मुख्य समाचार :


प्रेम साहित्यसँग, बिहे इतिहाससँग

राजकुमार बानियाँ

ए कुमार, साहित्यमा यस्तो शोख हुनेले इतिहास किन पढेको त?'
'फर्स्ट लभ कहाँ सफल हुन्छ र दाइ! प्रेम साहित्यसँग, बिहे इतिहाससँग।'
मनिसासित कुमार प्रधान
नेपाली साहित्यकै स्टाइलिस लेखक शंकर लामिछाने र कुमार प्रधानबीचको दोहोरी हो, सन् १९६४ को। यतिमै खुलेको छ, कुमारको सम्पूर्ण परिचय। साहित्य र इतिहासमा उत्तिकै गहकिलो काम गरेका लेखक।प्रत्येक पटक काठमाडौं आउँदा कुमार उनै लामिछानेको महान मित्रता सम्झन्छन्। सिलगुढीमा पनि 'मिस' गरिरहने लेखक उनै हुन्छन्। खासमा लामिछानेसँग कुमारको चिनजान पत्नीहरूका माध्यमबाट भएको रहेछ।
'मेरी पत्नी पूर्णिमाकी सहपाठी हुन्, लामिछानेकी रत्ना,' उनी भन्छन्, 'दार्जिलिङ, शंकरधामको मेरो निवासमा रत्ना, दीपशिखासहित शंकर जानुहुन्थ्यो, म यहाँ आउँदा उहाँकहाँ जान्थेँ।'

लामिछानेसँग साहित्य, कला, संगीत, इतिहासका कुइनेटाबारे घन्टौं संवाद हुन्थ्यो उनको। ती क्षण उनलाई अहिले पनि बौद्धिक उपलब्धि लाग्छन्। 'शंकरदाइ बित्दा ठुल्दाजु गएजस्तो भयो,' उनी भन्छन्, 'उहाँको ठूलो कृति हेर्न पाइएन।'
कुमारको दुःखमनाउ ठिकै हो। सायद 'ठूलो कृति' भनेर उनले उपन्यासतिरै संकेत गरेका हुन्। पारिजातको 'शिरीषको फूल' लाई जापानी संस्करण भन्दै उनले उपन्यास नलेख्ने घोषणा मृत्युअगावै गरेका हुन्।
कुनै बेला दार्जिलिङको साहित्यिक-बौद्धिक केन्द्रका 'त्रिमूर्ति' मानिन्छन्, इन्द्रबहादुर राई, राजनारायण प्रधान र कुमार प्रधान। त्रिमूर्तिकरण खासमा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) कै नक्कल हो। त्यतिन्जेल विश्वसाहित्यमा टिएस इलियट, किर्केगार्ड र सार्त्रको त्रिमूर्तिकरण नै नयाँ थिएन।
नर्थ प्वाइन्टमा अंग्रेजीका प्राध्यापक राई, नर्थ प्वाइन्टकै कमर्सको हेड प्राध्यापक राजनारायण र खर्स्याङको गभर्मेन्ट कलेजका इतिहासका प्राध्यापक कुमारको दौंतरी अद्भूतै लाग्छ। राई, कुमार, राजनारायण, ईश्वरबल्लभ, अगमसिंह गिरी, जगत क्षेत्री आदि समेटिएको नेपाली साहित्य परिषद एउटा स्तम्भकै रूपमा रह्यो।
'राई डेमोक्रेट हुन् राजनारायण कम्युनिस्ट, कुमार दुवै जस्ता लाग्छन्,' प्रसिद्ध लेखक पुष्कर लोहनीको टिप्पणी छ, 'यीमध्ये म कुमार प्रधानको सरल तर बौद्धिक व्यक्तित्वबाट प्रभावित छु।' लोहनीका शब्दमा कुमारले जति मिहिनेत गरी लेखेका समालोचना नेपाली साहित्यमै छैन।

विश्वका बौद्धिक क्रान्तिसँग परिचित कुमार नवीन चेतनाका वाहक हुन्। तर, उनी कहिल्यै प्रचार र गुटतिर लागेनन्। दार्जिलिङ-सिलगुढीमै बसेर निरन्तर साधना मात्र गरे।
मैले कुमार प्रधानको भव्यता भर्खरै चाल पाएको हुँ। पुसतिर एउटा पुरस्कार थाप्न काठमाडौं आएका रहेछन्। 'गरिमा' पत्रिकाका प्रधानसम्पादक अविनाश श्रेष्ठको कोठामा चिनजान भयो। अन्तर्वार्ताभन्दा पनि सामान्य भलाकुसारी गरेँ।
काठमाडौंका अखबारमा कुमार र उनका पुरस्कारबारे खासै चर्चा भएन। हिजोआज नक्कलीहरूकै चर्चा थामिनसक्नु छ। नेपाली वाङ्मयकै दीर्घ साधकलाई 'घाटा सम्मान' गर्न कोही तयार भएन। त्यसो त प्रधान आफैं स्वनामधन्य पत्रकार हुन्। त्यसैले पनि उनमा प्रचारमोह सकुशल छैन।

'पहिलो पहर', 'गोर्खा कन्क्वेस्ट्स', 'अधीति केही', 'हिस्ट्री अफ नेपाली लिटरेचर' आदि इतिहास र समालोचनाका प्रख्यात पुस्तकका लेखक कुमार प्रधान खर्स्याङ कलेजका पूर्व प्रिन्सिपल हुन्। भारतमा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने अभियन्ता पनि।
'सन् १९९२ को भाषिक मान्यतापछि झल्यास्स भयौं- हामीसँग त नेपाली भाषाको दैनिक अखबारै रहेनछ,' सिलगुढीको अखबार हिमालय दर्पणका प्रधान सम्पादक भन्छन्, 'त्यसैले सुनचरी दैनिकको प्रकाशन थाल्यौं। केही वर्ष चलेर बन्द भयो।'
दार्जिलिङमा रहेर मालिंगो, वार्तादेखि अनेक नामका साहित्यिक प्रकाशन/सम्पादन गरेका कुमारलाई लाग्छ- लेखकहरूले अनावश्यक पाण्डित्य देखाउन थालेपछि पाठक कम भएका हुन्। जनजिब्रोको भाषामा लेखिएको भए पाठक घट्ने थिएनन्।
'दार्जिलिङको इतिहास खोतल्ने क्रममा थाहा पाएँ- बुद्धचरित्र र अटलबहादुर उहिल्यै मञ्चन भएको रहेछ,' उनी भन्छन्, 'अहिले पनि सोफिस्टिकेटेड साहित्यको वर्चस्व छ।'

७५ वर्षको उमेरमा पनि कुमार प्रधान जगल्टे जोशमै छन्। कुनै न कुनै पुस्तकका केस्राकेस्रा केलाएकै हुन्छन्। यस्तरी पढ्छन्, दाग नलागेको पानै हुँदैन। उनलाई कसैले 'आउटडेटेड' भन्न सक्दैन, 'अपडेटेड' भन्न कर लाग्छ।
पछिल्लो साहित्यिक चहलपहल उनलाई थाहा छ। कुमारको खोजी छ- विश्व साहित्यमा देखाउन मिल्ने कथा, कविता, उपन्यास कति छन्? बरु उनलाई 'उत्तर आधुनिक' भनिने साहित्यले बिझाइरहेको छ।

'यहाँका केही समालोचक लेखकहरूलाई उत्तर आधुनिक भनेर फुर्क्याउँदा रहेछन्,' उनी भन्छन्, 'उत्तर आधुनिक भनेको समकालीन होइन। पश्चिमाहरू उत्तर आधुनिक भइरहँदा हामी आधुनिक हुन सकेका थियौं कि थिएनौं?'
कसैको परिभाषा अरूसँग मिल्दैन। 'युरोपमा जस्तो विद्रोह, युद्ध, रोमान्स हामीले बेहोरेकै छैनौं,' उनी भन्छन्, 'त्यसको सामाजिक, सांस्कृतिक, राजनीतिक तत्व र पृष्ठभूमि नै फरक छ। अनि हामीले किन उत्तर आधुनिक जपिरहनु?'
उनलाई एउटै कुरामा खेद छ- नेपालीले आफ्नै माटोको साहित्य र काव्य सिद्धान्त जन्माउन सकेनन्। 'नेपाली कविता भनेपछि अरूभन्दा केही न केही फरक त अवश्य छ,' उनी भन्छन्, 'उत्तर आधुनिकवालाले भनेका कुरा त हाम्रो वेदान्तले पहिल्यै भनिसकेको छ।'
दार्जिलिङ, सिलगुढीतिर नेपाली पुस्तक हत्पति पाइन्न। साझा प्रकाशनको शाखा पनि बन्द भयो। दार्जिलिङले आज जे सोच्छ, भोलि नेपालले त्यही सोच्छ- यो भनाइ भने अहिले असान्दर्भिक भइसकेको रहेछ। 'दार्जिलिङमा बडो दुःखलाग्दो अवस्था छ,' उनी भन्छन्, 'पुस्तकहरू ५-६ पानाभन्दा बढी छिचोल्नै सकिन्न। साहित्य त खबरकागजका रिपोतार्ज या एनालाइसिसजस्तो भयो।'

नेपाली साहित्यका हल्लाहरूले उनलाई सताइरहन्छ। एकताका यहाँ धुस्वाँ साय्मिको हाइहाई भयो। उनले खोजीखोजी धुस्वाँलाई पढे। उनले अझै बुझेका छैनन्- मान्छेहरूले किन विशेष भनेका हुन्?
पछिल्लो समय चर्चामा रहेका 'पल्पसा क्याफे', 'फूलको आतंक', 'आधुनिक भारतीय कथा पनि पढे' उनले। 'मदन पुरस्कारको छाप हानेको किताब पल्पसा क्याफे पढ्दा मज्जा आउँछ,' उनी भन्छन्, 'पत्रकारी शैलीका पुस्तक पढ्न सजिलो हुन्छ तर त्यसको साहित्यिक प्रभाव भने मननीय विषय हो।'

कुमार प्रधानले महŒवपूर्ण प्रश्न उठाएका छन्। कृतिको लोकप्रिय या मनोरञ्जक पक्ष आफ्नो ठाउँमा छ। त्यसले साहित्यको कुन कुनालाई सजाउन सक्यो या कुन पक्षलाई उठाउन सक्यो भन्नेबारे सबै बेखबर छन्।
'म त शिक्षक हुँ, अलिकति निर्मम पनि हुनुपर्छ,' उनी भन्छन्, 'नेपालीमा एमए गर्दैमा विद्वान भइँदैन। हाम्रा समालोचना बायोडाटा जस्ता छन्। नाम, पुस्तक, प्रकाशन, पुरस्कार आदि विवरण मात्र समेटिएका हुन्छन्।'
इन्द्रबहादुर राईको साहित्यिक उचाइबारे केही नलेखिएकामा पनि उनलाई अचम्म लाग्छ। 'दार्जिलिङका सन्दर्भमा त्यतिका पढ्ने र लेख्ने कोही छैन,' उनी भन्छन्, 'हाम्रो त दाजुभाइको जस्तो सम्बन्ध भयो, दाजुका भुल मैले कसरी औंल्याउँने, आँखा चिम्लनुपर्छ कहिलेकाहीँ।'

लेखक मोहन ठकुुरीले प्रधानले प्रधानलाई एउटा आदर्श मानेका छन्। 'सन्त रोबर्ट्स स्कुलमा उहाँलाई देखेपछि मैले सोचेको थिएँ- पछि गएर उहाँजस्तै शिक्षक हुन्छु,' उनी भन्छन्, 'म न उहाँजस्तो शिक्षक भएँ, न त उहाँजस्तो लेखक, उहाँजस्तो हुन एक जुनीले नपुग्ने रहेछ।'
हँसिला प्रधान अलराउन्डर छन्। 'दार्जिलिङ, सिक्किम, कालिम्पोङ, असम, मेघालय, मणिपुरमा साझा व्यक्तित्व छ उनको,' अविनाश भन्छन्, 'भारतीय नेपालीमा कुमार प्रधानभन्दा माथिल्ला जीवित साहित्य सिद्धान्तकार, समालोचक, चिन्तक अरू छैन।'

कुमारकै अगुवाइमा भर्खरै 'नेपाली लेखन शैली' आएको छ। यस्तो शैली पुस्तक हाम्रा नेपाल प्रज्ञाप्रतिष्ठान र साझा प्रकाशनले निकालेका छैनन्। उनका विचारमा शब्दहरू नगद सम्पत्ति हुन्। यिनको सम्मान गर्नैपर्छ।
सिर्जना शर्माजस्ता चेलीहरू त उनलाई 'लिभिङ डिक्सनेरी' नै मान्छन्। शब्दको व्युत्पत्तिमाथि उनले आधिकारिक खोजी गरेका छन्। 'हामी बिजुली बाल्छौं तर आकाशमा चम्कने बिजुली वर्णन गर्दा हाम्रा कविहरू किन नेवारी पल्पसा नलेखून्?'
'पहिलो पहर' (१९८४) कुमार प्रधानको आद्योपान्त पठनीय पुस्तक हो। खासमा दार्जिलिङको नेपाली जातिको ऐतिहासिक पक्षबारे उनले निर्भीक र मौलिक दृष्टिकोण राखेका छन्। जातीयताको सशक्त आधार भाषा हो भन्ने उनको ठम्याइ छ। उनले भनेका छन्, 'जातीयताको घडेरी साझा भाषा नै हो।'

पादरी गंगाप्रसाद प्रधानको योगदानको नालीबेली उतारेका छन् उनले। गोरखापत्रकै हाराहारीमा 'गोर्खे खबरकागत' निकालेर नेपाली पत्रकारिता थाल्ने प्रधानले जातजाति र धर्मलाई उछिनेर नेपाली भाषाको जगेर्ना गराएको उनले खुलस्त लेखेका छन्। पुस्तकमा पारसमणि प्रधानका १५ प्रश्नमा कुमार प्रधानको जवाफ चोटिलो छ।
पारसमणिसँग उनको विमति यसमा छर्लंग हुन्छ। नेपाली साहित्य सम्मेलनको टाइपराइटर घरमा लगेको प्रसंग पनि रमाइलो छ।
'अधीति केही' मा कुमारले भानुभक्त आचार्य, बालकृष्ण सम, देवकोटा, अगमसिंह गिरी, इलियट, सार्त्रबारे खोतलेका छन्। 'मलाई लाग्छ- स्वस्थ विवाद जति भए पनि फरक पर्दैन,' उनी भन्छन्, 'नयाँ कुरा बुझ्नलाई ती सहयोगी हुन्छन्।'

समको नाटकमा ग्रिक र सेक्सपियर ट्रेजेडीको विमर्श गरेका छन् उनले। 'समका अन्धवेग र मुटुका व्यथामा सेक्सपियरका समकालीन थोमस हेउडका अ वुमन किल्ड विद काइन्डनेस र द इङ्लिस ट्राभलरको प्रभाव छ,' उनले लेखेका छन्, 'अन्धवेगमा गरुणध्वज र फ्य्राङकफोर्ड दुवैको गृहस्थीले आगन्तुकबाट धोका पाएका छन्।'
समबारे उनको समालोचकीय मत सन्तुलित छ। समले नेपाली नाटकको खुट्टा नयाँ बाटोमा लगाइदिएका छन्। उनमा इडिपस र सेक्सपियरको भव्यता छैन। इब्सेन र बनार्ड सको नेपाली संस्करण पनि होइन।
कुमारको 'द गोर्खा कन्क्वेस्ट्स' पनि जातीय इतिहास नै हो। खासमा यो उनको विद्यावारिधि शोध हो। कुमार कोलकाता विश्वविद्यालयबाट विद्यावारिधि लिने आफ्नो भेगकै पहिलो रहेछन्। यसलाई अक्सफोर्ड युनिभर्सिटी प्रेसले सन् १९९१ मा मुद्रण गरेको छ। योसहित पहिलो पहर हालै नेपालबाटै पुनर्मुद्रण भएको छ।

कुमार प्रधानसँगको चिनारीपछि मैले 'मालिंगो' पढेँ, पुष्कर लोहनीको संग्रहमा। जम्मा ६ अंक मुद्रित भएको विशिष्ट पत्रिका। पहिलो संकलन (१९६४ जुलाई) मा सुन्तले रंगको पृष्ठभूमिमा मालिंगोको चित्र बुनेका छन्, भोटु प्रधानले। सम्पादक- कुमार प्रधान, प्रकाशक- राजनारायण प्रधान, व्यवस्थापक-जगन्नाथ शर्मा।
खासमा 'मालिंगो' नेपाली साहित्य परिषदको मुखपत्र हो। विश्व साहित्यको लहर अनि नेपाली साहित्यको स्तर दुवैको तस्बिर यसले दिन्छ। सम्पादकीय पृष्ठमा कुमार प्रधानका हरफले अहिले पनि उत्तिकै स्पर्श गरिरहन्छन्। 'ज्ञानको परिपूर्तिका निम्ति केवल स्वदेशको साहित्य होइन, प्रचुर परिमाणमा विदेशी साहित्यको अध्ययन हामीले गर्नैपर्छ। पुरातनकै अनुकरणले साहित्यको अपमृत्यु हुन्छ।'

अर्को अंकमा उनले समालोचकमाथि टिप्पणी गरेका छन्। 'पाठकलाई योग्य बनाउने काम हो, समालोचकको।...योग्य समालोचकको अभाव छ नेपालमा।...आफैंले आफैंलाई विज्ञ घोषणा गरेर कवि र स्रष्टामाथि न्यायाधीशजस्तो विचार गर्न बस्ने अनि कथित अध्ययन र मननदेखि टाढा बस्नेले हाम्रो साहित्यका समृद्धि लुट्न सक्छन्।'
कविका बारेमा पनि कुमारका सम्पादकीय धारणा अझै सामयिक छन्। 'मान्छे र उसको वातावरणमा आएका परिवर्तन सिस्मोग्राफले जस्तै रेकर्ड गर्ने नयाँ कवि एकान्त र एक्लो बन्छ, आफ्नो कलामा संसारलाई र यसका मान्यतालाई पुनराविष्कार गर्ने प्रक्रियामा।' (मालिंगो अंक ६,
नोभेम्बर, १९६७)

0 comments: on "प्रेम साहित्यसँग, बिहे इतिहाससँग"