मुख्य समाचार :


युवा मोर्चाले उठायो साहित्यकारहरूमाथि प्रश्न



मनोज वोगटी
कालेबुङ, 19 दिसम्बर।
युवा मोर्चा नेता विशाल राईले हिजो छुट्टै राज्यको आन्दोलनको निम्ति  गरिएको भनिएको मङ्‌पूको जनसभामा भनिरहेका थिए 'छुट्टै राज्यको आन्दोलन बौद्धिकरुपले हुनुपर्छ भन्छन्‌, तर साहित्यकारहरू भने दुलो पस्छन्‌।' राईले साहित्यकारहरूलाई तारो बनाउँदै के भनेका छन्‌ भने गोर्खा जनमुक्ति मोर्चाले गरेको आन्दोलनमा साहित्यकाहरूको कुनै भूमिका छैन, जब कि छुट्टै राज्य उनीहरूको निम्ति पनि हो। कुनै पनि आन्दोलनको सफलतामा साहित्यकारहरूको सहभागिता पहिलो अनिवार्यता हो। तर युवा मोर्चाका नेता अनुसार मोर्चाले गरेको आन्दोलनलाई साहित्यकारहरूले कुनै पक्षबाट पनि सहयोग पुर्‍याइरहेका   छैनन्‌। तिनी अनुसार साहित्यकारहरूले नै आन्दोलनलाई बौद्धिक बनाउँछन्‌ तर दार्जीलिङका साहित्यकारहरू आन्दोलनको बेला दुलो पस्ने गर्छन्‌। विशाल राई आफै एकजना कवि हुन्‌ तर तिनी हुन्‌ युवा मोर्चाका नेता पनि। राईको मान्यता अनुसार साहित्यकारहरू राजनीतिमा प्रत्यक्ष सहभागी बन्न पर्छ। जो भइरहेको छैन। उल्लेख्य कुरा के थियो भने विशाल राईले जतिबेला साहित्यकारहरूलाई तारो बनाइरहेका थिए त्यतिबेला तिनको भाषण सुन्ने साहित्यकारहरू कोही पनि उपस्थित थिएनन्‌। तिनले साहित्यकारहरूलाई युवा मोर्चाको आन्दोलन बौद्धिक बनाउन जुन सहभागिताको कुरा गरिरहेका थिए, त्यो आन्दोलनकालभरि नदेख्नु तिनले अचम्मकोरुपमा राखेका छन्‌। विशाल राईले साहित्यकारहरूलाई जुन आरोप लगाए त्यो भने आधारभूत सत्य भने नरहेको स्पष्ट छ। जब मोर्चाले आन्दोलन थाल्यो, तब सबै साहत्यकारहरूले आफ्नोपक्षबाट पाठकलाई सचेत गराउने प्रशस्त कार्य गरेका थिए। धेरै लेखकहरूले आन्दोलनलाई केन्द्र गर्दै विभिन्न कृतिहरूको प्रकाशन पनि गरिरहेका छन्‌। छुट्टै राज्यको आन्दोलन जब एउटा निकृष्ट व्यवस्थाको सम्झौतामा आएर रोकियो तब पनि विशाल राईहरूले साहित्यकारहरूबाट त्यसप्रतिको समर्थन मागिरहेको तिनको साहित्यकारहरूप्रति गरेको टिप्पणीले स्पष्ट भएको छ। अहिले पत्रपत्रिकातिर लेख्ने साहित्यकारहरूले जति पनि राजनैतिक लेखहरू लेखिरहेका छन्‌, ती सबै नै मोर्चाको जीटीएको विरुद्ध मात्र होइन जनाकांक्षामाथि भइरहेको धोकालाई उजागार गरेर लेखिएको नै धेर पाइएको छ। धेरै साहित्यहरूले के बताउँछन्‌ भने आन्दोलनकारीहरूको नियत नै खराब रहेको छ भने उनीहरूको आन्दोलनलाई समर्थन गर्नु अँध्यारोतिर दौड्‌नु हो। आन्दोलनकारी राजनैतिक दलका दलीय साहित्यकारहरूले आन्दोलनमा सहभागिता नदिएकोमा आक्रोश व्यक्त गर्न अघि किन साहित्यकारहरूले सहभागिता दिइरहेको छैन भन्ने पक्षमा समीक्षा गर्नुपर्ने अनिवार्य रहेको छ। वास्तवमा साहित्यकारहरू सचेत रहन्छन्‌, जब उनीहरूलाई आन्दोलनको आन्तरिक अर्थ जनाकांक्षा बाहिर रहेको पाउँछ तब आन्दोलनसित उनीहरूको मोह भङ्ग हुने गर्छ। अहिले साहित्यकारहरूलाई सम्झौता परस्त आन्दोलनलाई समर्थन गर्नु आफ्नै घॉंटीमा पासो लगाउनु सरह रहेको लागेको छ। साहित्यकारहरू राजनैतिक दलको कार्यप्रणालीसित सन्तुष्ट नरहेको मात्र होइन उनीहरूको चर्तिकलाको विरोधमा बोल्न नसक्नेसम्मको स्थितिमा रहेको कुरा आज समय दैनिकले साहित्यकारहरूसित कुराकानी मार्फत थाहा लागेको छ। एक साहित्यकारसित प्रश्न गर्दा तिनले भने, आन्दोलन भनेको एउटा दलले गर्ने होइन। शक्तिविभाजनको स्थिति उपार्जन गर्दै उनीहरूले  नै सहभागिताको अपेक्षा साहित्यकारहरूसित राख्नु पनि एक किसिमको राजनीति हो। साहित्यकारहरू झण्डा बोकेर सडक उत्रँदैनन्‌। साहित्यकारहरूले गर्ने कार्य भनेको लेखन हो, नेताहरूले अहिले आन्दोलनलाई लिएर साहित्यकारहरूले लेखिरहेका रचनाहरूको अध्ययन गर्न अनिवार्य छ। दलीय लेखकहरूले स्वतन्त्र लेखकहरूलाई लगाइने आरोप राजनैतिक चलखेलको एउटा अंश हो। वास्तवमा उनीहरू भन्दा धेर योगदान स्वतन्त्र साहित्यकारहरूको नै छ। आन्दोलनमा साहित्यकारहरू दुलो पस्ने कुरा गर्ने विशाल राईले साहित्यकारहरूलाई युवा मोर्चाको आन्दोलनलाई बौद्धिकस्तरमा उचाल्न सहयोग गर्नुपर्ने बताए पनि युवा मोर्चाको आन्दोलन केटाकेटीले खेल्ने भॉंडाकुटी भन्दा निकृष्ट रहेको कालेबुङका एक कविले जनाएका छन्‌। 'आन्दोलनको स्तर सर्वमान्य र सर्वसम्मतिको हुनपर्छ। आन्दोलनको दुरूपयोगमाथि पहिले उनीहरूले नै समीक्षा गरुन्‌। एउटै दलभित्र विभिन्न वयानबाजी र मुद्दा रहेको स्थितिमा युवा मोर्चाले साहित्यकारहरूलाई लगाइरहेको आरोप स्वंय नै घाइते बाघको आक्रमण सरह हो। साहित्यकारहरूलाई आन्दोलनबारे जसरी बुझाइएको छ, वास्तवमा आन्दोलन त्यस्तो नहुने कुरा साहित्यकारहरूलाई थाहा छ। आन्दोलनलाई सर्वसमावेशी बनाइनुपर्छ। त्यसो नगरी घोषित आन्दोलनको औचित्य रहँदैन'-तिनले भने।


0 comments: on "युवा मोर्चाले उठायो साहित्यकारहरूमाथि प्रश्न"