मुख्य समाचार :


मदन तामङका हत्यारा पक्रिनु पर्ने मागमा दिल्लीमा गुञ्जने आवाज

कालेबुङ, 16 मार्च।
अब दिल्लीमा मदन तामङका हत्याराहरू पक्रिनुपर्ने मागमा गोर्खालिगले आवाज उठाउने भएको छ।
19 मार्चको गोटाफोको संसद धर्नालाई सफलीभूत तुल्याउन आज गोर्खालिगबाट दसजना प्रतिनिधिहरूले दिल्ली प्रास्थान गरेका छन्‌। दिल्ली जान अघि गोर्खालिग युवा संगठन तरुण गोर्खाका अध्यक्ष छेवाङ भोटियाले दिल्लीमा गोर्खाल्याण्डको मागसितै मदन तामङ हत्याकाण्डका आरोपीहरूलाई पक्राउ गर्नुपर्ने मागमा व्यापक प्रदर्शन गर्न भएको बताएका छन्‌। बङ्गालमा सरकार परिवर्तन भएपछि मदन हत्याकाण्डको मामिला सुल्झिन सक्ने आशा सबैले गरेका थिए तर यता ममता व्यानर्जीले मदन तामङबारेमा कुराकानी गर्न धेरैपल्ट अर्जी गर्दा पनि मदन तामङकी स्वास्नी भारती तामङसित कुरा गर्न मानिनन्‌। गोर्खालिगको दाबी छ, मुख्यमन्त्री ममता व्यानर्जीले हत्यारासित सम्झौता गरिरहेको छ। छेवाङ भोटियाले पनि त्यही कुरा दोहोर्‍याएका छन्‌। लिगको दाबी अनुसार गोर्खा जनमुक्ति मोर्चाका नेताहरूले नै मदन तामङका हत्या गरेका हुन्‌। किन भने मदन तामङले अर्को दागोपाप थाप्ने मोर्चाको षडयन्त्र थाहा पाएका थिए अनि त्यसैको विरोध शुरु गरेका थिए। मदन तामङको हत्याको बेला हत्या सम्बन्धमा इण्डियन एक्सप्रेसले मोर्चा नेताहरूको टेलिफोन ट्यापिङ सार्वजनिक गरेको थियो। रोशन गिरी, आशा गुरूङ अनि विमल गुरूङले यसबारेमा कुरा गरेको ट्यापिङले स्पष्ट पारेको थियो। लिगको दाबी अनुसार त्यो फोन ट्यापिङको डिजिटल फाइल अहिले मुख्यमन्त्री ममता व्यानर्जीसित छ। ममता व्यानर्जीले मोर्चासित वार्गेनिङ गर्न अनि मोर्चालाई नै लगाएर गोर्खाल्याण्डको मुद्दा दबाउन फोन ठ्यापिङको डिजिटल फाइल सीबीआईलाई नसुम्पेको लिगले बारम्बार आरोप लगाइरहेको छ। मदन तामङ हत्यामाथि इण्डियन एक्सप्रेसले जारी गरेको त्यही मोर्चाका नेतृत्वहरूको फोन ट्यापिङको खुलासालाई केन्द्र गर्दै केन्द्रिय मन्त्रीहरूको ध्यानाकार्षण गराउने पनि भोटियाले जनाएका छन्‌।‘ इण्डियन एक्सप्रेसले हत्याको खुलासा गरे पनि हत्याराहरू अझसम्म पक्रा पर्न सकेका छैनन्‌। सीबीआई लाचार छ, केही गर्न सकिरहेको छैन, जसको हामी दिल्लीमा घोर भर्त्सना गर्नेछौं’-तिनले भने। यसै अवधी तिनले पहाडमा राजनीति गर्ने नेताहरूले जीटीएमा सम्झौता गरेर गोर्खाहरूको भावनासित खेलवाड गरेको पनि आरोप लगाए। दार्जीलिङको लेबोङमा ढाका टोपी लगाएर आमा फर्काउनुपर्छ भनेर कसम खानेले आमा नै बेचिखाएको तिनको आरोप छ। जीटीए भनेको बङ्गालभित्रको व्यवस्था रहेकोले यो कदापी स्वीकार्य कार्य नरहने पनि तिनले जनाएका छन्‌। यहॉं गोर्खाहरूलाई बेच्ने काम भइरहेको अनि गोजमुमोले 99 प्रतिशत झुटो बोलिरहेको तिनले अर्को आरोप लगाएका छन्‌। गोजमुमोकाल कै आन्दोलनका शहीदहरू जीटीएको निम्ति नभएर गोर्खाल्याण्डको निम्ति रहेको बताउँदै शहीदहरूलाई समेत मोर्चाले धोका दिएको तिनले बताएका छन्‌। यसैले अहिले गोर्खाल्याण्ड टास्क फोर्सको नेतृत्वमा अघि बढिरहेको गोर्खाल्याण्डलाई सफलीभूत तुल्याउन सबैले सहयोग गर्न पर्ने तिनले आह्वान गरेका छन्‌।

0 comments: on "मदन तामङका हत्यारा पक्रिनु पर्ने मागमा दिल्लीमा गुञ्जने आवाज"