मुख्य समाचार :


जनताले नभनी आन्दोलन गर्दिन-छत्र सुब्बा


मनोज वोगटी
कालेबुङ, 14 दिसम्बर।
छत्र सुब्बाले तिनीमाथि गरिएका सम्पूर्ण अनुमानहरूको अन्त्य गरिदिएका छन्‌। छत्र सुब्बाले कुनै पार्टी खोल्न त परैको कुरा आन्दोलन नै नगर्ने भएका छन्‌। तिनले आन्दोलन नगर्नुको खास कारण भने जनता रहेको छ। तिनको भनाइ अनुसार अहिले जनताले पैसाको आन्दोलन गरिरहेको छ। तिनले भने, धेरै आए, आन्दोलन गरौं भन्न तर आन्दोलन हात र मुखले मात्र गरिन्न। सबैभन्दा ठूलो कुरा आन्दोलन जब जनताले भन्छ तब गर्नुपर्छ। तीन महिनादेखि म हेरिरहेको छु जनता पैसाको पछि लागेका छन्‌। मैले कुन जनताको निम्ति आन्दोलन गर्नु? छत्र सुब्बाले नयॉं पार्टी खोल्ने हल्ला अहिले व्यापक छ। तिनलाई विमल गुरूङको विकल्पकोरुपमा पनि धेरैले व्याख्या गरेका छन्‌ तर यथार्थमा भने छत्र सुब्बा आन्दोलन गर्ने पक्षमा छैनन्‌। बोल्न नमान्दा नमान्दै पनि छत्र सुब्बाले भने, जनताको आकांक्षा पुरा भएन भने आन्दोलन त हुनैपर्छ। तर आन्दोलन भनेको खेलाइँचीको कुरा होइन। आन्दोलन नेताले गर्दैन। जनताले नेतृत्व तयार पार्नुपर्छ। आन्दोलन गर्नसक्नेलाई जनताले आन्दोलन गर्न लगाउनुपर्छ। नेतृत्वको नियम बुझ्नुपर्छ। पैसा देख्ने वित्तिकै मुद्दा बिर्सनेहरूलाई जनताले साथ धिइसकेको छ। अब जनता आफै आन्दोलनको निम्ति तयार हुनुपर्छ।  जनता नै नेताले फ्यॉंकेको पैसाको चारोमा पर्छ भने त्यस्ता जनताको निम्ति आन्दोलन हुँदैन। म पैसाको निम्ति आन्दोलन गर्दिन। तिनले अझ भने, रुपियॉंमा भुलिने आन्दोलन गर्नु हुँदैन। अहिले रुपियॉंमा भुलिने र जनतालाई भुलाउने आन्दोलन भइरहेको छ। जनता सावधान रहनुपर्छ। आन्दोलनको निम्ति पैसा चाहिन्छ, म्यान पावर चाहिन्छ, सिद्धान्त, कार्यनीति र बौद्धिकता चाहिन्छ। त्यो जनताले तयार गर्नुपर्छ, सरकारले होइन। दागोपाप र जीटीएले पनि होइन। जनतालाई पार्टी र नेताले पैसाको निम्ति तयार गर्नु हुँदैन। यसो गर्नु भूल हुन्छ। उसो भए तपाईँ आन्दोलन गर्नु हुन्न त? पत्रकारहरूले सोधेको यो प्रश्नको उत्तरमा तिनले भने, मैले आन्दोलन गर्नुपर्छ भने जनताले भन्नुपर्छ। जनता नै पैसा छोडेर छुट्टै राज्यको निम्ति आउनुपर्छ। व्यक्ति-व्यक्ति, घर-घर, गाउँ-गाउँ, शहर-शहर, टोल टोल एकत्रित भएर एउटै विषयमा जोडिनुपर्छ। जनताले नै नभनी कसरी आन्दोलन गर्नु? मैले आन्दोलन गर्दा कसलाई छुट्टै राज्य चाहिएको छ भनेर देखाउनु? जुन जनतालाई देखाउनुपर्छ, उनीहरू नै पैसामा झुत्तिएका छन्‌। जनता पैसाको निम्ति नाच्छ। तर जनतालाई छुट्टै राज्य चाहिन्छ र उनीहरू मिलेर अघि आए निश्चय नै आन्दोलन गर्नेछु। पैसा मलाई एलर्जी लाग्छ। पैसाको राजनीति गर्ने भए म 11 वर्ष बस्ने थिइन। अर्कोतिर तिनलाई युवा मोर्चाको आन्दोलनबारे प्रश्न गर्दा भने, युवा मोर्चा भनेको अलग्गै पार्टी हो? भनेर उल्टै पत्रकारहरूसित तिनले प्रश्न गरे। होइन भने कसरी पत्याउने? जनता जानुन्‌, तिनले थपे। एकातिर आन्दोलन आफै नगर्ने अनि जनताले चाहेमा निश्चय नै आन्दोलनमा उत्रनै बताउँदै अहिलेसम्मको आन्दोलनमा अघिल्लोतिर जोडिएको गोर्खा शब्दको कारण उपलब्धी हासिल नभएको हो कि भन्ने कुरामा भने बहस हुनुपर्ने तिनले बताए। तिनले भने, आन्दोलनको धार पनि परिवर्तन गर्नुपर्छ। पारम्परिक आन्दोलनले केही हुँदैन। गोर्खा शब्दले अडचन हुँदैछ भन्ने अनुभव भएमा छुट्टै राज्य भनेर आन्दोलन गर्न सकिन्छ। छुट्टै राज्य भने बङ्गालबाट छुट्टिएर हुनुपर्छ। बङ्गालबाट छुट्टिएको राज्यको नाम पछि तय गर्दा हुन्छ।
 


0 comments: on "जनताले नभनी आन्दोलन गर्दिन-छत्र सुब्बा"