मुख्य समाचार :


जीटीए गठनमा ढिलाईः आज आन्दोलनको घोषणा

कालेबुङ, 17 दिसम्बर।
केही दिन अघि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले भनेका थिए, हस्ताक्षर गर्न लगायो, हामीले गर्‍यौं। तर यत्रो दिन भइसक्यो जीटीए गठन गर्दैन। कति सरकारलाई भनिरहनु। अब जीटीए गठन नहुने रहेछ भन्ने कुरा केन्द्रिय कमिटीमा चलिरहेको छ। परिस्थिति र समयको माग अनुसार नै युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्ने भएको छ। सामान्यरुपमा नै गुरूङले पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिए पनि तिनको उत्तर धेरै गम्भीर रहेको थियो। तिनको यस्ता खाले उत्तरलाई कसैले ध्यान नदिए पनि वास्तवमा तिनले सही बोलेका हुन्‌ भन्ने कुराको प्रमाण आज तिनकै प्रवक्ता डा.हर्कबहादुर छेत्रीले बताएका छन्‌। तिनले जीटीए गठन हुनुमा जति नै ढिलो भए पनि मोर्चालाई कुनै फरक नपर्ने बताइरहेका थिए। तिनले जीटीएलाई लिएर मोर्चालाई कुनै हतार नरहेको बताएर जीटीए अहिले नै गठन नहुने कुरालाई नै प्रमाणित गरेका छन्‌। फरक के छ भने अध्यक्षले जीटीए गठन हुनमा ढिलो भएकोमा सरकारको जमेर आलोचना गरेका  थिए भने डा. छेत्रीले सरकारले जतिबेला चहान्छ उतीबेला नै गठन गर्ने बताइरहेका थिए। यता अध्यक्षले जीटीए गठनमा ढिलाइ भएकोमा  जीटीए गठन नहुने देखेपछि युवा मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्ने बताइरहेका छन्‌ भने अर्कोतिर विधायक डा. छेत्रीले जीटीए ढिलो हुँदा मोर्चालाई फरक नपर्ने बताइरहेका छन्‌। तर दुवैले जे नै भने पनि एउटा कुरा स्पष्ट भयो कि जीटीए अहिले नै गठन हुने छैन। सम्झौता अनुसार जीटीए तब गठन हुन्छ जब तराई र डुवर्सको सीमाङ्‌कनको रिपोर्ट हाइपावर कमिटीले बुझाउँछ। हाइपावर कमिटीले रिपोर्ट बुझाउन अझ चार महिना लाग्ने स्पष्ट भइसकेको छ। हाइपावर कमिटीले तराई र डुवर्सको जनगणको रिपोर्टमाथि छलफल गर्न चालीस दिन समय मागेको छ। यो समय केवल तराई र डुवर्सको जनगणना हेर्नु मात्र मागिएको हो, यसलाई लिएर हाइपावर कमिटीका फरक फरक दिशामा रहेका सदस्यहरूले एकै ठाउँ भएर बहस गर्नको निम्ति अलग्गै समय चाहिने छ। जनगणनाको रिपोर्ट अध्ययन गरिसकेपछि जीटीएको सीमाङ्‌कन चुडान्त हुन्छ भन्ने होइन, तराई र डुवर्सका संघसंस्थाहरूले बुझाएको चार बोरा आवेदन पढ्‌न बॉंकी नै छ। त्यस बाहेक सम्झौता अनुसार क्षेत्रवासीको वास्तविक चहाना, राजनैतिक दबाव तथा अन्यपक्ष धेरै गर्न बॉंकी नै छ। यी सबै कसरत गरेर गठन गरिने जीटीए तर नितान्तै अस्थायी हो। यसको विरुद्ध जहिले पनि आवाज उठ्‌न सक्छ।
 अन्य सबै दलले त जीटीएको विरोध गर्न शुरू गरिसकेको छ। त्यो विरोध अहिले राष्ट्रियस्तरमा पनि भइरहेको छ। जुन कुराको डर केन्द्र सरकारलाई थियो त्यही भइरहेको अवस्थामा केन्द्रले राज्य सरकारको दवाबमा जीटीए गठन गर्ने सम्भावना कतैबाट पनि छैन। केन्द्र सरकारलाई थाहा छ कि जीटीए पनि दागोपाप जस्तै अस्थायी समाधान हो अनि यसका  अनेकौं विवादास्पद कुराहरूको कारण यसको विरोध निश्चय नै हुने छ अनि त्यसबेला समस्याले अझ ठूलो रुप धारण गर्ने छ। राष्ट्रियस्तरमा नै जीटीएलाई छुट्टै राज्यको समस्याको समाधानको रुपमा गठन गरिएको हो भन्ने राज्य सरकार र केन्द्रको प्रचारको विरोधमा गोर्खाल्याण्ड टास्क फोर्सले अर्को प्रचार शुरु गरिसकेको छ। यस बाहेक पनि मोर्चा केवल जीटीएमा मात्र अडिग छैन। घरि जीएटीए अनि घरि जीएएमएटीए भनिरहेकोले तराई र डुवर्समा अर्को परिस्थिति पनि निर्माण गरिसकेको छ।
 निश्चय नै पहाडमा जीटीए गठन गर्न पर्दा तराई र डुवर्समा एटीए वा त्यस्तै व्यवस्था गठन गर्न सरकार बाध्य हुने छ। किन भने मोर्चाले सम्झौतालाई उलङ्घन गर्दै आविपसित मिलेर फेरि जीएटीए गठन हुनुपर्ने अर्को समस्या खडा गरिसकेको छ। जीटीए गठन हुने वित्ति कै पहाड अनि तराईमा यसको विरोध अनि तराई र डुवर्समा पनि त्यस्तै व्यवस्था गठन हुनुपर्ने कुरामा आवाज उठ्‌ने कुरा निश्चित रहेकोले केन्द्र सरकारलाई पहाडको मुद्दा लिएर चिन्तामा पारेको छ। यस्तै स्थितिमा माकपाले जीटीएको सम्झौताले संविधान उलङ्घन गरेको तथा असंवैधानिक रहेको कुरा उठाइरहेको छ। विरोध, अन्तरविरोध अनि मोर्चाको गलत राजनीतिको कारण आफै जीटीए गठनमा ढिलाई भइरहेको बेला युवा मोर्चाले छुट्टै राज्यको आन्दोलनले अझ जीटीए गठनमा ढिलाई हुने पक्का पारेको छ। किन भने जीटीए सम्झौता अनुसार जीटीए गठन गरिएपनि आन्दोलन जारी रहने कुरा उल्लेख छ तर जीटीए नभइ छुट्टै राज्यको आन्दोलन हुनसक्ने कुरा उल्लेख छैन। यसकारण जीटीए नभई छुट्टै राज्यको आन्दोलन मोर्चाले गर्नु भनेको स्वतः नै त्यो आन्दोलन जीटीएको विरोधमा हुने छ। यसकारण मोर्चाले जीटीए गठन हुन नसक्ने चौतर्फी सम्भावनालाई ध्यानमा राखेर अनि अर्कोतिर विपक्षी शक्तिले छुट्टै राज्यको आन्दोलन शुरू गरेकोले जनताको दृष्टिबाट मोर्चाको नियत खराब देखिने कुरालाई ध्यानमा राखेर मोर्चाले युवा मोर्चालाई लगाएर छुट्टै राज्यको आन्दोलन शुरू गरेको स्पष्ट छ। यसकारण आज मङ्‌पूमा मोर्चा अध्यक्षले छुट्टै राज्यको आन्दोलनको निम्ति नयॉं कार्यक्रमहरूको घोषणा गर्ने सम्भावना रहेको छ। यता मोर्चा सूत्रबाट पाएको जानकारी अनुसार अहिलेसम्म केही स्पष्ट छैन कि आज अध्यक्षले के घोषणा गर्ने हुन्‌।
 


0 comments: on "जीटीए गठनमा ढिलाईः आज आन्दोलनको घोषणा"