मुख्य समाचार :


सपिङ कम्प्लेक्सको सपना तुहियो बढ्‌दो पैह्रोले नगरपालिका ऐंठनमा

प्रज्ज्वल छेत्री
कालेबुङ, 21 जून।
नोभेल्टी परिसरमा आज फेरि पैह्रो गयो। नगरपालिकाले सपिङ कम्प्लेक्स बनाउन भगवान भरोसामा भित्ता खन्न शुरू गरेकोले नै पैह्रो बढ्‌न शुरु भएको हो। पैह्रो जति-जति बढ्‌दै जॉंदैछ नगरपालिका उति-उति ऐंठनमा पर्दैछ। नगरपालिकालाई ऐंठनमा पार्दैछ पुलिस प्रशाासनले। भित्ता खन्न शुरु हुँदादेखि नै जमिनलाई लिएर नगरपालिका अनि पुलिस प्रशासनको विवाद शुरु भएको थियो। तर अहिले पुलिसको जमिन त पैह्रोले सक्यो नै दुइवटा पुलिस आवास, एक सरकारी भवन अनि महकुमा पुस्तकालयलाई पैह्रोले सोहर्नै आँटेपछि नगरपालिकालाई पुलिस प्रशासनले चेपारोमा पारिदिएको छ। 10 दिनअघि गएको पैह्रौ आज फेरि बढेपछि यसले नगरपालिकाकको घाउमा नून छर्ने काम गरेको छ। कैयौंपल्ट पुलिस प्रशासनले नगरपालिकालाई ‘मनपरि भित्ता नखन्नु, राम्रो इन्जिनियर लगाउनु, हाम्रो जमिन नष्ट नहोस्‌, पुलिस आवासलाई खतरामा नपारोस, ठेस देवाल लगाएर काम गर्नु’ भनिरहेको भएपनि नगरपालिकाले पत्यारो नदिएर मनपरि भित्ता खन्ने काम गरेको आरोप पुलिस प्रशासनको छ।
 यसको जवाब नगरपालिकासित छैन। यस्तो परिस्थितिमा पत्रकारहरूले नगराध्यक्ष एलबी परियरसित प्रश्न गर्दा उनको रिसाउनु बाहेक अन्य विकल्प रहने। रिसाउँदै भएपनि उनले भने, अब सपिङ कम्प्लेक्सको बिल्ङिङ बनाउने काम हुँदैन। सुरक्षा देवाल लगाउने काम गर्छौं। वर्खा सकेपछि अर्को  वर्षतिर परिस्थिति हेर्छौं अनि काम थाल्ने नथाल्ने विचार गर्छौं।
 क्षेत्रको बढ्‌दो परिस्थितिलाई हेरेर आज नगराध्यक्षले अब सपिङ कम्प्लेक्स बनाउने कार्य बन्द गर्ने बताएपनि क्षेत्रमा बढ्‌दो पैह्रोलाई रोकथाम गर्न नगरपालिकाको टाउको दुखाइ आलै छ। सपिङ कम्प्लेक्स बनाउन नगरपालिकाले देखाएको हतारोको कारण आजको परिस्थिति सृजना भएको छ जसको  कारण नगरपालिका पूर्ण रूपमा जवाबदेही हुनपर्ने देखिएको छ। नगरपालिकाले मनपरि वर्खा लाग्ने बेलामा भित्ता खन्न शुरु गरेकोले आजको परिस्थिति देखा परेको कुरामा नगरपाध्यक्ष एलबी परियारले पत्रकारहरूलाई उल्टै प्रश्न गर्दै ‘काम बिग्रिएपछि मात्र दोष दिनुभन्दा अघि नै नगरपालिकालाई सुझाउन किन नराखेको?’ भन्दै गैरजिम्मेवारीपूर्ण वक्तव्य दिए। किनभने मिडियाले नगरपालिकालाई यसबारे बारम्बार खबरदार गरेको थियो। मिडियालाई नगरपालिकाले त्यसकारण सुनेन किन भने नगरपालिकाको नियत कम्प्लेक्स बनाउने नै थिएन। त्यहॉंका नागरिकहरूलाई हटाउने नियतमा हतारो गरेकोले नै अहिलेको समस्या उत्पन्न भएको हो। यसकारण नैै नगरपालिकाले कसैको सुझाव सुनेन। 2 करोडभन्दा अधिक लागतमा सपिङ कम्प्लेक्स बनिने कुरा नगरपालिका उपाध्यक्ष गंगामाया गुरुङले बताएकै हुन्‌। यत्रो लागतमा निर्माण हुनलागेको कामलाई नगरपालिकाले किन राम भरोसामा गर्दैछ भन्ने प्रश्नमा ‘यो प्रजेक्ट दुइ करोडको होइन’ भन्दै नगराध्यक्षले ‘लागतबारे जान्ने इच्छा लागे कार्यालयमा आउनु’ भने। जबकी नगराध्यक्ष र नगर उपाध्यक्षको बेग्ला बेग्लै बयानले पनि सपिङ कम्पलेक्स बनाउने कार्य सही योजनासित नगरपालिकाले नगरेको कुराको खुलासा गरेको छ। यसभन्दा अघि जिल्ला पुलिस अधिक्षकले पनि भ्रमण गरिसकेको पैह्रो आज फेरि बढेर गएकोले एएसपी सोङि्‌मत लेप्चा, महकुमा अधिकारी एलएन शेर्पा अनि विधायक डा. हर्कबहादुर छेत्रीले पनि निरिक्षण गर्दै पैह्रोले खतरा बढ्‌नसक्ने स्थितिमाथि चिन्ता व्यक्त गर्दै चॉंडै नगरपालिकालाई यसको सामाधनसूत्र निकाल्नुपर्ने बताएको छ। वर्खाको शुरूमा नै दिनोदिन पैह्रो बढ्‌दै गइरहेकोले क्षेत्रको एक दर्जन जति भवनहरूलाई खतरामा पारेको छ भने पैह्रोको भयले नोभेल्टी परिसरमा मानिसहरू पनि अत्यन्तै चिन्तित छन्‌।

0 comments: on "सपिङ कम्प्लेक्सको सपना तुहियो बढ्‌दो पैह्रोले नगरपालिका ऐंठनमा"