मुख्य समाचार :


नगपार्षदहरूले लिए शपद महकुमा अधिकारीले सुम्पिए समस्या


कालेबुङ, 21 दिसम्बर
महकुमा अधिकारी एलएन शेर्पाले टाउको हल्का गर्दै आज नयॉं नगरपालिका वोर्डलाई कालेबुङ नगरको जम्मै समस्याहरू सुम्पिदिएका छन्‌। मोर्चाको टिकटमा निर्विरोध निर्वाचित बनेका नगरपार्षदहरूले आज भारतको संविधानलाई कदर गर्दै प्रतिवद्धतासाथ जनताको हितमा जिम्मेवारी अनि निष्ठापूर्व कार्य गर्ने वचन दिँदै शपद ग्रहण गरे। महकुमा अधिकारी, सङ्घ-संस्थाका प्रतिनिधिहरू, गोजमुमोका नेताहरू अनि अन्य अतिथिहरूको उपस्थितिबीच डिपुटी कलेक्टर एवं मेजिस्ट्रेट डिकी भोटियाले नगरपार्षदहरूलाई शपद ग्रहण गराइन्‌। शपद ग्रहणपछि आज नगरपार्षदहरूको पहिलो बैठक बस्योे जसमा वार्ड नम्बर 22 का नगरपार्षद एलबी परियारलाई नगराध्यक्ष अनि वार्ड नम्बर 15 का गंगामाया गुरूङलाई उप-नगरअध्यक्षको निम्ति सर्वसमितिले चयन गर्‍यो। मोर्चाको आन्दोलनकालअवधी नगरपालिका चुनाउ वहिष्कार गरेकोले 2008 देखि यता महकुमा अधिकारीले नै शुरूबुरू देखरेख गरिरहेको नगरपालिकाको आज नयॉं वोर्ड गठन भयो। दुइ वर्षसम्म महकुमा अधिकारीले कालेबुङ नगरमा देखेका, भोगेका, गर्दैगरेका अनि गरेर पनि नसकेका जम्मै समस्याहरू नयॉं वोर्डलाई सुम्पिदिए। पिउने पानी, डम्पिङ, पार्किङ, झोडा, नाला, सडक आदि विविध समस्याहरू नयॉं वोर्डको निम्ति चुनौतिको रूपमा अघि आएको महकुमा अधिकारीले बताए। डम्पिङको समस्यालाई प्रमुखतादिँदै महकुमा अधिकारी एलएन शेर्पाले दलमान गाउँस्थित डम्पिङ ग्राउण्ड पैह्रोको कारणले पूर्ण हुन नसकेको जानकारी गराए। नोभेल्टी परिसर, सिडफार्मको नयॉं जमिन अनि कार्मेकल ग्राउण्डमा नयॉं मोटरस्याण्डहरूको निम्ति कार्य चल्दैगरेको जानारी गराउँदै यी तीनवटा मोटर स्टाण्डहरू निर्माण हुन नसकेको, कालेबुङको ट्राफिक समस्या समाधन हुने अनि यसको निम्ति नयॉं वोर्डले पहल गर्नुपर्ने बताए। सरकारको भरमा नगरपालिका बस्न नहुने सुझाउ राख्दै तिनले नगरपालिकाले आफै आर्थिक क्षमता वृद्धि गर्न विविध पहलहरू गर्नुपर्ने पनि सुझाउ राखे। विगत छ महिना अवधी नगरपालिकाका कर्मचारीहरूको सहयोगमा नगरपालिकालाई आर्थिक रूपमा सक्षम पार्न अनि जनहितको निम्ति तिनले थुप्रै तरिकाहरू अप्नाएर राजस्व संग्रह गरेको बताए।  नगरमा स्थापित भएको मोबायल टावरहरूबाट मात्र 3.5 लाख रूपियॉं संग्रह गरेको महकुमा अधिकारीले बताए। घरदैलोबाट मैला उठाउने कार्य, पार्किङ व्यवस्थित पार्न राजस्व संग्रह गर्ने काम, सरकारी स्वार्थको निम्ति अवैध भवनहरू भत्काउने कामसँगै अन्य विविध समयस्याहरूलाई आफूले सकेजति  गर्ने कोशिश गरेको र त्यसलाई नयॉं वोर्डले निरन्तरता दिनुपर्ने पनि महकुमा अधिकारीले सुझाउ राखे। महकुमा अधिकारीले समस्याको लामो सूची बोर्डलाई दिएपछि नगराध्यक्ष एलबी परियारले नगरलाई स्वच्छ राख्ने दिशामा आफूले सर्वप्रथम प्राथमिकता दिने बताउँदै मैलाबाट निक्लने उपाय पहिला खोज्नुपर्ने जनाए। नगरको समस्या समाधान गर्न वोर्डको मात्र जिम्मेवारी नरहेको बताउँदै नगरको प्रत्येक व्यक्ति विशेषले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने बताए। आफ्नो घर आफैले सफा राख्नुपर्ने बताउँदै नगरका नागरिकहरूले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने नगराध्यक्षले विचार व्यक्त गरे। महकुमा अधिकारीले राखेको नगरपालिकाले आफै आर्थिक उपार्जन गर्ने सुझाउलाई सही बताउँदै भिक्षा मागेर घर चलाउन नसकिने तिनले बताए। तिनले भने, नगरपालिका हाम्रो हो, सरकारको होइन। नगरपालिकाले आफ्नो निम्ति केही गर्नअघि आफूले पनि नगरपालिको निम्ति के गर्नपर्ने जनसाधरणले जान्न आवश्यक रहेको तिनले बताए। नगरको सडकहरू मरमत्तिको निम्ति पनि आफूले केही सोँचेको अनि कालेबुङमा पानीको स्रोत धेरै हुँदाहुँदै पनि पानी सर्वराह भने सठिक ढङ्गमा नभएको बताउँदै यससम्बन्धी पनि पहल गर्ने नगराध्यक्ष एलबी परियारले बताए। नगरमा सिभरेजको समस्या अधिक रहेकोले यससम्बन्धी पनि पहल गर्न जरूरी रहेको तिनले बताए।


0 comments: on "नगपार्षदहरूले लिए शपद महकुमा अधिकारीले सुम्पिए समस्या"