मुख्य समाचार :


जीटीए छुट्टै राज्यको मार्गमा बाधा हो-क्रामाकपा

कालेबुङ, 14 दिसम्बर।
छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा दबाउन गोर्खा जनमुक्ति मोर्चाले गोर्खाहरूको छुट्टै राज्यको समस्याको समाधानको रुपमा जीटीएमा हस्ताक्षर गरेको छ। यो विकास एजेन्सी मात्र थियो भने हाम्रो विरोध हुनेथिएन तर ममता व्यानर्जीले 'बङ्गभङ्ग' होबेना भन्नु र विमल गुरूङसहित तिनका समर्थकहरू नाच्दै त्यसको समर्थन गर्नुको रहस्य अहिले खोलिँदै गइरहेको छ। ममता व्यानर्जीले सम्झौताको बेला 'बङ्गभङ्ग होबेना'  भन्नु अब गोर्खाहरूको समस्याको समाधान जीटीएले नै समधान गरेको सन्देश दिनु अनि त्यसमा गोर्खाल्याण्ड आन्दोलनकारीको समर्थन रहेको देखाउनु रहेको आज बुझिँदैछ- डम्बरचोकमा उभिएर धेरै समयपछि क्रामाकपाका युवा सङ्गठन गक्रायुमोका महासचिव अरुण घतानीले आज यसो भने। क्रामाकपाको 16 औं स्थापना दिवसलाई नाचगान र बनभोजको रुपमा नमनाएर क्रामाकपाले पथसभाकोरुपमा मनायो। स्थापना दिवसलाई छेक पारेर क्रामाकपाले जीटीए कसरी छुट्टै राज्यको मार्गमा अवरोध हो अनि जनताको छुट्टै राज्यको मुद्दामाथि कसरी गोर्खा जनमुक्ति मोर्चाले सौदाबाजी गरेको छ भन्ने कुराको खुलासा गर्‍यो। ममता व्यानर्जीले स्वीट्‌जरल्याण्ड देखाएर गोर्खाल्याण्डको मुद्दा दबाएको अनि ममता व्यानर्जीको स्वीट्‌जरल्याण्डको सपना साकार पार्न मोर्चाले विकास एजेन्सी हातमा लिएको बताउँदै अरुण घतानीले भने, कुरा विकास एजेन्सीसम्मको रहेको भए भन्नु थिएन, तर कुरा मुद्दा दबाउनु रहेकोले क्रामाकपाले जीटीएको विरोध गरिरहेको हो। तिनको भनाइ अनुसार केन्द्रलाई जीटीए देखाएर छुट्टै राज्यको समस्या समाधान भएको प्रचार राज्यले अनि मोर्चाले पनि गरिसकेको छ। यो कुरा गोर्खाल्याण्ड टास्क फोर्सले बौद्धिक कार्यक्रम गर्दै केन्द्रिय नेताहरूलाई दिल्लीमा भेट्‌नेक्रममा पत्तो पाइएको हो। किन भने जति पनि केन्द्रिय नेताहरूसित गोर्खाल्याण्ड टास्क फोर्सका प्रतिनिधिहरूले भेटे सबैले 'तपाईँहरूको छुट्टै राज्यको समस्याको त समाधान भइसक्यो त, फेरि के कुरा गर्न आउनु भो?' भनेर जीटीएलाई देखाएको टास्क फोर्सले बारम्बार अहिले बताइरहेको छ। घतानीले पिन्टेल भिलेजमा ममता व्यानर्जीले 'बङ्गभङ्ग होबेना, तापईँहरू जीटीएमा खुशी हुनुहुन्छ?' भनेर सोध्नु अनि मोर्चा समर्थनमा नाच्नुले नै छुट्टै राज्यको मुद्दासित मोर्चाले सौदाबाजी गरेको स्पष्ट पारेको आज बुझिएको कुरामा जोड दिए। किन मोर्चाका विधायकहरू सरकारी बेञ्चमा बसेका हुन्‌, किन गोर्खाल्याण्डको मुद्दा देखाएर जनतालाई झुक्काउँदै उनीहरूले चुनाउ जिते, किन नगरपालिका चुनाउमा उनीहरू मरिमेटिरहेका छन्‌, किन भुइँचालोमा पैसा आएन भनेर बिच्किए, किन जीटीए गठन गर्नको निम्ति अनेकौं जालझेल गरिहेको छ भन्ने कुरा पनि अहिले छर्लङ्ग भएको अनि मोर्चाले मुद्दासित सौदाबाजी गरेर गोरामुमोको अवतारमा आफूलाई स्थापित गरेको घतानीले बताए। तिनले प्रश्न उठाए, आखिर मोर्चालाई के बाध्यता छ? के दागोपापको पैसामा गरिएको भ्रष्टचारबाट बॉंच्न मोर्चाले मुद्दा बेचेर जीटीए थाप्नु परेको हो? मदन तामङको हत्याको मुद्दाबाट बॉंच्न जीटीए थापिएको हो? जब कि जनताले बिसाउनी मागेको छैन, मोर्चाले भने बिसाउनी भनेर किन जीटीए जबरजस्ती थापिरहेको छ? जनताले अब सत्य र असत्यलाई छुट्याउनुपर्छ। मोर्चाको युवा सङ्गठनले गरिरहेको आन्दोलन देखावटी र जनतामा भ्रम उत्पन्न गर्ने चलखेल मात्र बताउँदै घतानीले भने, सॉंच्ची नै छुट्टै राज्यको आन्दोलन युवा मोर्चाले गर्ने थियो भने पिन्टेल भिलेजमा ममता व्यानर्जीले बङ्गभङ्ग होबेना भन्दा विद्रोह गर्न सक्नु पर्थ्यो। माउ सङ्गठन जीटीए भन्दैछ, छोरा सङ्गठन छुट्टै राज्य भन्दैछ, अब युवा मोर्चाले पनि जनतालाई ढॉंट्‌नु हुँदैन। युवाशक्तिबाट विश्वास उठ्‌नु राम्रो हुँदैन। घतानीले विधायक डा.हर्कबहादुर छेत्रीलाई उल्लेख गर्दै डा. छेत्रीले आफैले घिसिङका विरोधमा लेखेका लेखहरू पढ्‌नुपर्ने बताउँदै छेत्री अहिले तानाशाहको भाषा बोल्न थालेको बताए। मोर्चाको युवा इकार्ईले मदन तामङ काण्डमा आरबी राईको फोन ट्यापिङ सार्वजनिक हुनुपर्ने भनेर दिएको बयानको उत्तर दिँदै स्पष्ट पारे, आरबी राईले मोबाइल फोन बोक्दैनन्‌। अहिले जनताले मदन तामङ मार्नेहरू त घुमिरहेका छन्‌, आम मान्छे मारेको त कुक्कुर मरेको जस्तो पनि हुँदैन भनिरहेका छन्‌। यो हो मोर्चाको गणतन्त्र। हत्या र हिंसाको राजनीति गरेर जनतालाई आतङि्‌कत गर्दै मोर्चाले मदन तामङ हत्याबाट बॉंच्न नै जीटीए थापेको पनि बताए। आवश्यकतामा क्रामाकपा नै काम लागेको अनि पछि पैसा पाउन थालेपछि मुद्दा र मित्रतालाई धोका दिएको पनि तिनले बताए। सन्तोष प्रधानले जनताले युवा मोर्चा र गक्रायुमोका कार्यक्रमहरूलाई तुलना गरेर हेर्नुपर्ने बताउँदै जीटीएको निम्ति चाप सृष्टि गर्न युवा मोर्चाले छुट्टै राज्य भनिरहेको अनि क्रामाकपाले भने दिल्लीमा छुट्टै राज्यको निम्ति धर्ना दिने कार्यक्रम तयार गरिरहेको बताए। मोर्चा बहुलाएको कुक्कर झैं, छुट्टै राज्य भन्नेहरूसित झम्टिन थालेको भए पनि क्रामाकपाले यसलाई स्वभाविक लिएको तिनले बताए। सुदन प्रधानले युवावर्गले झुटको राजनीतिलाई पश्रय दिनु नहुने बताउँदै पत्यारिलो आन्दोलन गर्नुपर्ने बताए। तिनले मोर्चामा नै बसेर छुट्टै राज्य भन्दा कसैले पत्याउने कुरा नआउने पनि बताए। छुट्टै राज्यको निम्ति कार्यक्रम गर्नेहरूलाई विथोल्न अनि जनतालाई भ्रममा राख्न नै युवा मोर्चाको आन्दोलन भइरहेको भए पनि केहीदिनमा नै सॉंचो र झुटो कुरा छुट्टिने पनि बताए। मोहन पौड्यालले क्रामाकपाको झण्डा धामी झॉंक्री लगाएर नबनाएको तर श्रमिकको खुनबाट बनिएको बताए भने किशोर प्रधानले गोजमुमोलाई गोरामुमाकोे अवतार बताए। अरुलाई विकास गर्न जीटीए चाहिएन, दार्जीलिङलाई मात्र किन चाहियो? तिनले प्रश्न उठाउँदै जनताले सही निर्णय र समर्थन गर्नुपर्ने बेला भएको बताए।
 


0 comments: on "जीटीए छुट्टै राज्यको मार्गमा बाधा हो-क्रामाकपा"