्नुपर्ने नियम रहेको छ| तर सही पुस्तकहरू चयन प्रक्रियाबाट बाहिर राखिनुले अब पर्षदका संयोजकको धलिमलि पनि विस्तारै प्रकटमा आउन शुरू भएको छ| अघिल्लवर्ष गोपीनारायण प्रधानको कृतिले पुरस्कार पाएका थिए, तिनका कृति पुरस्कारको निम्ति पटक्क योग्य नरहेको चर्चा साहित्यिक माहौलमा चलेको थियो| निकृष्ट पुस्तकहरूले पुरस्कार पाउने खेल संयोजकको  निर्देशनबाट नै हुने गरेको पनि खुल्न थालेको छ किन भने प्रारम्भिक चयनदेखि अन्तिम जुरीसम्ममा नै संयोजकको प्रमुख भूमिका रहने अकादमीको नियमले बताएको छ| यसपल्ट सही र स्तरीय पुस्तकहरूको छनौट नहुनुमा छनौट समितिको मात्र होइन संयोजकसम्मको ठूलो भूमिका रहेको पनि यसै विवादले खुलाएको छ| साइबर जमानामा पनि अकादमी पुरस्कारमा विवाद आउनु अनि जुरी वा त अदाकमी नेपाली भाषा परामर्श पर्षदको कार्यनीति नै विवादमा आउनु दुःखपूर्ण रहेको छ| लविङ, मनोपोली अनि एकपाखे विचारलाई स्थापित गरिसकिएको बेला दुइजना जुरी राजेन्द्र भण्डारी अनि घनश्याम नेपालले देखाएको आँटलाई विस्तारै सचेत र गम्भीर साहित्यिक अनि पाठकहरूले सराहना गर्न थालिएको छ| सोसल नेटवर्क फेसबुकमा दुइ जुरीको कदम सही रहेको अनि पुरस्कारको निम्ति पुस्तक छनौट प्रक्रियामा चलिरहेको मनोपोली, लविङ, चलखेल, भाइभतिजावाद, गुटवाजी अनि विसङ्गत प्रणालीमाथि विद्रोह गर्दै दुइजुरीले सही मान्यताको स्थापनाको पहिलो कार्य थालेको फेसबुकमा साहित्यकारहरूले बारम्बार टिप्पणी गरिरहेका छन्| अशोक प्रशान्तले लेखेका छन्, यो राम्रो परम्पराको शुभारम्भ हो| अकादमी पुरस्कारको गरीमा राख्ने हो भने अलिक कठोर निर्णय लिनै पर्थ्यो, जो लिइयो, दुइ जुरीको साहसको कदर गर्नुपर्छ| कवि अबिर खालिङले लेखेका छन्, जुरीको तर्क सही छ| अझ यो पहल ढिलो भयो| अघि नै भएको भए अर्थ न वर्थका पुस्तकहरूले अकादमी पुरस्कारको गरीमा धमिल्याउने थिएन| युवा आलोचक निमा शेर्पाले लेखेका छन्, आज आएर विवाद प्रकाशमा आयो| यो समस्या पुरानो हो| विवादलाई दुर्घटना मान्नु मिल्दैन| सही कुरा शुरू भएको छ| हिलो छेप्ने होइन सकरात्मक बहस गर्ने समय आएको छ| कसको कहॉं के लबी छ? को कोसित मिल्दैन?कसले कसलाई के गाली गर्‍यो? भन्नेमा होइन यसको समाधान के हो भन्ने पक्षमा अब बहस हुनुपर्छ| यसरी नै लेखक रुपेश शर्माले लेखेका छन्, योग्यता कै कारणले छनौट नभएको स्पष्ट भइसकेको छ| सिक्किमका सात होइन, चार लेखक परेका थिए| आठजनाको कृति मध्ये तीनजना एड्भाइजरी बोर्डकै सदस्यहरूको कृति रहेकोले पनि छनौट प्रक्रिया विवादास्पद बनेको छ| यसबारे स्वस्थ्य आलोचना र खुला बहस आवश्यक छ्| सधैं भावुकतासँग खेल्ने हाम्रो प्रवृत्ति जस्तै भएको छ| अलिक व्यावहारिक र सचेत भएर स्वस्थ बहसको शुरुआत गरौं|पत्रकार सौराज राईले लेखेका छन्, यसपल्टको अकादमीले भारतमा नेपाली साहित्यको स्थिति र पुरस्कारको निम्ति चल्ने लबिङको खुलासा गरेको छ| पुरस्कार पाउने हाम्रो साहित्य जगतमा किन छैनन् र तर विडम्बना, लविङ गर्नुपर्छ| जसले लविङ गर्न सक्छ उसको कृति पर्छ| जुन कृति योग्यको छ उसले लविङ गर्न सकिरहेको छैन| लविङ गर्ने परम्परा र योग्य कृतिबीचको लडाईले यसपल्ट नेपाली साहित्य हिस्रिकै भएको हो| युवा कवि बासुदेव पुलामीले पनि लेखेका छन्, राम्रा किताबहरू धेरै थिए, तर तिनीहरूलाई छनौट प्रक्रियामा नै सामेल गरिइएन| देशको
कुना-काप्चाबाट राम्रा कृतिहरू आउनुपर्छ र योग्य कृतिहरू पुरस्कृत हुनुपर्छ| जुरीको यो भनाइलाई समर्थन छ| साहित्यिक भष्ट्रचारको पर्दाफास भयो| युवा कवि सुधीर छेत्री पनि लेख्छन्, रिपेयर गर्नु भन्दा प्रिपेयर राम्रो| यो ऐतिहासिक निर्णयले केही क्षण हामीलाई बिझाए पनि पछि यसको परिणाम राम्रो हुन्छ भन्ने आशा छ| साहित्य जस्तो पवित्र क्षेत्रमा भ्रष्टाचारलाई नलुकाई सार्वजनिकरण गर्न सकेकोमा जुरी बधाईका पात्र छन्| पुरस्कारको घोषणा हुनुभन्दा अघि नै कानेखुसीमा अकादमी यसपालि कसले पाउने हो हल्ला भइसकेको हो| यसबाटै लबी, षडयन्त्र, भ्रष्टाचार, दुर्नीतिको गन्ध आउँछ|
जुुरीको यो आँटिलो कदमले आजसम्म अकादमीमा भइरहेको धॉंधलीबाजीलाई निमिट्यान्न पार्नसक्छ| यही यसवर्षको हाम्रो राम्रो उपलब्धी मान्नुपर्छ| पोल खोल्नसक्ने साहस सबैकहॉं हुँदैन, दुई जुरी विद्वानलाई म त बधाई दिन्छु| देवेन्द्र सुव्वा देवले पनि लेखेका छन्, प्रस्ताव गरिएका कृतिहरू राष्ट्रिय स्तरमा प्रतिनिधि गर्ने योग्य छैन भन्नु त्यस कृतिहरू अयोग्य भन्ने होइन भन्ने पनि बुझ्नुपर्छ किन भने कोही बेला रङ चढेको फल पनि कॉंचै हुन्छ| जुरीको निर्णय कथन अनुसार ठीक लाग्यो| तर चयन समितिले यी कृतिहरू भन्दा पनि स्तरीय कृतिहरू पठाउनु सक्नु पर्ने हो| आजसम्म गुप्त प्रधानले किन पुरस्कार पाएका छैनन्| गोपीनारायण प्रधानले पाउन सक्दा| एउटा जिज्ञासा के भने डा. नेपाल अनि भण्डारी साहित्यसँग सम्बन्धित व्यक्तिहरू हुन्| तर डा. लामा कसरी जुरीमा आए? किन भने उनी त साहित्यसँग सम्बन्धित होइनन्| उनका कति लेखादि प्रकाशित होलान् तर साहित्यिक कृतिको मूल्याङ्कन गरेर पुरस्कारका लागि प्रस्तुत गर्ने कार्यमा के उनी उपयुक्त व्यक्ति थिए? यस घटनाले साहित्यमा हुने भ्रष्टचारको खुलासा गरेको छ| आजसम्म पाएका कतिपय पुरस्कार कसरी पाएका छन् त्यो सबैलाई थाहा छ| लाजमर्दो कुरो पुरस्कार नपाउनु होइन लाजमर्दो कुरो त पुरस्कार कसरी पायौँ त्यो हो| चर्चित कवि
भूपेन्द्र सुब्बाले पनि जुरीकै निर्णय सही रहेको लेखेका छन्, जुरीके कुरा ठीक लाग्यो| पुरस्कारले पुस्तकको हैन, पुस्तकले पुरस्कारको गरिमा उठाएको होस्| लविङ गरेरै पुरस्कार लुट्न खोज्ने जमातलाई जुरीको यो गतिलो र आँटिलो जवाब हो| जुरीको निर्णयप्रति 'लाइक'गर्नेहरूको भीड पनि गतिलै छ| के देखियो भने अकादमी पुरस्कारको निम्ति चल्ने लविङ र मनोपोली कसैलाई पनि मन परेको छैन| सबैको टिप्पणीले चयनप्रक्रियामा प्रशस्त लविङ र मनोपोली रहेको खुलिएको छ| विवादलाई राम्रो बहसको शुरुवात रहेको मानिएको छ तर यसलाई बहसकै रुपमा लिइने हो होइन, भविष्यले बताउने देखिन्छ|


0 comments: on "फेसबुकमा अकादमी पुरस्कार विवादमाथि व्यापक प्रतिक्रिया"