मुख्य समाचार :


ममता व्यानर्जीको खबरदारी पहाडमा राजनैतिक शिथिलता

कालेबुङ, 6 जनवरी।
मुख्यमन्त्री ममता व्यानर्जी गोर्खा जनमुक्ति मोर्चासित खुशी नरहेको कुरा प्रकाशमा आइसकेको छ। तिनले भनेकी छन्‌, गोर्खा जनमुक्ति मोर्चाले सम्झौताको कदर गर्नुपर्छ। 18 जुलाईको दिन केन्द्र, राज्य अनि मोर्चाबीच जीटीएको सम्झौता भएको छ। यसमा मोर्चा महासचिव रोशन गिरीले हस्ताक्षर गरेका छन्‌। यही जीटीएको गठनमा ढिलाई भइरहेकोले गोर्खा जनमुक्ति मोर्चा पनि दुवै सरकारसित खुशी छैनन्‌। राष्ट्रपतिको अनुमोदनपछि नै जीटीएको गठन हुने हो तर अहिलेसम्म अनुमोदन हुनसकेको छैन। अर्कोतिर मोर्चाले जीटीएको सीमानाको निम्ति केन्द्र अनि राज्य सरकारलाई हाइपावर कमिटीको गठन हुनुपर्छ भन्ने माग गरेको थियो।
 यसै अनुरूप गठित हाइपावर कमिटीले 6 महिनामा जीटीएको सीमानाबारेको रिपोर्ट बुझाउनुपर्ने हो। तर अझसम्म यो रिपोर्ट तयार भएको छैन। यसैकारण मोर्चा हाइपावर कमिटीसित पनि खुशी छैन। अहिले मोर्चाले हाइपावर कमिटी अनावश्यक मानेको छ। किन भने यो कमिटीले तोकिएको समयमा रिपोर्ट नबुझाएकोले जीटीएको गठनमा ढिलाई भइरहेको छ। जीटीएको गठनमा ढिलाई भएकोले सरकारप्रति मोर्चाको आक्रोश तीब्र बनिरहेको छ। सरकारप्रति रुष्ट गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले शीघ्र नै जीटीए गठन नगरे तीब्ररुपले छुट्टै राज्यको आन्दोलन हुने संकेत दिइसकेका छन्‌ भने मोर्चा कै युवा सङ्गठनले पनि छुट्टै राज्यको शंखघोष गरिसकेको छ। यता राज्य र केन्द्र भने जीटीएको गठनलाई लिएर उत्सुक देखिएको छैन। यसैबीच पहाडका बॉंकी राजनैतिक र अराजनैतिक सङ्गठनहरूले जीटीएको विरोध राष्ट्रियस्तरबाट गरिरहेको छ। उनीहरूको भनाइ अनुसार हो भने मोर्चाले हस्ताक्षर गरेको जीटीएलाई देखाएर केन्द्र र राज्य सरकारले गोर्खाहरूको समस्या समाधान भएको कुरा प्रचार गरिरहेको छ। रामविलास पासवानले गोर्खाहरूको समस्याको समाधान ममता व्यानर्जीले गरिसकेको कुरा गरिसकेका छन्‌। अर्कोतिर मोर्चाले मात्र होइन गोर्खाल्याण्ड टास्क फोर्सले पनि राष्ट्रियस्तरमा छुट्टैराज्यको मुद्दा यथावत रहेको बताउँदै तीन चरणमा आन्दोलन गरिरहेको छ। मोर्चा अध्यक्ष विमल गुरूङले पनि छुट्टै राज्यको निम्ति तीब्र आन्दोलन हुने शंखघोष गरिसकेका छन्‌ अनि युवा मोर्चाले त कार्यक्रमहरूको घोषणा नै गरिसकेको छ। यस्तो अवस्थामा मोर्चालाई मुख्यमन्त्री ममता व्यानर्जीले खबरदार गरेकी छन्‌। मुख्यमन्त्री चहान्छिन्‌ कि पहाडमा अब कुनै पनि आन्दोलन नहोस्‌। आन्दोलन भएमा सहन गरिने छैन। तिनले मोर्चालाई सम्झौताको कदर गरेर धैर्यधारण गर्ने निर्देश गरेकी छन्‌। पहाडमा मोर्चाले गरिरहेको राजनैतिक क्रियाकलापसित असन्तुष्टि जाहेर गरिसकेकी ममता व्यानर्जीले खबरदार गर्ने वित्तिकै मोर्चाको राजनैतिक क्रियाकलापमा परिवर्तन देखापरेको छ। मोर्चा अहिले प्रायः मौन बसेको छ  भने शीघ्र नै जीटीएको गठन होस्‌ भन्ने पक्षमा मोर्चा रहेको छ। युवा मोर्चाको कार्यक्रममा पनि अहिले शिथिलता देखापरेको छ। युवा मोर्चाले छुट्टै राज्यको निम्ति आन्दोलन त गर्ने तर आन्दोलनको प्रक्रिया धीमा हुने संकेत दिइसकेको छ। किन भने युवा मोर्चाको जनसभाहरू अहिले नै नहुने भएको छ। तर आन्तरिकरुपले छुट्टैराज्यको आन्दोलनको निम्ति सङ्गठित हुने र ग्रामीणस्तरमा ससाना कार्यक्रमहरू भने जारी रहने बताइएको छ। जीटीएको गठनमा ढिलाई भएकोले मोर्चाले व्यापकरुपमा सरकारप्रति असन्तुष्टि प्रकट गरिरहेको छ। तर अहिलेसम्म पनि जीटीएको गठनको सम्भावना देखिएको छैन। यता ममता व्यानर्जीले पहाडमा भइरहेको राजनैतिक क्रियाकलापप्रति औंला उठाएपछि अन्य राजनैतिक दलहरू पनि मौन देखापरेको छ। तर भागोपले भने युवा शक्तिलाई आन्दोलनको निम्ति तयार पार्ने कार्य शुरू गरिरहेको छ। क्रामाकपाले पनि पहाडमा जनसभाहरू लगायत अन्य क्रायक्रमहरू गर्ने सुनिएको थियो तर त्यसको कुनै तयारी भएको सुनिएको छैन। यसैबीच कालेबुङमा अर्को शक्ति पनि निक्कै चल्मल गरिरहेको छ। नयॉं वर्षको शुरुवातमानै नयॉं राजनैतिक शक्तिको निर्माण हुने छॉंटकॉंट देखापरेको थियो तर त्यसको पनि अहिलेसम्म कुनै स्पष्ट रुपरेखा तयार भएको देखिएको छैन। मुख्यमन्त्रीको एकैपल्टको खबरदारीको कारण पहाडका राजनैतिक दलहरूमा देखिँदै गरेको चहलपहलमा पनि लचिलोपन देखापरिरहेकोले कतै आन्तरिकरुपले पहाडमा नयॉं राजनैतिक समिकरण त बनिरहेकको छैन भन्ने कुराको शंका उपार्जन गरिदिएको छ।

युवा मोर्चाको कार्यक्रममा फेरबदल

कालेबुङ, 6 जनवरी।
मङ्गपूुको जनसाभाबाट युवा मोर्चाले गोर्खाल्याण्ड आन्दोलनको  निम्ति घोषणा गरेअनुसार खरसाङमा 7 जनवरीमा वृहत जनसभा गर्ने निधो गरेको थियो। तर युवा मोर्चाको आन्दोलनमा केही फेरबदल भएको बताउँदै अहिले नै जनसभा नगर्ने भएको छ।
 युवा मोर्चाको घोषणाउनुसार 7 जनवरीमा खरसाङमा, 15 मा मिरिकमा 22 मा कालेबुङमा 5 फरवरीमा दार्जीलिङमा अनि 29 फरवरीमा सिलगढीमा जनसभा गर्ने तय थियो।
 सबैभन्दा पहिलो कार्यक्रम खरसाङको जनसभा नै युवा मोर्चाले अहिले नगर्ने निर्णय लिएको छ। युवा मोर्चा महकुमा समिति प्रचार प्रसार सचिव विनय घिसिङले बताएअनुसार वर्तमान परिस्थितलाई हेरेर नै युवा मोर्चा केन्द्रिय समितिले कार्यक्रममा केही फेरबदल गरेको हो। कालेबुङमा अहिले युवा मोर्चाको हस्ताक्षर अभियान भएको थाहा नलागेपनि तिनले शाखा-प्रशाखासम्ममा हस्ताक्षर अभियान भइरहेको बताउँदै 20 जनवरीसम्ममा केेन्द्रिय समितिलाई हस्ताक्षर बुझाउनुपर्ने भएकोले 19 जनवरीसम्म सबैलाई गरिसकेको हस्ताक्षर महकुमा समितिलाइ सुम्पिइनुपर्ने बताए। जनसभा होइन तर गाउँ-गाउँमा पसेर स-साना सभाहरू गर्दै सचेतना, साङ्गठनिक कार्यक्रम साथै डाटा संकलन गर्ने कार्य अब युवा मोर्चाले गर्ने भएको पनि तिनले जनाए। यसबाहेक पनि युवा मोर्चाले फेरि एकचोटी प्रधानमन्त्री, मुख्यमन्त्री आदिलाई स्मारक पत्र पठाउने काम गर्ने भएको छ।
 


0 comments: on "ममता व्यानर्जीको खबरदारी पहाडमा राजनैतिक शिथिलता"