मुख्य समाचार :


‘अलग राज्य नै गोर्खाहरूको समस्याको समाधान‘

 दिल्ली, 21 दिसम्बर।
अलग राज्यको दाबीमा जीटीएले गोर्खाहरूको समस्याको समाधान हुँदैन भन्दै क्रामाकपाले आजदेखि दिल्लीको जन्तरमन्तरमा धर्ना शुरू गरेको छ। धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै गक्रायुमो महासचिव अरुण घतानीले ठूलो वृक्षमुनी सानो वृक्षको वृद्धि सम्भव छैन भन्दै बङ्गालमा गोर्खाहरूको चिह्नारी र अस्तित्वको रक्षा नहुने बताए। गोर्खाल्याण्डको आवश्यकताको निम्ति क्रामाकपाले लगातार भारतको राजधानीमा छुट्टै राज्यको मुद्दाको उठान गरिरहेको जनाउँदै जबसम्म राज्य प्राप्ति हुँदैन तबसम्म आन्दोलन जारी रहने घतानीले बताएका छन्‌। बङ्गालले गोर्खाहरूलाई शैक्षिक, राजनैतिक हरेक क्षेत्रमा भेदभाव गरेको पनि तिनले आफ्नो सम्बोधनमा बताए। यही उत्पीडनबाट गोर्खाहरूलाई मुक्त गराउन केन्द्र सरकारले गोर्खाहरूको मागलाई गम्भीरतापूर्वक लिनुपर्ने तिनले माग गरेका छन्‌। उनी अनुसार जीटीएमा हस्ताक्षर गर्दै गोर्खाहरूको समस्याको समाधान भयो भन्नु सरकारको भ्रम रहेको छ। गोर्खाल्याण्ड प्रेमी जनतालाई सरकारको यो भ्रम धोका रहेको पनि घतानीले जनाएका छन्‌। क्रामाकपा आञ्चलिक अध्यक्ष किशोर प्रधानले  राज्य प्राप्तिको लडाई क्रामाकपाको मात्र नभएर सम्पूर्ण गोर्खाहरूको अस्तित्व र चिह्नारीको प्रश्न रहेको बताउँदै भागोपको सामुहिकताको पहललाई क्रामाकपाको पूर्ण समर्थन रहेको बताए। यसै अवसरमा गोर्खाहरूको अलग राज्यको मागलाई समर्थन जनाउँदै स्मलर स्टेट फोरमबाट बाबा रामदेव तोमर पनि क्रामाकपाको धर्ना कार्यक्रममा उपस्थित थिए। तिनले पनि धर्नालाई सम्बोधन गर्दै दार्जीलिङका सांसद जसवन्त सिंहलाई मूल मुद्दाबाट पछि नहट्‌ने सुझाव दिए। पर्यवेक्षककोरुपमा रहेका शेखर छेत्री, दाताराम शर्मा, राजेश प्रधान, सुदन प्रधान, सन्तोष प्रधान अनि गोर्खाल्याण्ड नवराज्य निर्माण मोर्चाबाट टीका खाती अनि गोर्खा शहीद स्मारक समितिबाट एण्ड्रु गुरूङले पनि आफ्नो सम्बोधन राखेे। धर्ना प्रदर्शनको क्रममा क्रामाकपा कार्यकर्ताहरूले गोर्खाल्याण्ड मागसहितको प्लेकार्डहरू बोकेर नाराबाजी गर्दै गोर्खाल्याण्ड सम्बन्धी दस्तावेजहरू पनि वितरण गरे। धर्ना कार्यक्रममा सहभागी सम्पूर्ण क्रामाकपा कार्यकर्ताहरूको जोश र उत्साहले गोर्खाल्याण्ड बाहेक अन्य विकल्पले गोर्खाहरूको समस्याको समाधान नहुने कुरालाई स्पष्ट पारेको थियो। विगतका दिनहरूमा गरेका धर्ना प्रदर्शनहरू भन्दा बेग्लै आजको धर्ना प्रदर्शनले 18 जुलाई 2011 मा भएको जीटीए सम्झौताले गोर्खाहरूको समस्याको समाधान नभएको कुरा केन्द्र र अन्य समुदायहरूलाई बुझाउन सक्षम बनेको थियो। आजको कार्यक्रमलाई गोपाल योञ्जनले अध्यक्षता गरेका थिए भने तिनले आफ्नो सम्बोधनमा भोली पनि यस्तै जोश र उत्साहसाथ सहभागिताको अपील गरे। भोलीको कार्यक्रममा सीपीआई(एमएल) बाट कविता कृष्णन, भागोपबाट जोएल राई, गोर्खा शहीद संस्थानका राजा राईले कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ भने भारतका प्रधान मन्त्री मनमोहन सिंहलाई धर्ना टोलीद्वारा छुट्टै राज्य नै गोर्खाहरूको समस्याको समाधान रहेको खुलाउँदै अनि जीटीए गोर्खाहरूको समस्याको समाधान नरहेको पक्षलाई स्पष्ट पार्दै एउटा ज्ञापनपत्र बुझाइने बताइएको छ।


0 comments: on "‘अलग राज्य नै गोर्खाहरूको समस्याको समाधान‘"