मुख्य समाचार :


'सातौं ऋतु'लाई चिसा सवाल

 नागरिक



पाँचौ ऋतु हेमन्त चलिरहँदा उपन्यास 'सातौं ऋतु' बजार पठाउने तयारीमा लागेका लेखक ध्रुवचन्द्र गौतमलाई पछिल्ला दुई दिनको चिसोले छैटौं ऋतु 'शिशिर'को सम्झना दिलाएको छ। ध्रुवचन्द्रको 'सातौं ऋतु'ले 'क्लाइमेट चेन्ज'बाट ग्रसित संसारलाई थप बेमौसमी बनाउन सक्छ। तातोचिसोको उग्रताले ऋतुको लय खल्बलिएको आभास ध्रुवचन्द्रलाई भएको छ।
दुई दिनदेखि बढेको चिसो भने मौसमी नै हो। आफ्नो अनुभव र साहित्यिक विम्बका आधारमा चिसोपनलाई उनी यसरी व्याख्या गर्छन्।
चिसो सम्बन्धः साहित्य क्षेत्रका मान्छेहरु र नातेदारहरुसित बेलाबेला भइरहन्छ चिसो सम्बन्ध। तर, धेरै लामो हुँदैन। दुवै पक्षलाई असजिलो महसुस हुन्छ क्यारे। निश्चित समयपछि फेरि प्रिय भइदिन्छ। सरोकार हुनेसँगै सम्बन्ध चिसिने हो। जे होस् जहिले पनि कोही न कोहीसँग कही न कहीँ चिसो चाहिँ भइरहन्छ।
चिसो रातः साहित्यमा चिसो रातको धेरै प्रयोग हुन्छ। यसले जीवनको चिसोपन र यथार्थ भौतिक चिसोपन दुवैलाई बुझाउँछ। मलाई दुवै खाले चिसोपन मनपर्दैन। धेरै चिसो हितकर पनि होइन। चिसो रातभन्दा दिनको घाम रोज्छु र सकेसम्म न्यानो बस्छु।
चिसो माहौलः नेपाली राजनीतिक माहौल धेरै मात्रामा चिसो छ। संविधान निर्माण र शान्ति प्रक्रियाका कामहरु फाट्टफुट्ट भइरहेको पनि छ। त्यसैले कता-कता न्यानोपन छ। तैपनि दलहरुबीच र दलका नेताहरुबीचको चिसोले माहौललाई पूरा न्यानो हुन दिएको छैन। यो लगभग भुंग्रोभित्र बरफ हालेजस्तो स्थिति छ।
चिसो मुस्कानः सबै मुस्कान न्यानो हुँदैन। कुनै कुनै चिसो पनि हुन्छ। यो अमूर्त खालको हुन्छ। मन लागेको छैन, तैपनि बाध्यता हुँदा चिसो मुस्कान निस्किन्छ। अवस्था हेरी यसखाले मुस्कान सबैले प्रयोग गर्छन्। यसलाई एक किसिमको अस्वीकृत शिष्टाचार मान्न सकिन्छ।
चिसो मनः एकले अर्कालाई प्रेम गर्दागर्दै पनि कहिलेकाहीँ खुल्न सकिँदैन। त्यस्तो अवस्थाको मन चिसो हुन्छ। यसमा कताकता मिठोपन पनि हुन्छ। चिसो मनको अर्को प्रकार चाहिँ कस्तो भने, हात मिलाउँछ तर बोल्दा कञ्जुस्याइँ गर्ने। यस्तो मान्छेले धेरै जसो कुरामा नकारात्मकता ल्याउँछ।
चिसो घामः यो भुंग्रोभित्रको बरफजस्तै हो। घाम छ तर न्यानो छैन। न्यानोपन नहुनुको अवस्था हो यो। राजनीति, समाज, सम्बन्ध वा जेमा पनि यस्तो चिसो घाम लाग्नसक्छ। उत्साह छैन, उमंग छैन, तैपनि बाँचिरहेको छ भने त्यो चिसो घाम हो।
चिसो चुल्होः चिसो चुल्होलाई चिसो घामसँग समान मान्न सकिन्छ। तर, बालकृष्ण समले यसलाई गरिबीसँग तुलना गरिदिएका छन्। चुल्हो नबलेको अवस्था भनेको गरिबी हो। गरिबीको रेखामुनि रहेका नेपालीहरुको चुल्हो अझै पनि चिसो नै होला।
चिसो सहरः गाउँको तुलनामा सहर चिसो नै हुन्छ। गाउँमा चिनाजान धेरै हुन्छन्। सहरमा धेरैले धेरैलाई चिन्दैन। गाउँमा जस्तो दुःखमा सहयोग गर्ने कल्चर सहरमा हुँदैन। त्यसैले गाउँमा न्यानोपन छ, सहरमा छैन। आत्मीयताको कमीले पनि सहर चिसो भएको हो। मानवीय चिसोपन बढ्दै गयो भने सहर सखाप हुन्छ।
चिसो बतासः शीतल बतासको अर्थ रोमान्टिक होला। तर, चिसो बतास भन्नेबित्तिकै अर्को अर्थ पनि लाग्नसक्छ, त्यो हो निराशा। कहिलेकाही मनलाई नै चिस्याउन सक्ने बतास पनि चल्नसक्छ। चिसो घामको अर्थ छर्लङ्ग छ तर चिसो बतास रहस्यमय। यो कहिले रोमान्टिक हुनसक्छ त कहिले कष्टकर पनि। सन्दर्भ हेर्नुपर्छ।
चिसो पानीः पानीको मूल स्वभाव चिसो नै हो। चिसो भन्नाले शीतल बढी। शीतलताको प्रतीक हो पानी। पानी जतिसुकै तातो भए पनि आगो निभाउँछ। किनकि आगोको विपरीत पानी हो। त्यसैले जुनसुकै अवस्थामा पनि पानीको प्रवृत्ति चिसो नै हुन्छ।
चिसो खानाः प्रविधि र मेसिनले मान्छेको जीवन फास्ट बनाइदिएको छ। बढीभन्दा बढी काम भ्याउनुपर्ने भएकोले मान्छेले तातो वा ताजा खाना खान पाउँदैन। फास्टफुड पनि ताजा हुँदैन। घरको खाना पनि तातो नपाइनसक्छ। अहिलेको जीवनपद्धतिमा खानालाई लिएर तातोचिसोको पर्वाह गर्नु नै बेकार हो।
चिसो एक्लोपनः सहरमा मान्छे एक्लिरहेको छ। एक्लै बस्दा चिसो हुन्छ। जीवनलाई न्यानो बनाउन न्याना सम्बन्धहरुको खाँचो पर्छ। सम्बन्ध जति साँघुरिँदै जान्छ त्यति नै चिसोपन बढ्छ। एक्लोपन कहिल्यै न्यानो हुँदैन।
चिसो साहित्यः निराशावादी र शुन्यवादी साहित्यलाई चिसो मान्न सकिन्छ। तर सामान्य निराशा, गरिबीको निराशा चिसो हुँदैन, त्यो त जीवनवादी हो। 'शिरीषको फूल'लाई कसैकसैले चिसो मान्लान् तर त्यसमा भएको विद्रोह तातो छ, मुख्य पात्रले आत्महत्या पनि गर्दैन। नेपालका प्रायः लेखक न्यानोपन नै लेख्न चाहन्छन्। त्यसैले मैले नेपालमा चिसो साहित्य भेटाएको छैन।
तपाई कतिको चिसो हुनुहुन्छ भन्ने प्रश्नमा ध्रुवचन्द्रको जवाफ थियो, 'बिना कुनै जानकारी राति फोन गर्नुभयो। म पनि जवाफ दिन तुरुन्त तयार भएँ। अब आफै बुझ्नुस्, म चिसो कि न्यानो?'

0 comments: on "'सातौं ऋतु'लाई चिसा सवाल"