मुख्य समाचार :


गोटाफोमा अब हिल कंग्रेस र हिल भाजपा पनि आउने


कालेबुङ,१० जनवरी|
गोर्खाल्याण्ड टास्क फोर्सका अध्यक्ष डा. एनोसदास प्रधानले गोर्खाल्याण्ड टास्क फोर्स भनेको केवल दुइचार राजनैतिक सह्गठनहरूको मञ्च नरहेको खुलाएका छन्| राष्ट्रिय आन्दोलनको स्पष्ट अवधारणालाई सबैसमक्ष राख्दै सबैसित एकिकृतरुपले कार्य गर्दै गोटाफो अघि बढ्ने बताउँदै आउने महिनाभित्र गोटाफोमा हिल कंग्रेस अनि हिल भाजपा पनि संलग्न हुने जानकारी तिनले दिएका छन्| गोटाफोभित्र छुट्टै राज्यपन्थी सबै दल र सङ्गठनहरूलाई एकिकृत गरेर राष्ट्रियरुपमा छुट्टै राज्य गोर्खाल्याण्डको आवाज बुलुन्द गर्ने बताएको भए पनि अहिलेसम्म गोटाफोमा भागोप, क्रामाकपा, गोर्खालिग, गोरानिमो, गोरामुमो-सी लगायत दिल्ली र उत्तरपूर्वाञ्चल गरी दुइ राजनैतिक सङ्गठन सामेल रहेको देखिएको थियो| गोटापोले शक्ति निर्माण र मुद्दा दाबीको बलियो आधारभूमि तयार पार्न सबैलाई समेटेर अघि बढ्ने कोशिश जारी राखेको बताइएको छ| यसो कोशिषको फलस्वरुप नै हिल केग्रेस र हिल भाजपा गोटाफोमा संलग्न भएर अघि बढ्ने भएको प्रधानले बताएका छन्| यता गोटाफोको गठनले मोर्चाबाहेक अन्य जम्मै साना-ठूला राजनैतिक शक्ति, बुद्धिजीवी, दल र सङ्गठनहरूलाई  एकिकृत गर्ने सुनिए पनि अहिलेसम्म वर्तमान राजनैतिक परिवेशमा निक्कै नाम सुनिँदै आइरहेका छत्र सुब्बा, सीके श्रेष्ठ, अजय दाहाल, प्रवीण गुरूङ, दावा शेर्पा, श्हकरहाङ सुब्बा लगायत कतिपय अराजनैतिक सङ्गठनहरू गोटाफोमा देखिएको छैन| गोटाफो र मोर्चामा नरहेको तर केही न केही राजनैतिक इच्छाशक्ति र जनाकांक्षालाई सम्बोधन गर्ने आशय व्यक्त गर्दै आइरहेकाहरूबाट नै पहाडमा अर्को राजनैतिक दल गठन हुने हल्ला पनि चलिरहेको छ| उनीहरू जो राजनैतिक क्रियाकलापमा सक्रिय देखिएका छन् तर गोटाफोमा संलग्न छैन, उनीहरूसित गोटाफोले के सम्पर्क गर्ने कार्य गरिरहेको छ?भन्ने प्रश्‍न गर्दा गोटाफोका राष्ट्रिय संयोजक आर मोक्तानले भारतभरिका गोर्खाहरूको राजनैतिक चिह्नारीको सवाललाई बोकेर युद्धरत गोटाफोले ठुट्टै राज्यको आकांक्षी सबैसित सहवार्ता गर्ने, पत्राचार गर्ने, भेटघाट गर्ने कार्य गरिरहेको बताए| छत्र सुब्बा, अजय दाहाल, लगायत अन्य सबै जो छुट्टै राज्यको निम्ति भनेर नै राजनैतिक क्रियाकलापमा सक्रिय छन्, उनीहरूलाई गोटाफो निर्माण अवधीको दुइपल्टकै बैठकमा पत्राचार गरिएको भए पनि उनीहरू अनुपस्थित रहेको पनि स्पष्ट पारेका छन्| नयॉं राजनैतिक दलको गठनको हल्ला चलिरहेको भए पनि गठन भइहालेमा उनीहरूसित पनि गोटाफोले राष्ट्रियरुपको छुट्टैराज्यको आन्दोलनमा उनीहरूको सहकार्यको अपेक्षा गोटाफोले गरेको पनि तिनले बताएका छन्| बोलाउँदा पनि नआएको कारण धेरैसित अझ पनि राम्रोसित सम्पर्क  गर्न नसकिरहेको पनि बताइएको छ| गोटाफो अनुसार यदि कोही पनि छुट्टै राज्य गोर्खाल्याण्ड चहान्छन्, उनीहरूसित राज्यप्राप्तिको निम्ति असल योजना र विचारहरू छन्, उनीहरूले पनि गोटाफोसित कार्य गरिदिए छुट्टै राज्यको आन्दोलनले राष्ट्रिय बल सञ्चय गर्न सक्छ| आज गोटाफोको बैठकमा सामेल क्रामाकपाका प्रतिनिधि एलएम लामाले दुइपल्ट जनतालाई धोका भइसकेको अनि अब तेस्रो पल्ट पनि धोका नहोस् भनेर नै गोटाफोले राष्ट्रियरुपको आन्दोलन गरिरहेको जनाए| गोर्खालीगका प्रतिनिधि लक्ष्मण प्रधानले अहिलेसम्म कागले कान लग्यो भन्दा कानै नछामी कुद्ने हुँदा नै ठूलाठूला भूलहरू भएको बताउँदै मुद्दाको उठान ठीकसित नभएकोले नै अहिलेसम्म असफलता हात लागेको बताए| गोरामुमो-सीका कर्णल डीके प्रधान, गोरानिमोका टीका खाती अनि गोटाफोका आर मोक्तानसम्मले गोटाफोले अघिल्ला भूलहरुमाथि समीक्षा गर्दै वास्तविकरुपमा छुट्टै राज्यको मात्र आकांक्षा राखेर आन्दोलनको प्रारुप तयार पारिरहेको बताएका छन्|


0 comments: on "गोटाफोमा अब हिल कंग्रेस र हिल भाजपा पनि आउने"