मुख्य समाचार :


गोर्खे गङ्गा बचाउन अघि आयो क्रामाकपा

मनोज वोगटी
कालेबुङ, 16 मार्च।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले टिस्टा प्रदूषित गर्ने कालेबुङ नगरपालिकालाई बारम्बार सतर्क गराउँदै आइरहेको छ तर क्रामाकपाले जति नै सतर्क गराए पनि नगरपालिकाले टिस्टामा मैला फ्यॉंक्न बन्द गरेको छैन।
परापूर्वकालदेखि नै धार्मिक वैशिष्टता र गरिमाको केन्द्र रहेको टिस्टा नदी कालेबुङ नगरपालिकाको निम्ति भने केवल डम्पिङ ग्राउण्ड हो। यही टिस्टा नदीको पानी कॉंधमा बोकेर दार्जीलिङको महकाल धाममा विसर्जन गर्ने बोलबम समूहले अब टिस्टाको पवित्र जल होइन नगरपालिकाको मैला महाकाल धाममा चडाउने छन्‌। टिस्टालाई गोर्खे गङ्गा मान्दै भाकल गर्ने श्रद्धालुहरूले अब कालेबुङ नगरपालिकाको मैलालाई साक्षी राखेर भाकल गर्ने छन्‌।  टिस्टाको पानीलाई पवित्र र जिउँदो पानी ठानेर बप्तिस्मा गर्ने ख्रिष्टीय समुदायले पनि कालेबुङ नगरपालिकाको मैला पानीमा डुवेर नै जीवन मैला पार्नु पर्ने भएको छ। टिस्टाको बगरमा गिटी कुट्‌ने श्रमजीवीहरूले अब टिस्टाको पानी होइन कालेबुङ नगरपालिकाको मैलाको झोल पिउन पर्ने छ। किन भने टिस्टामा पानी होइन कालेबुङ नगरपालिकाको मैला बगिरहेको छ। कालेबुङ नगरपालिकालाई न त कानूनले रोकिरहेको छ न त धार्मिक मूल्यले छेकिरहेको छ। तर क्रामाकपाले भने नगरपालिकाको यस्तो मनपरी र कानूनविरुद्धको पहल रोक्न कम्मर कसेको छ। अहिले नगरपालिकालाई केवल ज्ञापन दिँदै क्रामाकपाले नगरपालिकालाई भूल सच्याउने मौका दिइरहेको छ भने नगरपालिकाको यस्तो कदम नरोकिए क्रामाकपाले जनान्दोलन गर्ने तयारी गरिरहेको छ। अघि पनि धेरैपल्ट चेतावनी दिइसकेको क्रामाकपाको टिस्टा शाखाले आज पनि धार्मिक आस्थाको केन्द्र पवित्र टिस्टा नदीलाई कालेबुङ नगरपालिकाले डम्पिङ बनाइरहेकोमा  दह्रोरुपमा चेतावनी दिएको छ। क्रामाकपा टिस्टा शाखाले अब टिस्टा नदीमा कालेबुङ नगरको मैला फ्यॉंकेमा पश्चिम बङ्गाल पोल्युसन कन्ट्रोल बोर्ड र मुख्यमन्त्रीलाई पत्रचार गर्ने भएको छ। कालेबुङ नगरपालिकाको तीनवटा बोर्डले टिस्टामा मैला फ्यॉंकि रहेको छ। गारोमुमोकालीन बोर्डदेखि लिएर कालेबुङ महकुमा अधिकारी अधिनस्त रहेको नगरपालिकाले टिस्टामा नै मैला फ्यॉंकिरहेको थियो भने भर्खर आइएएस नगरप्रमुख रहेको गोजामुमोको नयॉं नगरपालिका बोर्डले पनि त्यही इतिहास दोहोर्‍याइरहेको छ। ‘नगराध्यक्ष एलबी परियारले अबको नयॉं नगरपालिका बोर्ड पीएम एक्ट अन्तर्गत चल्ने बताएको थियो। तर के पीएम एक्टभित्र कालेबुङको मैला टिस्टामा फ्यॉंक्ने प्रावधान छ?’-क्रामाकपा टिस्टा शाखाध्यक्ष सन्तोष प्रधानले भने। क्रामाकपाले केवल समस्या मात्र उठान गरेको होइन तर यसको निवारण पनि देखाइदिँदासमेत कुनै पहल नभएको तिनले आरोप लगाए। कालेबुङ नगरपालिकाले महकुमा अधिकारी नगरपालिकाको कार्यवाहक प्रशासक हुँदा बोलाएको सर्वदलीय बैठकमा क्रामाकपा उपाध्यक्ष जेबी राईले थुप्रै सुझावहरू राखेको कुरा तिनले अवगत गराए। तर नगरपालिकाले राईको सुझावलाई पत्तै नदिएको तिनले आरोप लगाएका छन्‌। डम्पिङ समस्या समाधानार्थ अहिलेको नयॉं बोर्डले कुनै पहल नगरेको बताउँदै निवारणको विकल्पसमेत नखोजिरहेको तिनको आरोप छ। टिस्टा नदीमा मैला फ्यॉंक्नु हुँदैन भनेर फेरि एकपल्ट क्रामाकपा टिस्टा शाखाले कालेबुङ नगराध्यक्षलाई पनि ज्ञापन बुझाउने भएको छ। कालेबुङ नगरपालिकाले टिस्टामा मैला फ्यॉंक्ने क्रम बन्द गर्दै नगरेकोले अब यसको निम्ति जनान्दोलन नै गर्नुपर्ने क्रामाकपा टिस्टा शाखाले सोंचेको छ। पर्यटन, धार्मिक आस्था केन्द्र, पर्यावरण, राफ्टिङ व्यवसाय आदि टिस्टामा मैला फ्यॉंक्नुले प्रभावित बनिरहेको प्रधानले बताउँदै अब टिस्टा अनि हाइवे संलग्न जनसाधरण जनआन्दोलनको निम्ति अघि आउनुपर्ने तिनले आह्वान गरे। स्मरण गारइन्छ, यसभन्दा अघि पनि क्रामाकपा टिस्टा शाखाले यसको कडा विरोध गर्दै नगरमा पोष्टरिङसितै महकुमा अनि खण्ड विकास अधिकारीलाई ज्ञापन दिएको थियो। तरै पनि प्रशासन अहिलेसम्म कानमा तेल हालेर बसेकोले फेरि पनि आज क्रामाकपा टोलीले खण्ड विकास अधिकारीलाई ज्ञापन दिएको छ। स्मरणीय छ, टिस्टा प्रदूषित भएमा टिस्टामा मात्र रहेको अनि नितान्तै दुर्लभ माछा गोल्डन ड्रागनलाई व्यापक असर गर्ने छ। एक शोध अनुसार नदी निरन्तर प्रदूषित रहेमा गोल्डन ड्रागन नष्ट हुनसक्छ। यदि टिस्टाबाट गोल्डन ड्रागन नष्ट भए त्यसको दोष केवल कालेबुङ नगरपालिकालाई जानेछ। गतवर्ष यही कुरा राख्दै क्रामाकपाले महकुमा अधिकारीलाई टिस्टामा मैला फ्यॉंक्न बन्द गर्नुपर्ने माग गरेको थियो। यसको जवाबमा महकुमा अधिकारीले उसोभए मैला कहॉं क्यॉंक्नु? भनेर उल्टै सोधेका थिए। त्यसको जवाब पनि क्रामाकपाले दिइसकेको भए पनि क्रामाकपाको सुझाव वा विकल्पलाई पत्तो नदिइ टिस्टामा नै मैला फ्यॉंक्ने कार्य जारी राखिएको क्रामाकपाको आरोप छ। सोही महकुमा अधिकारीले डम्पिङ समस्या समाधान गर्न संघसंस्थाहरूलाई बैठकमा बोलाएको थियो। त्यसबेला प्रसाशनले आफूसित कुनै उपाय नभएको बताएपछि सबै संघसस्थाले टिस्टामा नै मैला फ्यॉंक्दा हुने सुझाव दिएको थियो। त्यही सुझाव अनुसार नै नगरपालिकाले टिस्टामा मैला फ्यॉंकिरहेको छ। विरोध गर्ने संस्थाहरूले नै अनुमति दिएपछि नगरपालिकाको निम्ति बाटो खुल्ला भएको छ तर क्रामाकपाले यसबारे नयॉं गरी मुद्दा उठाएको छ।

0 comments: on "गोर्खे गङ्गा बचाउन अघि आयो क्रामाकपा"