मुख्य समाचार :


प्रशान्तले नचाए अनुराधा

याउ मा तेइस्थित हेनरी जी ल्योङ हलमा बेग्लै रौनक थियो । सीएनएन हिरो अनुराधा कोइराला दर्शकदिर्घाको पहिलो लहरमा थिइन । गायकबाट नायकको चिनारी समेत थपेका आइडल प्रशान्त तामाङले जब कुनै जमानामा बजार पिटेको डेनी डेन्जोपाको सदाबहार गीतमा गलो खोले चिसिएको माहौल एकाएक तातियो । 'हिउँभन्दा चिसो, आगोभन्दा तातो...' उक्त गीतमा प्रशान्तले भाका के हालेका थिए, युवादेखि पाकासम्म जुरुकजुरुक उचालिए । दर्शकहरु सँगसँगै जब सीएनएन हिरो पनि छमछमी नाच्न थालिन माहौल गुल्जार भयो । अघिल्लो दिन हङकङ नेपाली महासंघले माइती नेपालकी अध्यक्ष समेत रहेकी उनलाई अभिनन्दन गरेको थियो । आयोजकको विशेष आग्रहमा उनी उक्त साँझ समेत सहभागी भएकी हुन् ।

त्यसो त इण्डियन आइडलको उपाधि हात पारिसकेपछि प्रशान्त तामाङको यो तेस्रो आगमन थियो । तर यसपटक पनि उनको आकर्षणमा कुनै कमी देखिएन् । माघ महिना भएपनि उनले गाएको गीत 'असारै महिनामा...' समेत दर्शक उत्तिकै झुमे । हिमालयन साँझमा जी टेलिभिजन द्वारा आयोजित सारेगामपका सहभागी नेपालीभाषी कर्मा शेर्पा पनि निम्त्याइएका थिए । नेपाली र हिन्दी सरोबरी गायका उनको आकर्षक स्टेज प्रस्तुतिले धेरैलाई असिनपसिन हुनेगरी नचायो । मिङ्मा शेर्पाको चल्तीको गीत 'आँसु झार्दिन म...' बाट दर्शक लठ्याउन सुरु गरेका यिनले 'भिगे ओठ तेरे...', 'जि करदा...' लगायतका गीतबाट दर्शक बुरुकबुरुक उचाले ।

संगीतकार दिनेश सुब्बाको संयोजनमा आयोजित उक्त साँझमा प्रतिभाशाली स्थानीय कलाकारहरुका पनि कमी थिएन् । ठेट परम्परागत पहिरनमा सजिएका दिदीबहिनी रोसा र मुना लिम्बू द्वारा प्रस्तुत कुन्ती मोक्तानको 'लाली गुरास अजम्बरी चम्पा चमेली...' ले समेत दर्शकको मन छोयो । गायन प्रतिस्पर्धा भ्वाइस अफ पोखरेली झ्यालका पछिल्ला विजेता टोपराज तामाङले समेत दर्शकको वाहवाही बटुले । राजेश पायल राईको स्वरमा रहेको गीत 'खास त केही छैन्...' तामाङले उत्तिकै मिठो गरी गाएर सबैको मन जिते । सन्तोष गुरुङ, कमल राईले समेत चल्तीका गीतमा भाका हालेका थिए ।

अब फेरि पालो आयो प्रशान्तकै । यतिबेला भने उनी दर्शकहरुमा जोस भर्ने मुडमा देखिए । अनि आफ्नो पहिलो गीति एल्बम 'धन्यवाद' मा समेटिएको 'गीत बिर बिर बिर गोर्खाली...' थालिहाले । प्रशान्तलाई साथ दिन कर्मा पनि स्टेजमा ओर्लिए । यिनको जोशिलो स्वरमा स्वर मिलाउदै दर्शकहरु पनि मज्जाले नाचे । 'जहाँ भएपनि नेपाली' शिर्षकमा आयोजित उक्त सांगीतिक समारोहमा फेरी पालो उस्तै भावना झल्कने गीतको थियो । गायक प्रशान्त र कर्मा एकसाथ सुरु भए । जसो गर, जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो... विदेशमा रहेका नेपालीका लागि १९७४ एडी ब्यान्डको यो गीत राष्ट्रगानजत्तिकै छ । देशप्रेमले ओतप्रोत गीत सुनेर जहाँसुकैका नेपाली युवा समुदाय जुरुक्कै उचालिन्छन् । यसअघि समेत धेरैपटक गाइएको यस गीतले आइतबारे साँझमा सहभागी दर्शकहरुलाई फेरि एकपटक जुरुक्कै उचाल्यो ।

0 comments: on "प्रशान्तले नचाए अनुराधा"