मुख्य समाचार :


अकादमी पुरस्कार विवाद


हिलो छ्‌याप्ने कि सही चयन प्रक्रिया स्थापित गर्ने?
कालेबुङ, 23 दिसम्बर।
यसपल्ट नेपाली साहित्यका कुनै कृतिले अकादमी पुरस्कार पाएन। यसको कारण जुरीले उत्कृष्ट पुस्तक नरहनु बताइसकेको छ। जुरीको निर्णयले केवल सही र स्तरीय पुस्तकले मात्र पुरस्कार पाउनुपर्छ भन्ने मान्यता स्थापित मात्र गरेको छैन अघिल्ला केहीवर्षहरूमा अकादमी पुरस्कार पाउने पुस्तकहरूतिर पनि फर्किनुपर्ने स्थिति बनाएको छ। निकृष्ट पुस्तकहरूलाई अकादमीको निम्ति छान्ने चयन समितिहरूको मनोपोलीलाई मुख्य गरेर जुरी सदस्यहरूले भर्त्सना गर्दै चयन समितिको चयन प्रणालीप्रति ठूलो प्रश्न खडा गरिदिएको वरिष्ट र बौद्धिक साहित्यकारहरूले अनुभव गरिरहेका छन्‌। महेन्द्र पी. लामा लगायत डा. राजेन्द्र भण्डारी अनि घनश्याम नेपाल मानिएका लेखक कवि हुन्‌।
 उनीहरूलाई नेपाली साहित्यको क्षेत्रमा प्रकाशित भइरहेका अनि पुरस्कार योग्यका कृतिहरूबारे राम्रै अवगत छ। तर चयन समितिले ती कृतिहरूको चयन गर्दै पनि गरेन। गर्‍यो भने पनि उनीहरूको स्तरीयता हेर्ने दृष्टिमा दोष रहेको यथेष्ट अनुमान गर्न सकिन्छ। अघिल्लो केही वर्षहरूमा जुन जुन कृतिहरूलाई अकादमी पुरस्कार दिइयो, ती कृतिहरू उपयुक्त नरहेको त जुरीको निर्णयले स्पष्ट नै पारेको छ उप्रान्त पनि चयन समितिले सही पुस्तक चयन गरेर जुरीलाई पठाउनुपर्नेे पनि स्पष्ट संकेत छ। चयन समितिको चयन प्रक्रिया र दृष्टिक्षमता कस्तो छ भन्ने कुरा त अघिल्ला केही वर्षदेदेखि अकादमी पुरस्कार पाएका कृतिहरूलाई नै हेरेर बुझ्न सकिन्छ।
 यस्ता कृतिहरू पनि छन्‌, जो अकादमी त होइन कुनै पनि पुरस्कार योग्यको छैन। चयन समितिले राम्रो कृति चयन नगरेकोले नै जुरीले प्राप्त पुस्तकहरू उपयुक्त नरहेको घोषणा गरेको हो त? हो भने आठजना साहित्यकारहरूको रचनाक्षमतामाथि दुइ जुरीले उठाएको औंला पनि विवादमा पर्न सक्छ। किन भने आठजनामा केही त राम्रो कृति हुनुपर्ने हो भन्नेपक्षमा साहित्यकारहरू रहेका छन्‌। अघिल्ला पुरस्कार चयनहरूले उत्कृष्ट कृति रचना गर्नेहरूलाई निश्चय नै हताश त पारेको नै छ।
 तर यसपल्टका जुरीहरूले आठमध्ये कुनै पनि कृति उपयुक्त नरहेको देख्नु पनि हतासापूर्ण निर्णय नै देखापरेको छ। जब जुरीले आफ्नो निर्णयलाई चुडान्त गर्‍यो तब सबैभन्दा ठूलो प्रश्न पॉंचवर्षको अवधीभित्र कुनै पनि कृति पुरस्कार पाउने योग्यको थिएन भन्ने प्रश्न उठ्यो। पुरस्कार पाउने पुस्तकहरू रहेको भए पनि तर जुरीको हातमा सीमित पुस्तकहरू मात्र परेको थियो। जुरीको भनाइ अनुसार नै हेर्नु हो भने चयन समितिले पुरस्कार पाउने योग्यका पुस्तकहरू सिफारिस्‌ नै गरेन। पाइएका कृतिभन्दा उपयुक्त कृतिहरू छन्‌ तर त्यसको चयन नै गरिएन। जुरीको कुराभित्र पनि धेरै दम रहेको देखिएको छ।
 यसो हो भने दोष दुइ जुरीको मात्र छैन, भूल छ भने पुस्तक चयन समितिको पनि छ। यदि चयन समितिले सही र उत्कृष्ट पुस्तक पठाएको भए जुरीले निश्चय नै पुरस्कारको निम्ति कृति छनौट गर्ने थियो त? प्रश्न जति दुइ जुरीमाथि उठाइने कार्य भइरहेको छ उति नै प्रश्न चयन समितिलाई पनि उठाउनु पर्ने हो तर कसैले पनि चयन समितिप्रति प्रश्न उठाइरहेको छैन। विवादलाई हेर्दा, केवल कृति मात्र उत्कृष्ट भएर हुँदैन, चयन समिति पनि योग्यको हुनुपर्छ भन्ने सवाल यो विवादले उठाइरहेको छ। चयन प्रक्रिया निष्पक्ष छैन भने सही जुरीले सही निर्णय गर्न त यसै पनि सक्दैन। किन भने कृतिलाई हेर्ने एउटा न एउटा सर्वमान्य दृष्टिको विकास त हुनै पर्छ। नेपालमा उत्कृष्ट पुस्तकलाई नै सही पुरस्कार दिने प्रकिया चलेको ती पुरस्कार प्राप्त पुस्तकहरू पठन गर्दा सबैले थाहा पाइरहेका छन्‌। तर के अकादमी पुरस्कार पाउने कृतिहरू सॉंच्चैमा पठन योग्य रहेको छ त? अकादमी पुरस्कार विवादले आलोचना भङ्गीमाथि पनि प्रश्नचिन्ह खडा गरिदिएको छ।
 आलोचक सही र निष्पक्ष छैन भने कुनै पनि कृतिको स्तर सहीरुपमा अघि आउन सक्दैन। आम पाठक लगायत साहित्यिक पाठकसम्मले रुचाइरहेका कृतिहरुले पुरस्कार पाएमा पुस्तकको गरिमा त रहने नै छ तर चयनसमिति र पुरस्कारसम्म कै गरिमा पनि रहन्छ। पुरस्कार प्राप्त पुस्तकहरूको अनुवाद हुँदा नेपाली साहित्यको स्तर अन्यभाषीहरूले पनि थाहा पाउनु पर्छ। तर निकृष्ट पुस्तकले पुरस्कार पाए र त्यसको अनुवाद हुँदा अन्यभाषीहरूले नेपाली साहित्यको स्तर अन्य भाषाका कृतिभन्दा तल्लोस्तरको रहेमा भारतेली नेपाली साहित्य नै बद्नाम हुने कुरालाई ध्यान राख्नै पर्ने हुन्छ। चर्किएको यो विवादले सही मानकमा सही पुस्तकले नै पुरस्कार पाउनुपर्छ भन्ने चुडान्त निर्णय गर्ने मानसिकताको विकास गरेको नै उत्तम हुनेछ तर यसको निम्ति साहित्यकारहरूले व्यापकरुपले छलफल र विमर्ष गर्न अनिवार्य छ। आफ्नो लेेखनी र विद्वतामा गर्व गर्ने साहित्यकारहरूले एकार्कालाई हिलो मात्र छ्‌याप्ने हुन्‌ कि विवादको निष्कर्ष सर्वसहमतपूर्ण हुने हो अहिले नै भन्न सकिन्न। विवादले तर भूलहरूलाई सच्याएर सही परिस्थित निर्माण गर्ने वातावरण भने सबैलाई प्रदान गरेको छ। यस विवादले पहिलोपल्ट नेपाली साहित्यका युवा साहित्यकारहरूलाई दिइने पुरस्कारलाई कहॉं र कसरी असर गर्ने हो सबैको गिद्धे नजर परिरहेको छ। अकादमी पुरस्कार चयनमा भएको भूल युवा साहित्य अकादमी पुरस्कारमा पनि दोहोरिने हो कि?
 


0 comments: on "अकादमी पुरस्कार विवाद"