मुख्य समाचार :


पञ्चम र प्रतापको ‘कान्छी ल्याउने रहर’ समाप्त

 कालेबुङ, 21 दिसम्बर।
प्रताप सुब्बाको कान्छी ल्याउने रहर सकिएको छ। परालको आगो, अनि कहीँ अँध्यारो कहीँ उज्यालो जस्तो चर्चित चलचित्र बनाइसकेका चर्चित चलचित्र निर्देशक प्रताप सुब्बाले पीबी फिल्मस्‌को व्यानरमा  बनिरहेको नेपाली कथानक चलचित्र कान्छी ल्याउने रहरको निर्देशन गरिरहेका छन्‌। चलचित्रको छायाङ्‌कन आज सकिएको छ। सुब्बाले भने, विवाहितहरूको एउटा विशेष समस्यामाथि चलचित्र बनिरहेको छ। तीनवटा परिवारको वरिपरि कथानक घुमेको छ। तीन विवाहित परिवारका लोग्नेहरूले आ-आफ्नै परिस्थितिमा कान्छी ल्याउने घटनालाई देखाइएको छ, जसले कान्छी ल्याउने रहर गर्ने अनि सौता आएको परिस्थिति झेल्नेहरूलाई मात्र होइन डल्लै समाजलाई नै एउटा उपयुक्त सन्देश दिने छ।
 कालेबुङ, लाभा, मिरिक तथा अन्यान्य रमणीय क्षेत्रमा केही महिनादेखि छायाङ्‌कन भइरहेको चलचित्रमा कालेबुङ कै कलाकारहरू रहेका छन्‌। ललित गोले, मणि भूजेल, सञ्जु वाग्दास, विजय छेत्री अनि अनिल छेत्रीहरू विभिन्न भूमिकामा खेलेका छन्‌ भने यसको नृत्य निर्देशन कमल राई, श्रृङ्गार रितु राणा, छायाङ्‌कन शेखर सुब्बा अनि सम्पादन सुनिल छेत्रीले गरिरहेका छन्‌। निर्माता पञ्चम सेवा रहेको चलचित्रलाई सहनिर्देशन भने विजय छेत्रीले गरिरहेका छन्‌। 'पहिलेको जस्तो फिल्मको क्रेज कालेबुङमा देखिएन' सुब्बाले भने- 'फिल्मको परिवेश बनाउन नै कालेबुङमा यो चलचित्रको छायाङ्‌कन गरिरहेको छु।'
 तिनले तर कालेबुङका कलाकारहरूसित समय नरहेको मात्र होइन कलाप्रतिको रुझान पनि नभेटेको बताउँदै भने- 'परालको आगोको बेला कलाकारहरू सिरियस्‌ थिए, अहिलेका कलाकारहरूमा त्यो छैन। कला, भाषा, संस्कृति अनि माटोको सम्मान गर्न जान्नुपर्छ।' तिनले यो चलचित्रबाट धेरै आशा राखेको बताउँदै शीघ्र नै यसको प्रदर्शन हुने जनाए। निर्माता पञ्चम सेवाले बताए अनुसार तिनका अघिल्ला चलचित्रहरूलाई दर्शकले माया गरेका थिए, त्यसैको फलस्वरुप कान्छी ल्याउने रहर अघि आइरहेको छ। तिनले भने, कालेबुङबाट बनिरहेको यो चलचित्रले दर्शकवर्गलाई धेरै मनोरञ्जन दिने छ।


0 comments: on "पञ्चम र प्रतापको ‘कान्छी ल्याउने रहर’ समाप्त"