मुख्य समाचार :


जीटीए गठनः मोर्चालाई हतार छैन वर्षदिन लागोस्‌ तर सलिड चिज बनियोस्‌-डा. छेत्री

कालेबुङ, 17 दिसम्बर।
जीटीए गठन ढिलो भएकोमा मोर्चा अध्यक्ष विमल गरुङले असन्तुष्टि जाहेर गर्दै जीटीए नहुने रहेछ भनिरहेका छन्‌ भने अर्कोतिर मोर्चा प्रवक्ता डा. हर्कवहादुर छेत्रीले जीटीए गठनलाई लिएर मोर्चालाई अहिले कुनै हतार नरहेको बताए। जीटीए गठन ढिलाइ सहन गर्न नसकिने बताउने विमल गरूङको भनाइको ठीक विपरित आज डा. छेत्रीले भने, जीटीए छिटो गठन होस्‌ भनेर मोर्चालाई कुनै हतार छैन। महिनादिन लागोस्‌, वर्षदिन नै लागोस्‌ तर सलिड चिज बनियोस्‌। जे बनिन्छ त्यो राम्रो बनिएको हुनुपर्छ, जनताले न्याय पाउनुपर्छ, जनताको केही हद्‌सम्म आकांक्षा पूर्ण गर्न सक्ने हुनुपर्छ, छुट्टै राज्यको निम्ति दह्रिलो खुडि्‌कलो रूपमा हुनसक्नुपर्छ।  यदि जीटीए हतारमा भएर अर्को दागोपाप जस्तै भयो अनि 10 दिनपनि पूरा नभइ जीटीएको विरोधमा जनता सड्‌कमा ओर्लनपरे जनताले यत्रो समयसम्म आन्दोलन गरेको कुनै महत्व नहुने पनि  डा. छेत्रीले बताए।  मोर्चाले जीटीएको निम्ति जुन-जुन महत्वपूर्ण बुँदाहरू मागेको  छ त्यसको राज्य सरकारले दुरगामी प्रभाव हेरेर अनि  राज्यमा भएको आम्री अस्पताल काण्ड, जङ्गमहलमा विषालु रक्सीले मच्चाएको ताण्डव र केन्द्रको वर्तमान स्थितिको कारणले राज्य सरकारले अहिले केवल जीटीए मात्र सोच्न नसक्ने पनि तिनले बताए। अहिले हइपावर कमिटीको बैठक तारिख पछि तारिख सर्दै गइरहेको छ। तराई-डुवर्सको मतगणनाको रिपोर्ट बुझाउन मात्र पनि हाइपावर कमिटीले अझ 40 दिनको समय मागेकोले जीटीए गठन हुन अझ समयलाग्ने स्पष्ट देखिएको छ। डा. छेत्रीअनुसार हाइपावर कमिटीको कार्य ढिलाइ हुनुको कारण पछिबाट उनीहरूलाई कुनै दोष नलागोेस भन्ने सम्झेर नै धरै गम्भिरतापूर्व कार्य भइरहेकोे छ। विपक्षी दलहरूप्रति टिप्पणी गर्दै डा. छेत्रीले भने, आन्दोलन गर्छु भन्नेहरूले खबरकागजमा आन्दोलन गरेर हुँदैन जनतासँग मिलेर गर्नुपर्छ। मुखले डुवर्स भनेर मात्र हुँदैन डुवर्स झरेर गर्न सक्नुपर्छ, जो मोर्चाले गरेर देखाइसकेको छ। क्रामाकपाले गोर्खाल्याण्डको निम्ति जन्तरमन्तरमा गर्नलागेको धर्नाबारे छेत्रीले भने,  समालोचकस्तो चौकीमा बसेर मोर्चाको आलोचना मात्र गरेर हुँदैन। गोर्खाल्याण्डको निम्ति जिम्मेवारी उनीहरूको पनि हो, जन्तरमन्तरमा धर्ना दिने काम राम्रो हो, शुभकामना छ। तर को कति पानीमा रहेको छ, कसले पार्टीको अस्तित्व बचाउनको निम्ति मात्र गरेको हो जनतालाई स्पष्ट रूपमा थाहा भएको बताउँदै डा. छेत्रीले उनीहरूसँग जनसमर्थन, योग्यता, कति छ जनतालाई राम्ररी थाहा भएको अनि उनीहरू आफैले पनि थाहा पाउनुपर्ने बताए।
 


0 comments: on "जीटीए गठनः मोर्चालाई हतार छैन वर्षदिन लागोस्‌ तर सलिड चिज बनियोस्‌-डा. छेत्री"