मुख्य समाचार :


छत्र-विमलको सामान्य भेटघाट तेस्रो शक्तिको निम्ति हानिकारक?



कालेबुङ,14 जनवरी।
गोप्य सूत्रले बताए अनुसार छुट्टैराज्य पन्थी जीएलओ नेता छत्र सुब्बा अनि जीटीएपन्थी गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङबीच कृषि पर्यटन मेलाको बहानामा स्थानीय कफी हाउसमा पच्चीस मिनट कुराकानी भयो। के कुराकानी भयो, छत्र सुब्बा अनि विमल गुरूङ बाहेक अरु कसैलाई थाहा छैन। विपरित ध्रुवका दुइनेताको भेटघाट अनि वर्तमान तेस्रो शक्तिद्वारा बनिरहेको तानाबानाबीच धेरै असामाञ्जस्यता देखिएको छ। पहाडमा स्थापित हुने हल्लाबीच आन्तरिकरुपले राजनैतिकरुपले तीब्र चहलपहल गरिरहेको तेस्रो राजनैतिक शक्तिभित्र नै छत्र सुब्बा पनि रहेको व्यापक अडकलबाजी छ। जबदेखि पहाडमा तेस्रो राजनैतिक दलको गठन हुने हल्ला चल्यो, तबदेखि नै सबैको आँखा छत्र सुब्बामाथि परिरहेको छ। राजनीतिमा चासो राख्नेहरूले नयॉं राजनैतिक दलको नाइके छत्र सुब्बा नै हुने अनुमान गरिरहेका थिए। तेस्रो शक्तिमा रहेका केही चर्चित राजनैतिक व्यक्तिहरूद्वारा छत्र सुब्बासित धेरैपल्ट भेटघाट गरेको पनि छापामा आइसकेको छ। यो भेटघाटलाई नयॉं राजनैतिक दल गठन प्रक्रिया कै इतिवृतमा सबैले हेरिरहेका थिए। यसरी सबैले छत्र सुब्बालाई गिद्धे नजरले हेरिरहेकै कारण छत्र सुब्बाले धेरजसो राजनैतिक व्यक्तिहरूसितको सॉंठगॉंठलाई कम गरिरहेको पनि धेरैले देखिरहेको विषय हो। यसै कारण नै अजय दाहालको पुस्तक विमोचनमा पनि छत्र सुब्बाको उपस्थिति रहेन। सूत्रले बताए अनुसार तेस्रो शक्तिले छत्र सुब्बालाई पनि नयॉं पार्टीमा सामेल गराएर छुट्टै राज्यको आन्दोलन अघि बढाउने प्रयास गरेको थियो। तर छत्र सुब्बाको राजनैतिक अडान स्पष्ट नरहेको कारण नै उनीहरूबीच नयॉं राजनैतिक समिकरणको निम्ति सैद्धान्तिक सहमति हुन सकेको थिएन। छत्र सुब्बाले बताए अनुसार आन्दोलन जनताले आह्वान गरेपछि गरिनुपर्छ। त्यसैकारण तिनले भनेका छन्‌, अहिले जनता पैसाको पछि दगुरिरहेका छन्‌, म कस्तो जनताको निम्ति लड्‌नु? जनताले नै छुट्टै राज्य चहानुपर्छ। जनताले आह्वान गरेमा म आन्दोलन गर्छु। तेस्रो शक्तिसित सम्बद्ध सूत्रले बताए अनुसार जनता राजनैतिकरुपले सचेत नरहेकोले सचेत, बुद्धिजीवी, शिक्षित र राजनैतिकरुपले बौद्धिकहरूले नै नेतृत्व गर्नुपर्छ। नत्र 'बङ्गभङ्ग होबेना' भन्दा पनि जनताले ताली मार्छन्‌। त्यो राजनैतिकरुपले सचेत नभएर नै हो। सही नेतृत्वमा, सही मानकमा आन्दोलन भएमा जनताले निश्चय नै समर्थन गर्नेछ। जेलमुक्त बनेपछि छत्र सुब्बाको राजनैतिक सोंचमा पनि परिवर्तन आइसकेको धेरैले बताइरहेका छन्‌। आजको सन्दर्भमा जङ्गीरुपको आन्दोलन र यस्तो आन्दोलनको नेतृत्व मुद्दाको निम्ति नै हानिकारक हुनसक्ने पनि सचेतहरूले भन्दै आइरहेका छन्‌। अहिलेको छुट्टै राज्य र जीटीए, क्षेत्रीय र राष्ट्रियबीचको राजनैतिक खिचातानी र आन्दोलनको परिस्थितिबीच छत्र सुब्बाले कुनै पनि परिस्थितिमा बौद्धिकरुपको आन्दोलन गर्न नसक्ने पनि पर्यवेक्षकहरूले ठानेका छन्‌। 11 वर्ष जेलबासभित्र छत्र सुब्बाको पारिवारिकपक्षमा आएको उत्तरचडाव, मानसिक यन्त्रणा अनि यत्रोवर्षको जेलयातनाले सुब्बाको वैचारिक धरातलमा पारेको प्रभावको कारण पनि सुब्बा आन्दोलनको निम्ति अहिले नै तयार नरहेको छत्र सुब्बा आफैको विरक्तिपूर्व टिप्पणीहरूले स्पष्ट पार्दै आइरहेको सबैले अनुमान गरिरहेका छन्‌। तेस्रो शक्तिसित हिमचिम कम गर्नु र मोर्चासित हिमचिम बढाउनु, स्वकीय स्पष्ट राजनैतिक अडान नहुनु अनि आन्दोलनको परिस्थिति पनि नहुनुको कारण सुब्बाको राजनैतिक अवतरण अहिले नै हुने छॉंट नदेखिएकोले अहिले छत्र सुब्बालाई छोडेर नै तेस्रो शक्तिले आफ्नो रणनीति बुनिरहेको पनि सम्बन्धित सूत्रले बताएको छ। सुब्बाको सॉंठगॉंठ मोर्चासित सहसिएपछि तेस्रो शक्तिलाई कुनै असर त पर्दैन भन्ने चर्चा अहिले व्यापक छ। तर यस्तो अवस्थामा छत्र सुब्बाको भेट विमल गुरूङसित हुनु तेस्रो शक्तिको निम्ति कुनै पनि गम्भीर प्रश्न नरहेको पनि सम्बन्धित सूत्रले बताएको छ।  विमल गुरूङ र छत्र सुब्बाको भेट मीडियामा छाएपछि पनि छत्र सुब्बाले भेटघाटलाई सामान्य बताउँदै पनि जीटीए पन्थी र छुट्टै राज्यपन्थीबीच राजनैतिक एकिकरण हुन नसक्ने कुरा बताएर छत्र सुब्बाले कुनै पनि राजनैतिक दलदेखि आफू अलग बस्ने मन बनाएको अनुमान गरिएको छ। तर मोर्चासित तिनको आन्तरिक सम्बन्ध गहिरोरुपले गासिँदै गरेको पनि धेरैले अनुमान भने गरिनै रहेका छन्‌। यस्तो अवस्थामा सुब्बाले आफूलाई कतिञ्जेल अक्षुण्ण राख्न सक्ने हुन्‌, सबैको गिद्धे नजर छत्र सुब्बामाथि परेको छ।

0 comments: on "छत्र-विमलको सामान्य भेटघाट तेस्रो शक्तिको निम्ति हानिकारक?"