मुख्य समाचार :


ट्याक्सी नम्बरलाई लिएर चालकहरूको बैठक 15 वर्षसम्म चालकले दर्खास्त नगरेको खुलासा

 प्रज्ज्वल छेत्री
कालेबुङ, 5 जनवरी।
15 वर्षसम्म सवारी साधन विभागलाई कसैले पनि भेनमा ट्याक्सी नम्बरको निम्ति दर्खास्त नै नगरेको आज चालक महासंघका अध्यक्ष छिरिङ दोर्जी भोटियाले बताएका छन्‌। तिनले जनाए अनुसार 97 सालमा प्रथमपल्ट विभागले ट्याक्सी नम्बर प्रदान गरेको थियो। तर त्यसपछि कसैले पनि ट्याक्सी नम्बरको निम्ति आवेदन नगर्दा अहिले नगरमा लगभग संगठनभित्र रहेको मात्र 1200 प्राइवेट भेनहरू रहेको बताइएको छ। भेनहरूको देखभाल र नियन्त्रण हुनपर्ने महासंघले अनुभव गरेपछि नै दार्जीलिङ आरटीओ समक्ष कुरा गर्दा ट्याक्सी नम्बरको निम्ति आवेदन गर्नसक्ने बताएको पनि भोटियाले बताए। त्यसैको आधारमा महकुमा अधिकारीले बुधबार अनि बिहीवार दुइ दिनभित्रमा आवेदन गरिसक्नुपर्ने निर्देश दिए पनि महासंघको अनुरोधमा आवोदन गर्न अझ सप्ताह समय मागेर चालकहरूलाई महासंघले हाल ट्याक्सी नम्बर आवेदन गर्नुपर्ने आवश्यकताबारे बुझाउने कार्य गरिरहेको छ।

 फलस्वरूप आज स्थानीय श्यामादेवी भवनमा चालक महासंघका अध्यक्ष छिरिङ दोर्जी भोटिया, भेन चालक सङ्गठनका अध्यक्ष हरिश प्रधान, संयुक्त सचिव विकास प्रधान, महासङ्घ केन्द्रिय समिति सदस्य महेन्द्र गुरुङ आदिको उपस्थितिबीच विभिन्न भेन चालक सङ्गठनका प्रतिनिधिहरूबीच एक बैठक सम्पन्न भयो। बैठक अवधि ट्याक्सी  नम्बर लिनपर्ने अनिवार्यताबारे चालकहरूलाई महासंघले बुझाउदै उनीहरूको माध्यमबाट मालिकहरूसमक्ष पनि यस विषय पुर्‍याउनुपर्ने बताइयो। महासंघका अध्यक्ष छिरिङ दोर्जी भोटियाले बताए अनुसार 2000 सालभन्दा पछिको नयॉं मोडल भेनहरूलाई मात्र विभागले ट्याक्सी नम्बर प्रदान गर्ने भएको छ तर महासङ्घले 2000 सालभन्दा अघिकाहरूलाई पनि आवेदन गर्नेसक्ने बताउँदै यसको निम्ति पहल गरिदिने भएको छ। बङ्गाल पञ्जीकृत वाहनहरूलाई मात्र अहिले ट्याक्सी नम्बर प्रदान गरिने अनि त्यसपछि मात्र अन्य राज्यबाट ल्याएका वाहनहरूले एनओसी लिएर आएपछि नै आवेदन गर्नसक्ने पनि भोटियाले बताएका छन्‌।

यसबाहेक कालेबुङको जम्मै भेन सङ्गठनहरूलाई एकैचोटि ट्याक्सी नम्बर प्रदान गरिनुपर्ने पनि महासंघले माग गर्ने भएको छ।  कालेबुङमा जम्मै भेनहरूले ट्याक्सी नम्बरको निम्ति आवेदन गर्नसक्ने भए पनि पहाडमा 'न्यानो'-ले मान्यता नपाउने नै भएको छ। यसबाहेक नयॉं नगरपालिका बोर्ड गठनअघि महकुमा अधिकारीले नगरमा राखिने वाहनहरूमा प्रत्येक घण्टा गरी 10 रुपियॉं गरी उठाउन शुरू गरेको भए पनि विमल गुरुङको निर्देशनमा ट्याक्स उठाउने कार्यलाई बन्द गरिदिएको थियो। तर अब फेरि नगरपालिकाको नयॉं बोर्डले शुक्रबारदेखि नै ट्याक्स उठाउने कार्य गर्ने भएको पनि छिरिङ दोर्जी भोटियाले जानकारी दिएका छन्‌।


0 comments: on "ट्याक्सी नम्बरलाई लिएर चालकहरूको बैठक 15 वर्षसम्म चालकले दर्खास्त नगरेको खुलासा"