मुख्य समाचार :


क्रामाकपा दिल्ली प्रास्थान जीटीए जनाकांक्षा नरहेको सांसदहरूलाई बुझाइने

कालेबुङ, 19 दिसम्बर।
साइबर जमानाका युवाहरूले छुट्टै राज्यको आन्दोलनको घोषणा गर्छ तर कार्यक्रम हुन्छ केवल जनसभा र र्‍याली। जनसभा र र्‍यालीको च्याप्टर सकिसकेका जनताले फेरि अब एकपटक युवाहरूले आह्वान गरेको जनसभा र र्‍याली झेल्न पर्ने भएको छ। तर यता क्रामाकपाले भने समयको माग अनुसारको बाटो पक्रिएर आन्दोलनलाई दिल्लीगामी बनाइरहेको छ। गोर्खा जनमुक्ति युवा मोर्चाले शक्ति प्रदर्शन गर्दै पहाडका जनतालाई फेरि गोर्खाल्याण्डको औचित्य बुझाउन जनसभा र र्‍याली गर्ने भएको छ भने उता क्रामाकपा र गोर्खाल्याण्ड टास्क फोर्सले भने आन्दोलनलाई तीन चरणमा विभक्त गर्दै राष्ट्रियस्तरमा त्यसलाई कार्यरुप दिइरहेको छ। संसद, सडक अनि बौद्धिकरुपले आन्दोलन गर्ने सैद्धान्तिकी गोर्खाल्याण्ड टास्क फोर्सले अघि ल्याएको छ। त्यसै अनुरुप फोर्स अन्तर्गत रहेका दलहरूले पनि कार्यक्रमलाई राष्ट्रिय बनाइरहेको छ। त्यसैक्रममा क्रामाकपा कालेबुङ आञ्चलिक समिति संसद धर्नाको निम्ति आज 75 जनाको टोली लिएर दिल्ली प्रास्थान गरेको छ। एनजेपी पुगेका गक्रायुमो नेता अरुण घतानीले भने, पहाड र समतललाई अब छुट्टै राज्यबारे बुझाउनुपर्ने कुनै आवश्यकता छैन, किन भने उनीहरूको आकांक्षा भनेको छुट्टै राज्य हो। बौद्धिक चरणमा देशका ठूला नेता, सरकारका वरिष्ट अधिकारी र मन्त्रीहरूलाई भारतभरिका गोर्खाहरूको चिह्नारी र राजनैतिक अस्तित्वको सवालमा कसरी छुट्टै राज्य अनिवार्य छ भन्ने कुरा बुझाइने प्रक्रिया शुरू भइसकेको छ। हाम्रो कार्यक्रम सडक कार्यक्रम हो तर यसले सांसदहरूलाई छुट्टै राज्यको औचित्य बुझाउनमा सहयोग गर्ने छ।
 तिनले अझ भने, पहाडमा लाखौंको संख्यामा जनता उत्रिए पनि त्यो केवल जीटीएको निम्ति हुनेछ। किन भने केन्द्र र राज्य सरकारले जीटीएलाई गोर्खाल्याण्ड राज्यको दाबीको विकल्पकोरुपमा व्याख्या गरेको छ। ममता व्यानर्जीको 'बङ्गभङ्ग होवेना' अनि मोर्चाको नेता र समर्थकहरूको ताली यसको गतिलो उदाहरण हो। तिनले बताए अनुसार क्रामाकपाको धर्ना जीटीए गोर्खाहरूको आकांक्षा होइन भन्ने कुरा बुझाउनमा केन्द्रित रहेको छ। त्यसकारण अब गोर्खाहरूले राष्ट्रियस्तरमा त्यसको विरोध गर्दै छुट्टै राज्य नै मूलाकांक्षा रहेको कुरा बुझाउन देशका विभिन्न शक्तिहरूसित मैत्रिक सम्बन्ध स्थापना गर्ने पहल भइरहेको घतानीले बताएका छन्‌। तिनले भने, दिल्लीमा सय भन्दा धेरले संसद धर्ना गर्नेछन्‌। शीतकालीन सत्र चलिरहेकोले सांसदहरूलाई कुरा बुझाउन सही समय रहेको ठानिएको छ। दिल्लीमा अन्य छुट्टै राज्य पक्षधरका सङ्गठन र वुद्दिजीवीहरूले क्रामाकपाको कार्यक्रममा सहभागिता दिने पनि तिनले बताएका छन्‌। तिनले बताए अनुसार झॉंसीकी रानी रोडबाट जुलूस निकालिने छ अनि जन्तरमन्तरमा धर्ना गर्ने छ। गोर्खाल्याण्ड नै गोर्खाहरूको समस्याको समाधान अनि अरु सबै टालटुलेे समाधान उल्लेख गरिएको पोष्टर, व्यानर र प्लाकार्डहरू बोकेर जुलूस र प्रदर्शन हुने तिनले जनाएका छन्‌। एनजेपीदेखि नै क्रामाकपा धर्ना प्रतिनिधिहरूले छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा नाराबाजी गरे। आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले भने, रेल अनि दिल्लीमा छुट्टै राज्यको दाबी र यसको औचित्यबारे प्रकाशित पर्चाहरू वितरण गरिने छ। जातीय उन्मुक्ति, सांसकृतिक वैशिष्ट्य, गोर्खाल्याण्डको राजनैतिक गरिमाबारे बुझाइने कार्य गरिने छ। दुइदिवसीय कार्यक्रम अवधीमा नै प्रधानमन्त्रीलाई छुट्टै राज्यको दाबीमा स्मारकपत्र पनि प्रेषित गरिने छ।
 


0 comments: on "क्रामाकपा दिल्ली प्रास्थान जीटीए जनाकांक्षा नरहेको सांसदहरूलाई बुझाइने"