मुख्य समाचार :


युवा मोर्चाको जनसभामा मूल नाइके अनुपस्थित पुरानै बोतलमा पुरानै रक्सी

कालेबुङ, 19 दिसम्बर।
सेनापति बिनाको सेनाले युद्ध जितेको कुनै पनि इतिहास छैन। सेनापति बिनाको सेना अनुशासनहिन र दिशाहिन हुन्छ, जसबाट ठूलो उपलब्धीको आशा गर्न सकिन्न। उल्टै विऋङ्‌खलता उत्पन्न हुन्छ  कि भन्ने सम्भावना व्यापक रहन्छ। युवा मोर्चाले शुरूगरेको तेस्रो चरणको आन्दोलनको पनि यस्तै यस्तै रुपरेखा देखापरेको छ। युवा मोर्चाको आन्दोलनले नेतृत्व गर्ने नेता पाएको छैन। जसलाई बारम्बार पत्र पठाएर अनि साक्षात भेटेर अपील गर्दा पनि आखिर उनीहरूले चाहेका नेता विमल गुरूङ जनसभामा आएनन्‌ तर युवा नेताहरूले जनसभा सकिञ्जेलसम्म पनि विमल गुरूङ आउँछ कि भन्ने आशा गर्न भने छाडेनन्‌। गोर्खाल्याण्डको निम्ति भने आङ बॉंधेर रणभूमिमा उत्रने  नेताले गोर्खाल्याण्डकै निम्ति डाकिएको मङपू सभामा समय दिनै सकेनन्‌। विमल गुरूङ जसले छुट्टै राज्यको निम्ति युवाहरूलाई सङ्गठित गरेका थिए, ती नै युवाहरूले आज विमल गुरूङलाई छुट्टै राज्यको निम्ति प्रतिबद्ध गराउन खोजिरहेको स्थिति देखापरको छ। विमल गुरूङ अनुपस्थित रहेको जनसभामा जुन कार्यक्रमहरूको घोषणा गरियो, त्यो पनि छुट्टै राज्यको नाममा दलीय औपचारिकता मात्र नै देखापरेको छ। कतै युवा मोर्चाले शक्ति प्रदर्शन पो गरिरहेको हो कि भन्ने शंका उप्जाउने ठाउँ उनीहरूको कार्यक्रमले नै उपार्जन गरेको छ। किन भने उनीहरूको छुट्टै राज्यको आन्दोलन कुनै खास छैन। जनसभा र र्‍यालीलाई नै आन्दोलन भनेर घोषणा गरिएकोले पुरानै बोतलको पुरानै रक्सी पिएको र त्यसको मात प्रदर्शन गरिएको जस्तो मात्र देखापरेको छ। तर जनता र छुट्टै राज्य आकांक्षीहरूले भने युवा मोर्चाले सर्वसहमत र सर्वसमावेशी आन्दोलनको रुपरेखा तयार पार्ने अपेक्षा गरेका थिए। युवा मोर्चाको आन्दोलनप्रति अहिले उनीहरूले ओंठ लेब्राउन थालेका छन्‌। पहाडमा नै कराएर केही हुँदैन भन्ने दुइदुइपल्टको आन्दोलनले सचेतहरूलाई सिकाइसकेको अवस्थामा फेरि पनि पहाडमा नै कराइरहने अनि जता भेला गरेर गोर्खाल्याण्ड चाहिन्छ भन्ने पुरानै रट लगाउने युवा मोर्चाको आन्दोलनको रुपरेखाले सचेतहरूलाई निराश पारेको छ। युवा मोर्चाले ती जनसभमा भन्ने कुराहरू भनेको 'गोर्खाहरूलाई छुट्टै राज्य नै चाहिन्छ' भन्ने वाक्यभन्दा बड्‌ता नहुने सबैले बुझिरहेका छन्‌। जुन कुरा जनतालाई भनिरहनु नपर्ने स्पष्ट छ। राज्य र केन्द्रसित युवा मोर्चाकै केन्द्रिय समितिले अहिले नै छुट्टै राज्य हुँदैन भन्ने कुरामा सहमत गराएर जीटीएमा हस्ताक्षर गराइसकेकोले पनि युवा मोर्चाको आन्दोलन विवादित बनेको छ। आलोचक र विपक्षले युवा मोर्चाले आन्दोलन गर्ने हो भने जीटीए खारेज गरेर बढ्‌नुपर्ने बताइरहेको छ भने युवा मोर्चा भने जीटीएको विरोध नगरी छुट्टै राज्य माग्ने पक्षमा छ। यसको के अर्थ लागेको छ भने युवा मोर्चा केन्द्रिय कमिटीको जीटीएसित सन्तुष्ट छ। तर जब जीटीएको गठनको प्रक्रिया हुन्छ तब सरकारीपक्षबाट मोर्चालाई युवा मोर्चाको आन्दोलनमाथि गर्ने प्रश्नोत्तरले युवा मोर्चाको आन्दोलन बली कै बोको पो हुने हो कि भन्ने शंका गरिएको छ। मोर्चाले जीटीए गठन गर्नुपर्छ भनेको अवस्थामा युवा मोर्चाले गररहेको छुट्टै राज्यको जनसभाको आन्दोलनको औचित्य कति हो भन्ने करा सचेतहरूले पटक्क बुझ्न सकिरहेका छैनन्‌। युवा मोर्चाले धेर ठूलो केही पनि गर्न नसक्ने कुरा उनीहरूको कार्यक्रमले नै स्पष्ट पारेको अवस्थामा पुरानै बोतलको पुरनैै रक्सी जनतालाई खुवाउने रणनीतिको कारण युवा मोर्चा माथि उठेर कार्यक्रम नबनाए अब युवा मोर्चा आन्दोलनकालभरि नै विभिन्न आलोचना र शंकाको शिकार बनिरहनुपर्र्नेे स्थिति बनिने स्पष्ट छ। जनतामा कस्तो जिज्ञासा छ भने आखिर किन विमल गुरूङ जनसभामा आएनन्‌? छुट्टै राज्यको आन्दोलन गर्नुपर्ने डरले कि जीटीएमा हस्ताक्षर गर्ने टोलीको दबावले? यसको उत्तर विमल गुरूङसित नै रहेको छ। तिनले युवा मोर्चाका अन्य जनसभामा उपस्थित बनेर तिनीमाथि गरिएका प्रश्नहरूको उत्तर दिने हुन्‌ कि युवा मोर्चाको आन्दोलन पनि फिर्ता गरिने हो, त्यो भने भविष्यले नै बताउने छ।
 


0 comments: on "युवा मोर्चाको जनसभामा मूल नाइके अनुपस्थित पुरानै बोतलमा पुरानै रक्सी"