मुख्य समाचार :


मेरो टोपी गोर्खाहरूको अनुहार सुधार्ने टोपी भएको छ-डा. छेत्री

कालेबुङ,12 दिसम्बर।
एसेम्ब्लीमा मेरो टोपी फेमस भएको छ, तिनी आफूले लगाएको कालो टोपीलाई देखाएर यसै भनिरहेका थिए। तिनले भने, एसेम्ब्लीमा धेरै बोलिरहने भएकोले सबैले बोलिबस्ने विधायक भनेर मलाई भन्छन्‌ अनि अरुलाई पनि चिनाउँदै 'टोपीवाला' विधायक भन्छन्‌। मेरो कालो टोपी मेरो परिचय भएको छ, लाभाका तिनको कुरा सुन्दै मनोरञ्जन लिइरहेका लाभाका मानिसहरूलाई  कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले सुनाएका सम्वाद हुन्‌ यी। श्रेणीकोठा उद्घाटन गर्न आइपुगेका विधायकले आफू साह्रै व्यस्त रहेको सुनाइरहेका थिए, यहॉं आउनको निम्ति हतारसाथ
ट्रेनमा चढेँ।
 अब यो कार्यक्रम सकेर फेरि ट्रेनमा चढ्‌नुपर्छ। भोलिदेखि विधानसभा सत्र शुरू भइरहेको छ अनि सरकारको पक्षमा बहस गर्न 15 जनाको टोली बनाइएको छ। त्यो टोलीमा तपाईँहरूको यो विधायक पनि परेको छ है। तिनी के भन्न चहान्थे भने म लरतरो विधायक होइन। किन भने तिनले भने, म विधायक मात्र होइन एडमिनिष्ट्रेशन बोर्डमा पनि छु। कालो टोपी लगाउने तिनलाई सरकारको पक्षमा बहस गर्नेहरूमध्ये एकजना छान्नु लरतरो कुरा होइन, तिनी भन्न चहान्थे। तिनले भने, लाभाको कुरा म विधानसभामा राख्नेछु। मेरो कुरा सुन्छ।
 यही टोपी दरवानले लगाउने भनेर चिनिन्छ, यही टोपी अहिले गोर्खाहरूको अनुहार सुधार्ने टोपी भएको छ। यद्धपि तिनले अझ भने, आधा वर्षको केवल तीस लाख रुपियॉं यो विधायकको पैसा आउँछ, त्यसलाई महकुमाभरि लगाउनुपर्छ। म धेरै त गर्न सक्दिन होला तर एउटा श्रेणीकोठा भने थपिदिन्छु। तिनले भोटको बेला आएको देखि कहिल्यै लाभा नगएकोले जनताले तिनलाई कानैचिरेको जोगी सम्झिसकेको हुनसक्ने बताउँदै भने, म त अर्कैखाले जोगी हूँ। यो जोगीले अर्कै पाराले फेरी लगाउँछ। तिनले लाभा बजारको बाटो बनाइदिने भएका छन्‌।
 यो बाटोमा हिँड्‌दा अफगानिस्तान गएको जस्तो अनुभव हुन्छ, यो बाटो बनाइनेछ -भने तिनले। तिनले लाभालाई सबैभन्दा धेर प्राथमिकता पर्यटनको निम्ति दिए। तर तिनले भने, मलाई समस्या देखाएर हुँदैन। सबै कुरा लिखित हुनुपर्छ। यसकारण मलाई ज्ञापन चढाउनुहोस्‌, त्यो म विधानसभामा राख्न सकौं। लाभामा हेल्थ सेन्टर बनाइनुपर्ने विषयमा तोपदेन भोटियाले चढाएको ज्ञापनबारे बोल्दै तिनले भने, मुख्यमन्त्री हेल्थ डिपार्टमेन्टमा नै छन्‌। उनलाई कुरा राख्नेछु। उनीहरूलाई सर्काएमा काम गर्छ। बङ्गालीहरू पनि सर्काउँदा गजबले सर्किन्छन्‌। जति सर्काउन सक्यो उति काम बन्छ। मुख्यमन्त्री ममता व्यानर्जीलाई पनि सर्काउनुपर्छ। फुर्काएर टुप्पोमा पुर्‍याउनुपर्छ। यसरी फुर्काएर नै एसेम्ब्लीको मेन्सन आवरमा म लाभा प्राथमिक पाठशालाको कुरा उठाउने छु। तिनले धेरैवटा आश्वासन दिँदा दिँदै भने, नेउरा फरेस्टको जिल्ला कार्यालय जलपाइगुढीमा होइन दार्जीलिङमा हुनुपर्ने माग उठाउनेछु। तिनले आफ्नो प्रयासमा नै विजुली विभागको स्टोर कार्यालय सिलगढीबाट अब कालेबुङमा सारिने बताए। तिनले दार्जीलिङ र जलपाइगुढीको वाइल्ड लाइफ पनि छुट्याउनुपर्ने बताए। यसै दिन तिनले लाभा उच्च विद्यालयको अतिरिक्त श्रेणी कक्षाको उद्घाटन गरे। कार्यक्रममा विद्यालय, लाभा प्राथमिक पाठशाला अनि रेनवो अंग्रेजी स्कूलका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमलाई फोनुर शेर्पाले अध्यक्षता गरेका थिए।
 


0 comments: on "मेरो टोपी गोर्खाहरूको अनुहार सुधार्ने टोपी भएको छ-डा. छेत्री"