मुख्य समाचार :


चिया अनि पर्यटन उत्सव बगानको दुःखमा शहरको नाचगान




मनोज वोगटी
कालेबुङ, 26 दिसम्बर।
कुनै पनि चिया श्रमिकहरू अनि विदेशी पर्यटकहरूको विना संलग्नता  कालेबुङमा चिया अनि पर्यटन उत्सव शुरू भयो। कालेबुङ महकुमामा चारवटा चियाबारी छन्‌। सामसिङ, कुमाई, मिशनहिल अनि सामावियोङ तर यी चारवटामा कुनै पनि चियाबारीका श्रमिकहरूको संलग्नता चिया अनि पर्यटन उत्सवमा थिएन न त विदेशी पर्यटकहरूकै संलग्नता थियो। कालेबुङका स्थानीय मानिसहरूको उपस्थितिमा नै उत्सव त भयो तर स्थानीय मानिसहरूले नौलो कुनै पनि प्रस्तुति देख्न पाएनन्‌। हेलिकप्टरबाट फूल छर्ने कार्यक्रम  हेर्न मात्र मानिसहरूको घुँइचो लागेको थियो। जुन उद्देश्यले उत्सव गरियो त्यसले आखिरमा कसैलाई पनि फाइदा नपुग्ने देखियो। होटलहरूमा केही स्वदेशी पर्यटकहरूले बुकिङ गरेको भए पनि उनीहरूबाट खासै लाभ कालेबुङवासीलाई छैन किन भने उनीहरू सीमित लक्ष्य र केवल मनोरञ्जनको निम्ति आउने भएकोले उनीहरूबाट न त बजार तातिने गरेको छ न त कालेबुङका वाहन चालकहरूले नै पर्यटक घुमाउन पाइरहेका छन्‌। यो उत्सवले चार दिन 12 हजार चालकहरूको रोजीरोटीमा ताला लगाउने छ। तलैबाट वाहन लिएर आउने, तलैबाट खाने कुरा लिएर आउने अनि होटलमा बसेर दृश्यलोकन गरेर मात्र फर्किने पर्यटकहरू मात्र कालेबुङ आउने गरेका छन्‌। किन भने सरकारले अहिलेसम्म कालेबुङको पर्यटन उत्थानको निम्ति कुनै पनि पर्यटनस्थलको विकासको निम्ति खर्च गरेको छैन। खर्च गरेको छ भने नाचगानको निम्ति मात्र। छुट्टै राज्य हुँदैन भनेर घोषणा गर्दा नाचगान गर्नेहरूको निम्ति पर्यटन उत्सव पनि नाचगानको गतिलो मञ्च बनेको देखिएको छ। कालेबुङमा पर्यटनस्थलहरू डेलो, दूर्विन, टिस्टा, कफेर, लाभा, रेली प्रमुख रहेको छ तर यी सबै आफैआफमा पर्यटनस्थलकोरुपमा स्थापित छन्‌। कफेर धेरै राम्रो पर्यटनस्थल रहेको छ तर यहॉं जॉंदा पर्यटकहरूले वान्ता नगरी हुँदैन। न त बाटो राम्रो छ न त पर्यटनीय व्यवस्थापन नै छ। वास्तवमा कालेबुङको प्राकृतिक स्थलहरूले नै पर्यटन तान्ने गरेको छ। कालेबुङमा भएको उत्सवले पर्यटकहरू तान्ने होइन स्थानीयहरूको रोजी रोटी नै सुकाउने मेलो गरेको नाम बताउन नचाहने एक वाहन चालकले बताएका छन्‌। चारदिनको कमाई वाहन चालकहरूले गुमाउन परिरहेको छ किन भने उत्सवसित वाहन चालकहरूको फाइदाको कुरा केही जोडिएको छैन। बरु उनीहरूको चलिरहेको काम पनि उत्सवले रोकिरहेको छ। 'भन्नु भएको छैन, पोलिटिकल कुरो भइहाल्छ'-एक चालकले भने।  मुख्यगरी लोकल खेप्ने चालकहरू, उनीहरूको रोजीरोटीमा नै उत्सवले धक्का दिइरहेको छ। 'खै सबै रमिता हेर्छन्‌, यस्तोमा बिक्रि बट्टा नै ठप्प हुन्छ, हामीलाई के को उत्सव?'-एक पसलेले पनि यसो भनेका छन्‌। महकुमा अधिकारी एलएन शेर्पाले भने, जनताले सहयोग गरे, कालेबुङलाई पर्यटनस्थल बनाउन सकिन्छ। तिनले यसरी भनिरहेका थिए कि पर्यटनस्थल बनाउन कालेबुङवासीले बाधा गरिरहेको छ। केवल पर्यटन उत्सव मनाउँदैमा कालेबुङ पर्यटनको केन्द्र बन्न सक्दैन भन्ने कुरा बुझ्न नसकेका सरकारी अधिकारीहरूले सरकारको आदेशलाई मात्र पालन गर्दै उत्सवको औपचारिकता पालन गरिरहेको सबैको आँखा साम्मुने रहेको छ। 'नाचगानमा खर्च गर्नु भन्दा कफेर जाने बाटो बनाउनु नी, त्यसले पर्यटकहरूलाई फाइदा हुन्छ' कफेरबाट उत्सव हेर्न आएका एक व्यक्तिले भने। तिनलाई पनि नाचगान गर्नुलाई उत्सव भनिन्छ भन्ने कुरा पचेको रहेनछ। उत्सव भनेको चिया श्रमिकहरूको हितमा कम्पनीले सहुलियतहरू प्रदान गरेर उन्नत चियाको उद्योग बढाउनुमा श्रमिकहरूलाई प्रोत्साहित गर्नु हुने लागेको रहेछ। तिनले भने, 'बोल्यो कि भिक्टिमाइज भइहालिन्छ, नाम चॉंही नछापिदिनु होला नी।' पर्यटनस्थलको विकास चॉंही नगर्ने अनि चियावगानमा श्रमिकहरुलाई भने लाखौं दुःख रहेको अवस्थामा शहरमा उत्सव मनाउनु पनि राम्रो नलागेको मिशनहिलका एक श्रमिकले बताए। तिनले भने, उत्सव मनाउनेहरू आएर श्रमिकको घर परिवार हेरोस्‌, मञ्चमा ठूल्ठूलो कुरा गर्नेहरूले श्रमिकहरू नै देखेका छैनन्‌, यसैकारण पालन गर्छन्‌ उनीहरू उत्सव।श्रमिकको दुःखमा खुशी मनाउनेहरूलाई भन्नु केही छैन। यो उत्सव चिया श्रमिकहरुको खिल्ली उडाइएको हो। चिया श्रमिकहरुको हितमा कार्य गर्दै आइरहेका जनम राई कमानेले नामै लेखिदिने शर्तमा भने, जहॉं मर्दको सुत्केरी भत्ता काटिन्छ, त्यहॉं उत्सव? शहर बजारेले देखेको छ चियाको बोट र उनीहरूले मनाउँछ उत्सव? यो उत्सव केवल मालिकहरूलाई नाफा दिने अनि श्रमिकहरूलाई शोषण गर्नेहरूको चलखेल मात्र हो। आज उत्सव त भयो तर यो उत्सव कसको निम्ति हो? भन्ने प्रश्न उठाएर नै शुरू भयो। किन भने नाचगान बाहेक उत्सवमा नयॉं केही थिएन। के नाचगान नै उत्सव हो? त्यो नाचगान जसलाई हेर्ने न त पर्यटक थिए न त श्रमिकहरू।
 


0 comments: on "चिया अनि पर्यटन उत्सव बगानको दुःखमा शहरको नाचगान"