मुख्य समाचार :


समय केलाउँदै कविहरू

कालेबुङ, 6 जनवरी।
टेक्नेहरूले त्यसको टाउको समातेर/जहॉंसम्म घिस्याउँछ/ठीक त्यहीँ अन्त हुन्छ लौरोहरूको कथा-भनिरहेका थिए पट्ठो कवि निर्मल तामङ। कविहरूलाई एक ठाउँ जुराएको थियो सय वर्षे साई दर्पणले।
 दागोपापको सबैभन्दा पर मानिएको 28 नम्बर समष्टीको रोङ्गोमा नैतिक मूल्यको स्थापनाको उद्देश्य राखेर बालक बालिकाहरूको निम्ति प्रकाशित भएको साईदर्पण आध्यात्मिक पत्रिकाकोे सयौं अङ्‌कलाई विशेष अङ्‌क बनाएर त्यसको लोकार्पण गरिएको थियो। वरिष्ट भारतीय नेपाली लेखिका विन्ध्या सुब्बा मुख्य अतिथि अनि सानुमति राई विशिष्ट अतिथि थिइन्‌। उनीहरूसित नै उभेर पत्रिकाका सल्लाहकार विवेककेशर पाण्डेले सयौं अङ्‌क लोकार्पण भएको घोषणा गरिदिए। पाण्डेले भने, जन्मियो अर्को ठाउ, हुर्कियो अर्को ठाउँ। यसको निरन्तरता भनेको नैतिक मूल्यको स्थापनाको लामो संघर्ष हो। वास्तवमा पाठकले चाहेको कुरा पस्किन सकेमा पत्रिका नबिक्ने कुरा नआउने रहेछ।
 यसैको लोकार्पणको निहूमा पाण्डेले साहित्यिक कार्यक्रममा आम मानिसहरुको सहभागिताको प्रयास उप्रान्त शुरु गर्नुपर्ने प्रस्ताव पनि राखे। जुन पाठ्य पुस्तक पढेर विद्यार्थीहरूले साहित्य सिक्छन्‌, ती पाठ्यपुस्तक लेखकहरूलाई किन सम्मान गरिँदैन?अब साई दर्पणले यतातिर पनि सोंचेको छ-तिनले थपे। अंग्रेजीमा लेख्नेहरूलाई पनि नेपाली साहित्यिक कार्यक्रमहरूमा सहभागिता गराइए बौद्धिक चेतनाको नयॉं बाटो निर्माण हुने विश्वास पनि तिनले प्रकट गरे। मुख्य अतिथि विन्ध्या सुब्बाले ल्याम्प पोष्ट मुनी पढ्‌ने पनि विद्यार्थी नै रहेको बताउँदै साई दर्पणको गरीमामाथि प्रकाश पारिन्‌। केवल साईभक्तहरूको निम्ति मात्र नभएर नैतिक र मानवमूल्यको शिक्षाका भोकाहरूलाई पनि साई दर्पणले समेटिरहेको कुरा खुलाउँदै आध्यात्म साहित्यसित जोडिएकै एउटा विशिष्ट दर्शन रहेकोले साहित्य भन्ने फरक फरक नहुने तथा साहित्यको उद्देश्य समाज र मानव मूल्यको विकाससित नै जोडिएको कुरा पनि तिनले गरिन्‌। सानुमति राई भने सधैँजस्तो चुपचाप थिइन्‌। नबोलेर पनि धेरै बोलिरहेकी सानुमति राईले यसपल्टको पारषमणि पुरस्कार प्राप्त गरेकीले तिनलाई साई दर्पण परिवारले सम्मान पनि जनायो। साङ्गठानिक घेरोबाट बाहिर छिरिसकेको साई दर्पणले वास्तविकरुपमा मानवलाई मानव हुन सिकाउन श्री सत्य साई बाबाले दिइरहेका नैतिक मूल्यको शिक्षा सम्प्रसारणको निम्ति बाटो फराकिलो पारिरहेको साई दर्पणका मूल सम्पादक मोहन ठकुरीले बताइरहेका थिए। दोस्रो चरणमा शुरू भएको कवि गोष्ठीमा क्यापमा, फिलामा, आङमा चे ग्वेभारा बोकेर हिँड्‌नेहरू ड्रग्स  सेवन गर्नेहरू रहेको कविताले देखेको कुरा गर्दै शमशेर अलिले  विषयको सही ज्ञान नलिई मूल्यको अवमूल्यन गर्ने संस्कार हुर्किसकेकोमा सचेत गराइरहेका थिए। उदय थुुलुङले  खेत स्याहरेर बस्नेहरूको सपना इलामे बनेर फुलिरहेको कुरा गर्दै आफ्नो समय चिनाइरहेका थिए भने देवलाल मोक्तानले बिहारी भैयालाई उन्मुक्तिको निम्ति सय वर्ष पर्खिनु नपरेकोमा भाग्यमानी बताउँदै भारतीय गोर्खाहरूको संघर्षको अर्थ खुलाइ रहेका थिए। कविहरू आध्यात्मिक कार्यक्रममा पनि समय नै केलाई रहेका थिए। कवि सुधिर छेत्रीले श्रेणी कोठाभित्र बॉंडिने मूल्यले कोठा बाहिर अनुहार हराउने कुरा गरिरहेका थिए भने पट्ठो कवि विनम रनपहेंलीले विसङ्गत वंशानुक्रमको इतिवृत देखाइरहेका थिए। कवि कमल रेग्मी, किरण स्याङदेन, सुरज रोसूरी लगायत उपास्थित जमातले नै वास्तवमा मान्छेले मावन मूल्य कतै न कतैबाट गुमाइरहेको कुरा गर्दै सचेत समाज र मासिकताको विकासको निम्ति जोर दिइरहेका थिए।
 


0 comments: on "समय केलाउँदै कविहरू"