मुख्य समाचार :


गोटाफोले घोषणा गर्‍यो अप्रेलसम्मको कार्यक्रम गोर्खाल्याण्डको ब्लुप्रिन्ट मार्चसम्म तयार


मनोज वोगटी
कालेबुङ,१० जनवरी|
दार्जीलिङको तीनवटा महकुमामा  मार्चसम्ममा जीटीए गठन हुने गोर्खा जनमुक्ति मोर्चाले घोषणा गरेको छ भने गोर्खाल्याण्ड टास्क फोर्सले पनि मार्चसम्ममा नै गोर्खाल्याण्डको ब्लु प्रिन्ट तयार हुने घोषणा गरेको छ| यता गोर्खा जनमुक्ति मोर्चा अनि गोर्खा जनमुक्ति युवा मोर्चाले छुट्टै राज्यको आन्दोलनलाई स्थगित गर्दै गइरहेको छ भने अर्कोतिर आज गोटाफोले भने छुट्टै राज्यको आऐन्दोलनको प्रारम्भिक चरणको घोषणा गरेको छ| आज गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाको राष्ट्रिय कार्यालयमा गोर्खाल्याण्ड टास्क फोर्सले आगामी रणनीतिहरूमाथि अन्तिम बहस गर्दै आन्दोलनको रुपरेखा तयार पार्‍यो| भागोपका राष्ट्रिय कार्यकारी सचिव सुखमन मोक्तानले जनाए अनुसार गोर्खाल्याण्ड टास्क फोर्सले जनवरीदेखि अप्रेल महिनासम्मको कार्यसूची तयार पारेको छ| अघिल्ला आन्दोलनकारीहरूको कार्यसूचीहरूभन्दा फरक धारमा तयार पारेको गोटाफोको कार्यसूची अधिल्ला राजनैतिक दलहरूले गरेका आन्दोलनको गलत कार्यसूचीको विरुद्ध नयॉं कार्यसूची तयार पारेको छ| छुट्टै राज्यको आन्दोलन गर्न अघि आधारभूमि बलियो बनाउनु गोटाफोको प्रारम्भिक चरणको आन्दोलन रहेको देखिएको छ| यसैको निम्ति गोटाफोले घोषणा गरे अनुसार  जनवरी महिनादेखि अप्रेल महिनासम्म नै डुवर्स, सिलगढी र कोलकाताका विभिन्न राजनैतिक दल, सामाजिक संस्था, बुद्धिजीवीहरूसित सम्पर्क अभियान गरिने छ| गोटाफोको आन्दोलन साम्प्रादायिक नरहने बताउँदै सुखमन मोक्तानले भने, छुट्टै राज्यको आन्दोलन केवल गोर्खाहरूको निम्कि मात्र गरिएको आन्दोलन होइन| सबैभन्दा अघि छुट्टैराज्यको आन्दोलन साम्प्रादायिक होइन भन्ने संदेस दिइने छ| यसैकारण बुद्धिजीवी, शिक्षित, सङ्ग-सङ्गठन अनि दलका प्रतिनिधिहरूसित सहवार्ता गरिने छ| तिनले बताए अनुसार यसैबीच फरवरीमा कोलकाताको सम्पर्क अभियानलाई साकाररुप दिनको निम्ति एउटा सेमिनार पनि गरिनेछ| यता जनवरी महिनाभरि नै दार्जीलिङ जिल्लामा रहेका विभिन्न राजनैतिक दल, सङ्गठन, बुद्दिजीवी अनि शिक्षितहरूसित भेटघाट गर्ने कार्य पनि हुनेछ| 'किन भने पहाडका जनतालाई छुट्टैराज्यको आन्दोलन वास्तवमा कसरी गरिन्छ अनि यसको निम्ति आम जनता, बुद्धिजीवी, शिक्षित र सचेतहरूको सहभागिता कसरी हुनुपर्ने भन्ने कुरा बुझाइनु अनिवार्य रहेको छ'-मोक्तानले भने| फरवरी महिनाभरि गोर्खाल्याण्ड टास्क फोर्सले पूर्वोत्तर राज्यहरूको ब्रमण गर्नेछ| उत्तरपूर्वीय राज्यहरूमा रहेका गोर्खाहरू, उनीहरूको सङ्गठन, दल, बुद्धिजीवी अनि शिक्षितहरूलाई एकिकृत गर्ने पहल  यहीबाट हुने बताइएको छ| यसैबीच त्यहॉंका मुख्यमन्त्रीहरू, सांसद, विधायकहरूसित पनि छुट्टै राज्यको कुरा लिएर फोर्सका प्रतिनिधिहरूले भेटघाट गर्ने छ| मोक्तानले भने, छुट्टै राज्यबारे बनाइएका ब्लुप्रिन्ट उनीहरूलाई वितरण गर्ने कार्य हुनेछ| यसैबीच छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति त्यहॉं एउटा 'सपोर्ट ग्रुप' पनि बनाइने छ| यो कार्यक्रमपछि सिलगढीमा तराई र डुवर्सका छुट्टै राज्यपन्थी बुद्धिजीवी, दल, संस्था र शिक्षितहरूबीच सेमिनार हुनेछ| सबैभन्दा महत्वपूर्ण कार्य भने मार्चमा हुनेछ| जब सांसदमा बजट सत्र शुरु हुनेछ, तबदेखि नै गोटाफोले दिल्लीमा आफ्नो कार्यक्रमलाई तीब्र पार्ने छ| यसको निम्ति दिल्ली लगायत अन्य क्षेत्रका छुट्टै राज्यपन्थी बुद्धिजीवी, सचेतहरूले साथ दिनेछन्| मोक्तानले भने,यहीबेला छुट्टै राज्यको निम्ति गोर्खाल्याण्ड टास्क फोर्सको मस्यौदा कमिटीले तयार पारेको ब्लुप्रिन्टलाई लोकार्पन गरिनेछ| मन्त्री, सांसद, नेताहरूलाई वितरण गरिनेछ| उनीहरूसित भेटेर छुट्टै राज्यको औचित्यबारे बुझाइनेछ| गोटापोको आवाजलाई बुलुन्द गर्न जन्तरमन्तरमा धर्ना कार्यक्रम पनि हुनेछ| दिल्लीमा नै मन्त्री, सासंद, नेता तथा बुद्धिजीवीहरूलाई लिएक सेमिनार गरिने पनि मोक्तानले बताएका छन्| मोक्तानले बताए अनुसार यहॉंसम्मका कार्यक्रमहरूलाई लिएर गोटाफोले समीक्षा र अन्तरक्रिया गर्नेछ| यसैलाई निरन्तरता दिनको निम्ति अप्रेल महिनाभरि नै दार्जीलिङ, खरसाङ, मिरिक अनि कालेबुङ महकुमामा नागरिक मञ्च, आम नागरिक, संस्था र बुद्धिजीवीहरूलाई लिएर अन्तरक्रियात्मक कार्यक्रम पनि हुनेछ|
 


0 comments: on "गोटाफोले घोषणा गर्‍यो अप्रेलसम्मको कार्यक्रम गोर्खाल्याण्डको ब्लुप्रिन्ट मार्चसम्म तयार"