मुख्य समाचार :


पञ्चायत चुनाउ जीटीए ढिलाइको ढाकछोप मात्र हो-क्रामकपा

प्रज्ज्वल छेत्री
कालेबुङ, 15 जनवरी।
गोर्खा जनमुक्ति मोर्चा अहिले दार्जीलिङ पहाडको तीनैवटा महकुमामा जीटीए गठनअघि नै चॉंडो भन्दा चॉंडो पञ्चायत चुनाउ गराउने पक्षमा छ।जीटीए सम्झौतामा पहाडमा त्रिस्तरीय चुनाउ हुने कुरा उल्लेख गरिएको छ। तर मोर्चा भने अहिलेलाई दुइस्तरीय पञ्चायत चुनाउ गराउने अनि पछिबाट ग्राम पञ्चायत अनि खण्डहरू बढोत्तरि गरेर नै त्रिस्तरीय चुनाउ गराउने पक्षमा रहेको छ। जीटीएअघि नै पञ्चायत चुनाउ गराउने मोर्चाको भनाइलाई क्रामाकपाले भने जीटीए ढिलाइ हुने थाहा पाएकै कारण ढिलाइको ढाकछोपको निम्ति पञ्चायत चुनाउको कुरा गरेको बताएको छ। मोर्चाको अहिलेलाई दुइस्तरीय अनि पछिबाट त्रिस्तरीय चुनाउलाई अपत्यारो सम्झँदै क्रामाकपा उपाध्यक्ष तारामणि राईले भने, दुइस्तरीय अहिले अनि तीन महिनापछि जीटीए गठन भए फेरि त्रिस्तरीय चुनाउ हुन्छ त? तीन महिना त के वर्षदिनभित्रमा पनि दुइवटा चनाउ गराउनु कसरी सम्भव छ? जीटीएमा देखापरेको कानुनी अडचनकै कारण जनताअघि जीटीए ढिलाइलाई ढाकछोेप गर्न नै मोर्चाले पञ्चायत चुनाउ गराउन चाहेको स्पष्ट छ।

तिनले अझ भने, गोरामुमोले छैटौं अनुसूचिमा हस्ताक्षर गरेपछि बङ्गाल विधानसभाले पारित गरेर केबिनेट मन्त्रालयम्म पुगेर पनि छैटौं अनुसूचिको बील संसदमा पुगेपछि मात्र फर्किएको हो। छैटौं अनुसूचि पूर्णरूपमा खारेज भएको छैन। यसैले जीटीए गठन हुनको निम्ति छैटौं अनुसूचि खारेज हुनपर्छ। तर यस्तो भएको छैन। पहिलेको सम्झौता खारेज नभइ फेरि गोजमुमोसँग जीटीएमा त्रिपक्षीय सम्झौता भयो। दार्जीलिङ पहाडको निम्ति दुइवटा सम्झौतामा हस्ताक्षर भएकोले नै अहिले थुप्रै कानुनी अडचनहरू देखापरेको छ, जसको कारण अहिले नै जीटीए गठन सम्भव नरहेको कुरा मोर्चाले राम्ररी बुझेको छ। हतारमा गरेको सम्झौताको कारण मोर्चा अहिले फूर्सदमा पश्ताउँदैछ। सोँचेजस्तो सजिलो नहुने रहेछ भन्ने अब मोर्चाले बुझ्न थालेको छ।

तिनीअनुसार जीटीए कुनै दृष्टिकोणबाट पनि छिटो हुने सम्भावना छैन। यदि सम्झौता अनुसार पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुन्छ भने अहिले दुइस्तरीय चुनाउ गराउने मोर्चालाई लागेको हतारो बुझ्न नसकिने पनि तिनले बताए। ग्राम पञ्चायत चुनाउ हुनैपर्ने पक्षमा क्रामकपा रहेको भएपनि कुन स्तरीय, कुन सम्झौताअनुसार, कि पहिलेको दागोपापको समयको जस्तो मात्र हुने भन्ने कुरा महत्वपूर्ण रहेको पनि राईले बताए। गाउँको अवस्थाहरूलाई हेर्दा नगरपालिका चुनाउ गराउँदा नै पञ्चायत चुनाउपनि सँगसँगै हुनपर्ने क्रामाकपाले बारम्बार भनिरँदा पनि त्यसबेला मोर्चाले नगरपालिका चुनाउ गराएर पञ्चायत चुनाउ गराउन नचाहेको पनि तिनले बताए।
नगरपालिका चुनाउ विकासकै निम्ति अति आवश्यक रहेको मोर्चाको ठहर छ। यसरी नै जीटीए गठन पछिमात्रै पञ्चायत चुनाउ हुन्छ भनेर मोर्चा अध्यक्षले बारम्बार भनिरहेका थिए भने अर्कोतिर मोर्चा प्रवक्ता डा. हर्कबाहदुर छेत्रीले विकासकै निम्ति पञ्चायत चुनाउ जतिसक्दो चॉंडो हुनुपर्ने कुरामा जोड दिए। यसरी पञ्चायत चुनाउलाई लिएर हरेकको आ-आफ्नो धारणा र बुझाइ छ। अर्कोतिर, पिपल्स फोरमले नगपालिका र पञ्चायत चुनाउ गरेर मोर्चाले जीटीएलाई नै स्थायी व्यवस्था बनाउन खोजिरहेको आरोप लगाइरहेको छ भने क्रामकपाले चुनाउ गराउन र जीटीए गठनमा संवैधानिक प्रक्रिया बाधा हुने बताउँछ। राजनैतिक महत्वकांशा र कानुनी अड्‌चनबीच गोर्खाल्याण्डप्रेमि जनता भने चिन्हारी र विकासको आशामा प्रतिदिन काकाकुल बनिरहेको पर्यवेक्षकहरू बताउँछन्‌।

0 comments: on "पञ्चायत चुनाउ जीटीए ढिलाइको ढाकछोप मात्र हो-क्रामकपा"