मुख्य समाचार :


चिया अनि पर्यटन उत्सव आन्दोलनबाट जनताको ध्यान हटाउने चाल-गक्रायुमो




कालेबुङ, 26 दिसम्बर।
चिया बगानहरू बन्द छन्‌। श्रमिकहरू भोकभोकै छन्‌। न त अस्पताल छ न त औषधी। श्रमिकहरूले पाउनु पर्ने सहुलियत नदिएर मालिकपक्षले श्रमिकहरुको शोषण गरिरहेको छ। विश्वमा ब्राण्ड बनिसकेको दार्जीलिङ चिया उमार्ने श्रमिकहरुको अवस्था नाजुक छ। यता सरकारले श्रमिकको हकहितको निम्ति काम नगरेर करोडौं खर्च गरेर गोर्खाहरूलाई नाच्न गाउनको निम्ति उत्सव गरिरहेको छ। यो केही होइन, हो भने छुट्टै राज्यको निम्ति भइरहेको आन्दोलनबाट जनताको ध्यान अर्कोतिर मोड्‌नु मात्र हो- गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा महासचिव अरुण घतानीले आज यसो भने। जुन जनताले बङ्गालबाटको मुक्तिको कुरा गरिरहेको छ, उनीहरूलाई पैसा छरेर सरकारी एजेन्टहरू लगाएर भुल्याउने कार्य गरिरहेको बताउँदै तिनले भने, श्रमिकहरू मरिरहेको बेला के को चिया उत्सव? बाटो घाटो भने घोडा हिड्‌न लायकको पनि छैन, के को पर्यटन उत्सव? सरकारले पर्यटन उत्सवबाट फाइदा हेरेको छ भने केवल राज्यवको निम्ति, श्रमिक र स्थानीय मानिसहरूको निम्ति के गरेको छ? तिनले भने, श्रमिकहरुको रोज जमाना अनुसारको छैन, रोजवृद्धि नगरेर किन करोडौं नाचगानमा खर्च गरिरहेको छ? जुन चिया विश्वमा वेचिन्छ, त्यो उमार्ने श्रमिक नै थला परेका छन्‌ भने उत्सव के को निम्ति? तिनले स्पष्ट पारे वास्तवमा सरकार पहाडमा भइरहेको छुट्टै राज्यको आन्दोलनदेखि असाध्यै डराएको छ। तिनले बताए अनुसार मोर्चालाई किनेर सरकारलाई लागेको थियो कि अब छुट्टै राज्यको मुद्दा सकियो तर अहिले राष्ट्रियस्तरमा छुट्टै राज्यको आन्दोलन अनि जीटीए विरुद्धको आन्दोलन शुरू भएपछि जनताकोे ध्यान आन्दोलनतिर जान्छ भनेर नै करोडौं खर्च गरेर औचित्यहीन उत्सव पहाडमा मनाइरहेको छ। तिनले भने, ममता व्यानर्जीलाई थाहा छ, डुब्दाडुब्दै पनि नेताले आफू डुबेकोमा ताली मार्छ, कम्मर मर्काउँछ। जनतालाई नाचगान भयो भने केही चॉंहिदैन। अहिले छुट्टैराज्यको आन्दोलनकारीहरूलाई लगाम लगाउने सोझै नसक्ने भएपछि नाचगान गरेर आन्दोलनलाई बाधा गर्न मात्र होइन जनताको ध्यान अर्कोतिर मोड्‌न सकिन्छ भन्ने सरकारलाई लागेको छ। तर उत्सव पालन गर्दैमा श्रमिकहरूले आवाज उठाउँदैन भन्ने सोंच गलत हो।


युवा मोर्चाको आन्दोलन नाटक
अर्कोतिर घतानीले मोर्चाको युवा सङ्गठनले गरिरहेको छुट्टै राज्यको आन्दोलन रोक्ने मोर्चालाई दिएको चुनौती हॉंस्यस्पद रहेको बताएका छन्‌। तिनले भने, सबैलाई थाहा छ युवा मोर्चाको आन्दोलन नाटक मात्र हो। अब ममता व्यानर्जीको एकै वाक्यले युवा मोर्चालाई मात्र होइन केन्द्रिय कमिटीको धमासमा नै चाबी लाग्ने छ। वास्तवमा यी सबै चलखेलहरू मात्र हुन्‌। तिनले भने अनुसार जीटीएमा हस्ताक्षर गरेर मुद्दा बेच्नेले आन्दोलन नै गर्न सक्दैन। जीटीए नै गोर्खाल्याण्डको समाधान हो भनेर मोर्चाले केन्द्रलाई बुझाएको कुरा गतल हो भन्न क्रामाकपा र गोर्खाल्याण्ड टास्क फोर्स सक्षम बनिसकेको छ। क्रामाकपा अनि फोर्सले आन्दोलन शुरू गरेपछि ऐठनमा पर्ने डरले मात्र युवा मोर्चालाई लगाएर गोर्खाल्याण्ड भनिरहेको छ। ममता व्यानर्जीको एकै वाक्यले अब युवा मोर्चा थन्को लाग्ने छ। तिनले के पनि भनेका छन्‌ भने अब युवा मोर्चालाई देखाएर क्रामाकपा र फोर्सको आन्दोलन विथोल्ने चाल सरकारले मोर्चाको सहयोग लिएर नै गर्न शुरु गरिरहेको छ। युवा मोर्चाको आन्दोलनलाई रोक्ने वहानामा सरकारले असली आन्दोलनलाई विथोल्ने षयन्त्र गरिरहेको छ। युवा मोर्चाको आन्दोलन यसै कारण नक्कली हो कि आन्दोलन दबाउनमा यसले सरकारलाई सहयोग गर्ने छ।
 


0 comments: on "चिया अनि पर्यटन उत्सव आन्दोलनबाट जनताको ध्यान हटाउने चाल-गक्रायुमो"