मुख्य समाचार :


लेप्चा डेभलोपमेन्ट काउन्सिल गठन नभइञ्जेल आन्दोलन जारी रहने ‘लेप्चाहरू सबल्टर्न राजनीतिको शिकार’

मनोज वोगटी
कालेबुङ, 20 दिसम्बर।
2 सेप्टेम्बर पश्चिम बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले विधानसभामा लेप्चा डेभलोपमेन्ट काउन्सिलको विधेयक प्रस्तुत गरेकोले लेप्चाहरू खुशी छन्‌। आन्दोलनको फल विधानसभामा रहेको खुशीमा आज सधैँभन्दा दोब्बर तेब्बरको संख्यामा लेप्चाहरू ग्याबो आच्युकको 280 औं जन्म जयन्ती मनाउन कालेबुङको मेला ग्राउण्डमा भेला भएका थिए। मुख्यमन्त्रीको आश्वासनमाथि विश्वास गरिरहेका लेप्चा प्रतिनिधिहरूले मुख्यमन्त्रीकी आमाको निधनमा शोक पनि व्यक्त गरे। उनीहरूको कार्यक्रमको निम्ति इङ्गल्याण्डबाट आएका थिए माइकल वे। तिनलाई मुख्य अतिथिको आशन दिइएको थियो। माइकल वेले लेप्चाहरुको भाषा, साहित्य र संस्कृतिमाथि विषय कार्य गरेकोमा आभार टक्राउँदै तिनलाई मुख्य अतिथिको मञ्च प्रदान गर्दै माइकलको  हर्ष चुलीमा थियो। पद्म भूषण सोनाम छिरिङ लेप्चाले अध्यक्षता गरिदिएको जन्म जयन्ती कार्यक्रममा बोल्दै ल्याङसङ तामसाङले सबैलाई गठन हुन लागेको लेप्चा डेभलोपमेन्ट काउन्सिलको सम्झना गराए। तिनले भने, लेप्चाहरूको भाषिक, जातिक अनि सांस्कृतिक उत्थानको निम्ति लेप्चाहरूलाई छुट्टै प्रशासनिक क्षमता प्रदान गर्नुपर्थ्यो, जो अहिले लेप्चा डेभलोपमेन्ट काउन्सिलकोरुपमा प्राप्त भएको छ। तिनले यसको निम्ति सरकारसित कुराकानी चलिरहेको बताउँदै पनि भने, तर यसको गठनमा ढिलाइ भएमा अधिकारको निम्ति लेप्चाहरू ज्यान दिन पनि तयार छन्‌, यो कुरा सरकारले बुझेको हुनुपर्ने छ। सरकारले ढिलो गरेमा लेप्चाहरूले आन्दोलन गर्ने छन्‌। 2012 सम्ममा पहाडमा लेप्चा भाषाको पठन पाठन अनि पाठ्य पुस्तक प्रकाशन हुनुपर्ने छ। तिनले तर कार्यक्रममा नेपाली भने पटक्क बोलेनन्‌। तिनी मात्र होइन मिरिकका डेनिस लेप्चा अनि दोर्जी टी रोङ बाहेक कुनै पनि वक्ताले नेपाली बोलेनन्‌। मुख्य वक्ताहरूले नेपाली भाषामा नबोलेको अनि केवल लेप्चा भाषामा बोलेकोले पत्रकारहरू मात्र होइन लेप्चाहरू पनि अन्योलमा परे। पत्रकारहरूले कुरा केही नबुझेको कुरा राखेपछि दोर्जी टी रोङले भने नेपाली भाषामा बोले। तिनले लेप्चा डेभलोपमेन्ट काउन्सिललाई लेप्चाहरूको आन्दोलनको पहिलो खुड्‌किलो बताए। तिनले भने, ग्याबो आच्योकले देखेको सपना लेप्चा डेभलोपमेन्ट काउन्सिल भएर पुरा हुँदैछ। 240 वर्षअघि आच्योकले यो सपना देखेका थिए। लेप्चा डेभलोपमेन्ट काउन्सिल स्वीकृत गरेर पहाड लेप्चाहरूको भूमि रहेको स्वीकार सरकारले गरिसकेको छ। कोलकातामा भएको एक महिने आन्दोलनले जुन काउन्सिल गठन गर्ने परिस्थिति बनाएको छ, यस्तो बेलामा पनि आफ्नैहरूबाट विरोध भएको तीतो सत्य ओकल्दै तिनले भने, 25 दिसम्बरको दिन, आवश्यकता परेछ भने फादर र पास्टर लेप्चाहरू पनि सडकमा उत्रनुपर्छ। तिनले काउन्सिल विरोध गर्नेहरू सबैको निम्ति रहेको बताउँदै उनीहरूको आन्दोलनको फलस्वरुप नै अहिले लेप्चाहरूले प्यारा मिलिटेरी फोर्समा नोकरी गर्न पाउने भएको पनि जनाए। तिनले भने, अब लेप्चा डेभलोेपमेन्ट काउन्सिल गठन हुनेछ। यसको सम्पूर्ण भार पुम सेजुमले क्योङ सेजुमलाई दिएको छ। जबसम्म यसमा हस्ताक्षर हुँदैन तबसम्म लेप्चाहरूको आन्दोलन जारी रहनेछ। लेप्चाहरूको आन्दोलन गलत दिशातिर नजाओस्‌, त्यसैकारण यसको गठन शीघ्र हुनुपर्छ। मिरिकका डेनिस लेप्चाले लेप्चाहरू आदिवासी रहेको भएपनि उनीहरूमाथि सवल्टर्न राजनीति भएको बताए। तिनले भने, भाषिकरुपले, सांस्कृतिकरुपले लेप्चाहरूमाथि अतिक्रमण भएको छ। उनीहरूको निम्ति को बोल्ने? उत्तराधुनिक युगका युवावर्गले लेप्चाहरूमाथि भएको सवल्टर्न राजनीतिको विरोध गरेर उनीहरूको अधिकारको निम्ति हाइटेकरुपले लड्‌न सक्नुपर्छ। लेप्चाहरूलाई हरेकपक्षमा किनारीकृत गरेकोले आज लेप्चाहरू आफै नै आफ्नो अधिकारको निम्ति लडिरहेको बताउँदै तिनले भने, सरकारले पहाडमा अरुलाई पनि ट्राइबलको दर्जा दिइरहेको छ, यसमा हामीलाई कुनै गुनासो छैन तर ट्राइबल बनाएर उनीहरूको निम्ति आरक्षण  छैन। लेप्चाहरू आदिवासी भएको भए पनि उनीहरूलाई विधानसभा, लोकसभामा कुनै आरक्षण दिइएको छैन। अब चुप बस्ने समय सकियो। लेप्चाहरू भविष्यको निम्ति जमेर लड्‌नुपर्छ। यसैबीच एउटा लेप्चा साहित्यिक पत्रिका अनि दुइवटा कमिक्सक पुस्तकको विमोचन मुख्य अतिथि माइकल वेको बाहुलीबाट गरियो।
 


0 comments: on "लेप्चा डेभलोपमेन्ट काउन्सिल गठन नभइञ्जेल आन्दोलन जारी रहने ‘लेप्चाहरू सबल्टर्न राजनीतिको शिकार’"