मुख्य समाचार :


बर्निङ टिबेटको झिल्को डम्बरचौकमा -तिब्बतीहरूको गुहार र रमिता

मनोज वोगटी
कालेबुङ 22 फरवरी।
फोटो पत्रकार समिरण पौल बर्निङ टिबेटको विम्बलाई टिप्ने कोशिशमा  सट-मा व्यस्त छन्‌।
डम्बरचौकमा उभिएर कालेबुङलाई समय बताउने लायन्स क्लबको क्लक टावरमुनी बलिरहेको धुपपातीको चर्किएको आगोको लफ्काले डम्बरचौकमा लहरै अनशनमा बसेका तिब्बतीहरूका मनमा सल्किएको आगोकै विम्ब दिइरहेको अर्थ बुझेका फोटोपत्रकार चिन्लोप फुदोङ पनि व्यस्त छन्‌। उनीहरू तिब्बतीहरूको पीडा टिप्न चहान्छन्‌। गान्धीजीको तस्बीर बीचमा पारेर देब्रेमा दलाई लामा अनि दाहिनेमा तिब्बतमा चीन सैनिकको आतङ्‌क देखाइएको परिदृश्यले आज कालेबुङबासीलाई राम्रै गरी तान्यो। कालेबुङको मुटु डम्बरचौकमा नै 24 जना तिब्बती समूदायका महिलाहरूले हिजै घोषणा गरेजस्तो आजदेखि श्रृङ्‌खलाबद्ध हडताल शुरु गरेका छन्‌।
 हातमा माला जप्ने अनशनकारी पेम्पा भोटियाले जतिपल्ट साउण्डबक्सबाट आइरहेको जागृत गीत सुनिन्‌ उतिपल्ट नै आँशु झारिन्‌। गीतमा तिब्बतीहरूमाथि चीन सेनाले गरेको अत्याचारको कथा थियो। जुनआतङ्‌क चीनले तिब्बतीहरूमाथि गरेको छ, यसलाई सम्झँदा कुनै पनि मानवातावादी हॉंस्न सक्दैनन्‌-तिनी भन्न चहान्थिन्‌ तर तिनी अरुले आँशु पुछ्‌दै गरेको देखेकोमा संकोच मान्दै माला नै जपिरहिन्‌। आरटी वाईसीले भने, यो फोटोमा हेर्नुस्‌ न, तिब्बतलाई स्वाधिन गराउने मागमा कसरी एक तिब्बतीले आत्मदाह गरिरहेका छन्‌ अनि अरुले कसरी तिनको समर्पणलाई सहीरहेका छन्‌। डम्बरचौकभरि नै चीनियॉं अत्याचारको झल्को दिने तस्बीरहरू टॉंगिएको छ। तिनले देखाएको तस्बीरमा एक तिब्बतीले जिउमा आगो लगाएका छन्‌ अनि गोलाकारमा लाम लागेका मानिसहररू उल्टो फर्किएका छन्‌। मानौं उनीहरूले त्यो सल्किरहेको मानिस देखेका छैनन्‌।

 त्यसैमुनी लेखिएको छ, ठीक यस्तै दृश्य विश्वले देखाएको छ। हामी चहान्छौं संसारले तिब्बत कसरी सल्किएको छ देखोस्‌ अनि मानवाधिकारको निम्ति आवाज उठाएर सहयोग गरोस्‌।
 आरटी वाइसी रिजनल टिबेटन युथ कंग्रेसका अध्यक्ष हुन्‌, तिनले भने, चीन सरकारले तिब्बतमा जुन अत्याचार गरिरहेको छ, यसलाई सबैले आँखी ओझल गरिरहेको अनुभव गरिएको छ।

 यहॉंसम्म की युएनओले समेत मानवाधिकारको निम्ति बोलिरहेको छैन। तिनले थपे, जब कि युएनओले  मानवाधिकारको निम्ति नै 30 बुँदे संविधान बनाएको छ। जहॉं कुनै पनि समुदायको धर्मात्याचार र शोषणको विरोध गर्ने र उनीहरूको अधिकार फिर्तिको निम्ति लड्‌ने कुरा उल्लेख छ।

 खै त यूएनओ बोलेको? कालेबुङको डम्बरचौकमा तीनदिने अनशन राखेर युएनओलाई प्रश्न गर्ने आरटीहरूलाई लागेको रहेछ, कालेबुङबासीले उनीहरूलाई सहयोग गरुन्‌। तिब्बतीहरूमाथि भएको अत्याचारको निम्ति मात्र होइन कमसेकम मानवाधिकारको हनन्‌को विरोधमा उनीहरू पनि तिब्बतीहरू झैं सडक उत्रिउन्‌। अनशनलाई व्यवस्थित गर्न खटिरहेका सोनाम याखाले भने, चीन सरकारले तिब्बतीहरूलाई पूजा गर्न समेत दिएको छैन। तिब्बतीहरुको निम्नतम्‌ नागरिक अधिकारसम्ममा हस्तक्षेप गरिरहेको छ। कुनै पनि समूदायले उनीहरूको धर्म मान्न सक्छन्‌, पूजा गर्न सक्छन्‌। उनीहरूको सांस्कृतिक मूल्यमा बॉंच्ने हक छ। र त्यसैमा हस्तक्षेप मात्र होइन तिब्बतीहरूको हत्यासमेत गर्ने काम भइरहेको छ। उनीहरूको निम्ति को बोल्ने? के उनीहरू तिब्बती भएको दोषमा उनीहरूले अत्याचार सहनु पर्छ? के विश्वमा मानवता भन्ने छैन? हदै भएर अहिले मौलिक अधिकारको निम्ति तिब्बतीहरूले आत्मदाह गर्न शुरू गरेका छन्‌।

 अहिलेसम्म 25 जनाले आत्मदाह गरिसकेका छन्‌। तिनी अनुसार यो आत्मदाह रहरले गरेको होइन। चीनको अत्याचारको विरुद्ध मात्र पनि गरेको होइन। गरेको हो भने केवल चीनको अत्याचारप्रति विश्वको ध्यान खिच्न गरेको हो। युएनओको ध्यान खिच्न गरेको हो।

 मानवाधिकारको निम्ति गुहारको निम्ति गरेको हो। अनशनकारीहरूलाई मानसिक सहयोग गर्न आएकी टासी डोमाले भनिन्‌, चीनको अत्याचारले सीमा नाघिसक्दा पनि विश्व चीनको तानाशाहको विरुद्ध नबोल्दा आत्मदाह गर्न बाहेक अर्को विकल्प छैन। 24 जना तिब्बती महिलाहरूको अनशनको अभीप्सा पनि चीन सरकारको विरोधसित नै यस्तो तानाशाहको विरुद्ध समर्थन जुटाउनु वा गुहार माग्नु नै रहेको स्पष्ट थियो। गोर्खा जनमुक्ति मोर्चाका नेताहरू नोर्देन लामा, सामुएल गुरूङ, सुनिल प्रधान,विजय सुन्दास माकपाका तारा सुन्दास अनि गोर्खालिगका प्रताप खाती अनशनकारीहरूलाई खदा लगाउन आउँदा अनशनकारीहरूले यही नै भनिरहेका थिए, हामीलाई कालेबुङको सहयोग चाहिएको छ। तिब्बतीहरूमाथिको क्रुर अत्याचारको निम्ति आवाज उठाइदिनोस्‌।

 दावा च्याङ्‌जोङ, पेम्पा भोटिया, पेम्पा डोमा, छिरिङ वाङ्‌मू, लमुछिरिङ भोटिया, मिस चुङ्‌दा, सोनाम लमु, निमा लमु, लोपसाङ ग्यात्सो, छिरिङ ढेण्डुप, सोपसाङ पेञ्जो, लाछिरिङ, थाक्सो छिरिङ, पेमा छ्‌याङजोङ, शेरप छोम्पेल, थेन्डुप साङ्‌पो, टासी डोमा, सामचोङजम, छितेन छुकी, निमा भोटिया, थिन्ले पेन्दुम, छिरिङ किपा, छिरिङ ल्हादेन अनि केल्साङ छुकी अनशनमा छन्‌। बिहान आठबजीदेखि शुरु भएको अनशन बेलुकी आठैबजीसम्म नै रहने छन्‌।
 सॉंझमा मोमबत्ती जुलूस पनि निकालिने छ। बारम्बार बजाइएको जाग्रत गीतले उत्साहित अन्य प्रतिनिधिहरूले एकातिर हस्ताक्षर पनि संग्रह गरे। तपाईँले किन हस्ताक्षर गर्नु भइरहेको छ, थाहा छ? उनीहरूले हस्ताक्षर गर्नेलाई उल्टै सोधिरहेका थिए।

 लहैलहैमा हलस्ताक्षर गर्नेहरूलाई तिब्बतमा भइरहेको तानाशाह र हत्या-हिंसाको महाभारत नै बताइरहेका प्रतिनिधिहरूले भने, हामी चहान्छौं, हाम्रो समस्या सबैले बुझुन्‌। मानवताको नाताले एक मानवमाथि भइरहेको हत्या हिंसाको विरुद्द आवाज उठाइदिउन्‌। एक चिनी सैनिकले एक टिब्बतीमाथि कनपपट्टिमा नै पिस्तोल ताकिरहेको पोष्टरमुनी बसेकी दशौं श्रेणी पढिरहेकी पेमा भोटियाले भनिन्‌, तिब्बतमा  न पढ्‌न पाइरहेका छन्‌, न दैनिक जीवन नै आफ्नो खुशीले जिउन नै। हरेक कुरामा चीन सैनिकको पावन्दी छ। यस्तो अत्याचारको विरोध पनि हामीले यसरी गोली थापेर नै गरिरहेका थियौं। तर अब सहन गर्न नसकेपछि आत्महत्या जस्तो हिंसाको बाटो छान्न बाध्य परिरहेका छौं। किन भने तिब्बतमा गोली खानेहरू हाम्रै सन्तान हुन्‌।

 उनीहरू त्यहॉं मरिरहेका छन्‌। यहॉं हामी खुशी बन्न सक्दैनौं। यसैकारण लोसार पनि हामीले मनाएनौं। लोसारलाई पनि चीन सरकारको अत्याचारकै विरुद्धमा यसरी अनशनद्वारा पालन गरिरहेका छौं। तिनले अझ भनिन्‌, के तिब्बतीहरू मान्छे होइनन्‌? उनीहरूलाई मान्छे भएर बॉंच्ने अधिकार छैन? जब अधिकारको कुरा उठाइन्छ किन गोली ठोकिन्छ?
 तिनको कुराले एउटै कुरालाई प्रमाणित गरिरहेको थियो अब केवल बर्निङ टिबेट होइन बर्निङ वर्ल्ड भइरहेको छ। विस्तारै तिब्बतीहरूले तिब्बतलाई चीनबाट मुक्त गर्न शक्ति सचय गरिरहेको छ।

 यता अनशनको अर्थ केवल दलको कार्यक्रम सम्झने कालेबुङवासीलाई भने आजको तिब्बतीहरूको अनशन राम्रै रमिता बनेको छ। तीन दिन नै उनीहरूलाई रमिता हुने निश्चित छ। डम्बरचौकमा बसेर लगाइरहेको गुहार के कालेबुङबासीले सुनिरहेका छन्‌? तीनदिनपछि नै यसको जवाब बनिने निश्चित छ।

1 comments: on "बर्निङ टिबेटको झिल्को डम्बरचौकमा -तिब्बतीहरूको गुहार र रमिता"

News7 said...

बोगटीको अहिलेसम्मको अफबीटहरुमध्ये सर्वोत्कृष्ट .. बधाई..