मुख्य समाचार :


’ गोटाफोले सार्वजनिक गर्‍यो भावी रणनीति

मनोज वोगटी
कालेबुङ, 21 दिसम्बर।
शुरुको दिनमा जीटीएले छुट्टै राज्यको मुद्दालाई कुनै बाधा खडा नगर्ने बताउने गोर्खाल्याण्ड टास्क फोर्सले अहिले राष्ट्रियस्तरबाट जीटीएको विरोध गरिरहेको छ। 'जब दिल्लीका वरिष्ट राजनैतिक दलका नेता अनि सांसदहरूसित फोर्सले भेटघाट गर्‍यो, सबैले नै गोर्खाहरूको समस्याको समाधान जीटीएले गरिसकेको कुरा बतायो। वास्तवमा छुट्टै राज्यको मागको विकल्प नै जीटीए रहेको प्रचार गरिएको रहेछ।
 अन्य छुट्टै राज्यको निम्ति लडिरहेका आन्दोलनकारीहरूलाई पनि केन्द्रले 'गोर्खाहरूले जीटीएमा मानिसक्यो तिमीहरू पनि यही मोडल स्वीकार गर' भन्दै दवाब दिन शुरू गरिसकेको रहेछ। यसकारण जीटीएले छुट्टै राज्यको मार्गमा बाधा गरेको थाहा भएपछि राष्ट्रियस्तरमा यसको विरोध शुरू भएको हो' गोर्खाल्याण्ड टास्क फोर्सका अध्यक्ष डा. एनोसदास प्रधानले आज कालेबुङमा बताए। 'गोर्खाल्याण्ड टास्क फोर्सले जीटीएले गोर्खाहरूको समस्याको समाधान नगर्ने कुरा अनि गोर्खाहरूको माग जीटीए होइन छुट्टै राज्य मात्र रहेको कुरा दिल्लीका विभिन्न दलका नेता अनि सांसदहरूलाई बुझाउन हामी सक्षम बनेका छौं'-तिनले थपे।  'राज्य पुनर्गठन आयोग नै गठन भएको भए पनि यसपल्ट छुट्टै राज्य गोर्खाल्याण्ड केन्द्रको लिष्टबाट हटेको हुने थिएछ' तिनले अझ भने।
 गोर्खाल्याण्ड टास्क फोर्स(गोटाफो)ले छुट्टै राज्यको मुद्दा बँचाएर आएको दाबी गर्दै तिनले भने, जोसित पनि भेट्यौं सबैले जीटीएको कुरा निकाले। उनीहरूले ठानेका रहेछन्‌, गोर्खाल्याण्डको समस्या ममता व्यानर्जीले समाधान गरिसकेका छन्‌। किन भने दिल्लीमा कसैले पनि जीटीएको विरोध र छुट्टै राज्यको मागमा कार्यक्रम गरेको छैन। उनीहरू जीटीएमा नै विश्वस्त रहेछन्‌। हामीलाई दुःख लाग्यो, छुट्टै राज्यको निम्ति भइरहेको आन्दोलनले छुट्टै राज्यको मुद्दा नै सधैँको निम्ति हराइरहेका रहेछन्‌। विकासको मुद्दासित सम्पूर्ण भारत गोर्खाहरूको चिह्नारी र राजनैतिक सुरक्षाको मुद्दा साट्‌न हुने थिएन। राज्य र केन्द्रले जीटीएलाई छुट्टै राज्यको विकल्पकोरुपमा स्थापित गरिरहेको थाहा पाएपछि गोटाफोको कर्तव्य अहिलेलाई मुद्दा बँचाउनु रहेको थियो। त्यो काम सकियो, अब राज्यप्राप्तीको निम्ति रणनीति तयार गरिने छ। तिनले बताए अनुसार यसैको निम्ति गोटाफोले अहिले एउटा हाइपावर कमिटी बनाएको छ।
 जसले छुट्टैराज्यको ब्लु प्रिन्ट बनाउने कार्य गरिरहेको छ। यही ब्लु प्रिन्ट बोकेर गोटाफोले सम्पूर्ण सांसदहरूलाई भेट्‌ने छ। डा. एनोसदास प्रधानले ब्लुप्रिन्टमा छुट्टै राज्यको औचित्य, आवश्यकता अनि आर्थिक सम्भाव्यताहरू उल्लेख हुने बताएका छन्‌। यसै पनि गोटाफोले गोर्खाल्याण्ड नामक पुस्तिका तयार पारिसकेको छ अनि अहिलेलाई त्यही पुस्तिकाले काम चलाइरहेको छ। ब्लुप्रिन्ट यसैैको विस्तृतरुप हुने छ। पुस्तिकामा स्पष्ट उल्लेख गरिएको छ कि छुट्टै राज्य दार्जीलिङ अनि डुवर्सका भूभागहरूलाई लिएर गठन गरिनुपर्ने छ। यसको कारण अनि ऐतिहासिक पक्ष पनि उल्लेख गरिएको छ भने 1907 देखिको 2011 सम्म छुट्टै राज्यको निम्ति दाबी गरिएका प्रमुख तथ्यहरू पनि समावेश गरिएको छ।
1907 मा नेबुलाद्वारा गरिएको संयुक्त ज्ञापन, 1917 मा हिलम्यान्स एसोसिएसन्सले,1929 मा सिमोन  कमिशनले, 1947 मा कम्युनिष्ट पार्टीले गोर्खास्थानमा दाबीमा चढाएको मेमोरेण्डम, 1955मा राज्य पुनर्गठन आयोगलाई बुझाएको ज्ञापन देखि लिएर 1986 मा छुट्टै राज्यको दाबीमा भएको 1200 शहीद को कुरा, 1996 मा सीपीएममा विद्रोह गर्दै छुट्टै राज्यको निम्ति आरबी राईद्वारा पार्टी गठन गरी आन्दोलन गरिएकोसम्म मात्र होइन 1996 मा नै लालकोठीमा छुट्टै राज्यको निम्ति लिइएको प्रस्ताव, 2007 मा सामुहिकरुपले गरिएको आन्दोलन अनि 2011मा सिक्किम विधानसभाले  गोर्खाल्याण्डको निम्ति ल्याइएको प्रस्तावसमेत उल्लेख गरिएको छ। संविधानले दिएको अधिकारलाई नै प्रयोग गर्दै गोटाफोले छुट्टै राज्यको निम्ति आन्दोलन गर्ने बताइएको छ। यसको निम्ति गोटाफोले केही रणनीतिहरू आन्दोलनको पूर्वाधारकोरुपमा तयार पारेको छ। गोटाफोले 8 जनवरीको दिन रणनीति निर्माणको बैठक गर्नेछ भने यसैदिन भागोपले राष्ट्रियस्तरीय गोर्खा युवाहरूबीच अन्तरक्रिया गर्ने छ। युवावर्गलाई सैद्धान्तिकरुपमा विभाजित हुन नहुने सन्दर्भमा युवाहरूको अन्तरक्रिया हुने भएको छ भने गोटाफोले पूर्वाञ्चल र पश्चिमाञ्चलका राज्यहरूको विधानसभामा छुट्टै राज्यको प्रस्ताव पारित गराउने अनि त्यहॉंका गोर्खा सङ्गठनहरूलाई एकत्रित पार्ने कार्यक्रम शुरू गर्ने छ। यता मार्च महिनामा बजेट सत्रलाई ध्यानमा राख्दै गोटाफोले जन्तरमन्तरमा धर्ना दिनेछ। यसपछि दार्जीलिङ, कालेबुङ, मिरिक र खरसाङमा सङ्गोष्टी गर्नेछ। अहिलेदेखि नै हाइपावर कमिटी छुट्टै राज्यबारेका पुस्तक-पुस्तिका प्रकाशन र लेखनमा जुटिसकेको पनि डा.प्रधानले बताएका छन्‌।
 


0 comments: on "’ गोटाफोले सार्वजनिक गर्‍यो भावी रणनीति"