मुख्य समाचार :


अमिर बनाउने बद्रीःबद्री बनाउने अमिर


मनोज वोगटी
कालेबुङ,16 जनवरी।
बद्रीनारायण प्रधानले अमिर सुन्दासलाई बनाए अनि अमिर सुन्दासले बद्रीनारायण प्रधानलाई। यस्तै भएको छ बाग्राकोटमा। हिजो प्रबुद्ध साहित्यकार बद्रीनारायण प्रधानको सालिग अनावरणमा सबैभन्दा खुशी थिए अमिर सुन्दास। 10 दिनमा नै अमिरले फाइबरको मुर्ति तयार पारे। त्यही मुर्तिमा बद्रीनारायणकी धर्मपत्नि पद्मा प्रधानले पनि श्रद्धा पहिराइन्‌। सीपीएमसित अन्तमा बद्रीनारायण प्रधानको आँत मिलेन तरै पनि तिनले मार्क्सवादलाई आदर्शकोरुपमा अङ्गीकार गरिरहे। सैद्धान्तिक र वैचारिकरुपले कहिले मिल्न नसक्ने इन्द्रबहादुर राईले घरि राजनीति  र घरि साहित्यमा लागेकाले बद्रीनारायणको साहित्यले फड्‌को मार्न नभ्याएको बताइरहेका थिए। तरै पनि जति फड्‌को मारे त्यो कम्ती नरहेको पनि तिनले भनिदिए। डुवर्सबाट बद्रीनारायणको नाम हटाइदिए डुवर्सको आजको शैक्षिक मानचित्र नरहने ठोकुवा इन्द्रबहादुर राईले गरिरहेको समय तिनको सालिग बनाएर सबैभन्दा हर्षित रहेका अमिर सुन्दासले भनिरहेका थिए, बद्रीसरले कला चिनाइदिए, त्यही कला तिनमा समर्पण गरें। बद्री सरकै सालिग बनाएदेखि अब मलाई मुर्तिकार पनि भन्नेछन्‌। अमीर र बद्रीबीचको नाता जति निकट थियो उति नै वैचारिक पाटो र रचनात्मक उद्देश्यले पनि एउटै बाटो समात्यो। बद्रीनारायणको बाटो हिड्‌ने युवाहरु बाग्राकोटभरि छरिएका छन्‌ अनि सबैसित बद्रीको मार्क्स आदर्शको बीज हुर्किरहेको छ। बद्रीनारायण प्रधानको देहान्त पछि बाग्राकोट ह्वाङ्ग बनेको थियो। भर्खर तुफान आएर थामिएको बेला अरसल्ल परेका कृषकहरू जस्तै बनेका थिए बाग्राकोटेहरू।  बद्रीकोे आदर्शलाई आफ्नो आदर्श बनाउनेहरू बाबुबिनाका छोरछोरी बनेका थिए। बद्री सरले नबोली धेरै दिएको कुरा खोल्न नसक्ने, बोल्न नसक्ने तर बद्रीनारायणको चिरस्थायी स्मारक स्थापित गर्दै औडाहा खोल्दै 'बुबाको निम्ति केही त गर्नुपर्छ, तर के गर्ने' भन्ने कुरा उठेपछि अमिरलाई लाग्यो- 'म केही गर्छु।' तिनले त्यो 'केही' आखिरमा गरेर नै छाडे। कागजमा सबैलाई मक्ख पार्ने चित्र कोर्ने अमिर बाग्राकोटेहरू दिनहुँ हिँड्‌ने बाटो कै माटो उठाएर 'केही' गर्न बसे। माटो खेलाउँदा खेलाउँदै केहीदिन अघि अवसान बनेका बद्रीनारायण प्रधान बनियो। बाट्टैमा बनिँदै गइरहेको आकृतिलाई हेर्दै हिँड्‌नेहरूलाई तिनले सोधे, 'यो कसको मुर्ति हो?' अमिरले खोजेको उत्तर जबसम्म पाएन तबसम्म तिनी लागिपरे। जब 'अप्पुई बद्रीसरको मुर्ति पो रहेछ' भन्ने टिप्पणी बाटो हिँड्‌नेहरूबाट पाए तब अमिरलाई 'केही' गर्न सकेको बोध भयो। त्यही माटोको मुर्ति बनाएर आफूभित्र पक्का केही गर्न सक्ने क्षमता छ भन्ने कुरा थाहा पाएपछि तिनले फाइबरको मुर्ति बनाए। त्यही तिनले बनाएको पाइवरको पहिलो मुर्ति थियो। त्यही मुर्तिको अनावरण इन्द्रबहादुर राईले गरिदिए। यत्रो राम्रो काम गरेका छन्‌ अमिरले, साह्रै खुशि लाग्यो, बद्रीधाममा बनाइएको इन्द्रको आसनबाट बोल्दै इन्द्रबहादुर राईले भनिदिए। डुवर्सका साहित्यकार बद्रीनारायण प्रधानलाई थाहा थियो कि थिएन, अमिरले तिनको मूर्ति बनाउने पहिलो किर्तिमान कायम गर्छ भन्ने कुरा। अमिरले भने, सरले टाउको हातले मुसारिदिएर 'तिमीले आफ्नो कलालाई शीखरमा पुर्‍याउनु' भन्ने आशिर्वाद दिएका थिए। तिनै बद्रीको मूर्ति बनाएर अमिरले बद्रीले अमिरभित्र देखेको सपनालाई पुरा गरिदिएका छन्‌। अमिरले भने,'तिनको शव लडिरहेको थियो। उनी मेरो पिताका साथी हुन्‌। मेरा पनि साथी नै भए। दुवै पुस्तालाई एकैसाथ बॉंधेर राख्न सक्ने प्रिय साहित्यकारको शव अघिल्तिर देख्दा मलाई लाग्यो, उनको निम्ति मैले गर्नुपर्ने केही छैन। मूर्ति जस्तो लडिरहेको तिनको मुर्ति नै बनाउँछु, त्यसबेला यस्तो सोंच आएको थियो। त्यो सोंच आज यथार्थ बन्यो। 8 मई 2010 को दिन साहित्यकार बद्रीनारायण प्रधानको देहान्त भएको थियो। बद्री नारायण प्रधानको किर्तीलाई सधैँको निम्ति बचाइराख्न गठित बद्रीनारायण स्मृति प्रतिष्ठानले अझ धेरै काम हातमा लिएको छ। अब स्मृति ग्रन्थ प्रकाशित गर्नेछौं-प्रतिष्ठानका अध्यक्ष निर्मल शर्माले भने। कवि राजा पुनियानीले कविता सुनाउन अघि भने, हामी सबैलाई मुर्ति बनाउँछौं। हामी मुर्तिबिना बॉंच्न सक्तैनौं। मुर्ति पूजा नभइ हुँदैन। बद्रीसरलाई पनि मुर्ति बनाएका छौं। त्यो मुर्ति केवल फाइबरको मुर्ति नबनोस्‌। सधैँ सिर्जनात्मक हुने अनि मार्क्सको आदर्शलाई व्यवहारमा देखाउने बद्रीनारायण प्रधानले जिउँदो हुँदा धेरैलाई धेरै केही बनाएका छन्‌।  मृत्युपछि पनि तिनले समाज र असल नागरिक बनाउने कार्य गरेर गएका छन्‌। बद्री गए तर बद्रीबाट नै एक पट्टो गोर्खे मुर्तिकार अमिर आए। 'बद्रीनारायण प्रधानले धेरै अमिर सुन्दासहरू बनाएका छन्‌ अनि त्यसमध्येका एक अमिर सुन्दासले बद्रीनारायण प्रधान बनाएका छन्‌। यो क्रम बाग्राकोटमा तबसम्म चल्नेछ जबसम्म बद्रीनारायणको आदर्श पाल्ने युवापुस्ता सिर्जनात्मक हुनेछ'-अमिरले भने।

0 comments: on "अमिर बनाउने बद्रीःबद्री बनाउने अमिर"