मुख्य समाचार :


राजेन्द्र भण्डारीसित फूलमान वल

"साहित्यले भारतीय नेपालीलाई जोडेको छ"



भारतीय नेपाली स्रष्टामध्ये नाम चलेका व्यक्तित्व् हुन् डा. राजेन्द्र भण्डारी । सिक्किममा दसैं मनाएर टीकाकै भोलिपल्ट उनी भद्रपुरबाट हवाईजहाज चढेर सोमबार काठमाडौं आइपुगे, कविताको पोको बोकेर । स्रष्टा प्रकाश सायमीको घरमा पाहुना बनिरहेका उनले शनिबार कोजाग्रत पूणिर्माको दिन गुरुकुलमा एकल कविता वाचन गर्दैछन् । ५४ वर्षअघि कालिम्पोङमा जन्मेका उनी ३५ वर्षदेखि सिक्किमको राजधानी गान्तोकमै छन् । २५ वर्ष प्राध्यापन अनुभव बोकेका भण्डारी सिक्किम गभर्नमेन्ट कलेजमा नेपाली विषयका एसोसिएट प्रोफेसर छन् । कविता र समालोचनामा कलम चलाउने उनका ँहिउँदे यी चिसा रातका पर्दाहरूमा’, ँयी शब्दहरू यी हरफहरू’, ँक्षर अक्षर’ लगायत आधा दर्जन कविताकृति प्रकाशित छन्, नेपाल यात्राका क्रममा उनले आफ्नो पछिल्लो कृति ँशब्दहरूको पुनर्वास’ को प्रमोसनल काम पनि गर्नेछन् । भण्डारीका लेखनीमा वर्तमान जीवन बँचाइका परिवेश, आध्यात्मिक चेतना र सामाजिक व्यंग्यसँगै नेपाली जातीय चेतना मिसिएर आउँछ ।

साहित्य लेखनमा कसरी प्रेरित हुनुभो ?

बुवा -भगीरथ भण्डारी) साहित्य साधना गर्नुहुन्थ्यो । उहाँका कविता र लोककाव्यसम्बन्धी कृति प्रकाशित छन् । माइला दाजु देव भण्डारी पनि नाम चलेकै स्रष्टामध्ये पर्नुहुन्छ । कथा, उपन्यास र कविता गरी उहाँका झन्डै एक दर्जन कृति प्रकाशित छन् । कान्छा छोरा भएकाले ममा अग्रजको प्रभाव पर्नु स्वाभाविकै थियो । सानैदेखि लेख्न थालें । हाम्रो पालामा स्कुलबाट पनि पि्रन्टेड साहित्यिक पत्रिका निस्कन्थ्यो । त्यहींबाट लेख्न सिकें । पछि कालिम्पोङ कलेज पढ्दा पनि साहित्य लेखनलाई निरन्तरता दिएँ ।

त्यति बेला साहित्यको त्यस्तो फराकिलो बजार थियो र ?

त्यस बखतको कुरै नगरौं । मनोरन्जन र चेतनाको एक मात्र माध्यम साहित्य नै थियो । बरु अहिलेको मल्टिमिडियाको जमानाले साहित्यको परम्परागत धरातललाई भत्काउने काम गरिरहेको छ । त्यो बेला साहित्य सबैको जीवनशैली थियो भने अहिले खास चासो लिने बौद्धिक समुदायमात्र मात्रै सीमित हुने

खतरा बढ्दै छ । यो बहुत निराशाजनक अवस्था हो ।

नेपाली जातीय चेतनाले पनि त्यति बेलाको साहित्यलाई बलियो बनाएको हो कि ?

हो, निश्चित रूपमा भारतमा नेपालीहरू अल्पसंख्यक समुदाय भएकाले सुरुदेखि नै भारतीय नेपाली साहित्यमा जातीय/सांस्कृतिक चेतना बलियो भएर

आयो । त्यो चेतना त अहिले पनि यो वा त्यो ढंगबाट साहित्यमा व्यक्त भइरहेकै छ, तर त्यतिबेला साहित्य सबैको साझा सौख नै हुन्थ्यो । साहित्यिक पत्रिका नै अनेक थिए । 'दियो', 'दियालो', 'सुनाखरी', 'मालिंगो', 'अर्चना', 'गोर्खा संसार', 'हाम्रो ध्वनि' जस्ता लोकपि्रय पत्रिकाहरूमध्ये अहिले एकाध मात्रै प्रकाशित ह्न्छन् । यति हुँदाहुँदै पनि भारतीय नेपालीहरूमा आफ्नो जाति र संस्कृतिप्रतिको प्रभाव विस्तार गर्न अहिले पनि साहित्य नै सशक्त माध्यम बनिरहेको छ ।

गोर्खाल्यान्ड आन्दोलनको प्रभाव पनि ?

गोर्खाल्यान्ड आन्दोलन वास्तवमा नेपाली जातीय चेतनाको उपज नै हो । सुरुसुरुमा यो प्रत्यक्ष साहित्यिक प्रभावमा थिएन । अहिले त न्दोलनमै आधारित गजल, कविता संग्रहहरू निस्कन थालेका छन् । यसबाहेक भारतीय नेपाली साहित्यको अहिलेको ताजा एजेन्डा र चुनौती भनेको नयाँ पुस्तामा अपनत्व र जातीय-सांस्कृतिक चेतना घुसाउनु हो ।

साहित्यबाट सांस्कृतिक-जातीय अपनत्वको स्थापना तत्काल सम्भव छ र ?

साहित्य नै त्यो माध्यम हो, जसले मानिसलाई सम्पूर्ण रूपमा बदल्न सघाउँछ । नाटककै कुरा गर्ने हो भने सिके श्रेष्ठको 'ऐनामा हेर रसाइली...' भारतभर चार सयपल्ट मञ्चन भयो । अझै पनि विभिन्न थलोबाट मञ्चनको निम्तोहरू आइरहेका छन् । यो नाटकले याँ पुस्तामा नेपाली संस्कृति र जातीय चेतना जगाउन साँच्चिकै प्रभावशाली काम गरिरहेको छ । ललित गोलेको 'भानु र पाला' नाटक अहिले सिक्किमको 'हटकेक' हो । यो नाटकको चौथो शृंखला पनि आइसक्यो । यो नाटकको सीडी बजारमा निस्कनै हुन्न, रातारात बिक्री हुन्छ । यसबाट के भन्न सकिन्छ साहित्यिक अभियान र कर्मले मानिसको चेतनामा बदलाव ल्याइदिन्छ ।

साहित्यिक कृतिको बजारचाहिँ कत्तिको छ ?

निराशाजनक छैन । मेरै उदाहरण लिने हो भने पछिल्लो कृति 'शब्दहरूको पुनर्वास' छापिएको केही महिना मात्रै भयो, ५ सय प्रति सकेर अहिले रिपि्रन्ट गर्दैछु । मेरा प्रायः कृतिहरू सबै बिकिसकेका छन् । समालोचना र उपन्यास धेरैजसो बिक्छन् । यो त भारतीय बजारको कुरा मात्रै भो, यता नेपालसम्म बजार प्रवर्द्धन गर्नसक्ने हो भने यो दायरा झन् फराकिलो बन्न सक्छ ।

बजार प्रवर्द्धन हुन नसक्नुको कारण ?

यो एकदमै दुःखलाग्दो कुरा हो । नेपालमा छापिएका कृति सजिलै भारतमा जान सकिरहेका छैनन्, उता छापिएको कृति यता ल्याउन पनि उत्तिकै कठिन छ । केही वर्षअघिसम्म सिलिगुडीमा साझा प्रकाशनको बिक्री केन्द्र थियो, सजिलो भएको थियो, अहिले त्यो पनि छैन । साझाको बिक्री केन्द्र घाटा गएको भनेर पनि भनिन्छ । यसको पुनःस्थापना हुनुपर्छ भनिरहेका छौं हामी । घाटाभन्दा पनि व्यवस्थापनको समस्या हो जस्तो लाग्छ । मैले नै सालमा दस हजार रुपैयाँको किताब किन्थें । कसरी घाटा हुन्छ ? किताब किन्नकै लागि म झापातिर आइरहन्छु । तेराख, कृष्णभूषण बल, मनु मन्जिलहरूसँग भेट भइरहन्छ । साथीहरूले सुझाएका किताब किन्छु । अहिले उता एकता बुक हाउसको शाखामा नेपालबाट किताब र पत्रपत्रिका पुग्छन् । किन्न चाहेरै पनि सजिलो हुँदैन । एउटै किताब दर्जनौंले पालैपालो पढ्नुपर्ने हुन्छ । 'मधुपर्क' र 'गरिमा' त महिना दिनपछि मात्रै उता पुग्छन् ।

नयाँ योजना ?

भारतीय नेपाली समाजबारेको लामो कवितामाथि काम गर्दैछु । शोध पुस्तक 'सिक्किमेली नेपाली कथाको विश्लेषण र मूल्यांकन' छिट्टै प्रकाशित हुँदै छ । समालोचना संग्रह पनि निकाल्दै छु । यसबाहेक सिक्किम साहित्य अकादमीले नेपाली कविता, कथालाई अंग्रेजी र हिन्दीमा निकाल्दै छ । त्यसको अनुवाद समितिमा रहेर पनि काम गर्दैछु । एक वर्षभित्र यो काम पनि पुस्तकाकारमै आउँछ होला ।

एकल कविता वाचनको तयारी कस्तो छ ?

थुप्रै नयाँ-पुराना कविता बोकी ल्याएको छु । छानिएका पढ्छु । उता त एकल कविता वाचन कल्पना पनि गर्न सकिन्न । मेरो यो दोस्रो एकल कविता वाचन हो । दुई वर्षअघि रसियन कल्चर सेन्टरमा द म्युजिकल जर्नीले पहिलो एकल कविता वाचन गरेको थियो ।

साहित्यमा नलागेको भए ?

संगीतकार हुन्थें कि ? नारायणगोपालका गीतहरू एकान्तमा गुनगुनाउँछु । निकै मन पर्छ । आधुनिक नेपाली गीतहरू पनि खुब सुन्छु ।

यो उमेरसम्म पनि किन अविवाहित ?

खै, र्‍याङक्े ठ्याङ नमिलेको भन्नुपर्छ कि ? -एकैछिनको गम्भीरतापछि) समय त्यसै चिप्लिँदैचिप्लिँदै गयो । यसप्रति मेरो कुनै गुनासो छैन ।

एक्लोपन महसुस हुँदैन ?

भइहाल्छ नि । किताबै मेरो परिवार हो ।

कवि मान्छे, कोहीसँग प्रेम त पक्कै गर्नुभो ।

तथाकथित अर्थमा मैले प्रेम गरिनँ । समयक्रममा कोहीसँग नजिकि रहुँला, तर किताबमै लेखिने गरी आदर्श प्रेम भने हुन सकेन ।

कविहरू स्वभावैले गम्भीर हुन्छन् ।

हो, हो । सायद यही गम्भीरता मन नपरेर हो कि प्रेम नपरेको ? मन मिल्ने मैले कोही भेट्टाउन सकिनँ ।

अब के गर्नुहुन्छ ?

कलेजबाट ६ वर्षमा रिटायर्ड हुँदै छु । सिलिगुडी, सिक्किम या कालिम्पोङतिर सानो घर बनाएर बस्छु । आध्यात्मिक साधना गर्छु अनि साहित्य लेख्छु ।

0 comments: on "राजेन्द्र भण्डारीसित फूलमान वल"